दुई दिनमा दुई फरक बयान

  • चुनावलाई उपयोग गर्ने कि उपेक्षा भन्नेमा नयाँ शक्तिमा विवाद

- माधव बस्नेत

‘आवधिक निर्वाचन लोकतन्त्रको मेरूदण्ड हो । ...यस अर्थमा आगामी एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वाचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिबद्ध छ ।’ 

– ११ फागुन ०७३ 

‘वर्तमान सरकारले व्यवस्थापिका संसद्मा आफैँले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई समेत सहमतिका आधारमा परिमार्जनसहित पारित नगरी ०७४ वैशाख ३१ गते स्थानीय निर्वाचन घोषणा गरेको छ । यसले देशमा द्वन्द्व मात्र बढाएको नभई देशलाई झनै अस्थिरता र अनिश्चयको दिशामा लगेको छ । ..स्थानीय तह प्रदेश मातहत रहनुपर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नुपर्दछ । राजनीतिक दलहरुको भागबन्डा र सत्ता स्वार्थका आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्दछ ।’

– १२ फागुन ०७३ 

मा थिका दुवै विज्ञप्ति नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईका हुन् । पहिलो विज्ञप्ति सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टको हो भने दोस्रोचाहिँ पहिलो विज्ञप्ति आएको भोलिपल्ट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँगको संयुक्त हो । अघिल्लो दिन र भोलिपल्ट आएका यी परस्परविरोधी विज्ञप्तिले नयाँ शक्ति पार्टीका संयोजक भट्टराई स्वयं द्विविधाग्रस्त रहेको देखाउँछ ।  

संयोजक द्विविधाग्रस्त हुनु त एउटा कुरा हो, अझ पछिल्लो विज्ञप्तिले त उनको पार्टीमै ठूलो विवाद र हलचल पैदा गरिदिएको छ । खासमा फोरम अध्यक्ष यादवसँगको संयुक्त विज्ञप्ति, जो स्थानीय निर्वाचन मिति फिर्ता लिन भन्नेमा केन्द्रित छ, ले पार्टीभित्र ठूलै रडाको मच्चाएको छ ।

पछिल्लो विज्ञप्तिप्रति आपत्ति जनाउँदै भट्टराईको पार्टीका नौ जना केन्द्रीय परिषद् सदस्यले विरोधमा विज्ञप्ति नै जारी गरेका छन् । जसमा उनीहरूले पार्टीमा छलफल नै नगरी एकलौटी ढंगले यादव र भट्टराईको संयुक्त विज्ञप्ति आएको उल्लेख गरेका छन् । उनीहरूले ‘नयाँ शक्ति पार्टी नै चुनावविरोधी देखाउने गरी आएको सो वक्तव्यमा सही गर्ने आफ्नो एकल निर्णय तत्काल फिर्ता लिन’ भट्टराईलाई आह्वान गरेका छन् । यतिसम्म कि यसबारे टिप्पणी गरेका पार्टीका केन्द्रीय परिषद् सदस्य देव लिम्बुलाई भट्टराईले ट्वीटर मा ‘ब्लक’ नै गरिदिएका छन् । विज्ञप्ति जारी गर्ने नौ जनामध्ये एक हुन्, लिम्बू । 

पार्टीभित्र सल्कँदै गएको यही भुसको आगोलाई व्यवस्थापन गर्न पनि हुन सक्छ, २६–२७ फागुनमा भट्टराईले केन्द्रीय परिषद् बैठक नै डाक्नुपरेको छ, जसमा १ हजार ७० जना सदस्य सहभागी हुनेछन् । 

स्रोतका अनुसार परिषद् बैठकमा भाग लिन आउने सदस्यलाई स्थानीय निर्वाचनका लागि नयाँ शक्तिका पक्षमा माहोल भए/नभएको मत सर्वेक्षण रिपोर्ट लिएर आउनु भनिएको छ । माहोल आफ्नो पक्षमा रहे निर्वाचनमा जाने, नत्र मिति सार्ने पक्षमा छन् भट्टराई । त्यसैले उनले परस्पर विरोधी वक्तव्य दिएको पार्टीका एक केन्द्रीय परिषद् सदस्य बताउँछन् । भट्टराईको कोल्टे फेराइविरुद्ध विज्ञप्ति सार्वजनिक गरेका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईका अनुसार भट्टराईमा मधेस भनेकै उपेन्द्र यादव र महन्थ ठाकुर मात्र हुन् भन्ने बुझाइ छ । भन्छन्, “भट्टराई मधेसमा मात्र समस्या रहेको, त्यो भूगोल मात्र उत्पीडनमा परेको भनेर प्रस्तुत हुँदा खस, आर्य र जनजातिको ठूलो पंक्ति नयाँ शक्तिसँग निराश भइरहेको छ ।” 

खासमा मधेस केन्द्रित दलहरूलाई समेत निर्वाचनमा सहमति गराई यादव नेतृत्वको फोरमसँग सम्भव भए पार्टी एकता गरेरै, त्यो सम्भव नभए गठबन्धन बनाएर निर्वाचनमा जाने योजनामा छन् भट्टराई । निर्वाचन आयोगले पनि त्यसका लागि बाटो खोलिदिएको छ, दलहरूबीच सहमति भए एकता, गठबन्धन गरेर निर्वाचनमा जान सक्ने निर्णय गरिदिएर । 

झन्डै ६ महिनाअघिदेखि नै भट्टराई–यादवहरूबीच पटक–पटक छलफल, वार्ता पनि भइरहेको छ । नयाँ शक्तिबाट यसको अग्रसरता भट्टराई स्वयं र रामकुमार शर्माले लिएका छन् ।  यादवतिरबाट भने यादव स्वयं, अशोक राई, राजेन्द्र श्रेष्ठ  छन् । तर, यादव भट्टराईसँग पार्टी एकता गर्ने पक्षमा छैनन् । एकताका लागि यादवको भन्दा पनि भट्टराईकै जोड बढी छ । भट्टराईसँग पार्टी एकता गर्दा आफू पहिलो नम्बरको नेता भइरहन नपाउने, ओझेलमा पर्ने, मधेसको उपलब्धिको जस भट्टराईको स्वामित्वमा पुग्ने विश्लेषणले यादव एकतामा अनिच्छुक छन् । 

नयाँ शक्तिभित्र मधेसवादी दलसित मात्रै निकटता देखाएर भट्टराईले पार्टीलाई मधेसमा मात्र केन्द्रित गर्न खोजेको एक पक्षको आरोप छ । पार्टीका सह–संयोजक महेश कर्मोचा, केन्द्रीय कार्यालय सचिवालय सदस्य अमरध्वज लामा, अरविन्द साह, ओहिद अन्सारीलगायत नेताहरू भट्टराई यादव र ठाकुरसँग बढी नै झुकेको भन्ने टुंगोमा पुगेका छन् । त्यसैले आउँदो परिषद् बैठकमा यो कुरा उठाउने उनीहरूको तयारी छ । 

पार्टी प्रवक्ता खिमलाल देवकोटाका अनुसार विज्ञप्तिको विषयलाई लिएर सामान्य असन्तुष्टि देखिए पनि त्यसले ठूलो रूप लिने छैन । निर्वाचनमा कसरी जाने भनेर कार्यनीति बनाउनकै लागि केन्द्रीय परिषद् बैठक हुन लागेको उनी दाबी गर्छन् । भन्छन्, “हामी निर्वाचनविरोधी होइनौँ । असन्तुष्ट मधेसलाई पनि साथमा लिएर जानुपर्छ भनेकाले हामीलाई निर्वाचनविरोधी भनिएको हो ।” 

प्रकाशित: फाल्गुन २२, २०७३