एक बोली एक दाम: ​दन्त्यकथाको रसिलो प्रस्तुति

- गोकर्ण गौतम

विदेशी नाटकमा अनावश्यक आश्रित भएको आरोप लाग्दै आएको छ नेपाली रंगकर्मीमाथि । स्थानीय कथालाई मञ्चमा उर्तान धेरै हदसम्म अल्छी र कन्जुस्याइँ गरिएको यथार्थ पनि हो । एकातिर भर्खरै नाट्य संस्कृतिले व्यापकता पाउँदै छ, अर्कातिर लेखनमा खास ‘ग्ल्यामर’ छैन । त्यसैले पहिल्यै लेखिएका वा चर्चित भइसकेका नाटकलाई समातेर ‘सेफ साइड’ खोज्छन् रंगकर्मी । तर बिस्तारै नाटकमा आफ्नै परिवेशका कथालाई उधिन्ने प्रयास जबर्जस्त बनिरहेको छ । जहाँ ‘एडेप्टेसन’ गरिएका होइन, मौलिक पात्र र तीनका भोगाइलाई प्राथमिकता दिइन्छ ।

मण्डला नाटकघरमा मञ्चन भइरहेको एक बोली एक दाम यही कोटिमा पर्छ । हाम्रो समाजमा विद्यमान घतलाग्दो दन्त्यकथालाई सिजन दाहालले नाट्य रूपान्तरण गरेका हुन भने प्रवीण खतिवडाले निर्देशन । लोककथा भए पनि प्रस्तुतीकरणमा आधुनिकता र नवीनताको सुगन्ध पाइन्छ । ङ समूहको प्रस्तुति रहेको नाटकलाई गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।

किनमेल गर्न घरबाट टाढाको बजार निस्किएको छ, हर्कमान (जीवन भट्टराई) । बोलक्कड स्वभावका हर्कमान बालुवा नै बालुवाको तातो बाटो एक्लै फतफताउँदै हिँडिरहेको छ । बाटोमा कोही भेटिन्छ कि भनेर ठूला आँखा पारेर हेर्छ तर मरिगए कोही भेटिन्न । बल्लतल्ल एक श्वेतवस्त्रधारी मान्छे (सुदाम सिके) भेट्छ । बोल्न पाइने भयो भनेर दंग परेको हर्कमान त्यतिबेला निराश हुन्छ, जब त्यो मान्छेले एक बोलीको एक दाम तिर्नपर्ने सर्त राख्छ । बाटो खर्च सबै चढाएर भए पनि हर्कमानले उसका तीन वाक्य सुन्छ । जुन उसको आगामी दिनका लागि फलिफाप भइदिन्छ । त्यो मान्छेले हर्कमानलाई भनेका महत्वपूर्ण वाक्य के–के हो र त्यो उसका लागि कसरी जीवनको बुटी बन्यो ? यिनै जवाफसँगै नाटक सकिन्छ ।

दन्त्यकथाको मर्मलाई आत्मसात् गर्दै गतिलो सन्देश दिनु नाटकको सबल पक्ष हो । कहिलेकाहीँ सामान्य लाग्ने बोली कति गहन र प्रभावकारी महत्व बोकेर आएका हुन्छन्, मान्छेले भेउ पाउँदैनन् र दु:ख भोग्नुपर्छ । धन्न, नाटकको हर्कमानले अन्तिम समयमै सही श्वेतधारीले दिएको मन्त्र सम्झन्छ र व्यवहारमा उतार्छ । ती मन्त्र पुरानो युग मात्र होइन, वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक छन् । किनभने समाजमा जालझेल र चोरबाटो समाएर धनी हुन खोज्नेको जमात ठूलो छ । जो देख्दा भलादमी हुन्छन् तर यथार्थ निकै हिंस्रक हुन्छ । यही वास्तविकतालाई कलात्मक शैलीमा मञ्चमा उतारेकाले पनि दर्शकले नाटकमा आफूलाई आत्मसात् गर्न सक्छन् ।

हर्कमान घरबाट निस्किएपछि नाटकको गति सुस्त छ । एउटै ठाउँमा पाइला चालिरहँदा मञ्चमा आँखा खिचिरहने कुनै गतिविधि हुन्न । यो क्रममा श्वेतधारीलाई भेटेपछि पनि रोकिन्न । उनीहरूबीचको वार्तालापलाई ‘क्याची’ बनाउन निर्देशक चुकेका छन् । त्यसपछि नाटकले रफ्तार लिएको छ । श्वेतधारीको तीन बोली उपयोग हुने परिस्थितिलाई नाटककारले आकर्षक शैलीमा बुनेका छन् । 

कथा र पात्रको मनोविज्ञानलाई जीवन्त बनाउने लाइभ म्युजिकले नाटकको वजन बढाएको छ । यसको जस जान्छ, आधा सुर र दीपक श्रेष्ठलाई । त्यस्तै, बालुवा र पहिरोले भत्किएको डाँडाकाडाँको सेट पनि प्रशंसनीय छ । स्थायी सेटमाथि कहिले पसल त कहिले होटलको माहौल सिर्जना गरिएको छ । दिपल बरालको प्रकाश संयोजनले नाटकलाई थप जीवन्त बनाएको छ । बहुचरित्रीकरण एक बोली एक दामको सकारात्मक विशेषता हो । छिनभरमा कलाकारलाई भिन्न–भिन्न भूमिकामा देख्न पाइन्छ । जसमा सबभन्दा अब्बल छन्, संगीत सापकोटा । सुन पसले, हर्कमानकी स्वास्नी, जड्याहाँ, होटल साहू सबै भूमिकामा जमेका छन् उनी । शक्ति राई र जीवनको अभिनय पनि अब्बल छ । बरू सुदाम सिके यसपटक अपेक्षाकृत जमेका छैनन् । सामान्य कथामा पनि निर्देशकीय क्षमता देखाउन सकिन्छ भनेर निर्देशक खतिवडाले प्रमाणित गरेका छन् । 

हाम्रै परिवेशको कथा सरल र रोचक शैलीमा भनिएकाले पनि एक बोली एक दाम हेर्दा निराश भइन्न । 

नाटककार : सिजन दाहाल
निर्देशक : प्रवीण खतिवडा 
कलाकारहरू : संगीत सापकोटा, सुदाम सिके, शक्ति राई र जीवन भट्टराई । 
स्थान : मण्डला नाटकघर, अनामनगर । 

प्रकाशित: फाल्गुन २०, २०७३