बेइज्जती मात्रै

  • अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक छविको प्रचार

- सीताराम बराल

फागुन पहिलो साता परराष्ट्रमन्त्री प्रकाशशरण महत युरोप भ्रमणमा थिए । त्यस दौरान उनले नेपाली विमानलाई युरोपेली युनियनको ‘ कालो सूची’बाट हटाउन अनुरोध गरे । मन्त्री महतले युरोपियन युनियनको विदेश तथा सुरक्षा मामिलासम्बन्धी उच्च प्रतिनिधि फेडरिक मोगरिनीसँग ५ फागुनको भेटमा त्यो अनुरोध गरेका हुन् । तर, उनको अनुरोध स्वीकारिएको सन्देश नेपाली पक्षले पाएको छैन । नेपाली आकाश असुरक्षित रहेको र आवश्यक सुरक्षा मापदण्ड नअपनाएका कारण नेपाली विमान सेवाहरू तीन वर्षदेखि युरोपमा प्रतिबन्धित छन् । 

यस्तो प्रतिबन्धको अन्तर्राष्ट्रिय प्रचार त भएकै छ, देशकै एक मात्र अन्तर्राष्ट्रिय स्तरको त्रिभुवन विमानस्थल पनि संसारभर गएगुज्रेकै भनेर प्रचारित छ । स्लिपिङएयरपोर्ट्स डट नेटले लामो समयदेखि त्रिभुवन विमानस्थललाई विश्वकै खराब विमानस्थलहरूको सूचीमा राख्दै आएको छ । सन् २०१६ मा त त्रिभुवन विमानस्थल विश्वका सर्वाधिक खराब विमानस्थलहरूको सूचीमा दसौँ नम्बरमा परेको छ । विश्वभरका विमानस्थलका सुविधाबारे जानकारी दिने यो वेबसाइटले विश्रामस्थल, यात्रुहरू बस्ने ठाउँ, त्यहाँको सफाइ, विमानस्थलको प्रशासनिक व्यवस्था, खाना र यात्रुहरूले विमानस्थलबारे दिने प्रतिक्रियाका आधारमा त्रिभुवन विमानस्थललाई खराब विमानस्थलको सूचीमा दसौँ नम्बरमा राखेको हो । 

प्रदूषणसम्बन्धी अन्तर्राष्ट्रिय सूचकांकहरूले काठमाडौँलाई विश्वका खराब सहरको सूचीमा पारेका छन् । यसबाहेक मानव विकास सूचकांक, सुशासन/भ्रष्टाचार सूचकांकमा पनि नेपालको छवि नकारात्मक नै छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नकारात्मक चित्र प्रस्तुत भइरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले भन्छन्, “विविध अन्तर्राष्ट्रिय सूचकांकमा जसरी नेपालको स्थिति ऋणात्मक देखिने गरेको छ, त्यसले छवि सकारात्मक बनाउन भूमिका खेल्ने सूचकांकहरू ओझेलमा परेका छन् ।”

हुन पनि पर्यटकीय दृष्टिले नेपाल उत्कृष्ट गन्तव्य हो, विश्व बजारमा पुगेका  नेपाली ब्रान्ड पनि उत्कृष्ट छन् तर अन्तर्राष्ट्रिय प्रचार नकारात्मक मात्रै भइरहेको छ । त्यो सकारात्मक सन्देशको प्रचार जति भएको छ, त्यसभन्दा कैयौँ गुणा बढी प्रचार त्रिभुवन विमानस्थल र नेपाली विमान सेवाहरू युरोपको कालो सूचीमा रहेको नकारात्मक प्रचार भएको छ । कालोसूचीको प्रचारले सिंगो पर्यटन क्षेत्रलाई प्रभावित गरेको छ । 

त्यस्तै, विश्व प्रदूषण सूचकांकले नेपाललाई तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत गरिदिँदा सुशासनका दृष्टिले नेपाल गएगुज्रेको मुलुक हो भन्ने सन्देश गएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा खेम कार्की भन्छन्, “जहाँ सुशासन छ, त्यहाँ प्रदूषणको मात्रा पनि कम हुन्छ, जहाँ सुशासन छैन, त्यहाँको वातावरण पनि प्रदूषित हुन्छ । वायु प्रदूषणका दृष्टिले तेस्रो खराब सहरका रूपमा काठमाडौं दर्ज हुँदा सँगसँगै यहाँ सुशासन पनि रहेनछ भन्ने सन्देश गएको छ ।” प्रदूषणको सम्बन्ध मुलुकको राजनीति र शासन व्यवस्थासँग पनि हुन्छ । किनभने, काठमाडौँको प्रदूषण नियन्त्रण गर्नै नसकिने होइन । 

राजधानीको अतिशय प्रदूषणले मात्र होइन, नेपाल सुशासनका दृष्टिमा कमजोर र भ्रष्टाचार व्याप्त मुलुकमा दर्ज छ । सुशासनका सम्बन्धमा सर्वेक्षण गरी प्रत्येक वर्ष प्रतिवेदन सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलले माघ दोस्रो साता सार्वजनिक गरेको सन् २०१६ को प्रतिवेदन अनुसार १ सय ७६ देशमध्ये नेपाल १ सय ३१औँ स्थानमा परेको छ । त्यसअघि सन् २०१५ मा १ सय ६८ देशमध्ये नेपाल १ सय ३०औँ स्थानमा थियो भने सन् २०१४ मा १ सय २६औँ र सन् २०१३ मा १ सय १६औँ स्थानमा । यसै आधारमा नेपाललाई ‘भ्रष्टाचार व्याप्त’ मुलुकका रूपमा यो संस्थाले चित्रित गर्दै आएको छ । 

सन् २००४ देखि नेपाल प्रतिवेदन सार्वजनिक हुन थालेदेखि नै भ्रष्टाचार र सुशासनका सन्दर्भमा नेपालको रेकर्ड सकारात्मक छैन । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल भन्छन्, “जताबाट हेरे पनि नेपाल भ्रष्ट र सुशासन नभएको मुलुकमा पर्छ । भन्न त विदेशीहरूले तिमीहरूको बेइज्जती भयो भन्दैनन् । तर, हामीले हेर्दा चाहिँ यो नेपालको बेइज्जती नै हो ।” 

विदेशी संस्थाहरूले सर्वेक्षणका नाममा सार्वजनिक गर्ने सूचकांकहरूमा सत्यता नहुन पनि सक्छ । तैपनि, यस्ता संस्थाहरूका सूचकांकमा देखिने नेपालको स्थितिले अन्तरर् ाष्ट्रिय जगत्मा नेपालको छवि धुमिल हुँदै गइरहेकामा विवाद छैन । पूर्वमन्त्री देवेन्द्रराज पाण्डे भन्छन्, “हाम्रो मुलुकले जुन नियति भोगिरहेको छ, यो अवस्था अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सार्वजनिक गर्ने सूचकांकभन्दा गम्भीर छ । हाम्रा नेताहरूको ध्यान यसतर्फ जान जरुरी छ ।” 

सुशासन नहुँदा अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि कस्तो बनेको छ, त्यो राम्रैसँग महसुस गरेका छन्, योजना आयोगका सदस्य वाग्लेले । उनका भनाइमा अमेरिकी उद्यमी माइकल कोबोल्डका कोबोल्ड ब्रान्ड घडी, विश्व बजारमा १६ लाख रुपियाँसम्ममा बिक्री भएको रेकर्ड छ । कोबोल्ड तिनै हुन्, जसले घडीमार्फत नेपालको प्रचारप्रसार गरिरहेका छन् । भर्खरै कोबोल्डका केही निश्चित ब्रान्डको घडीका लागि नेपालमै छालाको फित्ता (स्ट्रयाप्स) उत्पादन पनि थालिएको छ । अमेरिका गएका बेला वाग्लेले तिनै कोबोल्डसँग नेपालमा लगानी गर्न आग्रह गरेका रहेछन् । तर, कोबोल्ड यति निराश रहेछन् कि वाग्ले सुनाउँछन्, “राम्रो काम गर्न खोज्दा पाइला–पाइलामा सरकारी अधिकारीलाई घूस खुवाउनुपर्ने स्थिति छ भने उनले । खासमा लगानीयोग्य वातावरण नै हामीले निर्माण गर्न सकेका छैनौँ । अनि, देशको छवि कसरी राम्रो बन्छ ?” 

नेपालको छवि उजिल्याउने हो भने नेपाली आफैँले देशको व्यवस्थापन कुशलतापूर्वक गर्नुपर्ने बताउँछन् पूर्वमन्त्री पाण्डे । भन्छन्, “बाहिरी रूप त लाली पाउडर लगाएर राम्रो देखाउन सकिएला । तर, मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो भने आन्तरिक स्थिति राम्रो हुनुपर्‍यो । आन्तरिक रूपमा सबल हुनासाथ हाम्रो अन्तर्राष्ट्रिय छवि त्यसै राम्रो हुन्छ ।” 

प्रकाशित: फाल्गुन २०, २०७३