स्कटल्यान्ड डायरी

- राजकुमार बानियाँ

फेसबुक नभएको भए ? सायद कसैले सोचेको छैन । फेसबुके लत कस्तो छ भने पति बूढो भएकामा पत्नीले, पत्नी बूढी भएकामा पतिले खुसीयाली मनाइरहेकै छन् । ढाँट्नकै लागि किन नहोस्, छिनछिनको अपडेट दिइरहेकै छन् । सक्कलीभन्दा नक्कली कुराले नै उरुंगो लाइक कमाइरहेकै छन् । 
वियोगी बुढाथोकी त्यस्तै एक फेसबुक–लभर हुन् । फेसबुक नभएको भए ? वियोगीले पक्कै पहिलो गद्य–पुस्तक लेख्ने थिएनन् । चार हरफे मुक्तक, आठ हरफे गजल या बढी २ सय ५० शब्दको कविता लेखिरहेका उनी फेसबुकेकै उक्साहटमा साढे तीन सय पृष्ठको नियात्रा लिएर आएका छन्, किरिङमिरिङ सडकमा अलपत्र । 

३० जेठ ०७२ मा घरबाट हिँडेदेखि ८ कात्तिकमा फर्केेसम्मको फेहरिस्त छ, पुस्तकमा । उनी जहाँ पुग्छन्, त्यहाँको फोटो र अनुभूति फेसबुकमा पोस्ट गरिहाल्छन् । कविता, गजल र मुक्तकका नौ पुस्तकले नपाएका प्रतिक्रिया फेसबुकमा भेट्छन् । पुस्तक कतै फेसबुके गफगाफ, कतै साहित्यिक यात्रा, कतै पारिवारिक पुन:मिलन, कतै स्कटल्यान्डको गाइडबुक या डायरीजस्तो छ । 

बियर यात्राजस्तो पनि लाग्छ पुस्तक । बियरसँग वियोगीको कस्तो नाता छ भने उनलाई ‘बियर बुढाथोकी’भन्दा पनि खुसी नै लाग्छ । फेसबुकमा दिनैपिच्छे बियरको गिलाससित सेल्फी पोस्टिनुको तात्पर्य त्यही त होला । अचम्म के भने स्कटल्यान्ड गएर पनि स्कच–ह्विस्कीतिर उनको मन लोभिँदैन । हाइल्यान्डको पनि सिंगल माल्टले समेत । बियर–प्रासका पारखी वियोगी त्यहाँ गिनिस, जोन स्मिथ्स, रुड्लेस, एब्बोट, अले आदि बियर पिउँछन् । उनी धाराबाट पाँच लिटरको टिनको ड्रममा बियर थापेर मनमौजी पिउँछन् । एडिनबर्गका डिस्टिलरी चहारिरहन्छन् । जौ झुलिरहेका पहेँलपुर फाँटमा ट्याक्टरले जौ झारिरहेका दृश्य हेरेर औधि रोमाञ्चित हुन्छन् । 

त्यसो त पुस्तकमा बियर मात्र छैन । बरू बियरको वर्णन नभएको अध्याय देख्दाचाहिँ कौतूहल हुन्छ– आज किन जिनिसको चर्चा भएन ? स्कटल्यान्डको अफिसको संस्कृति बुझिनसक्नुको छ । ‘हिजो बेलुकी धेरै पिएकाले आज अलि सन्चो छैन, काम गर्न गाह्रो भइरहेछ’ भन्यो भने हाकिम खुसी हुने तर ‘घरमा काम छ, चाँडो जान्छु’ भन्दा रिसाउने ।

खासमा कान्छी छोरीज्वाइँको निम्तोमा स्कटल्यान्ड पुगेका हुन्छन् वियोगी । काठमाडौँबाट उनी चढेको जहाजमा ९० प्रतिशत कामदार नेपाली हुन्छन् । दोहा विमानस्थलवरिपरि भादगाउँले टोपी लगाएका नेपाली नै देख्छन् जताततै । उनका छोराछोरी पनि सबै विदेशमा छन् । स्कटल्यान्डमा विलियम वालेन्सको सालिकछेउ नतमस्तक जनता देखेर भावुक हुन्छन् लेखक अनि नेपालका वीर योद्धाहरूलाई सम्झन्छन् । फेरि नेपालको राजनीतिक अस्थिरताले चिमोटिन्छन् । मातृभूमिप्रतिको अगाध स्नेह नै नेतामा हुनुपर्ने पहिलो गुण मान्छन् वियोगी । स्वदेशीलाई सम्पन्न बनाउनु नै उसको मिसन हुनुपर्ने ठान्छन् । पढेलेखेर विदेसिएका नेपाली देखेर उनलाई डर पनि लाग्छ– तिमीहरू देश बिर्सिएर आयौ । देशलाई के दियौ ? कतै सधैँ यतै बस्ने त होइनौ ? 

हरियो पासपोर्टवाहक हुनुको दु:ख पनि कहेका छन् उनले । अनावश्यक सोधीखोजीका कारण हिथ्रो विमानस्थलमा आफ्नी सकुशल पत्नीलाई ह्विलचेयरमा राख्नुपरेकामा खेद मान्छन् । पुस्तकमा नयाँ संविधान आएको मौकामा बेलायती अलिखित संविधानको चर्चा गर्छन् । संविधान नभएर के भो ? कपाल काट् दा बिग्रे पनि मुद्दा लाग्छ, बिरालोलाई कुट् दा पनि सजाय हुन्छ । 

उनी भाइको घरनजिकै एक काली दिदीलाई देख्छन् तर उनका पति कहिल्यै देखिँदैनन् । भत्ताकै लागि १२/१५ जना भन्ट्याङभुन्टुङ जन्माउने पति कर छल्न डिभोर्सको बहाना गर्छन् । उज्यालोमा छुट्टिन्छन्, अँध्यारोमा भेटिन्छन् । पाँच हजार स्टर्लिङ पाउन्डभन्दा माथि पैसा बैंकमा राख्दा ब्याज नआउने भएकाले मोजमस्ती गर्ने नेपाली भेटेर चकित हुन्छन् ।

झन्डै ६ महिना लामो यात्रामा थुप्रै मित्र भेट्छन् बेलायतमा । आफू महाराजगन्ज क्याम्पसमा हुँदा हेल्थ असिस्टेन्ट पास गरेका पदम सिम्खडालाई लन्डनमा लिभरपुल जोन मोर युनिभर्सिटीको एसोसिएट डिनका रूपमा पाउँछन् । अनि, पहिलो विवाहको केही वर्षमै बिछोड अनि दोस्रो घरबार, घरेलु विभागको बहिदार हुँदै चिकित्साशास्त्र अध्ययन संस्थानको परीक्षा महाशाखा प्रमुख र नेपाल मेडिकल कलेज जोरपाटीको प्रशासन प्रमुखका रूपमा ४२ वर्षे जागिरे जीवनको लेखाजोखा गर्छन् । यति मात्र होइन, सन् १९२० मा स्थापना भएको कम्युनिस्ट पार्टी ग्रेट ब्रिटेन सन् १९९१ मा सोभियत संघको विघटनसँगै बेलायती भूमिबाट अस्ताएको प्रसंग पनि निकाल्छन् । 

पुस्तक सरल छ र रोचक पनि । स्कटल्यान्ड–यात्राको मज्जा चखाउन सफल छ । तर, सयौँ फेसबुके मित्रहरूको कमेन्ट्ससमेत राखेर पुस्तकलाई भद्दा बनाएकै हुन् । अन्त्यमा, अर्को रोचक प्रसंग– घर फर्कंदा छोरीले किनिदिएको जिन्स पाइन्ट प्रेमपूर्वक लगाएका थिए उनले । आबर्डिन विमानस्थलमा शरीर जाँच गर्दा टोपी, घडी, जुत्ता, ज्याकेट र पेटी फुकालेर किस्तीजस्तो भाँडामा हालिदिए उनले । अनि, जाँचकीले उनलाई दुवै हात उचाल्न लगाए । दुवै हात उचाल्दा पाइन्ट स्वात्तै खस्यो । पाइन्टको कम्मर नम्बर ३९ हुनुपर्नेमा ४१ परेकाले पेटीले धानेको जो थियो । 

किरिङमिरिङ सडकमा अलपत्र
लेखक    :    वियोगी बुढाथोकी
प्रकाशक    :    बुक्सेलर
पृष्ठ    :    ३३०

प्रकाशित: फाल्गुन २०, २०७३