भूगोलले पारेको प्रभाव

  • नेपाली राजनीतिमा भूगोलले पारेको प्रभाव र असरबारे देखिएको अध्ययन–अनुसन्धानको कमीलाई थोरै भए पनि पुर्ने प्रयास गरेको छ, पत्रकार गोपाल खनालको पुस्तक भूराजनीतिले ।

- सीताराम बराल

कुनै मुलुकको प्राकृतिक वातावरणले समेत त्यो मुलुकको राजनीतिमा प्रभाव पारेको हुन्छ । राजनीतिशास्त्रीहरूले गर्मी मुलुकका बासिन्दाहरू राजनीतिक रूपमा आक्रामक हुने र त्यसका विपरीत चिसो मुलुकवासीहरूचाहिँ कम आक्रामक हुने बताउने गरेका छन् । नेपालकै हिमाली क्षेत्रमा राजनीतिक गतिविधि र उथलपुथल कम, तराई क्षेत्रमा चाहिँ गतिविधि र उथलपुथल हेर्दा राजनीतिशास्त्रीहरूको उपर्युक्त तर्कमा धेरथोर सत्यता छ कि जस्तो देखिन्छ ।  

प्राकृतिक पर्यावरणको त राजनीतिमा असर हुन्छ भने भूगोलले राजनीतिमा असर नपर्ने कुरै भएन । अक्सर ठूला शक्तिराष्ट्रहरू आफ्नो छिमेकमा आफू अनुकूलको राजनीतिक व्यवस्था स्थापित भएको वा आफू अनुकूलको शक्ति सत्तामा आएको देख्न चाहन्छन् । त्यसका लागि सम्भव प्रयास पनि गर्छन् । तर, राजनीतिमा भूगोलले पार्ने असरको पाटोबारे कम मात्रामा शोध–अनुसन्धान र पुस्तक प्रकाशनका काम भएका छन् । निकै कम लेखकहरूले मात्र यस विषयमा कलम चलाएका छन् । 

नेपाली राजनीतिमा भूगोलले पारेको प्रभाव र असरबारे देखिएको अध्ययन–अनुसन्धानको कमीलाई थोरै भए पनि पुर्ने प्रयास गरेको छ, पत्रकार गोपाल खनालको पुस्तक भूराजनीतिले । पुस्तकले मूल रूपमा यहाँको घरेलु राजनीतिमा प्रभाव पार्न दक्षिण छिमेकका प्रयास र गतिविधि, त्यसले नेपालको वैदेशिक नीतिमा पारेको असरबारे प्रशस्त चर्चा गरेको छ । यसक्रममा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेक भारतबीचका प्रतिस्पर्धा र दाउपेचहरूको वर्णन पुस्तकमा यथेष्ट छ । 

‘भारत : उदाउँदो शक्ति’, ‘नेहरु डक्ट्रिन’, ‘सन् १९५० को सन्धि’, ‘भाजपा नीति’, ‘ चिनियाँ सक्रियता’, ‘छद्म–युद्ध र भारतीय हस्तक्षेप’ शीर्षकसहित यो पुस्तक सात खण्डमा बाँडिएको छ । पहिलो खण्डमा भारतको आन्तरिक र बाह्य राजनीतिको मिहिन चर्चा गर्दै लेखकले किन र कसरी विश्वशक्ति बन्ने महत्त्वाकांक्षा राख्न चाहन्छ भन्ने कुराको विश्लेषण प्रस्तुत गरेका छन् । यही महत्त्वाकांक्षा र आफ्नो सुरक्षा चिन्ताले छिमेकको राजनीतिमा उसको चासो बढेको हो भन्ने निष्कर्ष देखिन्छ लेखकको । यस क्रममा प्रस्तुत गरिएको विश्लेषण वजनदार छ । 

भारतको बाह्य/आन्तरिक मामिलाबारे केन्द्रित भएकाले पहिलो खण्ड पढ्न झिँझो लागे पनि दोस्रोपछिका सबै खण्ड नेपाल मामिलाबारे केन्द्रित भएकाले रोचक छन् । ‘नेहरु डक्ट्रिन’ खण्डमा स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रतिपादन गरेको वैदेशिक र सुरक्षा नीतिले नेपाललाई पारेको असरबारे चर्चा गर्दै लेखकले १९५० को सन्धिलाई नेहरुकै त्यही नीतिको उपज भएको बताएका छन् । उनले भनेका छन्, ‘१९५० को सन्धि भारतको प्रभुत्ववादी व्यवहारलाई निरन्तरता दिने कानुनी हतियार मात्र थियो ।’ तथ्य आधारित भएकाले लेखकको विश्लेषण सही नै छ ।  

पुस्तकमा केही तथ्य रोचक र नयाँ छन् । एमालेको नौ महिने सरकारका पालामा भारत भ्रमणका बेला तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री माधव नेपालले १९५० को सन्धि पुनरावलोकनको सन्दर्भ कोट्याउँदा भारतीय प्रधानमन्त्री पीभी नरसिंह राव कसरी झोक्किएका थिए, थोरै नै होस्, त्यसको चर्चा पुस्तकमा छ । यी र यस्ता घटना केलाउँदै १९५० को सन्धिका सन्दर्भमा लेखकले के विश्लेषण प्रस्तुत गरेका छन् भने भारत अहिले पनि १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरी नयाँ सन्धिका लागि त्यति इच्छुक देखिँदैन । 

यति हुँदाहुँदै पनि पुस्तक दोषमुक्त छैन । ‘भूराजनीतिमा कलम चलाउँदै आएको पत्रकारको पुस्तक’ बताउँदै ‘प्रधानमन्त्रीको सल्लाहकार समूहको सदस्यका रूपमा नबुझिदिन’ आग्रह गरेका छन् भूमिका खण्डमा लेखकले । पुस्तकको भूमिकामा उल्लेख गरेजस्तै, लामो समय पत्रकारितामा सक्रिय रहेका खनाल पुस्तक प्रकाशनको केही महिनाअघिसम्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालामा वरिष्ठ विदेश मामिलाविज्ञ थिए भने हाल नेकपा एमालेको विदेश विभागका सदस्य छन् । लेखकले पाएको यो राजनीतिक भूमिकाको छायाचाहिँ पुस्तकमा प्रशस्तै देखिन्छ । 

जस्तो कि, एमालेबाहेकका राजनीतिक दल र नेताहरूलाई भारतपरस्त नेताका रूपमा प्रस्तुत गरेका छन् पुस्तकमा । प्रधानमन्त्री निर्वाचित हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको भारतसँगको सीमाभन्दा बाहिरको सुमधुर सम्बन्धबारे मौन छन् । प्रश्न उठ्छ, महाकाली सन्धि पारित गराउन ओलीले जेजस्ता तर्क अघि सारेका थिए, प्रधानसेनापति प्रकरण (०६६)का बेला ओलीको नयाँदिल्ली आवतजावत जसरी बाक्लिएको थियो, के त्यो भूराजनीतिक खेलभन्दा बाहिरको विषय थियो ? 

प्रकाशित लेखोट वा मौलिक स्रोतहरूले उल्लेख गरेका कुरामा सत्यता नहुन सक्छ । त्यसैले पुस्तकहरूमा त्यस्ता स्रोतहरूलाई तथ्यका रूपमा प्रस्तुत गर्नुअघि तिनको सत्यतामाथि जाँच गर्नु कुनै पनि संवेदनशील अनुसन्धाताको पहिलो कर्तव्य हो । तर, लेखक यसमा चाहिँ चुकेका छन् । जस्तो : पाँच गुना मूल्य सस्तो पर्ने भएकाले नेपालले ०४५ मा चीनबाट हतियार (विमानभेदी तोप) खरिद गरेको उल्लेख गरेका छन् लेखकले पुस्तकमा । तर, उल्लेख गरिएजस्तो चीनबाट खरिद गर्दा पाँच गुना बढी सस्तो पर्ने भएकाले होइन, यस्तो हतियार दिन भारत तयार हुने सम्भावना नै नभएकाले नेपालले गोप्य रूपमा चीनबाट ती हतियार खरिद गरेको थियो । 

भूराजनीति

लेखक    :    गोपाल खनाल

प्रकाशक    :    फिनिक्स बुक्स

पृष्ठ    :    ४८८

मूल्य    :    ६२५ रुपियाँ

प्रकाशित: फाल्गुन २०, २०७३