[संस्मरण] मासुको कथा

- विप्लव प्रतीक

एउटा सम्झना छ, जुन जोडिएको छ मासुसँग । 

मलाई कताकता धूमिल सम्झना आउँछ, सर्लाहीको लछमनियाँ गाउँको । जहाँ कुनै जमानामा मेरो मामाघर थियो । चार–पाँच वर्षको छँदा काठमाडौँबाट आमाले मलाई मामाघर लिएर जानुभयो । छोरी माइती पुगेको हर्कमा एउटा लामकाने खसीले ज्यान गुमायो । त्यही दिन मलाई सालको हो या केको पातमा तात्तातो गिदी काँचै खान दिनुभयो कसैले, मामाले ? काइँला, साइँला ? याद छैन । न छ सम्झना स्वादकै । 

म लाठे भइसकेपछि मात्रै मासुको स्वादको पहिलो सम्झना छ मलाई । आठ कक्षामा पढ्दै थिएँ, सायद म त्यतिखेर । ज्वरोबाट तंग्रिएपछि बाले किनेर ल्याउनुभएको राँगाको कलेजो र राँगाकै मासी सराबरी मिलाएर पकाएको तरकारी र भात खाएको आजै जस्तो लाग्छ । त्यसको स्वाद अहिले पनि मेरो स्वादेन्द्रियमा सुरक्षित छ । तर, मासुको स्वादको कथा म भन्न गइरहेको छैन । 

भीमसेनस्थानबाट प्याफल र सिफल हुँदै हामी देउपाटनमा बस्न आइपुगेका थियौँ । जयबागेश्वरीबाट मित्रपार्क (मित्रपार्क भर्खरै दिइएको नाउँ थियो तर हामी त्यही नाउँसँग अभ्यस्त थियौँ) आउँदा चौबाटो आइपुग्नु ठ्याक्कै दुई घरअगाडि तीनतले घर थियो । त्यो घरको बीचबाट ठ्याक्कै पारि एउटा परालले छाएको काँचो इँट्टाले बनेको एककोठे, एकतले, गोठखाले झुप्रो थियो । त्यो झुप्रो थियो अष्टनारान दाइको राँगाको मासु पसल । 

बासँग पैसा भएको दिन मलाई मासु किन्न पठाउनुहुन्थ्यो । म अष्टनारान दाइको अघिल्तिर गएर उभिन्थेँ । उनको र मेरोबीचमा रास मासु फैलिएको हुन्थ्यो । उनी चकटीमा बसेका हुन्थे । बगलमा तमाखु भरिएको हुक्का हुन्थ्यो । उनी मलाई देखेपछि छेउमा रहेको तीन–चार वटा चुपी, स्याँगीमध्ये एउटा टिप्थे र फल मासु सेर्न थाल्थे । मासु जोखेर फर्सीको पातमा पोको पार्नुअघि एक टुक्रा कलेजो फोसा हालिदिन्थे । 

तीन–चार वर्षसम्म मासु किन्न जाने सिलसिला चल्यो । त्यसपछि किन्न जानुपर्ने अवसर आइलागेन । देउपाटन छाडेर म र आमा नयाँसडकको पाको पोखल्ड्याङमा बस्न थाल्यौँ । किनमेल आमाको जिम्मामा थियो । सबैथोक आमाले नै ल्याउनुहुन्थ्यो, खसीको मासुबाहेक । शनिबार–शनिबार खसीको मासु किनेर ल्याउने जिम्माचाहिँ मेरो भागमा पथ्र्यो । धरहराबाट भोटेबहालतिर जाने सडकको घुम्तीनेरै दाहिनेतिर रहेको मुसलमानहरूको मासु पसलमध्ये बीचमा रहेको मासु पसल मेरो मासु किन्ने अखाडा बन्यो । मलाई मासु मुसलमानकै पसलमा किन्न मन पर्छ । धेरैजसोले अनावश्यक हड्डी र अतिरिक्त बोसो हटाएर बेच्छन्, त्यही कारणले । कटाइ पनि चटक्क हुन्छ अधिकांशको । कटाइ मिलेको चाहे मासु होस् वा तरकारी हेर्दै खाऊँखाउँm लाग्ने हुन्छ, कमसेकम मेरा लागि ।

त्यहाँ मासु किन्ने क्रम चार–पाँच वर्ष चल्यो । त्यसपछि मेरो बसाइँ पुल्चोकमा सर्‍यो । पुल्चोकदेखि धरहरासम्म मासु किन्न आउने जाँगर हुँदैनथ्यो । त्यसैले पुल्चोकको दमकलतिर रहेको एउटा पसलमा मासु किन्न थालेँ मैले । यतिन्जेलसम्म मासु एकै ठाउँमा किन्नुपर्छ भन्ने ‘ आइडिया’ दिमागमा आइसकेको थियो, ताकि पसलेसँग घनिष्ठता बढोस् र राम्रो खालको मासु आफ्नो भागमा परोस् । 

वर्ष दिनसम्मको पुल्चोक बसाइपछि झिटिझ्याम्टा बोकेर म घट्टेकुला सरेँ । नयाँ ठाउँ सरेपछि मासु किन्ने अड्डा तय गर्न मलाई धेरै वर्षसम्म धौधौ पर्‍यो । एकपल्ट एक ठाउँमा किनेपछि त्यो ठाउँमा किन्ने ढोका थुनिन्थ्यो, कारण आफूले रोजेको मासु किनेर ल्यायो, घरमा पकाउन लाग्दा आधाजस्तो च्याङलाङचुङलुङ र बोसोको डल्लो । देखाउँदा राम्रो देखाउने मुनिपट्टि जथाभावी हालिदिने ती पसलेहरूको जादुगरीमा म बारम्बार झुक्किएको सत्य हो । 

एकदिन डिल्लीबजारको उकालोमा दाहिनेतिर रहेको मासु पसलमा सिकार खेल्न गएँ म । यसो हेर्दा मासु पसले भलादमी नै लागेकाले किस्मत आजमाउन म त्यहाँ गएको थिएँ । ती भलादमीका अगाडि गएर याचकका रूपमा उभिएँ, राम्रो मासु पाउने आशमा । म उभिनेबित्तिकै चुपी तिखार्दै उनले सोधे, “कति राखूँ हजुर ?”

“आधा किलो ।”

“मन्त्रीज्यूकहाँबाट पाल्नुभेको होइन ?” 

झूट बोलूँ मनले टेरेन, बन्यो मन अटेर । नबोलूँ त राम्रो मासु नपाइने डर । बल गरेर हो कि होइन जस्तो गरी टाउको हल्लाएँ । अनि, मुसुमुसु हाँसेँ । 

“मैले अघि नै चिनिसकेँ ।” यति भन्दै उसले मासु जोख्न थाल्यो । राम्रै मासु हालेको देखिन्थ्यो । मासु पोको पारेर म घर फिरेँ । 

घर आएर पोको खोलेपछि राम्रो मासुको अनुहार राम्रैसँग देखियो । ४० प्रतिशत फ्याल्नुपर्ने र बाँकी चाहिँ खानयोग्य मासु । खिन्न भएँ । भलादमीको पसलतिर त्यसपछि फर्केर पनि हेरिनँ । 

यस्ता घटना घरीघरी घटे । पछि त मासु किन्न जाने भन्नेबित्तिकै मनमा डरडर लाग्ने पो भएर आयो । आफूलाई चर्काचर्की गर्न मन नलाग्ने, सोझो औँलाले घिउ नआउने । त्यसैले जहिले मासु किन्न जाने कुरा चल्यो कि त मासु पसलेको फेला परिएला भन्ने त्रास । त्रासभन्दा ठूलो शत्रु अरू के हुन्थ्यो र ? त्यसैले फेरि आँटे एक दिन । र, फेरि तक्दिर आजमाउन म मासु किन्न हिँडेँ । घट्टेकुला चोकबाट पीपलबोटतिर जाने बाटोमा सात/आठ घरपछि दाहिनेतिरको एउटा घरमा मासु पसल थियो । त्यहाँबाट ओहोरदोहोर गर्दा एक जना दिव्य सुन्दरी पसल्नीको दर्शन हुन्थ्यो । दुई–चारपल्ट आँखा जुधेपछि परिचित भएको प्रतीत भएको थियो मलाई । त्यसैले त्यहाँ ढुक्कसँग छिरेँ म । 

स्वागत मुस्कानले भयो ।

एक किलो मासु मागेँ र खसीको फिला देखाउँदै भनेँ, “यो भाग दिन मिल्छ ?”

“किन नमिल्नू ? रोजेर लानूस् न !” मेरो कानमा मानौँ जलतरंग बज्यो । उनले मासु जोखिन् । जोखिसकेपछि अचानोमा राख्न के लागेकी थिइन्, भित्रबाट एक जना डरलाग्दो मान्छे यामानको चुपी लिएर कराउँदै निस्कियो । मेरो सातो गएगएजस्तो भयो ।

“मान्छे चिन्नु छैन, जथाभावी मासु दियो बस्यो । यसरी हुन्छ व्यापार ? छोड् । हाकिमसाबलाई म राख्दिन्छु मासु ।” चुपी लिएर करायो त्यो । र, सुन्दरीले जोखेको मासु हटाएर मनखुसी छानीछानी मासु जोख्न थाल्यो । 

अघि तर्सिएको मन अब काबुमा आयो । सुन्दरीले पनि मासु त रोजेकै राखिदिएकी थिइन्, अब झन् विशेष मासु पाइने आशको बडेमानको सूर्य उदाएको थियो । मन त्यसै त्यसै उडेको थियो, फुरुंग थियो । त्यहाँ जेजे भए केहीको छवि मनमा छापिएन । धमिला आकृतिहरू मात्र याद रहे । कस्तो मासु, कति तौल भन्ने कुरा त्यहीँको त्यहीँ विस्मृत भए । झोलामा मासु गुटमुट्याएर म दोकानबाट निस्केँ । 

दंग परेर, ढकमक्क फक्रेर घर पुगेँ । तर, जब मासु थालमा खन्याएँ, जस्तो फक्रेको त्यस्तै ओइलाएँ । करिब एक पाउ मासु फ्याल्नुपर्ने देखियो । फेरि खिन्न भएँ । 

भन्छन्, दिन सबैको फिर्छ एक दिन । मेरो पनि फिर्‍यो । मैतीदेवी चोकबाट मन्दिर जाने बाटोमा एउटा मुसलमानको मासु पसल भेटियो । यो पहिलेदेखि नै थियो र मेरो आँखामा नपरेको वा भर्खर खुलेको थियो, दैव जानून् । 

एक दिन त्यही पसलमा मासु किन्न गएँ । पसलमा छिर्नेबित्तिकै हठात् एउटा विचार फुर्‍यो । मैले एक किलो मासु जोख्न लगाएँ । उसले जोख्यो । जोखिसकेपछि काट्नेकाट्ने बेलामा मैले उसलाई अनुरोध गरेँ, “आप इस गोश्त से चर्बी निकाल देंगे जरा ? पैसा पूरा लिजिए ।” पैसा एक किलोकै पाउने भएपछि ऊ निश्चिन्त भएर मासुबाट बोसोलाई बेदखल गर्न थाल्यो । 

उसले एक पाउ जति बोसो मासुबाट अलग गरिदियो । त्यो फालिएको बोसोको पैसा मेरै खल्तीबाट गएको थियो । मलाई त्यसको परवाह थिएन । मैले अठोट गरिसकेको थिएँ, पैसा बढी जाओस्, परेको तिर्छु तर अनावश्यक बोसो वा मासु पसलमै छाडेर आउँछु । म ती मुसलमान भाइकहाँ मासु किन्न बरोबर जान थालेँ । उसले पनि सकेसम्म कम बोसो भएको मासु दिन थाल्यो । सुरुमा एक पाउ फ्यालिन्थ्यो भने अब आधा पाउजति । 

“लगता है कि आप इन्डिया घुमे हैं ।” एक दिन उसले सोध्यो ।

“क्यों ?” मैले सोधेँ । मैले मासु किन्ने तरिकासँग हिन्दुस्तान घुम्नुको सम्बन्ध के थियो मलाई खुल्दुली भयो । 

“जिस प्रकार आप कटिङ करवाते है और एक ही जगह का गोश्त खरिदते हैं, उस हिसाब से ।”

उसको जवाफ मेरा लागि चित्तबुझ्दो थिएन । म केवल मुसुक्क हाँसिदिएँ र पसलबाट निस्किएँ । 

कुरा ०५० सालतिरको हो । घरमा पाहुना बोलाएको थिएँ । सधैँ किन्ने गरेको मासु दोकान त्यस दिन बन्द थियो । समस्या मान्छेको जीवनमा थरीथरीका आइलाग्छन् । यतिखेर मलाई त्यो मासु पसल बन्द भएकाले समस्या दिएको थियो । 

अचानक दिमागमा धरहराको मुसलमानी मासु पसल याद आयो । चार–पाँच वर्ष भइसकेको थियो, त्यहाँ नगएको । छँदै छ कि बन्द भयो के थाहा ? गई त हेरूँ, जे पर्ला पर्ला ! मैतीदेवी चोकबाट विक्रम ट्याम्पो समातेँ । सुन्धारामा ओर्लिएँ र सरासर धरहरातिर लम्किएँ । 

संशयसहित मासु पसलमा पुगेँ । दाह्रीवाला मासुपसलेले मलाई देख्नेबित्तिकै चिन्यो र भन्यो, “सलाम वालेकुम । आप तो बस गायब ही हो गए । भूला दिए का ?”

मैले भनेँ, “वालेकुम सलाम भाइजान । कैसे भुलेंगे आपको । बस् यह जगह छोड के कहीँ और चला गया था तो आ नहीं पाए ।”

एक किलो मासु जोख्न लगाएँ । छाला काढिएको, ठूलठूला हड्डीरहित, बोसो लगभगरहित हेर्दै कमलो मासु उनले जोखे । ससाना टुक्रा पारे । पोको पारे र मलाई दिए । उनको मुहारमा न्यानो मुस्कान देखेँ मैले । वर्षौंपछि मलाई भेट्दा खुसी थिए उनी । मानौँ, हराएको केही सामान फेला परेको छ । मैले पैसा दिएँ । र, जाँदाजाँदै सोधेँ, “कैसे रहा माजी (विगत) ? सब ठीकठाक ही रहा ना ?”

“का बताएँ साहेब ? जिन्दगी कट गइ गोश्त काटते काटते ।”

मानिसको जिन्दगी कसरी कसरी बित्छ ? थाहा छैन तर यहाँनेर कसैको समय मासु काट्दाकाट्दै कटिसकेछ । कस्तो खालको सपना बोकेर उनले पहिलोपल्ट चुप्पी चलाए होलान् ? मैले उनको अनुहार हेरेँ, झपक्क कालो दाह्री । र, त्यो दाह्रीको अन्तरकुन्तर पन्छाउँदै पलाएका सेता दाह्री । गुनासोको पृष्ठभूमिमा निश्छल मुस्कान । म सिरिंग भएँ । काँडा उम्रियो शरीरभरि । जवाफमा केही बोल्न सकिनँ । उभिरहन सकिनँ । तुरुन्तै सरेनन् पाइला अगाडि । किंकर्तव्यविमूढ अवस्था सायद यसैलाई भन्छन् । उसको जवाफले मेरो शरीरभित्रको तन्तु र मासु हल्लाइरहेको थियो । 

एकछिनपछि कामेको हात उनीसँग मिलाएँ । र, हात छुटाएपछि छातीको देब्रे भागमा हत्केलाले छुवाएँ । उनीसँग फेरि आँखा जुध्यो, सुर्ती खाएर ठाउँठाउँमा हल्का खैरो टल्किएको दाँत देखियो । फेरि उही न्यानो मुस्कान थियो अनुहारमा, निश्छल । 

म फटाफट अगाडि बढेँ । पछाडि फर्केर हेरिनँ । अर्थात् त्यतिखेर आँट भएन । बाटोभरि ‘जिन्दगी कट गइ गोश्त काटते काटते’ भन्ने वाक्य दोहोरिरह्यो । 

प्रकाशित: फाल्गुन १८, २०७३