[स्मरण] राणाशासन जोगाउन मोहनशमशेरको अन्तिम प्रयास

  • नवस्थापित राजा ज्ञानेन्द्रलाई मान्यता दिई राणा सरकारप्रति समर्थन जुटाउने मोहनशमशेरको अन्तिम प्रयास विफल भएपछि प्रजातन्त्र निकटमै आइसकेको थियो ।

- गोरक्षबहादुर न्हुछें प्रधान

राजा त्रिभुवन दिल्ली जाने उद्देश्यले एकाएक भारतीय दूतावास पसेपछि श्री ३ मोहनशमशेरको होसहवास नै उड्यो । अब के गर्ने, कसो गर्ने भन्ने द्विविधामा रहेका उनले मामाघरमा छाडिएका तीनवर्षे बालक ज्ञानेन्द्रलाई राजा बनाए । यस घटनापछि त राणाविरोधी अभियान झन्झन् चर्कियो । दिनहुँजसो सडकमा प्रदर्शन हुन थाले । 

राणाविरोधी आन्दोलन चोक, गल्ली र घरघरबाट उठिरहेको थियो । कहिले काठमाडौँका डिल्लीबजार, न्युरोड क्षेत्रबाट त कहिले पाटन, भक्तपुरमा सरकारको विरोधमा मानिसहरू सडकमा उत्रेका थिए । सरकारको विरोध गर्नेहरूलाई पक्राउ गरी थुन्ने काम मोहनशमशेर सरकारका लागि सामान्य दैनिकीजस्तै बनिरहेको थियो । 

आमजनताका छोराछोरीका अतिरिक्त उनका आफ्नै भाइभारदारसमेत सरकारको विरोधमा उत्रिए । आफ्नो सरकारको विरोध गरेको आरोपमा मोहनशमशेरले बालकृष्ण सम, जनार्दनशमशेर, जगतशमशेर, नरेशशमशेर, लक्ष्मणशमशेर, डायमनशमशेर, प्रह् लादशमशेर, किरणशमशेर, नरनारायण शमशेर, पवनशमशेर, खेमराजशमशेर आदिलाई गिरफ्तार नै गरे ।

आमजनता र परिवारभित्रैको विरोध थेग्न नसकेपछि मोहनशमशेर विदेशी कूटनीतिक नियोगको समर्थन बटुल्ने प्रयासमा लागे । यस क्रममा उनले नवस्थापित ज्ञानेन्द्रलाई राजा स्वीकार गर्न भारत सरकार तयार रहेको हल्ला चलाए । तर, त्यो हल्ला धेरै दिन कायम रहेन । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले ‘नेपालमा नवस्थापित ज्ञानेन्द्र शाहलाई राजा मान्न हामी तयार छैनौँ’ भन्ने अभिव्यक्ति दिएपछि उनको त्यो चाल निरर्थक भयो ।

यस घटनाबाट रन्थनिएका मोहनशमशेरले ब्रिटिस दूतावासको सहयोगमा ब्रिटिस सरकारको ‘ग्रिन सिग्नल’ कायम राख्ने भरमग्दुर प्रयास गरे । किनभने, त्यसबेलासम्म ब्रिटिस सरकार राणा सरकारको पक्षमै थियो । ब्रिटिस प्रधानमन्त्रीसँग सम्पर्क कायम गरी मुलुकको अवस्था सामान्य रहेको र नेपाली जनता ज्ञानेन्द्रलाई राजा मानेर बस्न तयार रहेको सन्देश पठाएपछि उताबाट एक प्रतिनिधिमण्डल नेपाल आउने भएको रहेछ । तर, यो कुरा दुई सरकारका बीचमै सीमित राखिएको थियो । 

बेलायती प्रधानमन्त्रीले आफ्नो विदेश मन्त्रालयका उच्च अधिकृत सर इस्टर डेनिङ र नयाँदिल्लीस्थित ब्रिटिस उप–हाइकमिस्नर राबटर््ससहितको प्रतिनिधि मण्डललाई ४ मंसिर २००७ का दिन नेपाल पठाउने तयारी गरिरहेको सुइँको यहाँका भारतीय दूतावासका एक कर्मचारीले पाएपछि यसको खुलासा भएको थियो । ३ मंसिरका दिन ती कर्मचारी नेपाली कांग्रेसका एक नेतालाई भेट्न न्युरोड पुगेका बेला त्यो खुलासा गरेका थिए । यसपछि त राजनीतिक दल, महिला, युवा र विद्यार्थीहरू भड्किए, आन्दोलनले जोर पक््रयो । हामी विद्यार्थीहरूले प्रतिनिधि मण्डल आउने भनिएको ४ मंसिरका दिन नेपाल छात्र संघको ब्यानरमा जुलुससहित सानो गौचर विमानस्थल पुगेर ज्ञापनपत्र नै बुुझाएर विरोध गर्ने निर्णय गर्‍यौँ ।

त्यो ज्ञापनपत्र बुझाउन नाम चलेको र स्वच्छ मान्छे छान्ने क्रममा शंकरदेव पन्त (शंकरदेव क्याम्पसका संस्थापक)को नाममा सहमति बनेपछि हामी विद्यार्थीहरू उनलाई भेट्न उनको पुतलीसडकस्थित घरमै पुग्यौँ । ‘तपाईंको हातबाट ब्रिटिस प्रतिनिधि मण्डललाई ज्ञापनपत्र बुझाउने निर्णय गरेर आएका छौँ’ भन्दा उनले सहर्ष स्वीकार गरे । ४ मंसिर दिउँसो २ बजे विद्यार्थीको जुलुस लिएर सानो गौचर विमानस्थल पुग्दा २०औँ हजार मानिसले विमानस्थल घेरिसकेका रहेछन् । शान्ता श्रेष्ठ र पुण्यप्रभा देवी ढुंगानाको अगुवाइमा पुगेका महिलाहरूले पनि ठूलठूलो स्वरले नारा लगाइरहेका थिए, ‘ब्रिटिस प्रतिनिधि मण्डल फिर्ता जा, राजा त्रिभुवनलाई स्वदेश फर्काउँछौँ, राणाशासन मुर्दावाद’ आदि ।

नाराबाजीले विमानस्थल गुञ्जायमान थियो । अपराह्न ४ बजे ब्रिटिस प्रतिनिधिमण्डल काठमाडौँ उत्रिनासाथ तारबार र कुनै कम्पाउन्ड नभएको विमानस्थलभित्र मानिसहरू गुरुरुरु प्रवेश गर्न थाले । चन्द्रबहादुर थापाको कमान्डमा खटिएको प्रहरी प्रशासनलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे पर्‍यो । त्यसलगत्तै पुलिसले अन्धाधुन्ध लाठीचार्ज गर्नुका साथै हवाई फायर नै गर्‍यो ।

गौचर विमानस्थलमा पहिले नै ब्रिटिस दूतावासको गाडी तयारी अवस्थामा राखिएको थियो । उनीहरूलाई कडा सुरक्षासहित ल्याउँदै गर्दा शंकरदेव पन्तलाई अगाडि लगाएर हामी सर इस्टर डेनिङसम्मुख पुग्यौँ र ज्ञापनपत्र बुझायौँ । ज्ञापनपत्र बुझाउँदा पन्तका हात थरथर काँपेका थिए । तर, ज्ञापनपत्रमा उल्लिखित बेहोरा पढेपछि चाहिँ डेनिङ काम्न थाले । उनको अनुहार हेर्नलायक भएको थियो । हामीभन्दा अगाडि पनि उनलाई ज्ञापनपत्र बुझाइएको रहेछ । पत्रमा लेखिएका बेहोरा भने सबैका उस्तैउस्तै रहेछन् । तर, यो प्रमण्डलको भ्रमणले मोहनशमशेरको कामलाई वैधानिकता दिएन ।

यसरी ब्रिटिस प्रतिनिधिमण्डललाई सुटुक्क नेपाल बोलाएर फकाइफुस्लाइ आफ्नो पक्षमा समर्थन जुटाउने मोहनशमशेरको सपना सिसाझैँ चकनाचूर भएको थियो । नवस्थापित राजा ज्ञानेन्द्रलाई मान्यता दिई राणा सरकारप्रति समर्थन जुटाउने मोहनशमशेरको अन्तिम प्रयास विफल भएपछि प्रजातन्त्र निकटमै आइसकेको थियो । 

प्रकाशित: फाल्गुन १८, २०७३