क्रसरोड कमाण्डर

  • सञ्जय श्रेष्ठ दुई–दुई पटक भ्वाइस टेस्ट फेल भएका गायक हुन् । एकपटक रेडियो नेपालमा, अर्कोपटक म्युजिक नेपालमा ।

- राजकुमार बानियाँ

माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?

आफ्नो पहिलो गीत गफगाफजस्तो लाग्थ्यो, सञ्जय श्रेष्ठ, ४८, लाई । त्यसैले त पहिलो एल्बममा साइड–बीको पनि दोस्रो नम्बरमा लुकाएका थिए । तर, त्यही गीत ‘सुपर हिट’ मात्र नभएर ‘सिग्नेचर’ बन्यो उनको । २६ वर्ष पुरानो त्यो गीतको कद बराबर हुन उनलाई मुस्किलै परिरहेको छ । “मेरो दोस्रो राष्ट्रिय गीत त्यही हो । जहाँ गए पनि नगाई सुख पाउँदिनँ,” उनी फर्माउँछन्, “श्रोता/दर्शकले सिम्पल चीजलाई नै रुचाउँदा रहेछन् ।” 

सञ्जयको शब्द अनि शरदसिंह महत र उनको कम्पोज रहेको त्यो गीत संगीतज्ञ अम्बर गुरुङको घरमा रेकर्ड भएको थियो, ०४८ मा । अझ उनका रेकर्डिस्ट (कान्छा) छोरा शरदको बेडरुममा ।  ४३ दिन लगाएर नौ थान गीत त्यहीँ थपिए र पहिलो एल्बम उदायो, नयाँ मोड । 

एल्बम तयारीकै क्रममा सञ्जय (लिड भोकलिस्ट), शरदसिंह महत (रिदम गिटारिस्ट), निम्बु लामा (भोकलिस्ट), विनायक शाह (लिड गिटारिस्ट) र भूषण खनाल (बास गिटारिस्ट) अर्थात् पञ्च–पाण्डवको ब्यान्ड जन्मिहाल्यो, ‘क्रसरोड ।’ अक्सफोर्ड डिस्कनरीमा त्यसको माने छ, ‘क्रिटिकल पार्ट अफ लाइफ ।’ ठ्याक्कै त्यस्तै भयो, ब्यान्डको नियति । उनका साथीहरू भेटिनेबित्तिकै छुटे । एल्बम रिलिज हुँदा देशमा सञ्जय र शरद मात्र थिए । शरदको साथ पनि तेस्रो एल्बमपछि टुटिहाल्यो ।

रोचक के भने सञ्जयबाहेक क्रसरोडका चार संस्थापक इन्जिनियर हुन् । निम्बु जापानमा छन् भने बाँकी अमेरिका । “अचम्म लाग्ला, ब्यान्डका पाँच जना एकै ठाउँ बसेको फोटोसमेत छैन । एकै ठाउँ नहुँदा माया मेरी माया...को लाइनअपमा स्टेज पर्फम गर्न पाइएन,” उनलाई खेद छ, “एल्बम हिट भएको खुसीयाली पनि एकसाथ सेलिब्रेसन गरेको छैन ।” उनलाई के थाहा छ भने ती साथी नभेटिएका भए आफ्नो परिचय कोठेगायक मात्रै हुन्थ्यो । ब्यान्डमा एक्लो भएपछि सञ्जयले लिड गिटारमा ज्योति घिमिरे, रिदममा भूपेन्द्र बज्राचार्य, बासमा उदेशलाल श्रेष्ठ र ड्रममा प्रविन मानन्धरलाई भित्र्याएका छन् । 

त्यतिबेला एउटा गीत रेकर्ड गर्न एक हजार रुपियाँ चाहिन्थ्यो भने एउटा क्यासेटको परल मूल्य ४५ रुपियाँ पथ्र्यो । क्रसरोडका पञ्चपाण्डवले आफ्नै गोजीबाट निकालेका थिए खर्चपर्च । सञ्जय र शरद क्यासेट बोकेर थुप्रै म्युजिक कम्पनी धाए । म्युजिक नेपालले १० हजार थान बिकिसकेपछि एक क्यासेटको दुई रुपियाँ रोयल्टी दिने भनेर फर्काइदियो । अनेक अपमान र भुक्तमान पाएपछि भीम तुलाधरले सिंगल साउन्ड्स सर्भिसलाई सिफारिस गरे । उसले प्रतिएल्बम चार रुपियाँ रोयल्टी दिने भयो । एल्बम निस्केको दुई सातामै १५ हजारभन्दा बढी थान बिक्री भयो । जम्माजम्मी चार लाख कपी एल्बम बिक्री भयो । “१६ लाख रुपियाँ एकमुष्ट बुझेको होइन, महिनावारी तलबजस्तो भयो,” सञ्जय लुकाउँदैनन्, “बियर–बारमै सकियो भन्नुपर्‍यो ।” 

साँच्चै नयाँ मोड आयो नेपाली संगीतमा । चोक–चोकमा गिटार समाएर गीत गाउने जमात देखापर्‍यो । पहिलो एल्बमको ‘गुडविल’ कस्तो भने घुम्दाघुम्दै र टाढा नजाइदेऊ नामक दुई एल्बम एकसाथ निकाले सञ्जयले । एउटा एल्बमको कपीराइट प्रवेशमान शाक्यले ९० हजार रुपियाँमा किने भने अर्को एल्बमबापत असनमा अन्नपूर्ण क्यासेट सेन्टर खोलेका पपगायक भीम तुलाधरले मोटरसाइकल किनिदिए । 

‘माया मेरी माया...’ ले चर्को लोकप्रियता पाउँदा जम्मा २२ वर्षका थिए सञ्जय । “अम्बर गुरुङको घरमा माइक स्ट्यान्ड थिएन । त्यसैले घोप्टो परेर गाएको थिएँ त्यो गीत,” उनी गर्व गर्छन्, “अहिले संगीत सिकाउने हरेक ठाउँमा सिकारुलाई माया, मेरी माया... गाउन लगाएको पाउँछु ।” 

‘माया, मेरी माया’ले उनलाई १२ वटा मुलुक घुमाइसक्यो । अझै केही महिना अस्ट्रेलिया, अमेरिका र युरोपका लागि बुक छन् । “फ्यान मेरा भगवान् हुन्, तिनकै आशीर्वादले म यो स्थानमा छु,” उनी भन्छन्, “भगवान्लाई भगवान्कै रूपमा ट्रिट गर्नुपर्छ । फ्यानको पनि फाइदा उठाउने अनैतिक हुन् ।” अब उनी आफ्नै मुलुकमा ब्रायन एडम्सको जस्तै विशाल कन्सर्ट गर्न चाहन्छन् । “के गर्नु सोनाक्षी सिंहलाई ल्याएर नचाउँछन्,” उनी फिस्स हाँस्छन्, “नेपाली कम्पनीले नेपालीलाई नै पत्याउँदैनन् ।” 

आफ्नो फ्यान–फलोइङमा उनलाई एकदमै विश्वास छ । दुई दशक पहिले उनले क्राउडमा दर्जनौँ कन्सर्ट गरेका पनि हुन् । भैरहवामा टाढाका दर्शक सोलो कन्सर्टको अघिल्लो दिनै आएर बसेको उनलाई सम्झना छ । “कन्सर्टको दिन मौसम बिग्रिएको बहानामा काठमाडौँ फर्कने दुइटा फ्लाइट क्यान्सिल भए,” उनी सुनाउँछन्, “केही दिनपछि के खुल्यो भने खास कारण मौसम होइन, त्यही कन्सर्ट थियो ।” क्रसरोडका डाइहार्ट फ्यान पाइलट र एयर होस्टेजकै अनुरोधमा उडान रद्द गरिएको रहेछ । 

त्यसअघि पोखराको कन्सर्ट सकिएलगत्तै पोखरेली युवतीका हातहातमा मार्कर देखेर चमत्कृत भएका थिए सञ्जय । तिनै मार्करले अटोग्राफ लेखिदिए कागजमा होइन, युवतीका शरीरमा । “हाम्रो कन्सर्टको टिकट ब्ल्याकमा बिक्री हुनु सामान्य भइसकेको थियो,” उनी भन्छन्, “दार्जीलिङबाट घोडा चढेर इलामको कन्सर्ट हेर्न आएका थिए ।” 

रोचक प्रसंग के भने सञ्जय श्रेष्ठ दुई–दुई पटक भ्वाइस टेस्ट फेल भएका गायक हुन् । एकपटक रेडियो नेपालमा, अर्कोपटक म्युजिक नेपालमा । भ्वाइस टेस्ट फेल भएकाले उनका गीतले रेडियो नेपालमा प्रवेशै पाएनन् । गीत बज्ने एक मात्र ठाउँ थियो, नेपाल टेलिभिजन । मंगलबार राती पौने ९ बजेको साप्ताहिक कार्यक्रम ‘संगीत लहर’मा चान्स दिन्थे हरिशरण लामिछाने । पहिलो एल्बम हिट भएपछि मात्र मीरा राणाले बोलाएर भ्वाइस टेस्टको कर्मकाण्ड मिलाएर पासको प्रमाणपत्र दिलाइन् । “मेरा गीत रेडियोमा बजेको भनेको एफएम खुलेपछि मात्रै हो,” उनी स्वीकार्छन्, “नत्र सुन्ने भनेको एल्बममै हो ।” पपगीतलाई गीत मान्नै तयार थिएनन् कतिपय । “पप भनेको हुरीको चल्ला हो, उडाइहाल्छ भन्ने जमात हाबी थियो,” उनी भन्छन्, “वाद्यवादन मात्र बाहिरिया हो, भावना नेपाली नै छ भनेर आफूले आफैँलाई पुष्टि गर्नुपर्ने परिस्थिति बन्यो ।” 

सञ्जय धन्यवाद दिन्छन्, घरपरिवारलाई । जसले साइन्स कलेज छाडेर म्यानेजमेन्टतिर जाने छुट दियो । डाक्टर–इन्जिनियर बन्नुपर्छ भनेर कहिल्यै दबाब दिएन । पपगीतमै नाम कमाओस् भन्ने मंगल कामना गरिरह्यो । घरानाकै पहिलो र एक्लो गायक हुन्, सञ्जय । घरमा बाजागाजा थिएनन् । संगीत रुचाउने साथीभाइ बनाए । स्टुडियोमै बजाए, गाए । औपचारिक नाम सञ्जयमानसिंह प्रधान पाएका उनको गायनको सुरुआत भयो बाथरुममा । क्षेत्रपाटी डबलीका भजन र सांगीतिक कार्यक्रम कहिल्यै छुटाएनन् । प्रेम राना औतारीको बाँसुरीवादनले त्यसमा रौनक थपिदिन्थ्यो ।

किशोरकालमा नारायण गोपालका गीत अनि बिटल्स, इगल्स, स्कोरपियन ब्यान्डको प्रेममा परे सञ्जय । ओमविक्रम विष्ट, हरिश माथेमा, सुनील उप्रेती, भीम तुलाधर, प्रवेशमान शाक्य आदिका पाइला पछ्याए । अरूका गीत सुन्दासुन्दै सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा रोपिएको बीजले शंकरदेव कलेज पुग्दा वृक्षको अवतार पायो । 

अहिलेसम्म क्रसरोडकै नाममा उनका आधा दर्जन एल्बम निस्केका छन्, नयाँ मोड, घुम्दाघुम्दै, टाढा नजाइदेऊ, एउटा गाउँ थियो, तिमीलाई नै हो, जाऊ तिमी जाऊ । उदाउँदो नयाँ वर्षमा झम्का दिने सातौँ एल्बम निकाल्नेवाला छन्, थ्याङ्स गड इट्स फ्राइडे । उनले यसको भाका सारेको दुई वर्ष भइसक्यो । “मेरो रेस्ट लामो भइसकेको छ,” उनी हँसाउँछन्, “मेलम्चीको पानीजस्तो आउँछ, आउँछ मात्र भनिरहेको छु ।” 

नारायण गोपालका गीत नै गुरु भए उनका । एकलव्यजस्तो भएर संगीत साधना गरेका उनले व्यक्ति नारायण गोपालसँग भेट्ने मौका भने कहिल्यै पाएनन् । “दिनमा चार फेर नारायण गोपालको गीत गाए सरगम सिक्नै पर्दैन,” उनी भन्छन्, “उनको गीतको आरोह–अवरोहमा अद्भुत शक्ति छ ।” 

सफल व्यवसायी पनि हुन् सञ्जय । १७ वर्षको उमेरमै ठमेलको स्विस ट्राभल्समा मासिक सात सय रुपियाँको जागिर थालेका उनले केही समय हरिदेव पाठकको ट्राभल्समा नौ सयवाला नोकरी गरे । त्यसपछि उनका साथीले ट्राभल्स एजेन्सीको पार्टनर बन्न अफर गरे र ठमेलमा स्पेसल टिकटिङ ट्राभल्सको मालिक बने । केही वर्षमै संगीतलाई नै पहिलो र अन्तिम प्रेम मानेर ट्राभल्स–लाइन चटक्कै छाडिदिए । 

१६/१७ वर्षयता उनले नक्सालमा एरियन मिडिया नामको विज्ञापन एजेन्सी चलाइरहेका छन् । नेपाल टेलिकमको मोबाइलको धुन उनकै कम्पोज हो । नेपाल टेलिभिजनको समाचार धुन पनि उनकै सिर्जना हो । कान्तिपुर एफएम र यूटीएलको धुन पनि उनकै हो । वाइवाइ, टू पीएम, रमपम चाउचाउ अनि शिखर सुजका विज्ञापन पनि निकै मन पराइएका छन् । शासन, छविलाल कन्जुस छैनलगायत दर्जनौँ नेपाली फिल्ममा संगीतसमेत दिएका छन् । 

देब्रे कानमा मुन्द्रा अनि रबरले बाँधेको चुल्ठो सञ्जयका ब्रान्ड हुन् । पाखुरामा ओमको ट्याटु थपेका छन् । अक्सर डिङ्गो जुत्ता मात्र लगाउँछन् । १ सय ५० ठाउँमा च्यातेको पाइन्ट लगाउन संकोच मान्दैनन् । “फेसन गरी हिँड्न रुचाउँछु,” उनी भन्छन्, “स्टाइल फलो गर्नुलाई म नराम्रो मान्दिनँ ।” उनको सोख छ, जिममा । २७ वर्षयता उनी नियमित जिमखाना धाइरहेका छन् ।

ठमेल आफ्नै गाउँघर हो उनका लागि । ठमेलकै थर्ड आई रेस्टुराँको रुफटपमा कुनै बेला भलिबलका राष्ट्रिय कप्तान अनि प्लेयर्स बिट नामक एल्बम निकालेका सुशील चौधरीसित बियरमा मस्त भेटिएका उनको विवाह भएको रहेछ, विराटनगरिया चेली वन्दनासँग । विवाहपछि प्रेम गरिएकी वन्दना वृहस्पति विद्या सदनमा पढाउँछिन् भने छोराछोरी स्कुल–कलेज पढिरहेका छन् ।

सहरहरूसँग सुमधुर सम्बन्ध छ सञ्जयको । कीर्तिपुर उनको पुख्र्यौली थलो हो । कोतपर्वमा बाजे मारिएपछि वीरगन्जतिर भागेका रहेछन् उनका जिजुबाजे । जागिरे बाबुको सरुवासँगै जनकपुरमा फुपूको घरमा जन्मिएका उनको मावली र ससुराली सहर हो, विराटनगर । काठमाडौँ बस्न थालेको पनि ३७ वर्ष भइसक्यो । यावत् सहरहरूको अनुभव लिएका उनी आफूलाई कुल मिलाएर ‘मधिसे नेवार’ ठान्छन् । 

वीरगन्जमा रैथाने बनेर बसेका छन्, उनका काका । भाइ राजेशमान सिंह राष्ट्रिय मधेस समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् । साइकल चिह्न लिएर चुनाव पनि लडेछन् । अबको उनको बाटो पनि राजनीति नै हो । “एकातिर १७ हजार मानिसको रगतमा मुछिएका व्यक्तिलाई प्रधानमन्त्री मान्नुपर्ने बाध्यता छ, अर्कातिर हरेक कुरा छिमेकीलाई सोधेर गर्ने व्यक्तिलाई ठूलो पार्टीको नेता,” उनी खनिन्छन्, “यति हुँदाहुँदै पनि फेसबुकमा प्रधानमन्त्रीलाई एकलखे लगाएर लेख्न म सक्दिनँ । मेरा बाबुको नाम पनि प्रचण्डमान हो ।”  

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उम्मेदवार बनेका सञ्जयको भूतपूर्व पोर्टफोलियो भने नेपाली कांग्रेसका कट्टर समर्थक हो । पञ्चायतकालदेखि नै ठमेल क्षेत्रमा पार्टी पक्षधर वडाध्यक्ष जिताउन लागिपरेका व्यक्तिको कांग्रेससँग किन मोहभंग भयो त ? “राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा छाडेपछि म कांग्रेस रहिनँ,” उनी भन्छन्, “राप्रपा नेपालसँग मेरो मत मिल्यो ।” 

त्यो चुनावमा बिहान–बेलुकीको क्याटरिङ र पेट्रोल खर्च गरेर झन्डै ४० लाख रुपियाँ सकेछन् उनले । ३ हजार ३३ मत ल्याएर वरीयताक्रममा चौथो भए । “विवाहमा एक पटक पार्टी हुन्छ, चुनावमा दिनको दुईचोटि पार्टी,” उनी हाँस्छन्, “मलाई केमा सन्तोष छ भने केशव स्थापितभन्दा धेरै मत पाएँ ।” राप्रपाका नवनिर्वाचित अध्यक्ष कमल थापासँग कतिपय कुरामा उनको मत बाझेको छ । तर, उनले पार्टी छाडिहालेका छैनन् । “राजनीतिमा लामो दोस्ती पनि हुँदैन, दुस्मनी पनि हुँदैन,” 

सञ्जय–सूत्र छ, “दुस्मनीलाई दोस्तीमा बदलेर आफ्नो एजेन्डा माथि ल्याउनु नै राजनीति हो ।” 
त्यसो त भारतीय नाकाबन्दीताका प्रधानमन्त्री रहेका केपी ओलीको पक्षमा अभियानै चलाए सञ्जयले । फेसबुक प्रोफाइलमा ओलीको तस्बिरसहित नारा लेखे, ‘म केपी ओलीको साथमा छु, देशमा अहिले तिम्रो आवश्यकता छ ।’ पोखरेली युवाले सोही तस्बिर र भनाइ राखेर टिसर्ट निकाले । त्यसबापत उनलाई बालुवाटारमा दुई पटक बोलावट भयो । ओलीसित फोटो खिचाएर फेसबुकमै हाले । उनको भनाइमा ‘राजतन्त्र र हिन्दुराष्ट्रलाई पनि महत्त्व दिने’ ओलीको भाषणमा उखान–तडका हुन्छ । “म जन्मजात राजतन्त्र र हिन्दुराष्ट्रको पक्षधर हुँ,” उनी नेता पारा झिक्छन्, “लेखेर राख्नूस्, यी दुईको बहाली हुन अब ६ महिना पनि लाग्दैन ।” 

प्रकाशित: फाल्गुन १८, २०७३