'सुन साइँली’ गायकलाई १२ प्रश्न

- मनबहादुर बस्नेत

हेमन्त राना, ३० । यो नाम यतिबेला धेरैको मुखमा झुन्डिएको छ, गीत ‘सुन साइँली ...’को प्रख्यातिसँगै । रानाले गाएको यो गीत यूट्युबमा ५० लाखभन्दा बढीले हेरिसकेका छन् (१३ फागुनसम्म) । आफ्नो घरपरिवार त्यागेर वैदेशिक रोजगारीका लागि बिछोडिएको दम्पतीको दर्द लपेटिएको छ, गीतमा । यसअघि तीनवटा एल्बम निकालेका रानालाई जनमानसमा चिनाउन भने ‘सुन साइँली ...’ गीत नै कुर्नुपर्‍यो । ११ वर्षदेखि गायनमा सक्रिय तिनै रानासँगको कुराकानी : 

‘सुन साइँली...’ गीतमा के त्यस्तो रहस्य रहेछ, जसले तपाईंलाई ११ वर्षसम्म पनि पाउन नसकेको चर्चा दिलायो ?  
खासमा यो सबै सफलता समय सन्दर्भ मिलेकाले हो । यो गीत हिट हुनुमा तीन पक्षको महत्त्वपूर्ण भूमिका छ । 

के के ? 
पहिलो त गीतमा उनिएको संगीत (कम्पोजिसन) । यसमा अत्यन्त आधुनिक संगीतमा लोकधुनको चटनी मिसाइएको छ । दोस्रो, शब्द नै शक्तिशाली छन् । शब्दमा अहिले सिंगो समाजले भोगिरहेको व्यथा छ । कम्पोजिसन, शब्द र समाजको व्यथाले यसलाई चर्चामा ल्यायो । म त माध्यम मात्र हुँ । 

भनेपछि तपाईं स्वयंले चाहिँ यो गीतमा त्यस्तो नयाँ कुरा केही गर्नुभएको छैन ? 
किन नहुनू ? गायनमा त मेरो मिहिनेत छ नि ! तर, मेरोभन्दा बेसी कालीप्रसाद बाँस्कोटाको संगीत भर्ने शैलीको भूमिका ठूलो छ भन्न खोजेको हो । म त त्यो सिर्जनाको ‘पर्फमर’ मात्र हुँ । 

सामाजिक व्यथा समेट्न सकियो भने गीत हिट हुने रहेछ होइन ? 
सधैँ त्यस्तो नहुन सक्छ । किनभने, मैले सात वर्षअघि समेत यस्ता विषयमा लेखिएका गीत गाएको थिएँ । तर, चर्चा कमै थियो । कहिले सोच्दै नसोचेका कुराले चर्चामा ल्याइदिन्छ त कहिले भयंकर चर्चा होला भन्नेले सामान्य प्रतिक्रिया मात्रै पाउँछ । चर्चा पाउनु र नपाउनुको मापनका आधार केलाउन गाह्रो रहेछ । 

आफ्नो गायकीले अपेक्षित गति नलिएकाले तपाईं अमेरिका जानुभएको थियो, हो ? 
होइन । म घुम्न गएको थिएँ । जीवनको भिन्न आयाम खोज्न गएको थिएँ । संगीतमा पनि नयाँ कुरा सिक्न पुगेको थिएँ । तर, मानिसहरूले मलाई अमेरिका पलायन भयो भन्ने ठाने । 

के खोज्नुभयो त त्यहाँ ? 
जीवनलाई फरक ढंगले बाँच्न सिकेँ । पश्चिमा जीवनशैलीलाई भोग्न र देख्न पाएँ । त्यसले फरक तरिकाले सोच्ने र जिउने काइदा सिकायो । 

संगीतमा चाहिँ केही सिक्नुभएन ? 
त्यहाँ पनि सांगीतिक क्षेत्रमा नै सक्रिय भएँ । स्थानीयहरूसँग मिलेर सूर्य पुन, सुजन ताम्राकार, म र अन्य केही साथीहरूले स्टेज कार्यक्रम गर्‍यौँ । अमेरिकी बसाइबाट संगीतमा ठ् याक्कै यही सिकेँ भन्ने शब्द छैन मसँग । तर, सोच्ने क्षितिजको दायरा फराकिलो बनाएँ । त्यसले मेरो सांगीतिक क्षेत्रलाई समेत प्रभाव पार्‍यो । 

तपाईंले यो गीतको म्युजिक भिडियो आफैँ निर्देशन गर्नुभएको छ । अब फिल्म निर्देशक पनि बन्ने होला, होइन ? 
हैट्, अहिले त्यस्तो सोचेको छैन । फिल्म निर्देशन त फेरि गाह्रो कुरा हो । अहिले मेरो कहाँ त्यो हैसियत बन्नू । 

तपाईंको साझेदारी कम्पनीले फिल्म त बनाउँदै छ, होइन ? 
हो, हामी दुइटा फिल्म निर्माण गर्दै छौँ । साइँली र अर्को एउटा । त्यसको नाम नभनौँ, जुन साइँलीभन्दा पहिले नै सार्वजनिक हुन्छ । 

भनेपछि फिल्ममा लगानी मात्रै गर्ने हो अहिले ? 
म र गौरव पहाडीका नाममा जीएन्डएच कम्पनी खोलेका छौँ । त्यसैले फिल्म बनाउँछ । त्यसमा अन्य तीन जना साथी पनि छन् । अहिले त हामी लगानी मात्रै गर्ने हो । 

गायक, म्युजिक भिडियो निर्देशक, फिल्मको लगानीकर्ता । यति धेरैतिर छरिँदा तपाईं जेबाट चिनिनुभयो, त्यो मूल परिचय हराउँदैन ? 
त्यस्तो नहोला । अन्य बाइप्रोडक्टका काम भए पनि म मूल पेसा गायनमा साधना गर्न छोड्दिनँ । 

गीतमा ४० कटेपछि रमाउँला भन्नुभएको छ र अहिलेसम्म अविवाहितै हुनुहुन्छ । साँच्चै ४० कटेपछि रमाउने हो ? 
हा... हा... । त्यस्तो होइन । त्यतिन्जेलसम्म पर्खनु नपर्ने पनि हुन सक्छ । फेरि विवाह नै नहुन पनि सक्छ । यो भाग्यको कुरा हो । म लेखान्तमा विश्वास गर्छु । लेखान्तमा जे छ, त्यही हुन्छ ।  
 

प्रकाशित: फाल्गुन १६, २०७३