[संस्मरण] साउदीको लाहुरे

- निर्भीक राई

उमेर १४/१५ को हुँदा पाँसुलाहरू लाम्चा भइसकेका थिए । ‘गोरा’ भन्न थाले गाउँले । तर, म गोरो वर्णको हुँदै होइन । १६ वर्षमै गोबरमा सप्रेको मूलाझैँ हलक्क बढिसके पनि एसएलसी पास गर्ने धुनमा अलमलिएँ । 

क्याम्पस पढ्न घरको आर्थिक स्थिति ठीक थिएन । लडाइँमा जाने परिवेश नभएर होला, ब्रिटिस गोर्खा सेनामा भर्ती हुने रहर गानिइहाल्यो । त्यसो त भूपू लाहुरेले विश्वयुद्घमा खानेकुरा सकिँदा आफ्नै छालाको बुट उसुनी खाएर सास अल्झाएको संस्मरण कहेकै हुन् । सहोदर माइला दाजुले इन्डोनेसियाको लडाइँमा खेपेको सकस पनि कानमा परेकै हो । गाउँले रविधन, लालजित र जबरधनले बस्नेतका सिमखेत किनेको खबर पनि सुनेकै हो ।

साइँला दाजुले महेन्द्र मोरङ कलेज पढ्दा जेबी टुहुरेबाट सिकेर क्रान्तिकारी गीत फैलाएका थिए गाउँमा, ‘जान्नँ म त गोर्खा भर्ती मलाया छाउनीमा पापी मोरा कुइरेको देशैमा ।’ गोठाला–खेतालामा गाउँदै कुर्लनुको बाबजुद त्यसको मर्मलाई गोली मारेर ब्रिटिस गोर्खा सेनामा भर्ती हुन सुरिएँ । नरहाङ फोपाले दाँवलमध्येमा सबभन्दा लायकमा गन्ती लाउँदा उचालियो पनि । त्यस क्षेत्रको ब्रिटिस सेनाका गल्लावाल माझाटोले लालजित (लाभा)सँग अनुरोध राखेँ, “फोपा (बाजे) मलाई पुनि भोर्ती जाने रहर छ ।”

“तेरो दाँत ठीक छेइन । तँलाई स्पेयरमा राखुँला ।” 

ठाउँ नभएर दाहिनेपट्टिको माथिल्लो कुकुर दाँत खप्टिएर दाह्राजस्तो भएको थियो । एक गाउँ पञ्चायतको दस जना कोटामा राखेर हातमा डाडुपन्यू हुँदा उनले कम तौलका आफ्नै छोरालाई आफ्नो भागमा चोक्टा पारेका थिए । आफ्नो दाह्रा भर्ती लाग्नुमा बाधा भएको ठानी सुनारलाई फुकाल्नु लाउन ठोट्नेरी हानिएँ । त्यस्तो जब्बर दाँत सनासोले जबर्जस्ती उखाल्दा धेरै रक्तश्राव हुने ठानी सुनारले फुकाल्ने आँटै गरेन । गल्लाले लिएको केटाबाहेक पनि आईआरओले हेर्दो रहेछ । अनुहारका केही डन्डीफोर हटाउनु चन्दन, माइली दिदीले दिएको पाउडर र कागती दलेँ र १८ वर्षे जुँगाको रेखी पनि उखेलेँ ।

वैशाखमा आईआरओ हरिबहादुर राई केटा छान्न मझुवा आए । लालजितको आँगन, आँगनमास्तिरको बाटो, कान्ला, बारीको डिलमा रमितेहरूले छपक्कै ढाके । केटाहरू दर्जीले सिएको अन्डरवेयरमा लस्कर लागे । हरेक केटाको नांगो जीउमा बेग्लाबेग्लै नियाल्दै उचाइ, तौल र छातीको नाप लिँदै कागजको चिर्कटोमा सांकेतिक भाषामा लेखेर अर्को लस्करमा पठाए । म लोकल (फाल्टो) केटाका रूपमा लस्करमा सर्दै आईआरओसामु पुगेँ । नापतौल सबैमा योग्य ठहरिएँ । 

उसलाई आईआरओले सोधे, “घर काँ ?”

“एइ गाउँ ।”

“के थरी ?”

“राई ।”

“राईकुरामा चुलाढुंगालाई के भोन्छ ?”

“खमाङ ।”

“खमाङ नै हो ?” उनले यकिन गर्ने मौका दिए ।

नजिकै रहेको गैरीघरेले बीचमा प्वाक्क बोले, “चुलाढुंगालाई हाम्रो कुरामा सुतुलुङ भोन्छ सुतुलुङ ।”

एक त हेर्दा तामाङ वा नेवारजस्तो देखिरहेको, त्यसमाथि राई कुरा नजान्दा मलाई ढँटुवामा दर्ता गरेको हुन सक्थ्यो । आईआरओले दाँतको निरीक्षण नगरेकाले लालजितले औँल्याएको दोषले फालिएको भन्ने कुराको शंका भएन । असफलताको पीडाले नियास्रो भएको अनुहारसँग घरतिर झरेँ । 

तल्लो घरकी काइँलीछेङ्माले सोधिन्, “भर्ती लागिनस् कान्छा ?”

“अँह ।”

चेतबहादुर बरू मभन्दा बढी राउन्डसम्म टिक्यो । गाउँबाट छानिएका सूर्जे घोपा मेडिकलमा अयोग्य भएर गाउँ फर्किए । याम्दङे चक्रबहादुर लोकलबाट छानिँदै भर्तीवाल बने । अर्को जिल्लाको गल्लावाल मुनिधन राईको ताम्कुस्थित घर पुगेर मैले आफ्नो इच्छा बताएँ । उनले नाप्ने टाँगोले मन लगाएर उचाइ नापे । 

उनले बोले, “ठीक छ । यो पञ्चायतबोडो तिमी सोबभोन्दा लाइक छौ भदै । तिमीलाई मैले दस जना मद्घेमा लिएँ ।” 

नाम लेखाउन चाहिने नेरु दस रुपियाँ मसँग थिएन । जागिरे भएर पनि साथमा जाबो दस रुपियाँ नहुनु भनेको अति लाजमर्दो कुरा थियो । लालजितको साटो सजिलै हार्दिकतापूर्वक दस जनामध्येमा लिएकामा फुरुंग हुँदै कुलुङ फर्किएँ । आईआरओ आउनेभन्दा एक दिनअघि वैशाख जाँदोमा बोक्टाङको फड्के तरेर ताम्कुतिर उक्लँदै थिएँ । बाटोमा भर्ती लाग्नु हिँडेका केटाहरूसँग जम्काभेट भयो । भर्ती लाग्न आएका पाङ्मा र हेलुवातिरका केटाहरूको हूलले जेठामामाको आँगनमा भतेर लगायो । जेठीभाउजूले मलाई पनि त्यही हूलमा भात खान लगाइन् । 

केटाहरूको हूल बिहानको खाना खाएर भोलि कतिखेर गल्लाको घरतिर उक्लिए ? मैले थाहा पाइनँ । दिउँसो एक्लै गल्लावालको घर ताक्दै सोल्डुङको धारातिर छड्किएँ । ‘केराले वजन बढाउँछ’ भन्ने कुरा सुनेकाले साथमा भएको एक काँइयो झपरी केरा ढुक्कैले हसुरेँ । गल्लावालको घरछेउको खेतको गराहरूमा केटाहरूको छनोट प्रक्रिया धेरैबेर अघिबाट सुरु भइसकेको थियो । लुगा उतारेर कट्टुमा मात्र म अन्तिममा उभिएँ । आईआरओ नरध्वज राईले मेरो शारीरिक बनावटलाई निकै ठम्याए । गल्लालाई यही मौकामा मैले कोसेली टक्र्याएँ । माइलादाजुले जालमा मारेको माछाको ठूलो पेरुंगो पच्ने कर्तव्य निभाए उनले, “केटा ठीक छ सा’ब ।” 

आखिरमा मेरो भुँडीमा औँलाले घोचेर आईआरओ हिँडे । उनले रुचाएको भए नापतौलका लागि म तानिन्थेँ होला । म ताँती लाग्नु पहिल्यै आईआरओले केटाहरूलाई पहिलो राउन्डमा छानिसकेको रहेछ ।  भर्ती लाग्न जुटेका साथीहरूसँग छाडिनु र केरा खाँदै अलमलिएर ढिलो हुनु मेरो ठूलो बेवकुफी भइदियो । 

एक महिनाअघि अघिल्लो गल्लामा जोखिँदा नै म ११९ पाउन्ड थिएँ । भर्ती लाग्न ११५ पाउन्ड वजन न्यूनतम चाहिन्थ्यो । बीचमा म बिरामी परेर खस्किएको पनि थिइनँ । केरा खाँदै अनावश्यक होसियारी अपनाउँदा छान्ने ठाउँमा बेलामा नपुग्नाले आईआरओको पहिलो नजरमै पर्ने मौकादेखि वञ्चित भएँ । ताँती लागेर उभिँदा पेट लुकाएर उभिने कला मैले जानिनँ । त्यसै त धोक्रे पेट, त्यसमाथि केरा भर्नुले फुलिएर घुस्याहा सीडीओजस्तो भुँडी देखियो । पेट भद्दा देखेर आईआरओले औँलाले घोचेर अरुचि प्रकट गर्दै उसलाई फालिदियो । पिटी भेस्टमा उसको फराकिलो छाती देखेर सन्त मिडिल स्कुलको प्रधानाध्यापक विष्णु प्रधानले अन्दाज गरेजस्तो दोस्रो खेपमा पनि म लाहुरे हुन सकिनँ । बरू, आईआरओको साथमा भएको ब्रिटिस गोर्खा सेनाले टिप्पणी गर्‍यो, “यो केटाको ओठ त आम्ममम ! हब्सीको जत्रै ठूलो ।” बारुलाले चिलेर सुन्निएको जस्तो मोटो ओठलाई त्यसरी खिसी गर्दा मलाई जङ चल्ने नै भयो ।

छानिएका केटाहरू जोखिन थाले । जोखिँदा पाङ्माका सहपाठी भोला राई (पछि ब्रिटिस गोर्खा मेजरको फुली लगाए)ले राखेको सेतो भित्री गन्जी उठाएर टाप कसेँ । भर्ती नलाग्नुको आफ्नो खास कमजोरी थाहा नपाउनाले कुइरोभित्रको काग हुँदै गल्ला फेरेर पनि असफल हुँदा भत्किएको मनसँग कुलुङ फर्किएँ । कान्छा छोरा ‘हङकङे लौरे’ भएर सुखको दिन फिराउला भन्ने आशमा परेको रिनको बोझले थिचिएको र बुढ्यौलीले भेटेका आमाबाबुको मन कति भत्कियो होला ?

धरानमा क्याम्पस पढ्दै घोपा क्याम्पमा भर्तीका लागि कोसिस जारी राख्नु भन्ने आमाको आदेशविरुद्घ म काठमाडौँमा चिकित्साशास्त्र पढ्न बहकिएँ । महाराजगन्ज क्याम्पसको सामान्य चिकित्साको पहिलो सत्रमा मलाई कोर्स जटिल लागि हरेस खाएका बेला त्यसै क्याम्पसमा अध्ययनरत देवीचरण राई पढाइ लात मारेर ब्रिटिस गोर्खा सेनाको भर्तीवाल भएको कुरा थाहा पाएँ । साथै, उसले वीर अस्पतालमा आफ्नो दाह्रा फुकालेर भर्तीमा गएका रहेछन् । तेस्रो खेप फेरि ब्रिटिस गोर्खा सेनामा भर्तीका लागि कोसिस गर्ने रहर पलायो । तर, मैले त्यसलाई कार्यान्वयन गरिनँ । 

हेल्थपोस्टको जागिरे बनेपछि नयाँ सुटमा ठाँटिएको थिएँ । कुनै ब्रिटिस गोर्खाको लाहुरेले सिंहदरबारअघिल्तिरको फुटपाथमा आफ्नै पल्टनको ठानी बोलाए । ब्रिटिस गोर्खाको माङ्तेवाली लाहुरे मेखबहादुर राईले ५४३ मोडेल नम्बरको नेसनल पानासोनिक रेडियो/क्यासेट प्लेयर ब्याट्रीको पोकासँग घन्काउँदै हिँडेको देखेर सोमबारे हाटमा त्यो रेडियो/क्यासेट प्लेयर सुनिरहँदा उनले बोकेर हिँड्नाले गीत सुन्नु नपाउँदाको नमज्जा सम्झेँ ।

चार वर्ष हेल्थपोस्ट इन्चार्जको जागिर गरेर र थप चार वर्ष अनमि श्रीमतीको तलबभत्ता मिसाउँदा समेत ०४३ मा नेरु लाख रुपियाँ साँच्न नसक्दा सात ग्रेट थाप्दै गरेको राजपत्र अनङ्कित प्राविधिक प्रथम श्रेणीको राजीनामा स्वीकृत गराएर साउदी अरेबियाको गाईगोठमा गोबर सोहर्न बहकिएँ । र, लाहुरे (गोलीगट्ठा खेलाउनु नपरे र परेड खेल्नु नपरे पनि) बन्ने चिर धोको पूरा गरेँ । त्यहाँ आठ वर्ष दलिँदा ब्रिटिस गोर्खाको लाहुरे (बूढा सिपाही)ले सोह्र वर्षमा कमाउने भन्दा धेर सम्पत्ति जुवाडे पाराले सोहोरेर नेपाल फर्किएँ । छुट्टीमा आउँदा नेपालमा घडेरी किन्दा वा कुनै पनि सामान किन्दा, नेपाल फर्केर घर बनाउँदा, गीति एल्बम निकाल्दा र किताब छाप्दा ब्रिटिस गोर्खाको लाहुरे ठानेर दुनियाँले उसलाई मुर्गा बनाएर धुत्नु धुते । कतिसम्म भने मलाई ब्रिटिस गोर्खाको लाहुरे ठानेर कुनै पनि कार्यालयको मामुली वैधानिक काम फत्ते गर्नु पनि (पियनलाई समेत जम्लाहात जोड्ने खाँटी लाहुरेले जस्तो) हेपाइ र शोषण खेप्नुपर्‍यो । 

जाडो याममा साउदी अरेबियामा सय मिलिलिटरको एक बोतल पेप्सी चुरुप्प निल्दै बिर्को लाउँदै चार–पाँच दिन पुर्‍याएर साँचेको धन नेपाल फर्केपछि औषधि पसलकाण्ड, गीति एल्बम काण्ड, ओरेन्टल सहकारी काण्ड र किताब काण्डमा आधाभन्दा धेरै खरानी भयो । त्यस्ता काण्ड नमच्चाई साउदीबाट फर्केर सुतीथाती वा हल्लिएर मात्र २१ वर्ष गुजारेको भए ? त्यो त कल्पना मात्र हो ।

मजस्तो लहडी, बिन्दास, अराजक वा स्वच्छन्दवादी, कोग्ल्याँटो, अटेरी र अति स्वाभिमानी मान्छे सेनामा भर्ती लागेको भए जीवन एकांकी पक्कै हुन्थ्यो । धन्न ! लायक ज्यान र दिमागलाई आईआरओ र गोराले पत्याएर एकनासे जीवन भोग्नु परेन । केरा खाँदै अलमलिनुले लाहुरे हुनबाट वञ्चित भई जीवनले बाफरे बाफ कत्ति भिन्न आयाम भोग्ने मौका पायो !

प्रकाशित: फाल्गुन १६, २०७३