[झटारो] धर्तीको धूलो टाँसौँ निधारमा

- लक्ष्मण गाम्नागे

धूलोको महत्त्व थाहा नपाउने मुठ्ठीभर मानिसहरू हाम्रो प्रिय राजधानी काठमाडौँमा मडारिइरहेको धूलोको मुस्लो देखेर सरकारलाई गाली गर्छन् । हामीले बुझ्नुपर्छ, यो धूलो चानचुने होइन । यसको महिमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय जगत्मै फैलिएको छ । यसैका प्रभावले कतिपय अन्तर्राष्ट्रिय संस्थाहरूले संसारको तेस्रो धुलाम्मे सहर भनेर तथ्यांकै प्रकाशन गरी हाम्रो राजधानीको गौरव बढाएका छन् । हामीले यो गौरवलाई अझै बढाएर संसारमै पहिलो पार्नु हाम्रो कर्तव्य हो । 

राज्यले पनि धूलोलाई उच्च सम्मान दिएको छ । धूलो उत्खनन गर्न, भण्डारण गर्न, फिँजाउन, फैलाउन र उडाउन कुनै कन्जुस्याइ गरेको छैन । अस्ति हाम्रा प्रधानमन्त्री प्रचण्ड स्वयं धूलो उडाउन कुचो लिएर सडकमा निस्कने भएका थिए । तर, उनका सल्लाहकारहरूले धूलोको मुस्लोमा प्रधानमन्त्री पस्दा निसासिएर तलबितल भइहाल्यो भने चुनाव घोषणामा ढिलाइ भई मुलुकले निकास पाउन नसक्ने बताएपछि उनी पछि हटेका हुन् । अब चुनावको घोषणा भइसकेकाले उनी पनि राज्यका अरू निकायहरू सँगसँगै धूलो उडाउन सडकमा आउने सम्भावना बढेको छ । यसरी हाम्रो धूलो मुलुकका कार्यकारी प्रमुखलाई नै सडकमा उतार्न सक्ने शक्तिशाली भएको छ । महानगरले ल्याएको एउटा ब्रुमरलाई त हाम्रो धूलोले एक घन्टामा ध्वस्त बनाइदिएकै थियो । 

सडक, खानेपानी, बिजुली, टेलिफोन, महानगर र प्रधानमन्त्रीज्यू जस्तै धूलोले हामी महानगरवासीहरूलाई पनि एकदमै जागरूक बनाएको छ । हामी धूलो बढार्दै, धूलो उडाउँदै, धूलो टकटक्याउँदै, धूलो पुछ्तै, धूलो पखाल्दै, धूलो छोप्दै, धूलो छेक्दै, धूलोमै मिलेर, धुलाम्मे भएर, दिन–रात व्यस्ततापूर्वक धूलोमा रुमल्लिइरहेका छौँ । सडक किनाराका किराना पसलेहरू धूलोका मूर्ति, धूलोकै पुजारीजस्ता देखिन्छन् । चोकहरूमा धूलोका सालिकहरूले सिट्टी लगाएर ट्राफिक नियन्त्रण गरिरहेको देखिन्छ । कुनै कृत्रिम रङरोगन नगरीकनै हाम्रो राजधानी र राजधानीवासीको रङ्ग र ढङ्ग खैराते भएको छ । खैरा घरहरू, खैरा लुगा लगाएका खैरो अनुहारका मान्छेहरू, खैरो कपाल र आँखीभौँहरू, खैरा रूखपातहरू । खैरा दाल–चामल, खैरा भात–भान्सा । खैरो खकार, खैरो डकार, खैरो सिंगान, आँसु र पसिना । खैरा बटुवा, खैरा विद्यार्थी । बिरामीहरूको एक्स–रे गरेर हेर्दा खैरा मुटु, खैरा कलेजा र फोक्साहरू । रगतै खैरो । क्या अनौठो, क्या दुर्लभ भयौँ हामी !

धूलोबाट कसैलाई बेफाइदा छैन । धूलोकै नाममा राष्ट्रिय बजेट धूलो पार्नेहरूलाई त्यत्तिकै नाफा छ । धूलोबाटै कतिको जीविकोपार्जन चलेको छ । कति संघ–संस्थाहरू धूलोमाथि स्थापना भएका छन् । अस्पताल, क्लिनिक, औषधि व्यवसाय, मास्क आदिको व्यापार–व्यवसाय खुब फस्टाएको छ । पर्यटनको विकास तीव्र हुँदै छ । विकसित राष्ट्रहरू कृत्रिम बादल बनाएर वर्षा गराउँछन्, हामी धूलो उडाएर राजधानीमा पर्यटकलाई दिउँसै अँध्यारोको अनुभव गराउँछौँ । तिनीहरू सूर्यस्नान गराउँछन्, हामी धूलीस्नान गराउँछौँ । 

हाम्रो भाग्यले भेटेको यो धूलोमाथि नयाँ–नयाँ अनुसन्धानहरू गरौँ । कति ग्राम धूलो जमेपछि फोक्सो–कलेजो ड्यामेज हुन्छ ? विषाक्त धूलोको च्याम्बरमा गुडुल्किएर मानिसहरू कति लामो समयसम्म बाँच्न सक्छन् ? धूलोको मुस्लोमा सास फेर्ने गर्भिणी र पेटका बच्चामा धूलोको कस्तो असर हुन्छ ? यस्ता अनेक वैज्ञानिक तथ्य पत्ता लगाऊँ । 

धूलो नउठाऊँ, उडाऊँ । धूलो नबढाराैँ, बढाऔँ । धूलो देखेर नाक नखुम्च्याऊँ, बरू धर्तीको धूलो निधारमा टाँसौँ र धुलिसात भएर बाँचौँ ।

प्रकाशित: फाल्गुन १५, २०७३