लुट–२: न उत्साह, न निराशा

  • आमसिक्वेलजस्तै लुट २ ले पहिलो शृंखलाको वजन र सुगन्धलाई उही मात्रामा आत्मसात् गर्न सकेका छैनन् ।

- गोकर्ण गौतम

चार वर्ष पहिले प्रदर्शित लुटलाई सम्झने कारण ऐतिहासिक व्यापार मात्र होइन, नेपाली फिल्म मेकिङमै ‘ट्रेन्ड सेटर्स’ साबित हुनुचाहिँ यसको अहम् उपलब्धि हो । लुटपश्चात् कथा, पात्र र कथावाचन शैलीमा मौलिकताले प्राथमिकता पायो । सौगात मल्ल र दयाहाङ राईजस्ता परम्परागत मानकमा बिलकुलै नअटाउने कलाकार रातारात मूलधारमा स्थापित भए । निर्देशक निश्चल बस्नेत आकर्षणको केन्द्रमा रहे । अर्थात् लुटको बहुआयामिक प्रभाव छ नेपाली फिल्म उद्योगमा । त्यसैले यसको सिक्वेल बहुप्रतीक्षित बन्नु स्वाभाविक हो ।

त्यसमाथि निश्चलको दोस्रो फिल्म टलकजंग भर्सेज टुल्के पनि अब्बल साबित भयो । तर, आमसिक्वेलजस्तै लुट २ ले पहिलो शृंखलाको वजन र सुगन्धलाई उही मात्रामा आत्मसात् गर्न सकेका छैनन् । खुकुलो पटकथा र पहिल्यै आँक्न सकिने ट्वीस्टले सिक्वेलप्रतिको अपेक्षा पूरा गर्दैन तर कथा उठानको शैली, बलियो संवाद, आकर्षक स्टन्ट, भूकम्पपछिको परिवेश र अपराधको राजनीतीकरण बुलन्द छ । 

लुट जहाँबाट सकियो, सिक्वेलको कथा त्यहीँबाट सुरु हुन्छ । भूकम्पको मौकामा जेलबाट भागेका छन्, गोफ्ले (दयाहाङ), नरे (कर्म), पाण्डे (सुशीलराज पाण्डे) र देवेन (प्रतीकराज पाण्डे) । यता, नाकाबन्दीको फाइदा उठाउँदै हाकु काले (सौगात)ले अवैध धन्दा विस्तार गरिरहेको छ । आफूलाई धोका दिने हाकुको रामधुलाई गर्नुछ, गोफ्ले ग्याङलाई । अनि, भट्टीबाट महल छिरेको हाकुको महत्त्वाकांक्षाको उडान अझ रोकिएको छैन । हाकु कालेसँग बदला लिने अनि करोडपति बन्ने गोफ्ले समूहको सपना पूरा होला ? कि फेरि उनीहरूलाई मूर्ख बनाएर हाकु मालामाल बन्ला ? लुट २ यसकै वरपर घुमेको छ ।

लुटको कथा, पात्रको हुलिया, तिनले बोल्ने संवाद त अग्र्यानिक छँदै थियो, त्यससँगै कथा भन्ने शैली र चक्मा दिने क्लाइमेक्सले लुट सर्वथा प्रिय बन्यो । सिक्वेल हुनुको नाताले निर्देशक निश्चलले त्यही ‘लिगेसी’लाई निरन्तरता दिएका छन् । यो चार वर्षमा मुख्य पात्रको मनोविज्ञान र सोचमा आएको बदलावलाई समात्न सफल छन् उनी । भूकम्प र नाकाबन्दीको सन्दर्भले कथालाई ‘फ्रेस’ बनाएको छ । अघिल्लो शृंखलामा सामान्य र कतिपय अवस्थामा ख्यालै नगरिने पात्र पनि यसपटक मूल कथाकै वरपर घुम्छन् । यसरी कथालाई परिपक्व बनाउनु प्रशंसनीय छ तर सोही अनुरूप कथा भन्ने शैलीमा नयाँपन आएन बरू अघिल्लो शृंखलाको भन्दा खुकुलो छ । 

केन्द्रीय द्वन्द्वको सवालमा अलमलमा परेको जस्तो देखिए पनि दर्शकलाई तानिरहने तत्त्व घुसाउन निर्देशक निकै चनाखो र सफल देखिन्छन् । मध्यान्तरअघि हँसाउने दृश्य र संवादको बाहुल्य छ । समय बितेको पत्तै पाइँदैन । हाकु काले र गोफ्ले समूहको ‘क्याट एन्ट माउस’ रवैया आकर्षक छ । गोफ्लेको प्रेमकहानी, पित्तल (विपिन कार्की)का सुरुआती दृश्य, गोफ्ले र पाण्डेको भट्टीको झगडा, दुई समूहबीचको लम्बेतान भिडन्तजस्ता दृश्यमा कैँची चलाएको भए फिल्म अझ चुस्त हुन्थ्यो । निर्देशकले कथालाई रोचक बनाउन सस्पेन्स वा प्रभावकारी ट्वीस्टभन्दा फाइट र स्टन्टको सहारा लिएका छन् । मकैबारीवाला प्लट स्थापित छैन । पञ्च लाइन प्रशस्त छन् । ‘भिजुअल रिच’ बनाउन कन्जुस्याइँ गरिएको छैन । हरेक व्यक्तिमा हुने ‘हिरो’ र ‘भिलेन’को गुणवक्ता लुट २ का हरेक पात्रमा महसुस गराउनु निर्देशकको अब्बलपन हो ।

कथाजस्तै पात्रमा आएको परिपक्वता लुट २ को सराहनीय पक्ष हो । हाकु र गोफ्लेमा अंग्रेजी मोह पलाएको छ । अघिल्लो शृंखलामा लुडो हल्लाउँदै बस्ने कामेश्वर चौरसिया अहिले बैंकको सेक्युरिटी गार्ड बनेका छन् । विपिन त यस पटकका मुख्य आकर्षण हुन् । हाकुको प्रभुत्वबाट उम्कँदै आफ्नो अलग पहिचान बनाउन यी ‘भर्सटायल एक्टर’ सफल भएका छन् । उनको ‘कमिक टाइमिङ’ले हलमा ताली बजिरहन्छ । प्रवीण खतिवडा उस्तै उम्दा रूपमा देखापरेका छन् । सौगातले हाकुको ‘चार्म’लाई घट्न दिएका छैनन् । बरू, दयाहाङको अभिनय औसत मात्र लाग्छ । कम स्थान दिइए पनि कर्म, नरे र पाण्डेले सम्झनलायक काम गरेका छन् । ऋचा शर्मा, सिर्जना सुब्बा र अलिशा राईको भूमिका छोटो तर मीठो छ । छायांकार पुरुषोत्तम प्रधान र द्वन्द्व निर्देशक राजकुमार उप्रेती प्रशंसाका हकदार हुन् । ‘ठमेल बजार...’ आइटम गीत यसअघि नै सबैको मुखमा झुन्डिसकेको छ । 

हरेक दृश्यमा कुनै न कुनै रूपले ‘इन्गेज’ गरिराख्ने भएकाले लुट २ हेर्नु उत्तम हुन्छ । 

प्रकाशित: फाल्गुन १५, २०७३