मधुरो ‘मिनी काठमाडौँ’

  • उपत्यकाको छाप, खण्डहर टक्सार

- विद्या राई

भोजपुर ।। काठमाडौँलाई मन्दिरै मन्दिरको सहर भनिएजस्तै दुई सय वर्ष पुरानो भोजपुरको टक्सार बजारलाई पनि उही उपमा दिन सकिन्छ । भोजपुर सदरमुकामदेखि दुई किलोमिटर दक्षिण लागेपछिको टक्सार उपत्यकामा काठमाडौँमा जस्तै झुरुप्प घर, उस्तै मठ, मन्दिर, विहार, चैत्य जसले राजधानी काठमाडौँको झझल्को दिलाउँछ । “राजधानी घुमफिरको प्यास नै मेटाइदिन्छ,” सदरमुकामस्थित विद्योदय माविकी शिक्षक सरस्वती पौडेल भन्छिन्, “बस्तीको जुन भागमा पुग्यो, साना–साना मठ, मन्दिर, चैत्य, विहार । यसो हेर्दा काठमाडौँमै छु जस्तो लाग्ने !”

झुरुप्प बस्तीमा ढुंगा छापिएका साँघुरा गल्ली । माटोका इँटाले बनाइएका, पुराना भए पनि आँखीझ्याल, बुट्टेदार रंगरोगनले सानदार देखिने घरले भक्तपुर, पाटन पुगेको भान हुन्छ । देउराली टोलदेखि गणेशथानसम्मको बस्तीमा बास्तुकला साँच्चिकै बेजोड छ । “कलात्मक शैलीका घर । दुरुस्तै पाटन,” काठमाडौँबाट भोजपुरमा जागिर गर्न आएकी ममता राउतले टक्सारको पहिलो घुमफिर अनुभव सुनाइन् । 

टक्सारले ऐतिहासिक, धार्मिक र औद्योगिक महत्त्व बोकेको छ । विसं १८७० मा उपत्यकाबाट आएका खोजकर्ताहरूले पश्चिमी हालको धोद्लेखानी गाविसमा तामा र फलामको खानी पत्ता लगाएका थिए । व्यापारिक सिलसिलाका क्रममा आइपुगेका उपत्यकाका नेवार समुदायले फाँटिलो उपत्यका भेटेपछि बस्ती बसालेका थिए । काठमाडौँबाट ५० कोस पूर्वमा पर्ने टक्सारमा पनि धर्मसंस्कृति, खानपान, रहनसहन दुरुस्तै पाटनकै जस्तो छ । स्थानीय भीमसेन परिसरमा विसं १८७२ मा पैसा काट्ने टंकशाला (टक्सार) स्थापना भएको थियो । एक र दुईका डोली पैसा काट्ने अड्डा स्थापना भएकैले कालान्तरमा नाम नै टक्सार रहन गएको स्थानीय धीरेन्द्र श्रेष्ठ बताउँछन् । 

टक काट्न काठमाडौँ र पाटनबाट कालिगढ ल्याइएका थिए । पाटनका ओकु (म) बहालका हस्तकलाविद् देवदत्त बौद्धाचार्य उनका दाजुभाइ र अन्य कालिगढसहित विसं १८७६ मा टक्सार प्रवेश गरेका थिए । व्यापारिक सिलसिलामा शाक्य, बौद्धाचार्य, बज्राचार्य, तुलाधर, उदास, ताम्राकार, हलवाई, ढंगु (महर्जन), नाउ र कुशुले थरका नेवार समुदायले बसोवास थालेका थिए । काठमाडौँ, भक्तपुर, धुलिखेल, ठिमी र बुइपाका ८–१० घरबाहेक सबै पाटनबाट आएका हुन् । 

पूर्वाञ्चलको मुख्य औद्योगिक क्षेत्रका रूपमा स्थापित थियो, टक्सार । तामा र काँसका भाँडाकुँडा बनाउने स्थानीयको मुख्य पेसा थियो । तर, अहिले दशक लामो द्वन्द्व, कच्चा पदार्थ कोइलाको अभाव, युवाशक्ति विदेश पलायन र बसाइँसराइले पेसा संकटमा छ । बस्ती दिनानुदिन खण्डहर भइरहेको छ । उहिले यातायातको सुविधा नभएका बेला पिठ्यूँको भरमा डोकोमा बोकाई व्यापारकै सिलसिलामा दिङ्लाको बालाचतुर्दशी, रामनवमी मेला, बेहेरेश्वर मेला, हलेसी मेला, चतरा बराहक्षेत्र मेलादेखि झापाको माइबेनी मेला हुँदै ताप्लेजुङ, इलाम, पाँचथर, ओलाङचुङगोला भई तिब्बत र भारतका दार्जीलिङ, कालिम्पोङ, सिक्किम र असमसम्म व्यापार चल्थ्यो । रावाखोला, सोलु, रामेछाप, बनेपा, धुलिखेल र काठमाडौँसम्म भाँडा बिक्री गर्दै जाँदा फेरि महिनौँ लगाएर पत्रुसामान टक्सारमा ल्याएर तयारी वस्तु बनाउने गरिन्थ्यो । 

दशकअघिसम्म लगभग पाँच सय घरपरिवारको टक्सार बजारमा हाल मुस्किलले ६० घरपरिवार छन् । जनघनत्व घटेपछि धार्मिक स्थल पनि जीर्ण बन्दै गएका छन् । वैशाखजात्रा, गठेमंगल, गाईजात्रा, भीमसेनजात्रा, कृष्णजात्रा, बुुद्धजयन्ती, गुंलापारु, यंलासी आदि थुप्रै पूजा र जात्राको मौलिकता हराउँदै गएको छ । गाईजात्रा, कृष्णजात्रा, भीमसेन जात्रा र बुद्धजयन्ती निरन्तर मनाउँदै आए पनि उहिलेजस्तो भव्य नभएको पत्रकार किरण राईको बुझाइ छ । “उपत्यकाबाट आएका नेवार समुदायले जुन छाप छाडेका थिए, पछिल्लो समय एकदमै नगण्य छ ।” 

प्रकाशित: फाल्गुन ११, २०७३