शान्ति प्रक्रिया ‘टाइमलाइन’

- रामबहादुर रावल

नेपालको शान्ति प्रक्रियाको १० वर्षको सिंहावलोकन हो, नेपाल ट्रान्जिसन टू पिस : अ डिकेड अफ द कम्प्रिहेन्सिव पिस एकर्ड । विस्तृत शान्ति सम्झौतायताको १० वर्षको मूल्यांकन र त्यस अवधिका घटनाक्रमको अभिलेखीकरण यस पुस्तकमा गरिएको छ । पाँच खण्डमा विभाजित यस पुस्तकमा ३१ वटा लेख, २३ वटा अन्तर्वार्ता छन् । पहिलो खण्डमा विभिन्न आयामबाट शान्ति सम्झौताको सन्दर्भ चित्रित गरिएको छ । शान्ति प्रक्रियाको एक दशकमा पूरा गरिएका कामहरूको वर्णन दोस्रो खण्डमा छ, जहाँ माओवादी पूर्वलडाकूको पुन:स्थापन र समायोजन, न्यायिक र कानुनी पक्ष समेटिएका छन् ।

तेस्रो खण्डमा मानव अधिकार, समावेशिता, भूमिसुधारलगायतका कोणबाट शान्ति प्रक्रियाको मूल्यांकन छ । नेपालको शान्ति प्रक्रियामा औपचारिक र अनौपचारिक संघ–संस्थाहरूको भूमिकाको चर्चा चौथो खण्डमा गरिएको छ । पाँचौँ खण्डले यस दशकको राजनीतिक विकासक्रम र राज्य निर्माणका पक्षबाट भएका प्रयासहरूको लेखाजोखा गर्न खो जेको छ । हरेक खण्डमा शान्ति प्रक्रियामा संलग्न पात्रहरूका अन्तर्वार्ता राखिएका छन् । समग्रमा यस पुस्तकले हाम्रो शान्ति प्रक्रियाको एउटा टाइमलाइन दिन्छ । केही वार्ता र सम्झौताको झलक दिन्छ । यो नै यस पुस्तकको सबल पक्ष हो । 

पुस्तकमा शान्ति प्रक्रिया बीचैमा भंग भएन, बिच्किएन भन्दै त्यसैलाई सफलता मानिएको छ । तर, यसका फल्टलाइनहरू केलाइएको छैन । एउटा तप्काले संविधान किन स्वीकार्न सकिरहेको छैन, माओवादीबाटै चोइटिएको एउटा खेमाले किन अझै विद्रोहको धम्की दिइरहेको छ र नयाँ संविधान जारी भएपछि त्यसको कार्यान्वयनको गतिलाई कसले कुन नियतले अड्काइरहेको छ भन्ने प्रश्नको उत्तर यस पुस्तकले दिँदैन । यी सारभूत प्रश्नको उत्तर नदिने कुनै पनि दस्तावेज एवं शान्ति प्रक्रियाको मूल्यांकन पूर्ण हुन सक्दैन ।

वास्तवमा यो पुस्तक नेपालको शान्ति प्रक्रियामा विदेशीको भूमिका र दाताका गतिविधिको औचित्य स्थापित गर्ने यत्नमा केन्द्रित छ । त्यसकारण यसमा स्वार्थ समूहको मत बढी छ । अझ भन्दा यो पुस्तक नेपालको राजनीति र विकासमा प्रभावमा राख्ने दाताहरूले नेपाली शान्ति प्रक्रियालाई कस्तो रूपमा देखाउन चाहन्छन्, त्यसैको जमर्को हो । त्यसकारण यो पुस्तकमा शान्ति प्रक्रियाको जुन प्रोट्रेट प्रस्तुत गरिएको छ, त्यसले एउटा जबरजस्त प्रश्न उब्जाउँछ, आगामी पुस्ताले यो शान्ति प्रक्रिया हाम्रो मौलिक थियो भनेर बुझ्ने कि विदेशीका विभिन्न ‘ प्रयोग’हरूको उपज ?

वास्तवमा बन्दुकको अनुपस्थिति मात्र शान्ति होइन । द्वन्द्वरत पात्रहरू चिया टेबुलमा बस्नु मात्रै शान्ति प्रक्रिया पनि होइन । न त शान्ति प्रक्रियामा सामेल पक्षहरूलाई विलासी होटल, रिसोर्ट र समुद्री किनारको आनन्दमा भुलाउनु नै शान्ति प्रक्रिया हो । नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई विशुद्ध प्राविधिक र आयातीत आँखाले हेर्दा समस्या समाधान होइन, झन् बल्झिएको र बल्झिँदै जान सक्ने अवस्थाको एउटा दृष्टान्त निर्वाचन प्रणाली हो । संसारकै महँगा कन्सल्ट्यान्टले बनाएको चुनावी प्रणाली यहाँ अपनाइयो, जुन दीर्घकालीन अस्थिरताको अर्को प्रमुख कारण हुनेवाला छ ।

त्यसै गरी शान्ति प्रक्रियाका नाममा दातृ निकायहरूले आ–आफ्नै स्वार्थमा बेग्लाबेग्लै पसल खोले । हाम्रा राजनीतिक र जातीय संगठनका नेताहरूलाई ती पसलमा आ–आफ्नै तरिकाले स्वागत गरियो । देश–विदेश घुमाइयो । यसबाट ती पसलका कामदारको आर्थिक र व्यावसायिक वृत्तिविकास त भयो होला तर तिनले राष्ट्रिय स्वार्थमा काम गरे कि ती पसलका मालिकहरूको स्वार्थमा नाचे ? राजनीतिका यी परनिर्भर औजारहरूले राज्यलाई बलियो बनाउँछन् भनेर तिनले कसरी दाबी गर्न सकेका ? ट्रयाक १.५ नाम दिइएको राज्यका औपचारिक संस्था र संगठनलाई छल्ने विधि नै यस पुस्तकले सर्वाधिक उपलब्धिमूलक भएको दलिल पेस गरेको छ, जुन सरासर झूट हो । शान्ति प्रक्रियालाई सघाउने नाममा थापिएका यस्ता अवैध पसलहरूको लगानीलाई वैधता प्रदान गर्न तयार पारिएको बनिबनाउ विवरण हो यो । 

यथार्थ के हो भने हाम्रो राजनीतिक नेतृत्वमा जब–जब स्वनिर्णयको सम्भावना र शक्ति देखिन्छ, स्वत:स्फूर्त रूपमा कुनै निर्णय वा समझदारीका निम्ति अग्रसर हुन्छ, त्यसले नै परिणाम दिएको छ । २५ जेठ ०७२ को १६ बुँदे सम्झौता पछिल्लो एउटा दृष्टान्त हो । बरू, यस्ता प्रयासहरूलाई सके बिथोल्ने, नसके आफैँले गराएको भनेर जस लिन खोज्ने स्वार्थ समूहहरूको अदृश्य जालोले हाम्रो राजनीतिक दैनिकी र शान्ति प्रक्रियालाई गिजोलेको छ । केही राजनीतिक पात्रहरू जानी–नजानी त्यसैका सहयोगी बन्न पुगेका छन् । यो मुलुकमा कोही स्वाभिमानी राजनीतिज्ञ छ भने उसले भन्ने आँट गर्नुपर्छ, हाम्रो शान्ति प्रक्रिया यो पुस्तकले भनेजस्तो विदेशी दाताको डिजाइनमा सम्पन्न भएको होइन, हाम्रै स्वनिर्णय र स्वविवेकले सम्पन्न भएको हो । ताकि, यो पुस्तकलाई सही थापेर हाम्रो भावी पुस्ता तिनै विदेशी दाताप्रति अनावश्यक ऋणका लागि कृतज्ञ भइरहनु नपरोस् । 
---
नेपाल ट्रान्जिसन टू पिस : अ डिकेड अफ द कम्प्रिहेन्सिव पिस एकर्ड (२००६–२०१६) 
सम्पादक    :    पंकज अधिकारी, सुभास घिमिरे, विद्याधर मल्लिक
प्रकाशक    :    नेपाल ट्रान्जिसन टू पिस इन्स्टिच्युट
पृष्ठ    :    ५८०
मूल्य    :    उल्लेख छैन

प्रकाशित: फाल्गुन ११, २०७३