किन बनाइयो 'म अलप हुन चाहन्छु' ?

- विमल आचार्य

मानवशास्त्री डोरबहादुर विष्ट हराएको दुई दशक भइसक्यो, हराउनुको कारण रहस्यमै छ, अनेक अड्कलबाजी भने चलिरहेकै छन् । नेपालमा मानवशास्त्रीय अध्ययन–अनुसन्धानको जग बसालेका विष्टले नेपालको भाग्यवादी चरित्रबारे गरेको विश्लेषण बहुचर्चित र विवादित छ । उनले हाम्रो जातीय–सांस्कृतिक विविधताबारे पुस्तक र थुप्रै अनुसन्धानमूलक लेख लेखे । सोताला उपन्यासका साथै उनका कथाहरुको सँगालो गत वर्ष प्रकाशित छ । कर्णाली इन्स्टिच्युट खोलेर जुम्लामा शैक्षिक–सामुदायिक जागरणका लागि अभियान नै छेडेका उनी त्रिवि अन्तर्गत सिनासको नेतृत्वमा रहँदा थुप्रै अनुसन्धान गरे/गराए । नेपालको विद्वत् आधुनिकीकरण प्रक्रियामा महत्त्वपूर्ण योगदान दिएका विष्ट अराजक व्यक्ति त हुादै हुन् र हुन् अर्गानिक विद्वान् । उनै विष्टको ‘पर्सनल’ र ‘प्रोफेसनल’ जीवनीमा आधारित वृत्तचित्र म अलप हुन चाहन्छु  तयार पारेका छन्, निर्देशकद्वय गौरव केसीसचिन घिमिरेले । उनीहरुसँगको साझा कुराकानी : 

किन बनाउनुभयो डकुमेन्ट्री ? 
त्रिभुवन विश्वविद्यालयमा पढ्दा विदेशी स्कलरहरूका जीवनीबारे सबथोक पाइयो । तर, डोरबहादुर को हुन्, उनले के के गरे भनेर खोज्दा केही छैन । जसका कृति पढ्ने तर व्यक्ति थाहा नहुने । उति बेलैदेखि यिनका बारे खोजी गर्छौं भन्ने थियो । उनी बारे खोज्दै जाँदा मार्टिन चौतारीको सहयोगमा उनको बिब्लियोग्राफी तयार पारियो । एक–दुइटा लेख पनि लेखियो तर धेरैलाई सजिलोसँग कसरी चिनाउने त भन्ने सोचेरै वृत्तचित्र बनाइयो । 

कसरी बनाउनुभयो ? 
दिमागमा भ्रूण रोपेको ६ वर्षपछि मात्र हामीले यो काम पूरा गर्न सक्यौँ । अनुसन्धान र सामग्री जुटाउन धेरै समय लाग्यो । विष्टका पुराना अडियो–भिडियो टेप यहाँभन्दा बढी बाहिर रहेछन् । बेलायतको सोआस (स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिज), युनिभर्सिटी अफ लन्डनबाट ती सामग्री लियौँ । विष्टका स्वदेशी र विदेशी सहकर्मी, सहपाठी, परिवारलाई भेट्यौँ । जुम्ला र विभिन्न पुस्तकालय धायौँ । साथीहरू त जिस्काउँथे– संविधान, मेलम्ची र तिमीहरूको डकुमेन्ट्री उस्तै हो, कहिल्यै आउँदैन । तर, संविधानपछि र मेलम्चीअघि आउन सक्यो वृत्तचित्र । 

विष्ट किन विशिष्ट हुन् ? 
नेपालको मौलिक मानवशास्त्रको खोजी गरे । जातीय र सांस्कृतिक विविधताबारे खोज गरे र थुप्रै सन्दर्भ सामग्री दिएर गए । नेपालको अविकासबारे भाग्यवादी तर्क दिए, भलै यसमा प्रशस्त बहस गर्न सकिन्छ । उनले के गरे भन्ने त जुम्ला पुगेपछि झनै देखियो । जुम्लीहरू उनलाई कति सम्झिन्छन् र वियोगमा कति रुन्छन्, त्यो त डकुमेन्ट्रीमै छ । समग्रमा भन्दा उनी मानवतावादी हुन् । स्कुल खोल्ने, आफ्नै जग्गा दिने, अनेक नौलो सोची बस्ने र लागिपर्ने, कुरा र काम सँगसँगै लान सक्ने दुर्लभ विद्वान् र अभियन्ता हुन् विष्ट । 

डकुमेन्ट्री निर्माणका सजिला–अप्ठ्यारा ? 
सशरीर नभए पनि अक्षरमार्फत लभ परेका गुरुसँग धेरै प्रभावित भइयो । त्यसैले पूरै स्वयंसेवी रूपमा खट्यौँ । विष्ट परिवारले निर्माण चरणमा खाजापानी खर्चचाहिँ दिएको हो । श्रम, समय, शक्ति, सीप जति खर्च गरियो, आफ्नै प्यासनले । सम्पादनमा सोमेश मल्लको धेरै सहयोग छ हामीलाई । धेरै सामग्री विदेशमा भएका हुँदा सजिलै पाउन सकिएन । डकुमेन्ट्रीमा जति पनि विदेशी विद्वान् छन्, ती सबै उनीहरू यहीँ आउँदा खिचिएका हुन् । डकुमेन्ट्री निर्माणमा स्रोतसाधनको कमी नै हो, हामी धेरै नेपालीलाई । 

यो डकुमेन्ट्रीको महत्त्व के हो त ? 
यो नेपालको ‘भिजुअल एन्थ्रोपोलोजी’को सुरुआत हो कि जस्तो लाग्छ । हामीकहाँ यस्ता थुप्रै पात्र छन्, जसको जीवन र कर्म गुप्त छ, छायामा छ । हामी विदेशी विद्वान्का धेरै पछि लाग्छौँ, सुगन्ध नचिनेका कस्तूरीजसरी । 

प्रकाशित: फाल्गुन १०, २०७३