गोपालप्रसाद रिमाल रिभिजिटेड

  • विद्रोही लेखकको जीवन र लेखन

- राजकुमार बानियाँ

देहावसानको ४३ वर्षपछि स्मृतिग्रन्थ प्रकाशन र फाउन्डेसन खोल्न लाग्नुलाई सम्झना भन्ने कि विडम्बना ? हो, यस्तै स्थिति छ नामचीन कवि/नाटककार गोपालप्रसाद रिमालको । उनका माइला छोरा मदन रिमाल धुम्बाराही, काठमाडौँस्थित घरमा आउँदो १८ जेठको रिमाल जयन्तीसम्म ती दुवै काम भ्याउने हतारोमा छन् । 

रिमाल परिवार पनि के गरोस् ? पत्नी हरिकुमारी र चार छोरा कसैको आर्जन थिएन । राजा महेन्द्रले दिएको महिनावारी चार सय रुपियाँ रोकियो । दुई छाकको संघर्षमै यतिका वर्ष बित्यो । ८ कात्तिक ०३० मा ५५ वर्षे उमेरमा रिमाल हृदयघातबाट बितेपछि काठमाडौँ नगरपञ्चायतले कान्छा छोरा मनोजको लेखपढका लागि महिनावारी एक सय रुपियाँ दिने खबर आएको थियो गोरखापत्रमा । रिमाल परिवारले सम्पर्क गर्न जाँदा बजेट नै छैन भनेर खाली हात पठाइदियो । “केदारमान व्यथितले कतैबाट पाएनौ भने खबर गर्नु, पाँच सयजति दिउँला भनेका थिए,” जेठा पुत्र मोहन सम्झन्छन्, “अब त्यो पनि कतै पाएनौँ दिनूस् भन्न हामी गएनौँ । उनले पनि सम्झिएर दिएनन् ।” 

मोहन, ६५, ले औषधि व्यवस्था विभागको ‘केमिस्ट’का रूपमा अवकाश लिएका हुन् भने माइला मदन रिमाल, ६१, चाहिँ समाजकल्याण परिषद्का अवकाशप्राप्त निर्देशक । साइँला मनोहर रिमालले २ फागुनमा नेपाल प्रहरीको नायव प्रहरी महानिरीक्षक (डीआईजी) भएर बिदा लिएका छन् भने कान्छा सिभिल इन्जिनियर मनोज रिमाल डीभी परेर अमेरिकामा छन् । 

रिमाल फाउन्डेसन या स्मृतिग्रन्थ ढिला हुनुमा परिवारमा लेखक नहुनु पनि हो । चारै दाजुभाइमा साहित्य र राजनीतितिर एक खालको ‘एलर्जी’ छ । “बुबाले सेक्रिफाइसबाहेक केही गर्नुभएन,” मदन सम्झन्छन्, “आमाले त्यसमा लागेर दु:ख मात्र पाइन्छ भनेकाले लेखनमा रिमाल परिवार कोही लागेन ।”

चार दाजुभाइले शून्यबाट संघर्ष गर्नुपरेकाले यतिका वर्षपछि आफू जुर्मुराएको भन्न मदन हिचकिचाउँदैनन् । तर, दु:ख केमा छ भने घरमा रिमालको कुनै पाण्डुलिपि छैन । फोटोको नाममा एउटा मात्र छ । नातेदार साहित्यकार शंकर लामिछानेले लगेको भनिएको रिमालको रातो झोलाका सामग्री अहिलेसम्म भेटिएका छैनन् । कुनै दिन चमत्कार भयो भने अर्कै कुरा । 

डेढ वर्षअघि हेटौँडामा रिमालको सालिक राख्दा दुई लाख रुपियाँ सघाएको मदनको भनाइ छ । उनी ०२६ तिरको एउटा घटना सम्झन्छन् । राजा महेन्द्रले रिसल्ला पठाएका थिए लगनस्थित घरमा । काम रहेछ, सूचना विभागले निकालेको राजाको भाषणको व्याख्या गर्ने । रिमालले बार्दलीबाटै किताब फालिदिएर भनेछन्, ‘म यो काम गर्दिनँ ।’

नेपाली ह्वीटम्यान–इब्सेन

अमेरिकी कवि वाल्ट ह्वीटम्यानकै शैलीमा नेपाली गद्य कविताको धारा पहिल्याए रिमालले । स्पष्ट रूपमा शास्त्रीय छन्द बहिष्कार गरिदिए उनले । अग्रज र अनुज दुवै पुस्ता उनको गद्य शैलीमा पग्लियो । कतिसम्म भने पद्यमा लेख्ने लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारीले निसंकोच उनलाई अँगाले, भवानी भिक्षु, गोपालसिंह नेपाली, विजय मल्ल, भूपी शेरचन, मोहन कोइराला आदि कविले पनि पछ्याए । नेपाली गद्य कविताको सिंगो स्कुल बने रिमाल । 

जनसाधारणले सजिलै बुझ्न सकून् भनेर गद्य कविता प्रारम्भ गरेका हुन् रिमालले । उनको पहिलो प्रकाशित कविता ‘... प्रति’ पनि गद्यमै छ । १९९२ को शारदा (मंसिर–पुस) मा त्यो कविता आए पनि उनको प्रवेश कविता ‘ कविको गान’ मानिएको छ भने अन्तिम कविता ‘एउटा टिपोट ।’ 

शारदामा सम्पादकीय नै लेखेर गद्यगीतको वकालत गरेका रिमालको एक मात्र कवितासंग्रह छ, आमाको सपना (२०२०) । १५ वर्षे सक्रिय साहित्यिक साधनामा उनका जम्मा ३७ कविता प्रकाशित छन् ।

रिमालले कतै गुनासो गरेका छन्, ‘मैले कविता लेखेँ, कल्लेरीघाट तर छाप्नेले कुर्लिनघाट छापिदिए ।’ 

त्यसो त आधुनिक नेपाली नाटकका जन्मदाता पनि रिमाल नै हुन् । नाटकमा पश्चिमी आधुनिक धारा भित्र्याए उनले । उनका दुई पूर्णांकी नाटक मसान  (२००२) र यो प्रेम ! (२०१५) अनि दुई एकांकी माया (२०१०) र नेपाली संस्कृति छन् । उनको पहिलो नाटक यो प्रेम !  भए पनि, धेरै पछि मात्र छापियो । 

मसान लेखनको पृष्ठभूमिमा भने बालकृष्ण सम छन् । एक दिन रिमालले समलाई ललकारेछन्, ‘तपाईं सधैँ हामीमाथि बस्नुहुन्छ, सेक्सपियरपनामा तपाईंलाई जित्ने केही उपाय छ ?’ समले जर्ज बनार्ड शाले हेनरिक इब्से नलाई सेक्सपियरभन्दा माथि पुर्‍याएको दृष्टान्त दिँदै रिमाललाई डल्स हाउस पढ्न दिए । नेपाली भाषा अनुवाद परिषद्मा जागिरे उनले केही दिनमै मसान तयार पारे । 

माक्र्सवादमा विश्वास राख्ने रिमाल कवितामा नेपालका वाल्ट ह्वीटम्यान र नाटकमा नेपाली इब्सेन मानिन्छन् । “क्रान्तिकारी कवि हुँदाहुँदै पनि राजा त्रिभुवनको प्रशंसा गरेको दोष उनीमाथि छ,” साहित्यकार शार्दूल भट्टराई भन्छन्, “तर, त्यो दोषलाई उनकै अपार गुणहरूले लुकाएका छन् ।” 

लप्टन छोडेर ढाक्रे

जन्मजात कवि लाग्छन्, रिमाल । काठमाडौँ, लगनमा माटोको घर थियो उनको, कागज नपाए जुरुक्क उठेर त्यहीँ लेख्थे कविता । दरबार हाई स्कुलको कक्षाबाट बेलाबेला बेपत्ता हुन्थे र प्रकृतिको काखमा पुग्थे । १९९३ को एसएलसी बोर्ड फस्ट भएका उनी अंग्रेजीमा कति तेज भने जाँचकी पिनाकीप्रसाद आचार्य (शैलजा आचार्यका पिता)ले ९० अंक दिएका थिए । 

आईए पढ्दा मासिक १५ रुपियाँ छात्रवृत्ति पाए पनि उनले दोस्रो वर्षमै त्रि–चन्द्र कलेज छाडिदिए । सुरुमा जुद्धोदय पब्लिक हाई स्कुलमा केही महिना पढाए उनले । पिता डिट्ठा उमानाथको भनसुनमा उनलाई लप्टन बनाएर बर्दिया अमिनीमा पठाइयो, विसं १९९७ मा । हाकिम भएको १४ महिनामै उनी बेपत्ता भए, चार युवकलाई राणा शासकले मारेको झोकमा ।

झन्डै वर्षदिन पाण्डीचेरीको अरविन्द आश्रममा बिताए उनले । पिताले घर फर्काएपछि १९९९ मा गौरीशंकर नाट्य समुदाय खोले । त्यसका बालकृष्ण सम अध्यक्ष, रिमाल प्रबन्धक, कृष्णप्रसाद रिमाल, गोविन्द गोठाले र विजय मल्ल सदस्य थिए । 

जंगीलाठ मोहनशमशेरको दरबारमा मञ्चित समको नाटक ऊ मरेको छैनमा कनकवीर भएर खेले रिमालले । नाटकमा हरिप्रसाद रिमाल, शंकर लामिछाने, देवेन्द्रराज उपाध्यायले पनि अभिनय गरेका थिए । नाटकबाट प्रभावित भएका जुद्धशमशेरले नै उनलाई भाषानुवाद परिषद्को जागिर दिए ।

परिषद्बाट एक वर्षमै मुक्त भएपछि शारदाको सम्पादनमा संलग्न भए रिमाल । ००२ का दुई अंक सम्पादन गरे । त्यसको एक अंकमा उनले आर्थिक स्वतन्त्रताको वकालत गरेका छन् । सम्पादकीय गडबडीको आरोपमा तत्कालीन शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरले उनलाई हटाइदिए । 

उनको विवाह नुवाकोट, थानसिङको भण्डारी परिवारकी मोहनकुमारीसित भयो, १९९० मा । क्षयरोग लागेर १९९७ मा उनको निधन भएपछि फागुन २००१ मा १६ वर्ष कान्छी आफ्नै साली निर्मलाकुमारी (हरिकुमारी)सित दोस्रो घरजम गरे । तैपनि, रिमालले देशसेवा नै भनिरहे र ब्याग बोकेर हिँडिरहे । 

माइला छोरा मदन १० वर्षको छँदा एक दिन बाबुले आफूलाई चिया खान लगेको स्मरण गर्छन् । “चिया खाएर बाबु–छोरा बागदरबारछेउ पुग्दा जाडोले एक जना नांगै थुरथुर कामिरहेका रहेछन्,” मदन भन्छन्, “बुबाले तिनलाई घर ल्याउनुभयो र आफ्नो दौरा, सुरुवाल र कोट दिएर पठाउनुभयो ।”

रिमालले ०१९ मा मदन पुरस्कार पाए पनि आफू लिन गएनन् । ०३० मा १० हजार राशिको त्रिभुवन पुरस्कार भने लिए । बहुदल आएपछि रिमालको हुलाक टिकट प्रकाशन गरियो भने २ भदौ ०६८ मा नेपाली सेनाले मरणोपरान्त मानार्थ महासेनानीको सम्मान दियो दुई लाख रुपियाँ नगदसहित । ‘रातो र चन्द्र सूर्य...’ औपचारिक रूपमा सेनागान घोषित भयो । त्यसलाई राष्ट्रगान बनाउन संस्कृति मन्त्रालयमा निवेदन दिए पनि नछानिएकामा रिमाल परिवारको गुनासो छ ।  

दुईपटक राँची 

००७ को राजनीतिक परिवर्तनबाट असन्तुष्ट रिमाल एक प्रकारले बहुलाए पनि । उनकी पत्नी हरिकुमारी भने रिमाललाई बहुलाहा होइन, विद्रोही मात्र मान्छिन् । “जसरी रिमाल बहुलायो भनिन थालियो, त्यसरी बहुलाहा भएको हामीले चाल पाएनौँ,” हरिकुमारी भन्छिन्, “खुकुरी भिरेर जथाभावी जाइलाग्ने गरेको कहिल्यै थाहा पाइएन ।” 

रिमालको खुकुरीको घानमा श्यामप्रसाद शर्मादेखि गोपालदास श्रेष्ठसम्म परेका छन् । जोडा लेखक संघको नामबाट पर्चा नछापेको झोकमा परे गोपालदास । लामो समय राजनीति गरेका गोपालदास पत्रकार बनेपछि रिमालले भनेछन्, ‘हुन त तिमीहरू सबै मलाई बौलाहा भनिठान्छौ । हुन सक्छ, डाक्टर (राँचीको) नै बौलाहा थियो कि त्यो पनि हुन सक्छ । म नै बौलाएको थिएँ कि त्यो पनि हुन सक्छ । तिमी नै बौलाहा छौ कि त्यो पनि हुन सक्छ ।’

हरिकुमारीका अनुसार दोस्रोपटक राँची लैजाँदा राजा महेन्द्रले पाँच हजार रुपियाँ नगद दिएका थिए । उनको साथमा हरिप्रसाद रिमाल र तत्कालीन मन्त्री खड्गबहादुर सिंह गएका थिए । राँचीबाट फर्केपछि उनी झनै एकोहोरिए । इसारा मात्र गर्ने, एकदमै कम बोल्ने । उपचारपछिका करिब सात वर्ष निष्क्रिय भएर घरमै बसे । रिमालले फागुन ०२९ को नौलो नेपाली पत्रिकाको अन्तर्वार्तामा भनेका छन्, ‘मलाई एकेडेमी (प्रज्ञा–प्रतिष्ठान)मा स्थान नपाएकामा दु:ख लागेको छ ।’

एक वर्षे मानसिक उपचारका क्रममा उनको खुट्टाको गेडी खुस्काइएको थियो । चञ्चल मनको नियन्त्रणका लागि वेदनालाई खास कुनै एक केन्द्रमा ध्यानस्थ गरिएको समालोचक केशवप्रसाद उपाध्यायको रिमाल : व्यक्ति र कृतिमा उल्लेख छ । “मोहनशमशेरले दहीमा मन्दविष मिसाएर २१ दिने अनशन खुलाएपछि नै उहाँको मानसिक अवस्था खलबलिएको हाम्री फुपू नेपू पाण्डे सुनाउनुहुन्थ्यो,” रिमालका जेठा छोरा मोहन भन्छन्, “हामी त्यसलाई हो पनि भन्न सक्दैनौँ, होइन पनि भन्न सक्दैनौँ ।” 

जय नेपाल !

बिहान पशुपति मन्दिर र साँझ शोभा भगवतीमा क्रान्तिकारी साथी–भाइ भेट्दा र छुट्दा अभिवादनको नयाँ शैली चलाउने गोपालप्रसाद रिमाल नै हुन् । बाहिर हेर्दा ईश्वरको स्तुति–गान भए पनि भित्रभित्रै जागरण गान चलाएका थिए उनले । ००३ ताका लोकप्रिय त्यो अभिवादन शैली भारतका क्रान्तिकारीहरूको ‘जय हिन्द’को नक्कल मात्र थिएन, त्यो थियो– भावुक कवि रिमालको अन्त:स्करणको आवाज । 

नेपाली भाषा अनुवाद परिषद्को जागिरबाट निकाला भएपछि क्रान्तिको रूपरेखा तयार पार्न तल्लीन थिए रिमाल । त्यसैले ‘बखत भयो यही हो बेला नजर उघारिदेऊ,’ ‘म गर्छु देशसेवा बल देऊ लौ मलाई,’ ‘एक युगमा एक दिन एकचोटि आउँछ,’ ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो,’ आदि उनका जोसिला रचनाले जुरुकजुरुक पारिदिन्थ्यो सबलाई । रिमालका रचनामा परिवर्तनको आकांक्षा कसरी लिपिबद्ध छ भने ००७ सालमा गाइयो, ०३६ मा सुनाइयो, ०४६ र ०६२–६३ मा पनि नगाइरहन सकिएन । 

रिमालको नेतृत्वमा ००५ को विजयादशमी पारेर गोपालदास श्रेष्ठ, विजय मल्ल, त्रिपुवर सिंह आदि रहेको नेपाल प्रजा पञ्चायत नामक दल गठन भयो । उक्त दलको शान्तिपूर्ण प्रदर्शन र सत्याग्रहमार्फत प्रजातान्त्रिक आन्दोलन चर्कियो । थोरै–थोरै मानिस उतार्दा तीन–चार महिनाको बीचमा चार सय जना जेल गए । 

भारतमा बसेर क्रान्ति गर्ने पक्षमा कहिल्यै उभिएनन् रिमाल । डिल्लीरमण रेग्मी र बीपी कोइरालाको दुई राजनीतिक समूहलाई मिलाउन काशी पसेका उनी त्यसमा सफल भएनन् । साथीहरूले प्रजा पञ्चायतलाई कांग्रेसमा मिलाउने प्रस्ताव ल्याउँदा पनि एक्लै पार्टी जोगाउन अघि सरे । “रिमालले प्रजातन्त्र–जिन्दावाद भनेर नारा लगाउँदा असनका चामल व्यापारीहरूले झिम्ना भा: सुनेछन्,” माइला छोरा मदन भन्छन्, “एक मोहरमा १० माना चामल बेच्ने भन्ने अथ्र्याएर भागाभाग गरेछन् ।”

‘सपनाको देश देखेर मर्न पाऊँ’

हरिकुमारी रिमाल, ८३ (गोपालप्रसाद रिमाल–पत्नी)

गोपालप्रसाद रिमालसँग तपाईंको पहिलो भेट कहिले भयो ? 

पहिले मेरी जेठी दिदीसँग उहाँको विवाह भएको थियो । क्षयरोग लागेर दिदी बितेपछि उहाँ मलाई माग्न आउनुभयो । त्यतिबेला म १० वर्षकी थिएँ । 

रिमाल जेल परेको सम्झना छ ?

उहाँ दुईचोटि जेल पर्नुभयो ००३ र ००७ मा । मोहनशमशेरले दरबारमा बोलाएछन् । कुरा सुनेछन्, सुनेछन् अनि त्यहीँ थुनिदिएछन् । 

घरमा एउटा पाण्डुलिपिसमेत नभेटिनु अचम्म होइन ?

उहाँले कविता र नाटक लेख्नुहुन्छ भन्ने थाहा थियो । तर, उहाँले लेखेको कहिल्यै देखिनँ । सीआईडी–प्रहरी आउँदा पनि एक अक्षर भेटेनन् । घरमा कहिल्यै लेख्नुहुन्नथ्यो । लेखेर घरमा कहिल्यै छाड्नुभएन ।  

कहाँ राख्नुहुन्थ्यो त रचना ? 

छालाको रातो ब्यागमा हुँदो हो । त्यही हरायो । उहाँले त्यो झोला कसैलाई हेर्न दिनु हुन्थेन । केही रचना शंकर लामिछानेले लगेजस्तो लाग्छ । 

दम्पतीको एउटा फोटो पनि रहेनछ ?

त्यतिबेला फोटो खिच्ने चलनै थिएन । उहाँले पनि रहर गर्नुभएन । ०३० मा त्रिभुवन पुरस्कार पाएपछि फोटो सर्भिस पाकोमा खिचेको फोटो मात्र छ । 

०१९ को मदन पुरस्कार लिन तपाईं जानुको कारण ?

धेरैले सम्झाए । उहाँ भन्नुहुन्थ्यो, ‘मैले त साथीभाइलाई पढ्न पो दिएको । मैले पैसा लिन लेखेको हो र ?’ उहाँ वीरगन्ज गएका बेला मदन पुरस्कार लिन गएकी हुँ । 

उहाँको राजनीतिक गतिविधि थाहा थियो ? 

एकपटक शोभा भगवतीमा आमाजूसित स्तुतिगान हेर्न गएकी थिएँ । विष्णुमती किनारमा टम्मै मान्छे थिए । पुलबाट लुकीलुकी तीर्थराज–दमनराज तुलाधर, कृष्णप्रसाद रिमाल र उहाँले गाएको स्तुति सुनेँ । पर्रर ताली बज्यो । भिन्नै खाले जोश हुन्थ्यो उहाँको । 

दोस्रोपटक राँचीमा उपचार गरेर फर्किएपछि लेख्नुभएन ?

त्यतिबेला उहाँले कौसीमा बसेर लेख्न थाल्नुभएको थियो । मलाई ‘नहेर है’ भन्नुहुन्थ्यो । म न पढेकी, न त लेख्न जान्ने मान्छे ! लेखेर सिरानीमुनि राख्नुहुन्थ्यो । त्यो कुरा मैले कृष्णप्रसाद रिमाललाई बताइदिएँ । अनि, मैले हेरेको भन्ने परेछ क्यारे ! लेख्नै छाड्नुभयो ।

रिमाललाई देशले सम्मान गरेजस्तो लाग्छ ?

उहाँलाई महान् मान्ने पनि छन्, बहुलाहा भनेर खसाल्ने पनि छन् । ‘पचली भैरवको घ्याम्पो’ कविता लेख्दा राजा त्रिभुवनलाई पोल लगाएछन् । रक्सी खाने सरकारलाई पनि त्यस्तै लागेछ । उहाँलाई साथीभाइले नै धोका दिए । अहिले सेनाले कर्नेल बनाएको छ । कार्यक्रममा बोलाउँछन्, गाडी लिन आउँछ ।   

तपाईंको अरू इच्छा के छ ?

रिमालले जस्तो सपना देख्नुभएको थियो, त्यस्तै नेपाल देखेर मर्न पाऊँ ।

 

प्रकाशित: फाल्गुन १०, २०७३