[स्मरण] आक्रोशमा गणतन्त्र प्रसंग

- गोरक्षबहादुर न्हुछें प्रधान

‘यदि तपाईंहरू (विद्यार्थी)को चाहना नै गणतन्त्र हो भने गणतन्त्रात्मक मुलुकको प्रथम राष्ट्रपति बन्न म तयार छु । राजा नै भइरहनुपर्छ भन्ने केही छैन,’ विसं २००८ को अन्त्यताका नेपाल छात्र संघको प्रतिनिधिमण्डलमा सहभागी भएर राजदरबारमा भेट्न जाँदा राजा त्रिभुवनले यसो भनेपछि हामी आश्चर्यचकित भयौँ । एकाएक राजाले यस्तो कुरा किन गरे होलान् भनेर पनि हामी झस्कियौँ ।

संघका तत्कालीन अध्यक्ष सुरेन्द्रराज शर्माको नेतृत्वमा हाम्रो प्रतिनिधिमण्डल राजालाई विद्यार्थीका समस्या अवगत गराउन राजदरबार पुगेको सन्दर्भ थियो त्यो । अध्यक्ष शर्माका अतिरिक्त त्यस प्रतिनिधिमण्डलमा बलराम प्याकुरेल, वासु रिसाल, ऐश्वर्यलाल प्रधान, पुस्करनाथ उपाध्याय, द्वारकानाथ रेग्मी, जीवनलाल सत्यालसहित म पनि थिएँ । संघका लगभग सबै पदाधिकारी थियौँ त्यस प्रतिनिधि मण्डलमा ।

त्यतिबेला संघको कार्यालय कहिले कृष्णमान श्रेष्ठको घरमा त कहिले अष्टमंगल बज्राचार्यको फसिकेवस्थित घरमा सञ्चालन गरिरहेका थियौँ । वास्तवमा यसरी अफिस सञ्चालनले समस्या आउन थालेपछि त्यसबारेमा अवगत गराउने र फर्निचरलगायत सञ्चालन खर्चका अतिरिक्त एउटा विद्यार्थी म्यागेजिन पनि निकाल्ने योजनाका साथ राजासँग सल्लाह गर्न गएका थियौँ हामी । तर, राजाले एकाएक गणतन्त्रको कुरा गरेपछि वातावरणमा एकछिन सन्नाटा छायो ।

हामीले राजाको कुरालाई पूरै इन्कार गर्दै भर्खरै प्राप्त भएको प्रजातन्त्र कुनै हालतमा गुुम्नु हुँदैन र नेपाली जनमानसमा रहेको राजाप्रतिको अनुराग र आस्था एवं विश्वासमा कुनै हालतमा कमी आउँदैन भनेर एकै स्वरमा भन्यौँ । यदि हामीबाट कुनै गल्ती–कमजोरी भएको छ भने सच्याउन पनि तयार रहेको बतायौँ ।

हाम्रा कुरा सुनेपछि राजा फेरि आफ्नै ढंगमा प्रस्तुत भए । सहज वातावरणमा फर्केपछि रमाइलो गर्दै राजाले चुरोट निकाले र मुखमा च्यापे । योगेन्द्रविक्रम राणाले लाइटर पारेर सल्काइदिएपछि हामीतर्फ देखाउँदै ‘तपाईंहरू पनि कोही चुरोट खान इच्छुक हुनुहुन्छ भने लिनूस् है’ भन्दै एडीसीमार्फत चुरोट पठाए । मलगायत तीन जनाले चुरोट लियौँ र राजाका अगाडि बडो आनन्द र ठाँटका साथ पिउन थाल्यौँ । अल्लारे उमेर भनौँ या विद्यार्थी जीवन, त्यस्तो दुस्साहस गर्दा बडो रमाइलो अनुभव हुँदो रहेछ, गर्व र ठूलै पौरख गरेजस्तो । त्यही वातावरणमा हामीले राजासमक्ष आफ्ना गुनासा पोख्यौँ । राजाले पनि सक्दो सहयोग गर्ने वचन दिए । 

हामी राजासँग त्यसरी छलफल गरिरहँदा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला अगाडिपट्टिको कोठामा युवराज महेन्द्रसँग कुराकानी गरिरहेका थिए । त्यहीबीचमा जीवनलाल सत्याल (जो ०४६ को परिवर्तनपछि संसद् सचिवालयका महासचिवसमेत भए)ले राजा त्रिभुवनको गुणगानमा आफैँले लेखेको एउटा कविता वाचन गरे । राजा खुसी देखिए । एउटा खाममा केही नगद राखेर सत्याललाई बकस दिए । त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ ।

दोस्रो दिन जब हामी छात्र संघको फसिकेवस्थित कार्यालयमा पुग्यौँ, राजा त्रिभुवनले गणतन्त्रन्त्रको सन्दर्भ किन निकाले भन्नेबारेमा विचार–विमर्श सुरु भयो । खासमा राजा त्रिभुवन हामीसँगै विद्यार्थी आन्दोलनमा सरिक भएर भर्खर मात्र अलग भएका मोहम्मद मोहसिन, विजयप्रसन्न प्रधानलगायतको समूह र अन्य केही वाम/गणतन्त्रवादी समूहका विद्यार्थीहरूले राजतन्त्रको विरोध गर्दै गणतन्त्रका पक्षमा मसाल जुलुस निकालेको थाहा पाएपछि रिसाएका रहेछन् । पहिले हाम्रै छात्र संघका विद्यार्थीको पनि त्यसमा संलग्नता रहेकाले राजाले त्यस किसिमको आक्रोश पोखेका रहेछन् । र, त्यही आक्रोशको अभिव्यक्तिस्वरूप हामीसँगको भेटमा रोष प्रकट गरेका रहेछन् । 

जब हामीले यो कुरा चाल पायौँ, तत्काल त्यसको विरोध गर्दै विज्ञप्ति नै निकाल्यौँ । त्यसमा आफ्नो समूहबाट अलग भएका केही व्यक्ति र समूहले राजतन्त्रको विरोध गर्दै गणतन्त्र स्थापनार्थ गरेको मागसँग नेपाल छात्र संघको कुनै सम्बन्ध र साइनो नभएको उल्लेख थियो । हाम्रो झन्डा र ब्यानरमुनि रहेर अराजक र उच्छृंखल काम–कारबाही र व्यवहार प्रदर्शन गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएपछि हाम्रो ब्यानर दुरुपयोग हुनबाट रोकियो । अनि, राजाले पनि गणतन्त्रको कुरा उठाउन छाडे ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: फाल्गुन १०, २०७३