तन्त्रयुद्धको खतरनाक मोड

  • गणतन्त्रवादीहरूले जातीय/क्षेत्रीय लो कशासनलाई लो कतन्त्रको जामा पहिर्‍याउने प्रयास गरिरहे का छन् । तन्त्रयुद्धको यो सबैभन्दा खतरनाक रूप हो ।

- हस्त गुरुङ

नेपाली राजनीतिमा चारवटा राजनीतिक तन्त्रहरू क्रमश: राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रबीच संघर्ष चलिरहेको छ । यो तन्त्रयुद्ध खतरनाक मोडमा आइपुगेको छ । नेपालीहरूले विभिन्न रूपमा पुस्तौँसम्म राजतन्त्र भोगे । त्यसलाई चुनौती दिन झन्डै ७५ वर्षअघि प्रजातन्त्र शब्दले राजनीतिमा प्रवेश पायो । प्रजातन्त्र भन्ने शब्दावली धेरै कालसम्म उच्च–मध्यम वर्गीय शिक्षित समाजमा सीमित रह्यो ।

६ फागुन २००७ मा राजा त्रिभुवनले गौचरमा उपस्थित नेपालीहरूलाई सम्बोधन गर्दै ‘अब हाम्रा प्रजाले संविधानसभाद्वारा महासभा गठन गरेर देशमा गणतन्त्र कायम गर्नेछन्’ भनेर घोषणा गरेको दिनदेखि नेपाली राजनीतिमा गणतन्त्र शब्दले स्थान पायो । अर्थात्, नेपाली राजनीतिमा गणतन्त्र शब्दको प्रवेश भएको पनि ६५ वर्ष पुग्यो, जो नेपालीको सरदर आयु बराबरको समय हो । ०६२/६३ पछि चाहिँ लोकतन्त्र भन्ने शब्द राजनीतिमा भित्रियो । 

राजा त्रिभुवनले दिल्लीबाट फर्कंदा कोसेलीस्वरूप भित्र्याइदिएको गणतन्त्र शब्दावलीसँग उसबेलाका नेपाली वाममार्गीहरू पनि पूर्ण परिचित थिएनन् । ०१५ सालको आमनिर्वाचनको परिणाममा त्यस बेलाका नेपाली वाममार्गीहरूको संख्या न्यून देखाए तापनि काठमाडौँमा तिनको बलियो पकड देखायो । 
राजतन्त्र र प्रजातन्त्रबीच संघर्ष हुँदा ०१५ सालको आमनिर्वाचनमार्फत देशले जननिर्वाचित सरकार पायो । नागरिकहरू राजाद्वारा मनोनीतबाट होइन, आफैँले चुनेका प्रतिनिधिहरूबाट आफ्नो शासन चाहन्छन् भन्ने स्पष्ट भयो । यसलाई प्रजातन्त्रको जित मानियो । तर, १ पुस ०१७ मा नै राजतन्त्रले प्रजातन्त्रलाई निमोठिदियो । त्यसपछिको दुई दशक राजतन्त्र र प्रजातन्त्रबीच घोर संघर्षले ०३७ को जनमतसंग्रह ल्यायो, जसको परिणामले ४५ प्रतिशत मतदाता राजतन्त्रका विरुद्ध, प्रजातन्त्रका पक्षमा रहेको देखायो । यस घटनालाई पनि प्रजातन्त्रको जित ठानियो । तर, ०४६ को आन्दोलनले प्रजातन्त्र र राजतन्त्रबीच सहकार्य गराउन संवैधानिक राजतन्त्र स्थापित गरिदियो । 

००६ देखि सुषुुप्त बीजका रूपमा नेपाली भूमिमा सञ्चित रहेको गणतन्त्रले ०४६ पछिको अवसरलाई भरपूर उपयोग गर्‍यो । संसदीय हावापानीमा गणतन्त्रको बिरुवा मज्जाले हुर्कियो । ६ वर्षमै वयस्क भयो । ०५२ मा आइपुग्दासम्म हिंस्रक योद्धा बनेर नेपाली राजनीतिमा स्थापित हुन पुग्यो । 

०६३ पछि गणतन्त्रले राजतन्त्र नै लोप गराइदियो । अनि, प्रजातन्त्रको स्थानमा लोकतन्त्रको लेप चढाइदियो । अहिले देशमा प्रजातन्त्रको साक्षीका रूपमा बालिग मताधिकार मात्र बाँचेको छ । यद्यपि, प्रजातन्त्रको अर्थ मतदान गर्नु मात्र होइन । देश र जनताको उन्नति सुनिश्चित गर्न नसके प्रजातन्त्र अर्थहीन हुन जान्छ । तर, प्रजाको उन्नति र विकास गर्नेे वाचासहित आएको प्रजातन्त्र सुदृढ रूपमा खडा हुन सकेन । 

अहिले लोकतन्त्र भन्ने शब्दावलीले नेपाली राजनीति ढाकेको छ । प्रजातन्त्रको ठाउँ लोकतन्त्रले लिएको छ । नागरिकलाई लोकतन्त्र र प्रजातन्त्रमा भेद छुट्याउन हम्मे परेको छ । देशमा प्रजातान्त्रिक होइन, लोकतान्त्रिक गणतन्त्रको हावा चलेको छ । गणतन्त्रवादीहरूले जातीय/क्षेत्रीय लोकशासनलाई लोकतन्त्रको जामा पहिर्‍याउने प्रयास गरिरहेका छन् । तन्त्रयुद्धको यो सबैभन्दा खतरनाक रूप हो ।

उहिले पुराण कथामा सुनिएका नागलोक (नाग जातिको राज्य), किन्नरलोक (किन्नर जातिको राज्य) जस्तै गरी नेपालमा पनि पहाडलोक र मधेसलोक सिर्जना भएका छन् । पहाडभित्र नेवा: लोक, तमुलोक, मगरलोक, तामाङलोक, शेर्पालोक, खसलोक, थारुलोक, राई–लिम्बूलोक गरी अनेकन् मसिना लोकराज्य खडा गर्ने प्रयास चलिरहेको छ । लोकतान्त्रिक गणतन्त्रको हावाले अनेक लोक स्थापनाका लागि ऊर्जा दिएको छ । ‘एक देश, अनेक लोक’ निर्माण गर्ने उपक्रममा जातीय/क्षेत्रीय/सामुदायिक सद्भावना बिथोलिएका छन् । पहाडलोकवादी र मधेसलोकवादीहरूलाई परस्पर विरोधी अखडामा उभ्याइएको छ । एकले अर्कोलाई आफ्नो सुरक्षा र प्रगतिको बाधक मानेका छन् । त्यसैले यहाँ अनेकन् हिंस्रक कृत्य चल्दै छन् । नागरिकहरूमा त्रास र उन्माद एकसाथ फैलिएको छ । 

जातीय/क्षेत्रीय लोकराज्यहरू कति उपयोगी हुन्छन् भन्ने कुरा नकेलाईकन लोकतान्त्रिक गणतन्त्रको उपयोगिताबारे बुझ्न सजिलो हुँदैन । तसर्थ, यहाँ लोकतान्त्रिक गणतन्त्र बुझाउन भारतको इतिहासको सहारा लिइएको छ । 

पूर्ववैदिककालीन भारतमा जातीय/क्षेत्रीय गणशासनको परम्परा देखिन्छ । यिनले जातीय तथा क्षेत्रीय लोकराज्य (निश्चित जाति वा समूहको राज्य) गठन गरेर गणप्रमुखमार्फत शासन गर्थे, जसको प्रभाव सीमित भूभाग र जातिमा संकुचित हुन्थ्यो । यस्तो शासनको धर्म (कर्तव्य) जाति विशेष र क्षेत्रीय भूभाग विशेषको सीमाभित्र रहन्थ्यो । 

मेरो देश नगदेश हो भन्ने मानिस अझै पनि नेपालमा भेटिएजस्तै उसबेला भारतमा पनि गंगावार र गंगापार समुदायको भिन्नाभिन्नै लोक (राज्य) थियो, जसलाई जनपद वा महाजनपद भनिन्थ्यो । मध्यकालीन भारतमा १६ वटा महाजनपद र अनेकन् जनपदहरू थिए । 

महाभारतकालीन भारतमा यौधेय, कुलिन्द, मालव, शिवि, अर्जुनायन, त्रिगर्त, क्षुद्रक, समवस्ता आदि एकल जातीय गणराज्य थिए । मध्य–पश्चिम भारतमा शिनी–वासुदेव, स्वफल्क–चैक्रक, अक्रुर–वासुदेव, आन्ध्र–वृष्णिजस्ता संयुक्त जातीय गणराज्य पनि थिए । संयुक्त जातीय गणराज्यहरू ‘दुई भिन्न जातीय समुदायको एक राज्य नीति’ अन्तर्गत चल्थे । व्यापार, यातायात, पानी तथा प्राकृतिक स्रोतको साझेदारी गर्न, दुई भिन्न भूगोलका भिन्न जातिबीच समन्वय राख्न संयुक्त गणराज्य बनेका थिए । उत्तरापथ गणराज्य पहाड र समथरका बासिन्दाको संयुक्त गणराज्य थियो । यिनले व्यापार र कृषिमा उन्नति गरेका थिए । 

समथरका यादवहरूले अन्तर्जातीय लोकराज्य चलाएका थिए । यिनले यादव–यादवबीचको महासंघ बनाएका थिए । ब्रजभूमि यादवहरूको पवित्र लोकराज्य थियो । कोशल देशका नागरिक भएर पनि कपिलवस्तुका शाक्यहरूले जातीय गणतन्त्र चलाएका थिए । त्यो शाक्यलोकमा सिद्धार्थ गौतमका पिता शुद्धोधन पनि राजा भएका थिए । 

वैशालीमा लिच्छवि र छिमेकी मुजफ्फरपुर, शाहवाद क्षेत्रमा बुल्ली गणतन्त्र थियो । यी दुई लोकवासी आपसमा लडिरहन्थे । कालाम ब्राह्मणहरूको गणतन्त्र केशवत्थुमा र भग्ग (भार्ग) ब्राह्मणको गणतन्त्र उत्तरप्रदेशको मिर्जापुर, सुन्सुमारगिरि क्षेत्रमा थियो । कोलिय जातिको गणतन्त्र उत्तरप्रदेशको रामपुरदेवरिदेखि रामग्राम (नेपालको नवलपरासीको दक्षिणी अंश)सम्म थियो । काठमाडौँ उपत्यकामा शासन गर्न आएका दक्षिण मल्लहरू गोरखपुर र चम्पारण सारण क्षेत्रमा थिए । यिनीहरू एकै जातीय समूहका भए पनि तीन गणतन्त्र बनाएर विभाजित थिए । काशी क्षेत्रमा काशी मल्लहरू, पावा नगरमा पावा मल्लहरू र कुशीनगर क्षेत्रमा कुशीनारा मल्लहरूको गणतन्त्र थियो । त्यसैले यिनीहरू ज्यादै कमजोर थिए । उत्तरप्रदेशको पिप्पलीवन क्षेत्रमा कोरी (कोइरी ?) हरूको मोर (मोरिय) गणतन्त्र थियो । यो राज्य उत्तरप्रदेशको उपधौलीदेखि नेपालको बाँके र कैलालीसम्म फैलिएको थियो, जसलाई नन्दवंशको पालामा मगधले एकै गाँसमा निलिदियो । 

विदेह क्षेत्रको मिथिला गणतन्त्र बज्जी (बजियान) महाजनपद अन्तर्गत थियो । बज्जी र मैथिलहरू एकै महाजनपदका नागरिक भए पनि मिल्न नसकेर दुई भिन्न जातीय गणतन्त्र गठन गरेर बसेका थिए । यिनले पनि स्वतन्त्र अस्तित्व कायम राख्न सकेनन् ।

अर्थात् आजभन्दा २ हजार ६ सय वर्षअघि नै भारतमा ‘प्रत्येक जाति प्रत्येक लोक’ नीतिबमोजिमको लोकतान्त्रिक गणतन्त्र चलेको देखिन्छ । तर, तिनीहरू कुनै पनि टिक्न सकेनन् । 

मगध राजतन्त्रले उत्तर भारतका सबै जातीय गणराज्यको उच्छेद गरेर अखण्ड, शक्तिशाली, विशाल मगध निर्माणको जग राखेको थियो । मगधको राजधानी वैशाली हुँदै पाटलीपुत्र (पटना)मा स्थापना भएको थियो । यही पाटलीपुत्रमा उदय भएको नन्दवंशले पूर्व, पश्चिम र दक्षिण भारतका जातीय गणतन्त्र मासेर विशाल मगध निर्माण गरे । यिनको समयमा मेसेडोनियाबाट विश्वविजय गर्न हिँडेका युनानी युवा अलेक्ज्यान्डरले पश्चिम भारतको तक्षशिला (अहिले पाकिस्तानमा), गान्धार (अहिले अफगानिस्तानमा) र झेलम नदी किनाराको पौरव गणराज्यमा आक्रमण गरेर भारतीय भूभागमा प्रवेश पाए । युनानी आक्रमणबाट भारतलाई बचाउने शक्ति उसबेलाका ससाना जातीय गणराज्यहरूमा थिएन । 

अलेक्ज्यान्डरलाई भारतीय भूमिमा अझ भित्र पस्नबाट रोक्न सक्ने एउटै मात्र शक्तिसूत्र थियो– जातीय गणराज्य मासेर बनेको विशाल मगध । मगध शक्तिशाली थियो तथापि नन्दवंशी राजा धनानन्द सम्पूर्ण भारतको होइन, मगधको सुरक्षामा मात्र केन्द्रित थिए । तर, भारतमा विदेशी आक्रमण रोक्नु अनिवार्य थियो । त्यसका लागि राज्यसूत्र त मगध थियो तर राज्यपात्र अनुकूल थिएन । त्यसैले चाणक्यले मगधमा सत्ता परिवर्तन गराएर चन्द्रगुप्तलाई मगधको शासक बनाए । चन्द्रगुप्त पाएपछि, भारतभित्र युनानी प्रवेश रोक्ने सूत्र र पात्र चाणक्यले पाए । यी दुईको सहायताले शक्तिशाली युनानी सेनालाई भारतीयहरूले लखेटे । त्यसपछि चन्द्रगुप्तले थुप्रै ससाना जातीय राज्य मासेर मगध साम्राज्य बनाए । उनका नाति सम्राट् अशोकले दक्षिण भारतको कलिङ्ग विजय गरेपछि भारतवर्ष ढाक्ने गरी विशाल भारतको निर्माण भयो । 

मागधी प्रसेनजीत र अजातशत्रु तथा नन्दवंशले जातीय गणतन्त्र मासेर मगध निर्माणको अभियान नचलाएको भए, चाणक्यले भारत र भारतीयको स्वाधीनता र स्वतन्त्रता बचाउन सक्ने राज्यशक्ति पाउनै सक्तैनथे । चन्द्रगुप्त र सम्राट् अशोकले थप जातीय/क्षेत्रीय गणराज्य मासेर विशाल मगधको निर्माण नगरेको भए शक्तिशाली अखण्ड भारतको सिर्जना नै हुने थिएन । मध्यकालीन भारतको इतिहासले प्रस्ट देखाउँछ, आजको विशाल भारत, जातीय गणतन्त्रको समाप्तिपछि प्राप्त भएको हो । जातीय वा क्षेत्रीय गणतन्त्रले अखण्ड र शक्तिशाली देशको निर्माण गर्न सक्दैन । 

प्रसेनजीत, अजातशत्रु, नन्दवंश, चाणक्य, चन्द्रगुप्त र सम्राट् अशोकले अखण्ड भारत निर्माण गर्न जुन महायज्ञ गरेका थिए, त्यही र त्यस्तै काम नेपालमा पृथ्वीनारायण शाहले गरेका थिए । बाइसे/चौबीसे मात्र होइन, भीरकोटे (स्याङ्जाली), गल्कोटे (बाग्लुङे), धूवाँकोटे (धादिङे), नुवाकोटे र विजयपुरे राज्य नमासिएका भए, हामीसँग पनि आजको नेपाल हुने थिएन । तर, नेपालमा पृथ्वीनारायण शाहको निन्दा गर्ने जमात बढिरहेको छ । किन होला ?

जवाफ भारतीय इतिहासमै छ– सम्राट् अशोकले भारतीयहरूलाई उपहारमा दिएको विशाल अखण्ड भारतभित्र मुगल, अरब र अंग्रेज शक्तिले शासन जमाउन चाहेपछि, भारतीयहरूलाई नै भारतविरोधी जमातको रूपमा खडा गरे । उनीहरूले देशीय दलालहरू प्रयोग गरेर पुन: टुक्रे राज्यहरू उभ्याइदिए ।

जातीय/क्षेत्रीय शासन गर्ने लोभमा फसेका स्वार्थी शक्तिहरूले अखण्ड भारत निर्माताहरूको उद्देश्य र योगदानको उपेक्षा, निन्दा गरे । जाति र भाषाबीच शत्रुता बढाए, काटमार गराए । नयाँ–नयाँ लोकराज्य निर्माण गरेर भारतीय अखण्डता र एकीकृत शक्ति तोडिदिए । अनि, भारतमा शासन गर्न अरब र मुगल आए । यिनले भारतलाई अझ खण्डित गरे । त्यसपछि, सम्पूर्ण भारत अंग्रेजको उपनिवेश बन्न पुग्यो ।

फलत: भारतीयहरूले तीन शतक स्वाधीनता र स्वतन्त्रता गुमाए । अन्याय, अत्याचार सहे । आफ्नै देशमा दास बने । महात्मा गान्धीले अंग्रेजको दमनबाट भारत स्वतन्त्र त गराए तर अखण्ड भारत बचाउन सकेनन् । पाकिस्तान (तक्षशिला आदि), बंगलादेश (बंग), गान्धार (अफगानिस्तान) आदि अखण्ड भारतका अंग भए पनि तिनको पुन:प्राप्ति हुन सकेन । कश्मीर तीन टुक्रामा खण्डित भयो । विदेशीमुखी भारतीयहरूका अकर्तव्यको मूल्य भारतले खण्डित भएर, चुकाउनु पर्‍यो । मध्यकालीन भारतीयहरूले बेलैमा विदेशी दलालको प्रतिरोध गर्न नसक्दा लामो समयसम्म औपनिवेशिक दासता र देशको खण्डीकरण भोग्न पर्‍यो ।

पृथ्वीनारायण शाहको निन्दा गर्ने, नेपाल एकीकरण कार्यको आलोचना गर्ने, जातीय/क्षेत्रीय लोकतन्त्रको वकालत गर्ने जमातले पनि नेपाल कमजोर बनाउने उपक्रम चलाइरहेका छन् । नेपालको अखण्डता र स्वाधीनतालाई छिन्नभिन्न पार्न अनेकन् दुष्प्रचार र अकर्तव्य गरिरहेका छन् । एकतन्त्रीय राणाकालमा शक्ति क्षीण हुँदा अंग्रेजहरूले नेपालको ठूलो भूभाग खोसेर भारतमा मिलाइदिए । यसै गरी नेपाललाई कमजोर गराउने सिलसिला जारी रहने हो भने बाँकी रहेको नेपालको अखण्डता, स्वाधीनता र स्वतन्त्रतामा पनि आँच आउन सक्नेछ । 

नेपाल र नेपालीलाई त्यो भयावह स्थितिमा पर्नबाट जोगाउन विदेशी चालविरुद्ध निरन्तर मुखर हुनुपर्ने अवस्था छ । समय घर्किसकेको छैन– जातीय/क्षेत्रीय लोकतान्त्रिक गणतन्त्र रोज्ने कि एकीकृत, अखण्ड नेपाल निर्माणको महायज्ञको समीधा बन्ने ? रोजौँ । प्रजातन्त्र सुदृढ गर्ने कि जातीय लोकतन्त्र ठड्याउने ? विवेकसम्मत निर्णय लिऔँ । 

प्रकाशित: फाल्गुन १०, २०७३