[अनुभूति] चिनियाँ चेलीको चक्कर

- बीएन जोशी

हप्तादिनको बसाइ पनि न्यास्रो लाग्दै थियो चीनकै आधुनिक सहर थेन्जिङमा । राजधानी बेइजिङबाट १ सय ५० किलोमिटर टाढाको तर बुलेट ट्रेनमा आधा घन्टामै पुगिने । ३१ मिनेट पनि नलाग्ने कस्तो पारदर्शी समय ! बेइजिङभन्दा पनि सुविधासम्पन्न, सफा र शान्त सहर । मानिसहरू पनि उस्तै सहयोगी र अनुशासित । १० दिनजतिको थेन्जिङ बसाइमा केही नराम्रो अनुभूति गर्नुपरेको थिएन र पनि न्यास्रो लागिरहेको थियो कस्तो अचम्म !

पर्यटकीय सहर थेन्जिङको आफ्नै इतिहास रहेछ । इटालियन शैलीमा बनेका घरहरू, बाटोघाटो उस्तै । तीन भागको दुई भाग यात्रु जमिनमुनि चल्ने रेलबाट यात्रा गर्दा रहेछन् । दिनको मौसम नै माइनस पाँच डिग्री थियो भने रातको माइनस १८ डिग्रीसम्म । दिमागमा जहिल्यै घुमिरहने स्थल एउटै थियो, ग्रेटवाल । त्यही थियो मलाई न्यास्रो लागिरहनुको कारण । 

मनले चाहेर पनि समय जुरेको थिएन धेरैपटक । यसपटक पनि थेन्जिङ पुगेको एक साता बितिसकेपछि बल्ल समय जुरेको थियो । काम विशेष अनि मौसमी प्रतिकूलताका कारण । ग्रेटवाल पुुग्ने कौतूहल संसारका जो कोही मानिसलाई हुँदो रहेछ । फरक–फरक समुदायको जमघट देखेपछि यसै थाहा हुन्छ । 

बेइजिङ स्टेसनको सब वे अन्डरग्राउन्डबाट स्क्वायरमा निस्केपछि मित्र जगदीश र म अलमलमा पर्‍यौँ बाटो पार गर्ने ठाउँ नदेखेर । तीन–चारवटा फ्लाइओभरको पारिपट्टि उस्तै तीन टावर देखिए । बादलिन (ग्रेटवालको फेदी)सम्म जाने रेल लाग्छ भन्ने थाहा थियो तर बाटो पार गर्ने कुनै संकेत नदेखेर निकैबेर भौँतारियौँ, सडक पेटीको यताउता । 

सिसाको फ्रेमभित्र ठड्याइएको नक्सामा अरू पनि उसै गरी हेर्दै थिए कताबाट जाने भनेर । ब्रोकन मन्डारियन भाषामा हामीले धेरै जनासँग संवाद गर्दा समेत पत्ता लगाउन सकिरहेका थिएनौँ । समयमै टिकट काउन्टर नपुगे त्यो दिनको यात्रा पनि टुङ्गिन सक्थ्यो । बादलिनसम्म दैनिक दुइटा मात्र पर्यटकीय विशेष रेल छुट्ने बताएकी थिइन् थेन्जिङकी मित्र भीभीएनले ।

निकैबेरको अलमलपछि त्यही सिसाको नक्सा भएको बोर्डमा एक जना चलाखजस्तो देखिने युवती ठोक्किन आइपुगिन् । उनी पनि पारिपट्टि बेइजिङ स्क्वाएरमा जाँदै रहिछन् । ठीकै अंग्रेजी बोल्ने युवती भेटिएपछि गफिँदै लाग्यौँ हामी । सांघाईबाट बेइजिङ घुम्न आएकी रहिछिन् ती युवती । घुम्ने सिलसिलामै तिब्बतको ल्हासासम्म पुगिसकेकाले नेपालबारे राम्रै जानकारी रहेछ । १५ मिनेटजतिको बाटो कटाइमा भएको संवादले खुसी बनायो र धन्यवाद दिएर छुट्यौँ ।

समयमै रेलको यात्रा भो बादलिनसम्म लगभग डेढ घन्टाको । पहाडको खोँच छिचोल्दै हिउँको थुप्रोसँग नागबेली गर्दै लुकामारी खेलेजस्तो त्यो यात्राले जीवनकै एक रोमाञ्चकारी क्षण बन्यो । बादलिनमा रेलबाहिर निक्लेपछि मुस्ताङी जोमसोमे हावाको झल्को आयो । जोमसोमको भन्दा पनि निकै बेग थियो हावाको, मान्छेलाई नै पर–पर धकेलिदिने । तिब्बतियनजस्ता देखिने महिलाहरू हात र अँगालोभरि टोपी, मफलर, पञ्जाका झुत्ताहरू बोकेर झुम्मिन आइपुगे । जीवनमा पहिलोपटक अत्यन्त चिसोको अनुभव हुँदै थियो त्यतिबेला । चिसो हावाको बेगले हिँड्न नसकेर पछाडि धकेलिएका एक हूल युवती देख्दा छक्क परेका थियौँ हामी ।

जति हिँड्यो उस्तै सिँढी, उस्तै गेट, उस्तै लाग्ने थुम्का अनि डाँडाकाँडा । मानिस मात्र फरक थिए, त्यसमा पनि बाक्लो पहिरनले कसैको अनुहार देख्न सकिन्थेन । तस्बिर लिने समयमा मात्र अनुहार खोल्दाको मजा क्षणभरमै थाहा लाग्थ्यो कठ्यांग्रिएर । पन्जा निकाल्दा हातका औँला ठिट्याएर झर्लाजस्तो । लगभग एक–डेढ घन्टाको ग्रेटवाल घुमाइ निकै कठिन भयो चिसोले । गएकै रेलमा बेइजिङसम्म फर्कनुपर्ने हतारो, त्यो पनि अन्तिम साँझ ५ बजे खुला आकाशमुनि बाहिर एकैछिन बस्न पनि मुस्किल । फरक किसिमको यात्राको प्यास मेटियो ग्रेटवालमा पुगेर । जीवनकै गह्राैँ भारी बिसाएको अनुभूति भयो त्यस दिन ।

ग्रेटवाल जाँदै गर्दा बेइजिङ स्टेसनमा एउटा नक्साको संकेतले मेरो ध्यान खिचेको थियो । ग्रेटवालको हडबडले गर्दा राम्ररी नियाल्न पाएको थिइनँ, मात्र नोटिस गरेको थिएँ । साँझ बेइजिङ उत्रेर हाम्रो गन्तव्य थेन्जिङ जाने बुलेट रेल राती १० बजे लाग्ने भएपछि आँखा र कान चनाखा भए । तियानमिन स्क्वायर † मुख्य जक्सनबाट अर्को मेट्रोमा मात्र एक स्टेसनको दूरीमा, लगभग पाँच मिनटको यात्रा । त्यस्तो ऐतिहासिक ठाउँ छुटाउने कुरै भएन । तियानमिन स्क्वायर स्टेसनमा उत्रेर सब वेभित्रैको सूचनाको बोर्डमा म र जगदीशजी घोत्लिदै थियौँ ।

“एक्सक्युज मी ... ?”

झसंग भएँ म । 

“म ली फङ, कुन देशबाट तिमी ?”

त्यति भनेर उनले परिचयको हात अगाडि बढाइन् । यति राम्रो अंग्रेजी बोल्ने चाइनिज महिला ? उमेर त्यस्तै ४५ वर्षजति । मैले ‘नेपाल’ भन्नासाथ उनले अनेक कुरा फर्माइन् । खुसी भएँ अनायास । जगदीशजी पनि हामी भएकै ठाउँमा आइपुगेपछि तीनै जना गफिँदै सब वेमाथिको सडकमा निस्कियौँ ।

बत्तीको झिलीमिलीमा कस्तो सुन्दर देखिएको तियानमिन दरबार ! ती महिला हामीलाई गाइड गर्दै थिइन् । पछि पैसा लिने हो कि ! सोच्यौँ मात्र तर सोधेनाैँ उनीसँग । “मेरो घर बेइजिङबाट पश्चिम गाउँमा पर्छ । गाउँकै सरकारी स्कुलमा अंग्रेजी पढाउँछु । मलगायत अरू शिक्षकहरू तालिमका लागि बेइजिङमा आएको एक हप्ताका लागि । मचाहिँ आफ्नो अंग्रेजी राम्रो होस् भनेर विदेशीहरूको चहलपहल हुने स्थानतिर फुर्सदमा घुम्न निस्कन्छु । विदेशीहरूसँग गफ गर्न पाउँदा मलाई रमाइलो पनि लाग्छ ।” उनी बोलेको बोल्यै गर्थिन्, हामी चाहिँ अँ अँ भन्दै सुन्दै जान्थ्यौँ । 

“तिमीहरू चीन केका लागि आएको, कहाँ बस्छौ ?”

“हामी घुम्न आएको, थेन्जिङमा बस्छौँ ।” यति मात्र भन्यौँ ।

“होटलमा महँगो छ भने म यहाँ सस्तोमा मिलाइदिन्छु ।”

“पर्दैन, हाम्रा साथीहरू छन् थेन्जिङमा ।”

तियानमिन दरबार देखिने गरी सडकपारिबाट हाम्रो फोटो पनि खिचिदिइन् उनले तर हामीसँगै बसेर खिच्न भने मानिनन् । अचम्म मानेँ मैले । आज खै के चिनियाँ भगवान्को व्रत हुन्छ मेरो फोटो खिच्न हुँदैन भनिन् । शंका लागेको थियो मलाई उनको क्रियाकलाप देखेर । रात ढल्दै जाँदा चिसोसँगै भोकको लय उस्तै गरी बढिरहेको थियो । हाम्रो ट्रेन १० बजेको भएकाले समय पनि पर्याप्त छँदै थियो । उनले कतै कफी पिएर तातो ठाउँमा बसौँ न भनेपछि ठीकै लाग्यो ।

चिसो सहरमा सुनसान बन्दै थियो सडक । तियानमिन दरबार पूर्वतिरको सडक गल्ली हुँदै उनी अघि लागिन् । हामी उनको पछि लाग्दै गयौँ । त्यस्तो राम्रो जानकार भेटेपछि ढुक्क मान्यौँ त्यो अन्जान सहरमा । वरिपरिका पसल प्राय: बन्द भइसकेका थिए । सडक बत्तीको उज्यालोले मात्र हामीलाई साथ दिइरहेको थियो । हामी दुई आफ्नो भाषामा कुरा गर्नासाथ उनी के के भनेर हस्तक्षेप गरिहाल्थिन् । गजबको कला र गला थियो ली फङको ।

अलि पर चार सय मिटरजति अगाडि पुगेपछि त्यो सुनसान गल्लीमा खुलेको एउटै रेस्टुराँमा छिर्‍यौँ । ढोकाभित्र छिर्दै गर्दा सञ्चालकसँग उनले सटीक संवाद गरेकी थिइन् । परिचित संवादजस्तै लाग्यो मलाई । मनमा कता कता शंका नउठेको पनि हैन तर मनमै गमेर बसेँ म । चिसोले गर्दा ढोकाहरू पूरै बन्द, त्यहीमाथि स–साना कोठा फरकफरक किसिमका । अरू मान्छे भएजस्तो पनि लागेन । आ–आफ्नो छुट्टै कोठाको ढोका लगाएपछि अर्को कोठाको आवाज पनि नआउने शान्त वातावरण ।

होटलको मेनु केही बुझिएन । पूरै चाइनिजमा मात्र लेखिएको । तै फोटो हेरेर फरक खालका दुई किट्ली लोकल चिया अर्डर गर्‍यौँ । त्यससँगै एक बाउल गुलियो कुकिज पनि । त्रासका बीच पनि मीठो मानेर गफिँदै खायौँ भोकले ढोल पिटिरहेको परिस्थितिमा । उनले भने भोक छैन भनेर एक–दुई पिस कुकिज मात्र खाइन् । एक किट्लीमा लगभग पाँच–छ कप चिया बन्दो हो । रमाइला गफ भयो । राम्रा कुरा भए, नेपाल र चीनबीचका संस्कृतिबारे पनि सुन्ने र सुनाउने, हाम्रो नेपाली नामलाई चिनियाँ भाषामा अनुवाद गरेर व्याख्यासमेत गर्न भ्याइन् उनले ।

टेबलको विपरीत दिशाबाट मैले उनको फोटो खिच्ने प्रयास गरेँ उनले थाहा नपाउने गरेर तर भर्खरै किनेको मोबाइल सेटको फ्ल्यास लाइट बन्द गर्ने ठाउँ भेटिरहेको थिइनँ । फोटो लिन त उनले अघि नै इन्कार गरिसकेकी थिइन् । म तनावमा थिए आफैँमा । जे पनि हुन सक्थ्यो त्यहाँ अन्जान परिवेशमा । एक प्रकारको बेजोड शंकाको घेरा बढ्दै थियो मनमा । फेरि सोच्थेँ, यो भारतको यात्रा हैन चीनको हो । कहिल्यै ठगिनु र लुटिनु परेको थिएन दसौँपटकको यात्रामा ।

होटलको मेनुको बाहिरी आवरण नै सही, त्यसलाई काखमा राखेर मोबाइलको टेस्ट गरेजस्तो गरी केही स्न्याप फोटो लिएँ । पछि केही भइहाल्यो भने यही मेनुले पनि त केही प्रमाण देखाउन सकिनेछ । त्यो मेरो संकीर्ण सोच थियो या तीक्ष्ण ?

“समय हुन लाग्यो, अब हामी जानुपर्छ ।”

“हो मलाई पनि अबेला हुन लाग्यो, अब निस्कनुपर्छ ।”

ली फङले बिल मगाइन् । बिल आयो तुरुन्तै । लाग्थ्यो, पहिले नै तयारी थियो । बिल हेर्नासाथ मित्र जगदीश र मबीच हेराहेर भयो । केही न केही गडबड त हुन्छ भन्ने लागेकै हो । बिल हेरेर हामीले कुरा गरेको भेउ पाइन् उनले । बीचमै कुरा काटेर ‘माइन्ड नगर, म पनि त जागिरे व्यक्ति हो, म पनि सेयर गर्छु नि’ भन्दै आफ्नो ब्याग खोतलिन् । १७० आरएमबी मेनुमा राखिन् । जम्मा बिल ६५० आरएमबी थियो । सुरुमा मेनु हेर्दा ३०, ४० भन्दा बढी थिएन । हामीले किट्लीको हिसाब गरेको तर त्यहाँ हरेक कपको दरले जोडेको हो भनेपछि प्रतिवाद गर्ने कुरा पनि आएन । बाँकी रकम राखेर हामी बाहिर निस्क्यौँ । 

सामान्यतया खानाका लागि होटल छिर्दा ४०, ५० आरएमबीले पुग्थ्यो हामीलाई । उनले आफ्नो मिसन पूरा गरिसकेकी थिइन् । त्यसैले त आफूलाई हतारो भएको हाउभाउ गर्दै थिइन् उनी । रेस्टुराँ साहू र उनीबीच छोटो सांकेतिक संवाद मात्र भएको थियो ढोकाबाट निस्कँदा । त्यसपछि खासै बोल्न पनि मन लागेन उनीसँग । हामी केही पर बाटोछेउको सार्वजनिक शौचालयभित्र छिर्दा पनि उनी ढोका बाहिरै कुरिरहेकी रहिछिन् । हामीले उनलाई वास्तै गरेनौँ । तैपनि, उनी अझै पछि लाग्दै थिइन् । दिनभरिको सारा खुसी अनि वर्षौंदेखिको उत्साहलाई एकै झमटमा ओझेल पारिदियो क्षणिक विश्रामले कहिल्यै नभुल्ने गरी । पर आधा बाटोसम्म पुर्‍याएर बिदा भइन् ली फङ खुसीका साथ त्यही रेस्टुराँतिर । हामी स्टेसनतर्फ लम्कियौँ । “अब सात दिनसम्म निदाउन गाह्रो हुने भो,” मित्र जगदीश भन्दै थिए । मैले सम्झाएँ, “चिन्ता नलिनूस्, यति पैसा खर्च भए पनि महत्त्वपूर्ण ज्ञान पाएका छौँ त । जीवनमा खुसीका साथ ठगियौँ ।” 

प्रकाशित: फाल्गुन १०, २०७३