‘पावर, पैसा र ग्ल्यामर केही रहेनछ’— सुजाता कोइराला

- सन्तोष आचार्य, प्रदीप बस्याल

दिवंगत गिरिजाप्रसाद कोइरालाझैँ ‘संवाद, सहमति र सहकार्यबाटै देशको स्वार्थमा काम गर्नुको विकल्प नभएको’ बताउने उनी ‘सबैका आ–आफ्नै ब्रान्डको राजनीति भए पनि त्यो रचनात्मक र परिपक्व हुनुपर्ने’ सुझाव दिन्छिन् । एकअर्कालाई गाली र खोक्रा भाषण गर्नेहरु अचेल उनलाई जोकरझैँ लाग्छन् । अनि, उनलाई आफ्नो यस्तै विगतप्रति पश्चात्ताप पनि छ । असाध्य रोग क्यान्सरसँग लडेर अहिले मण्डिखाटारस्थित निवासमा आराम गरिरहेकी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालसँग राजनीतिक भन्दा पनि आध्यात्मिक लयमा कुरा गर्न रुचि देखाइन् । त्यसैको सम्पादित अंश: 

क्यान्सरसँग कसरी भिडिराख्नुभएको छ ?
स्तन क्यान्सर पत्ता लागेको एक महिनामै मेरो डिम्बाशयमा पनि क्यान्सर देखियो । दुवै अलगअलग प्रकृतिका थिए । ती पहिलो चरणमै रहेका कारण समयमै उपचार सम्भव भयो । क्यान्सरभन्दा बढी समस्या त एक महिनाभित्रै दुइटा अपरेसन गर्नुपर्दाको मानसिक तनाव थियो । शारीरिक रूपमा निकै कमजोर भएँ । चिकित्सक, मनोचिकित्सकहरू आउनुभयो । उहाँहरूले निद्रा लाग्ने औषधि दिनुभयो, जसलाई मैले ‘ह्याप्पी मेडिसिन’ नाम दिएकी थिएँ । त्यसले मेरो खास समस्या समाधान गरेन । जब उहाँहरूले अर्को औषधि दिने कुरा गर्नुभयो, म झन् बढी चिन्तित भएँ । औषधिले समस्या समाधान गर्दैन भन्ने लागेपछि म योगतिर लागेँ । जसले मलाई अहिले निकै ऊर्जा र उत्साह दिएको छ । 

बीपी कोइरालालाई समेत क्यान्सर लागेपछि एक सन्दर्भमा ‘झैझगडाहरू सबै बेकार रहेको, जीवन नै ठूलो कुरा रहेको’ भन्नुभएको थियो । तपाईंलाई पनि कुनै बेला यस्तो लाग्यो ?
हामीले आफैँलाई मात्र संसार सोचेका हुन्छौँ, जुन आखिर भ्रम रहेछ । मलाई थुप्रैपटक यस्तो लाग्यो । दोस्रोपटक म १२ दिनजति अस्पताल बसेँ । त्यतिखेरसम्म मलाई मानसिक रोग लागिसकेको रहेछ । अस्पतालमा डाक्टर–नर्ससँग हुँदा मात्र सुरक्षित अनुभव हुने, बाहिर निस्केर बस्न डर लाग्ने । मैले निस्किनै नमानेपछि डाक्टरहरूले बाहिर गएर घुलमिल हुन, राम्री बनेर घुम्न, सपिङ गर्न, रमाइलो गर्न हौस्याए । उनीहरूले खास मेरो उदासपन नापेरै त्यसो भनेका रहेछन् । त्यतिखेर मलाई पावर, पैसा, ग्ल्यामर भन्ने कुरा केही रहेनछ भन्ने अनुभव भयो । हामी बेकारमा एकअर्कामा द्वैष, झगडा पालेर बसेका छौँ । हिजो साथी–भाइ र परिवारसँग गरेका झैझगडा सम्झिँदा अहिले निकै हास्यास्पद लाग्छ । 

आफूले विगतमा गरेका भाषण सम्झिँदाचाहिँ कस्तो लाग्यो ?
अस्पतालबाट घर फर्किएपछि फेसबुकमा एक महिला नेतृको भाषण सुन्न पाएँ । उनी चिच्याउँदै, अरूलाई गाली गर्दै गरेको देख्दा मलाई अचम्म लाग्यो । सोचेँ, मैले पनि पहिले यस्तै त बोल्थेँ, कराइकराइ बोल्थेँ, जसको कुनै तुक हुँदैनथ्यो । न हामी आफू बुझेर बोल्थ्यौँ, न अरूलाई हाम्रो कुरा बुझ्ने चासो नै हुन्थ्यो । 

जीवनलाई पछाडि फर्केर हेर्दा केही पश्चात्ताप पनि हुन्छ ?
अतीतका नराम्रा कुराबाट निस्किन योगले निकै सघाइरहेको छ । अहिले म कुनै औषधि पनि खाँदिनँ र म भित्रबाट खुसी महसुस गरिरहेकी छु । हिमालयन साल्ट ल्याम्पको सहायताले कतिपय योग गर्दा म त्यस्तो क्षण अनुभूत गर्छु, जहाँ मलाई ईश्वरले बिचित्र गरी ऊर्जा दिएको अनुभव हुन्छ । मैले त्यसरी ध्यान गर्दा विगतलाई केलाउन पाएकी छु । आफूलाई बाँधिरहने समस्याहरूबाट निस्किन पाइरहेकी छु, जुन सामान्य अवस्थामा सोच्न पाइँदैनथ्यो । ईश्वरलाई मेरा दु:ख–कष्टबाट मुक्ति गराइदिन आग्रह गर्छु । विगतमा जानी नजानी भएका गल्तीका लागि प्रायश्चित गर्छु । 

तपाईंमा आध्यात्मिक चेत बढी देखिन थालेछ नि ?
हो, मलाई पछिल्लो समय अध्यात्मले निकै आकर्षित गर्न थाल्यो । किनभने, हाम्रो जीवनको सार रहेछ अध्यात्म । सत्य नै यही रहेछ । अरू, सबै कुरा भ्रम रहेछन् । हामीले त आफ्नो पक्षलाई मात्र संसार भनेका रहेछौँ ।

अहिले तपाईंको स्वास्थ्य कस्तो छ ?
म चिकित्सकीय परामर्श सँगसँगै योग, ध्यान र सन्तुलित खानपिनमा बढी केन्द्रित छु । प्रत्येक शनिबार अग्र्यानिक तरकारी, दूध, दही किन्न लाजिम्पाट पुग्ने गर्छु । अहिले मैले महसुस गरेको कुरा के हो भने मभित्र रहेका अहंकारहरू बिस्तारै कम हुँदै गएका छन् । क्यान्सरले मलाई दोस्रो जीवन दिएको छ । अहिले म स्वस्थ छु । 

नेपाली कांग्रेसको स्वास्थ्यचाहिँ कस्तो छ ? 
कांग्रेसलाई क्यान्सर लागेको छ । तर, निको पार्नुपर्छ । अहिलेको अवस्थामा संगठनमा मिहिनेत गर्नुपर्छ । गिरिजाबाबुले कसरी संगठन निर्माण गर्नुहुन्थ्यो भन्ने मैले देखेकी छु । भाषण गर्दै हिँडेर मात्र संगठन बन्दैन । कार्यकर्ताको मनोभावना नबुझेसम्म, टुटेका मन/झगडा नमिलाएसम्म संगठन बन्दैन । सधैँझैँ कांग्रेसलाई चुनावमा जिताउने हो भने पार्टीभित्रको चर्को गुटबन्दी समाप्त पार्नैपर्छ । नेता–कार्यकर्ता सबैमा पार्टीप्रतिको अपनत्वबोध हुनैपर्छ । गिरिजाबाबु, किसुनजी, गणेशमानजीको समयमा समेत थुप्रै मतभिन्नता थिए । तर, तल्लो तहमा त्यो थाहा हुँदैनथ्यो । अहिले गाउँ–गाउँसम्मै पार्टीमा गुटबन्दी फैलिएको छ । 

कांग्रेस नेतृत्वले संगठन ध्वस्त पारेको गुनासो छँदै छ, अहिले कांग्रेस वा कांग्रेससमेत रहेको सरकार भारतसँग मात्र टाँसिन खोजेजस्तो, चीनसँग भाग्न खोजेजस्तो आरोप पनि लागिरहेको छ नि ?
दुवै छिमेकीसँग समान व्यवहार गर्नुको विकल्प छैन । भारतसँग निर्वासनका बेला लिएको शरण, साथीभाइ, सहज आवतजावतकै कारणले पनि स्वाभाविक रूपमा कांग्रेसको एउटा बेग्लै सम्बन्ध छ । बीपी, गिरिजाबाबु, किसुनजीहरू व्यक्तिगत रूपमा भारतसँग नजिक रहे पनि चीनसँग कहिल्यै पनि टाढिनुभएको थिएन, दुवैसँग समदूरीकै सम्बन्ध थियो । नेपालमा भारतविरोधी भएर पनि हुँदैन । विश्वभर बलियो प्रभाव बनाएको चीनलाई चटक्क बिर्सेर पनि हुँदैन । हाम्रो राष्ट्रिय स्वार्थभन्दा बाहिर नगईकनै दुवै मुलुकसँग राम्रो सम्बन्ध राख्नुपर्छ । 

पार्टीको विदेश विभाग र परराष्ट्र मन्त्रालयको पनि नेतृत्व सम्हालिसक्नुभएको छ । अहिले कांग्रेसले नै परराष्ट्र मन्त्रालय सम्हालिरहेको सन्दर्भमा चीनलाई चिढ्याएजस्तो लाग्दैन ? 
नेपालको हितमा रहेका सम्झौता कार्यान्वयन गर्ने मामिलामा हामीले पार्टीभन्दा माथि उठेर सोच्नैपर्छ । चीनसँगको सम्झौता कार्यान्वयन हुनु भनेको भारतसँग व्यापार नै नगर्ने भन्ने पनि होइन । आज अमेरिका नै पनि चीनको ठूलो सहयोगमा निर्भर छ भने हामीले ऊसँग सहयोग लिन किन नहुने ? भारतमै चीनसँग ठूलो हिस्साको व्यापार हुन्छ । बंगलादेश, श्रीलंकाले समेत ठूलो सहयोग लिइसके । नेपालले मात्रै सहयोग लिनुहुन्न भन्ने के छ ? परराष्ट्रमन्त्रीले चीनको भ्रमण गरेर त्यसतर्फ 
कदम चाल्नुपर्छ । 

अर्को प्रसंग, कोइराला परिवार देशमा संकट आउँदा समाधानको मियो मानिन्थ्यो ? अहिले त्यो हराएको हो ?
शशांक कोइराला महामन्त्री हुनुहुन्छ, शेखरदा’ पनि हुनुहुन्छ । हामी सबै मिलेर पार्टी र देशको हितमा एउटा सन्देश बोकेर जानुपर्छ । गिरिजाबाबुजस्तो व्यक्तित्व त सधैँ आइराख्दैन । र, कोइराला परिवारभित्रबाटै पार्टी नेतृत्व चाहिन्छ भन्ने पनि छैन । तत्काल म सक्रिय राजनीतिमा आइहाल्दिनँ । तर, शशांक, शेखरदा’लाई सहयोग गर्छु । बाहिर भनिएजस्तो हामीमा ठूलो मतभिन्नता केही पनि छैन । म केही समयपछि सकारात्मक भाव बोकेर सक्रिय राजनीतिमा फर्कन्छु । 

गिरिजाबाबुलाई राष्ट्रपति बनाउने कुरा अचानक के कारणले फेरिएको थियो ?
उहाँलाई राष्ट्रपति बन्न नदिन पार्टीभित्रबाटै ठूलो षड्यन्त्र भएको थियो । राष्ट्रपति हुने उहाँको रुचि थियो । राष्ट्रपति बनेर सेनालाई आफ्नो हातमा राखेर शान्ति प्रक्रियालाई टुंग्याउने उद्देश्य पनि राख्नुभएको थियो । तर, पार्टीभित्र र बाहिरबाट आफूलाई राष्ट्रपति बन्न दिँदैनन् भन्ने उहाँले बुझिसक्नुभएको थियो । त्यसैले विश्वासिलो र त्यस पदका लागि योग्य हुन सक्ने व्यक्तिका रूपमा रामवरण यादवलाई राष्ट्रपतिका रूपमा छनोट गर्नुभएको हो । 

अनि, सुशील कोइरालालाई राष्ट्रपति बनाउन तपाईंले धेरै अड्डी लिनुभएको थियो । तर, उहाँ पनि हुन सक्नुभएन ?
सुशीलदा’लाई राष्ट्रपति बन्ने इच्छा थियो । उहाँको स्वास्थ्य हेर्दा हामीले पनि राष्ट्रपति पद उपयुक्त ठानेका थियौँ । सेनालाई नियन्त्रणमा राख्न पनि सकिने र अन्य थुप्रै महत्त्वपूर्ण भूमिका हुने भनेर हामीले उहाँलाई सुझाव पनि दिएका थियौँ । तर, अचानक उहाँ मुड फेरेर पार्टी सभापति हुन्छु भन्न थाल्नुभयो । उहाँलाई कसले के प्रभाव पार्‍यो, थाहा भएन । उहाँको अचम्मको जिद्दीपछि प्रधानमन्त्री पदमा उम्मेदवारी दिने बेलामा देखियो, हार्छु भन्ने जान्दा जान्दै पनि । त्यो उहाँको आफ्नो निर्णय थिएन । त्यसको परिणाम अहिले देखिएको छ । 

 

प्रकाशित: फाल्गुन १०, २०७३