[झटारो] राष्ट्रपतिको निर्वाचन कक्षा

  • राष्ट्रपतिले ती जन्ड विद्यार्थीलाई सम्झाउँदै भनिछन् : हेर बाबु हो ! प्रजातन्त्रमा निर्वाचन भन्ने एउटा चीज हुन्छ । त्यो भएन भने प्रजातन्त्रको कुनै अर्थ हुँदैन ।

- लक्ष्मण गाम्नागे

राष्ट्रपति विद्या भण्डारीले सत्तापक्ष, प्रतिपक्ष र सत्तापक्षीय प्रतिपक्ष तीनै समूहका सात राजनीतिक दलका एक हूल नेतालाई राष्ट्रपति कार्यालयमै बोलाएर टिफिनसमेत खान दिएर एक घन्टाको प्रौढ कक्षा लिएर पठाएको थाहा भयो । उनीहरूलाई राष्ट्रपतिले यसपालिको कक्षामा एउटै मात्र विषय ‘निर्वाचन’ पढाइन् । स–साना भुरालाई पढाउन सजिलो, बूढा विद्यार्थीलाई पढाउन एकदमै गाह्रो ।

पहिला पढाएका कुरा बिर्सिहाल्छन् । त्यसमा पनि कतिपय बूढा विद्यार्थी त दिमागमा गोबर भरिएका हुन्छन्, पटक्कै बुझ्दैनन् । बुझे पनि नबुझेझैँ गर्छन् । कति प्रश्नको जानी जानी गलत उत्तर दिन्छन् । बारम्बार एउटै कुरा सम्झाइरहनु पर्छ, पढाइरहनु पर्छ । ‘पढायो पढायो पाठ, सोह्र दुना आठ’ भनेजस्तो कक्षाबाट बाहिर निस्कने बित्तिकै गेम खेल्न थाल्छन्, घुर्चाघुर्ची गर्न थाल्छन् । तैपनि राष्ट्रपतिले आफ्नो पढाउने, सिकाउने, सम्झाउने, हप्काउने कर्तव्य इमानदारीपूर्वक पूरा गरिरहेकै छिन् । 

राष्ट्रपतिले ती जन्ड विद्यार्थीलाई सम्झाउँदै भनिछन् : 
हेर बाबु हो ! प्रजातन्त्रमा निर्वाचन भन्ने एउटा चीज हुन्छ । त्यो भएन भने प्रजातन्त्रको कुनै अर्थ हुँदैन । देशमा आवधिक निर्वाचन भएन भने प्रजातन्त्र मर्छ । संविधानले एउटा निश्चित समय अवधिमा निर्वाचन गर्नुपर्छ भनेर तोकेको हुन्छ । तिमीहरूलाई त्यसको ख्यालै छैन । पाँच–पाँच वर्षमा हुनुपर्ने स्थानीय निर्वाचन नभएको कति वर्ष भयो, सम्झना छ ? बिर्सियौ होला । दुई दशक हुन लाग्यो । चारपटक भइसक्नुपर्ने निर्वाचन एकपटक पनि नगरी हाम्रो संविधान संसारकै उत्कृष्ट भन्न लाज मान्नु पर्दैन ? 

के हामी अनन्तकालसम्म संक्रमणमै बसिरहने ? पुस्तौँपुस्ता आन्दोलन मात्रै गरिरहने ? आन्दोलन गर्दागर्दै बाजेहरू मरे, आन्दोलन गर्दागर्दै बाबुहरू मरे, हामी पनि आधाउधी मरिसक्यौँ । के हामी हाम्रा छोरा–छोरी, नाति–नातिनालाई पनि आन्दोलनमै होमेर मार्ने ? आफ्नै सन्तानको हत्या गरेको अपराध बोकेर मर्ने हामी पनि ? 

राष्ट्रको उन्नतिचाहिँ कहिले गर्ने ? देश कहिले समृद्ध हुने ? कहिलेसम्म यसरी ठेलाठेल, घुर्चाघुर्ची, तँछाडमछाड गरेर बस्ने ? एउटै कक्षामा यसरी वर्षौंसम्म बसेको बसेकै गर्दा, अझ कक्षा चढ्नुको सट्टा झन् तल्लो कक्षामा झर्दा अलिकति शरम मान्ने कि नमान्ने ? जनताले कुरीकुरी गरिरहेका छन्, बैरीहरू हाँसिरहेका छन् । लाज मान्न पनि मैले नै सिकाउनुपर्ने ? हामीले कतिपटक कति ठूला संघर्ष गरेर कति ठूला राजनीतिक परिवर्तन गर्‍यौँ देशमा । परिवर्तनलाई जोगाउनु पर्दैन ? सहिदका आत्माले सराप्ला भनेर डराउनुपर्दैन ? 

सेतै फुलिसकेका जुँगामुठे विद्यार्थीलाई मैले यसभन्दा बढी सिकाउनु पर्ला त ? पर्दैन होला । ल अबदेखि यसरी एकआपसमा ठास्सठुस्स नगर्ने । महतो बाबु उत्तेजनामा नआउने । ओली बाबु धेरै छुच्चो मुख गरेर मान्छे नभड्काउने । देउवा बाबु पनि धेरै मनमोजी भएर जे मन लाग्यो त्यही गर्ने, बोल्ने हैन । पुष्प बाबुले यता पनि ठिक्क, उता पनि ठिक्क पार्ने दोधारे बेहोरा सुधार्ने । गेम साह्रै बढी भयो । अब गेमसेम खेल्न छाडेर सबै जना ज्ञानी भएर चुनावमा लाग्ने । अहिलेलाई म अरू कुनै होमवर्क दिन्न, एउटै मात्र दिन्छु– निर्वाचन, निर्वाचन, निर्वाचन । यो होमवर्क सकेर मात्रै मसँग मुख देखाउन आउनू । ल आजलाई छुट्टी ।

प्रकाशित: फाल्गुन ८, २०७३