जोली एलएलबी २: गहन विषयको रसिलो प्रस्तुति

- गोकर्ण गौतम

सामाजिक मुद्दालाई हास्य शैलीमा पस्कन निर्देशक सुभाष कपुर माहिर मानिन्छन् । हसाउँदा–हसाउँदै गम्भीर सन्देश दिइरहेका हुन्छन् । फस गए रे ओबामा र जोली एलएलबीपछि आफ्नो यही चिरपरिचित शैलीलाई पछ्याउँदै उनी नयाँ फिल्मका साथ हाजिर भएका छन्, जोली एलएलबी २ । नामैले थाहा हुन्छ, यो तीन वर्षअघि प्रदर्शित जोली एलएलबीको सिक्वेल हो । फिल्मको अघिल्लो भागमा बोमन इरानी र अर्सद वारसी थिए भने यसपटक अक्षयकुमार र अन्नु कपुरलाई अदालतमा उभ्याइएको छ वकिलका रूपमा । इन्काउन्टरको बहानामा प्रहरीभित्र हुने फोहोर खेल र झेललाई पटकथामा उनेका छन् सुभाषले । तर, कतिपय दृश्य र पात्रलाई कमेडी बनाउनकै लागि ‘लाउड’ बनाइएको छ ।

कानपुरका जगदीश्वर मिश्रा उर्फ जोली (अक्षयकुमार) एक वरिष्ठ वकिलका सहायकका रूपमा काम गर्छन् । उनको सपना छ, आफ्नै चेम्बर बनाउने । पत्नी पुष्पा पाण्डे (हुमा कुरेसी) र छोराका साथ जोली हाँसीखुसी जीवन बिताइरहेको छ । तर, गर्भवती महिला हिना सिद्दिकी (सयानी गुप्ता)को प्रवेशसँगै जोली एकपछि अर्को संकटमा फस्छ । आफ्नो पति फर्जी प्रहरी इन्काउन्टरमा मारिएपछि न्याय खोजिरहेकी उनले आत्महत्या गर्छिन् । उनको पतिको हत्यारालाई कारबाही दिलाउन जोली सफल होलान् ? फिल्मको क्लाइमेक्स यसमै अडिएको छ ।

जोली एलएलबी २ मा प्रहरी अपराधी बन्छन् अनि आतंककारी धर्म बदल्छन् । निहत्थालाई फसाइन्छ, अपराधीलाई छुट दिइन्छ । तर पनि निर्दोषले न्याय पाउँदैनन् । भारतमा यस्ता घटना बारम्बार अखबारमा पढ्न पाइने भएकाले पनि यस फिल्मलाई दर्शकले ‘रिलेट’ गर्छन् । सुभाषले अदालत र प्रहरी प्रशासनभित्रका स–साना कमजोरीलाई बडो मूर्त शैलीमा पर्दामा पस्किएका छन् । पुराना वकिलको दम्भ र नयाँ वकिलको महत्त्वाकांक्षालाई पनि केलाइएको छ । 

फिल्मको सुरुआतमा जोलीले चिट चोराएको दृश्य अपाच्य लाग्छ । त्यस्तै, न्यायाधीश शौरभ शुक्लाको आलिया भट्ट मोह हसाउनैका लागि राखिएको हो । तर, यसले कतिपय अवस्थामा कथाप्रति दर्शकको मोहभंग गर्छ । निर्देशकले संवेदना र हास्यलाई समान स्थान दिन खोज्दाको परिणाम हो यो । हिनाको केस लड्न थालेपछि जोलीमा एकाएक पैदा हुने दिव्यज्ञान पनि पत्यारिलो छैन । मध्यान्तरपछि अधिकांश दृश्य अदालतभित्र खिचिएका छन् । तैपनि, अक्षयकुमार र अन्नुको रस्साकसीले दर्शकलाई बाँधिराख्छ । चोटिला संवाद फिल्मको सशक्त पक्ष हो । 

पछिल्लो फिल्म रुस्तममा अक्षयकुमारले आफ्नो मुद्दा आफैँ लडेका थिए, यसपटक अरूलाई न्याय दिन लागिपरेका छन् । हास्यपना सँगसँगै गम्भीरताले भरिएको उनको भूमिकामा दर्शकले भरपुर ‘इन्जोय’ गर्छन् । रक्सी भनेपछि हुरुक्क हुने हुमा कुरेसीको चरित्र त्यतिकै आकर्षक छ । पैसा पाएपछि जस्तै अपराधीलाई पनि निर्दोष बनाउन लागिपर्ने अन्नु कपुरप्रति दर्शक आक्रोशित हुन्छन्, त्यो उनको सफलता हो । शौरभ शुक्ला दर्शकलाई ‘रिफ्रेस’ गराउन सफल छन् । फिल्ममा तीन गीतले कथालाई थप मजबुत बनाएको छ । 

अक्षयकुमारका फ्यानले मात्र होइन, ‘ कोर्टरुम ड्रामा’ र सामाजिक कथा हास्य शैलीमा पस्किएको रुचाउने जो कोहीले जोली एलएलबी २ हेर्दा निराश हुनुपर्दैन । 

प्रकाशित: फाल्गुन ८, २०७३