[स्मरण] डिल्लीरमण रेग्मीलाई प्रवेश प्रतिबन्ध

- गोरक्षबहादुर न्हुछें प्रधान

नेपाली जनताको अपार उत्साह र बलिदानीपूर्ण संघर्षले २००७ सालमा प्रजातन्त्र आयो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, प्रजा परिषद्लगायत धेरै राजनीतिक दलको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग, समर्थन र सहभागितामा आन्दोलनले सफलता चुमेको कुरा घामजत्तिकै छर्लंग छ । तर, नेपाल राष्ट्रिय कांग्रेस भने सशस्त्र आन्दोलनको घोषणा भएपछि शान्तिपूर्ण आन्दोलनको वकालत गर्दै त्यस आन्दोलनबाटै अलग भएको थियो ।

नेपाल राष्ट्रिय कांग्रेसका नेता डिल्लीरमण रेग्मी ००७ सालको क्रान्तिताका दिल्लीमै थिए । राजा त्रिभुवनको दिल्ली प्रस्थानपश्चात् कांग्रेस, राणा र राजाका बीच त्रिपक्षीय दिल्ली सम्झौता भएपछि ७ फागुनमा मुलुकमा प्रजातन्त्र घोषणा हुने निश्चित भयो । यसरी ००७ सालको जनक्रान्तिले विश्राम लिएको थियो । यो कुनै एक पार्टी वा समूहको अग्रसरता र सक्रियतामा सम्पन्न नभएको कुरा जगजाहेरै छ । तर, यसको श्रेय लिन नेपाल राष्ट्रिय कांग्रेसले गरेको हतारो भने बडो अनौठो र आश्चर्यको थियो ।

४ फागुनमा नेपाली कांग्रेसका रामहरि जोशी, जयवरसिंह प्रधानलगायतका केही नेता ७ फागुनको तयारीका लागि काठमाडौँ उत्रिने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, डिल्लीरमण रेग्मी कसैलाई जानकारी नै नदिई १० माघमै सुटुक्क काठमाडौँ आए र विभिन्न समूहमा मानिसहरूलाई भेला गराएर सशस्त्र जनक्रान्तिको विरोध गर्दै शान्तिपूर्ण रूपमा प्रजातन्त्रको आगमन भएको बताउँदै त्यसको श्रेय लिने हतारो देखाउन थाले । त्यतिबेलासम्म नेपाल छात्र संघको विधिवत् स्थापना नभए पनि त्यसको झन्डामुनि आबद्ध हामी विद्यार्थीहरूले ००७ सालको परिवर्तनका खातिर निर्वाह गरेको भूमिका कसैबाट लुकेको थिएन । जनताका बीचमा हाम्रो भूमिकालाई लिएर प्रशंसा नै भइरहेको थियो ।

रेग्मी र उनको पार्टीका केही मानिसले प्रजातन्त्र ल्याएको श्रेय लिन कोठे भाषण गर्न थाले । मानिसहरूलाई समूह–समूहमा जम्मा गर्ने, आमसभा गर्ने र आफ्ना कुरा सार्वजनिक गर्ने कार्यक्रम तय गरेको खबर हावासरी फैलियो । यो थाहा पाएपछि पुष्करनाथ उपाध्याय, वासु रिसाल, सुरेन्द्रराज शर्मालगायत हामी केही युवा विद्यार्थीहरू रेग्मीलाई भेट्न कालीमाटीस्थित हृषीकेश शाहको घरमा पुग्यौँ । त्यति बेला रेग्मी त्यहाँ डेरा लिएर बसेका थिए ।

रेग्मीलाई हाम्रो पहिलो प्रश्न थियो, ७ फागुनमा सबै नेताहरूसँगसँगै तपाईं पनि काठमाडौँ आउने कार्यक्रम थियो तर तपाईं त सुटुक्क एक्लै आउनुभएछ, किन ? उनले गोलमटोल भाषामा जवाफ दिए, ‘आफ्नो मुलुकमा हूलमा आए पनि, एक्लै आए पनि के फरक पर्छ र ? फेरि जनतालाई आफ्ना कुरा राख्न केही दिनअघि नै आएँ भने पनि मैले के अपराध गरेँ र ?’ 

काठमाडौँको वातावरण भने उनले सोचेजस्तो थिएन । राणाशासनका तर्फबाट राजनीतिक दलमा परिवर्तन घोषणापूर्व नै फाटो आएको देखाएर चलखेल भइरहेको थियो । हामीले यही कुरा उनलाई अवगत गराउने प्रयास गर्‍यौँ । ७ फागुनको घोषणापूर्व आमसभा राख्ने र मानिसहरूलाई भेला गराएर प्रजातन्त्र ल्याएको श्रेय एउटा पार्टीले मात्र लिने काम गरेमा त्यसले जनमानसमा नराम्रो असर पर्ने कुरा विनम्र भाषामा उनीसमक्ष राख्यौँ । तर, उनले हाम्रा कुरालाई गम्भीर ढंगले लिएनन् । सायद उल्टै चेतावनी दिएजस्तो ठानेछन् । र, लगत्तै सहर प्रवेश गरेर आफ्ना कुरा सार्वजनिक गरिछाड्ने बताए ।

नक्साल, गौचरनमा पूर्णबहादुर एमएको सभापतित्वमा पहिलो आमसभा सम्पन्न गरे भने दोस्रो सानो टुँडिखेलमा गरे । त्यसका साथै उनले सहरका विभिन्न ठाउँमा मानिसहरू भेटेर आफ्ना कुरा राख्ने घोषित कार्यक्रम नै बनाए । यो कुरा कालीमाटी क्षेत्रका जनताले चाल पाएपछि कालीमाटीको पुलमा मानव साङ् लो नै बनाएर उनलाई सहर प्रवेश गर्न नदिने खुला घोषणा गरे । ७ फागुनसम्म कालीमाटी पुल तरेर जान नपाउने गरी प्रतिबन्धै लगाइदिए । उनीहरूले कालीमाटी पुलमा धर्ना दिएर राजा त्रिभुवनसहितका नेता दिल्लीबाट नआउन्जेल रेग्मीलाई सहर जान रोकिदिए । 

विद्यार्थीको चेतावनीलाई नजरअन्दाज गरे पनि जनताका अगाडि उनको केही चलेन । उनले समूह–समूहमा मानिसहरूलाई भेटेर आफ्ना कुरा बताउने कार्यक्रम स्थगित गरे । तर, डेरामा मानिसहरू बोलाएर आफ्ना कुरा राख्ने क्रम भने चालू नै राखे । कालीमाटीका जनताले रेग्मीलाई सहर जान मात्र प्रतिबन्ध लगाएनन्, उनको डेरामै घेरा हालेर पनि विरोध प्रदर्शन गरिरहे । 

हृषीकेश शाहले हामीलाई बोलाएर यस विषयमा आपत्ति नै जनाए, हामीहरूकै कारण कालीमाटीका जनता सडकमा उत्रिएर आफ्ना नेतालाई सहर जान प्रतिबन्ध लगाएको उनको बुझाइ रहेछ । यो घटना यत्तिकै साम्य भएन । शाहलाई लिएर रेग्मी दिल्लीतर्फ लागे र हैदरावाद हाउसमा गएर राजा त्रिभुवनसँग भेटघाट गरेको चर्चासँगै उनीविरुद्धको काठमाडौँको प्रदर्शन रोकियो । जनताको यही खबरदारीकै कारण हो कि रेग्मी ७ फागुनको निकैपछि मात्र पुन: काठमाडौँ फर्किएका थिए ।

 प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: फाल्गुन ५, २०७३