उत्तरआधुनिक पुनर्गठन

- विमल आचार्य

लेखक खगेन्द्र संग्रौलाको पुस्तक छ, उत्तरआधुनिक अन्तरेपथ । उस्तै उत्तरआधुनिक पुस्तक निस्केको छ, नेपाली राजनीतिको पुनर्गठन । पत्रपत्रिकामा लेख लेखिरहेका केशव दाहाल ‘हाम्रो थोत्रो राजनीतिले समृद्धि दिँदैन, नयाँ आशाहरू सिर्जना गर्न यसमा कुनै ओज, ऊर्जा र सामथ्र्य छैन’ भन्दै राजनीतिको पुनर्गठन गरिहाल्नुपर्ने निष्कर्षमा पुगेर ‘नयाँ राजनीति’मा संगठित भएका छन् । पुस्तकमार्फत उनको ‘सिद्धान्त’ छ, वाम लोकतान्त्रिक समाजवाद । र, उनले यसका आठवटा आधार पेस गरेका छन् । नेल्सन मन्डेलादेखि सुरु भएर रजनीशमा टुंगिएका छन् । 

लेखकले शब्द–बुद्धिविलासी सूत्रबद्ध राजनीतिको आलोचना गरेका छन्, पुस्तकैभरि । सिद्धान्त र जीवनमध्ये कुन माथि ? उनी भन्छन्, ‘जीवन सिद्धान्तमातहत होइन बरू जीवनमातहत सिद्धान्त ।’ माक्र्सवाद, अस्तित्ववाद, उदारवाद, समाजवाद र ओशोबोलीका अवगुण होइन, गुणैगुणको संग्रहमा वाम लोकतान्त्रिक समाजवाद भन्छन् र मानवतावाद पनि । यही हो, पोस्टमोर्डन पोलिटिक्स जसले विकेन्द्री, बहुकेन्द्री, बहुअर्थी खिचडी कुरा गर्छ । पुस्तक पढिसक्दा लाग्छ, उनले हाम्रो राजनीति धेरै गठन/केन्द्रण भयो, त्यसैले नेपाली राजनीतिको फुकुवाकरण/असैद्धान्तीकरण भन्न ‘डराएर’ फेरि उही सूत्रै बनाएका छन् । 

पुस्तकको पहिलो खण्ड ‘नेपाली जनताको सपना र सम्भावना’मा उनले आफू दक्षिण कोरिया पुगेपछि माक्र्सवादी र उदारवादी केही नभएर मानवतावादी भएको लेखेका छन् । उनी लेख्छन्, ‘मान्छेको सर्वाेच्च हितभन्दा माथि जात, धर्म र रंगको कुनै मूल्य छैन ।’ यसपछिको खण्डमा उनले भारतमा चौकीदारी गरिरहेका एक पूर्वकमरेडका मुखबाट नेपाली माक्र्सवादी र माओवादीप्रति असन्तुष्टि–आक्रोश पोखेका छन् । उनका अनाम (काल्पनिक ?) पात्र गल्ती गरेँ, फँसियो, भ्रममा रहेँ भन्दै भन्छन्, ‘परिवार, समाज र देश कोरा सिद्धान्तले मात्र बन्दैन ।’ कम्युनिस्टले कहीँ पनि शोषणविहीन, वर्गविहीन र राज्यविहीन अवस्था स्थापना गर्न सकेनन् भन्छन् लेखक । 

‘संक्रमणका सात दशक’ खण्डका छ परिच्छेदमा राजनीतिको यथार्थपरक समीक्षा छ । दलहरूमा अभिजातहरूको हालीमुहालीले गर्दा राजनीति ठालूहरूको ठेक्का भएको भन्ने उनको विश्लेषणमा सहमत हुन सकिन्छ । तर, बालचन्द्र शर्माजस्ता ‘मध्यमवर्गीय’हरूको कांग्रेस सुवर्णशमशेरजस्ता अभिजात राणाहरूका कारण कुलीनवादमा पस्यो भन्ने दृष्टान्तसँग सहमत हुन सकिन्न । ‘कुलीन’ सुवर्णशमशेर कांग्रेसको नीति र संगठनमा हस्तक्षेपकारी पोजिसनमा थिएनन् बरू उसबेलाको ‘वामपन्थी’ कांग्रेसलाई दुईतिहाइ मतसहित लोकप्रिय बनाउन आर्थिक–राजनीतिक योगदान दिए । ‘सत्तास्वार्थको खेलकुद’ शीर्षकको टिप्पणी चित्तबुझ्दो छ । 

तेस्रो खण्ड ‘पार्टीहरूको संकट, विरोधाभास र गतिहीनता’मा उनले विश्व कम्युनिस्ट आन्दोलनदेखि कांग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रित दलको समीक्षा गरेका छन् । ‘विचार र व्यवहारको असन्तुलन’जस्तो भयंकर शीर्षकमा खास कुरा केही छैन, छोटाछोटा चार अनुच्छेदमै सकिन्छ परिच्छेद । यस्तै ‘माक्र्सवाद : नयाँ भाष्यको खोजी’ भन्ने साढे पाँच सय शब्दको बृहत् परिच्छेदमा नयाँ भाष्य केही भेटाउन सकिन्न । ‘प्रचण्ड सरकार मनमोहन सरकारभन्दा साह्रै फिक्का र लक्ष्यविहीन देखियो’ भनेर लेखेका उनी बाबुराम सरकारबारे चाहिँ मौन छन् । 

‘दर्शनको दरिद्रता’मा उनले नेपाली मौलिक दर्शन नभएको चिन्ता गरेका छन् तर उनकै ‘ वाम लोकतान्त्रिक समाजवाद’ दर्शन नयाँ र मौलिक होइन । ‘मधेसका मुद्दा ठीक छन् तर मधेसका नेताहरू सत्ताका लोभी र खेलबाड गरिरहेका’ भनी लेख्छन् । मुद्दा ठीक छन् भने ‘लोभी’ले उठाए भनेर पन्छिन मिल्छ र ? असल नेतृत्वको असल नीति, खराब नेतृत्वको खराब नीति भन्न हिचकिचाउँदा ‘उत्तरआधुनिक अन्तरेपथ’ भएन ?

मधेसमा खुला र भूमिगत गरी १५० समूह (पृ १३४) भन्छन् अनि लगत्तै पृष्ठमा ‘१०९ समूह’ । सयौँ बिघाका जमिनदार रामराजाप्रसादमा सामन्ती चरित्र थिएन तर उस्तै सुवर्णशमशेरमा सामन्ती चरित्र थियो भन्ने उनको भनाइ उनकै तर्क ‘कम्युनिस्ट हुनु प्रगतिशील होइन’ भन्ने निष्कर्षसँग मेल खाँदैन । पुस्तकको पहिलो खण्डको निष्कर्षमा ‘७० वर्षदेखि हामी जहाँको तहीँ, बितेको एक शताब्दी हाम्रो दुर्भाग्य’ भन्छन् । तर, पछिल्तिरका खण्डमा थुप्रै राजनीतिक उपलब्धि प्राप्त भएकाले समृद्धिको आवश्यकताका कथा हालेका हाल्यै गर्छन् । ‘नेपाल अब अर्धऔपनिवेशिक मुलुक रहेन’ (पृ १२२), ‘हामी कहिल्यै औपनिवेशिक अवस्थामा थिएनौँ’ (पृ १४६), साँच्चै भावुक निबन्धकार हुन् लेखक । लेखकको मार्गचित्र सहभागितामूलक समावेशी प्रत्यक्ष लोकतन्त्र हो । तर, कसरी र केका आधारमा सहभागिता र समावेशिता ? मौन छन् । 

पुस्तकमा तथ्यगत त्रुटि बग्रेल्ती छन् । त्रिचन्द्र कलेजको स्थापना विसं १९६८ मा होइन । मकैको खेतीमा ‘१९०३ देखि मकैमा नयाँ रोग लाग्न थालेको’ कुरा मूल कृतिसँग मेल खाँदैन । उसो त ११७ सन्दर्भसूचीको सागरमा मकैको खेती छँदा पनि छैन । लाइब्रेरी पर्व विसं १९८६ र यसमा संलग्न मैना बहादुर, त्रुटिपूर्ण छ । बढी जनसंख्या भएका १० देश क्रमश: भनी लेखेका छन्, जुन जुनै समयलाई आधार मान्दा पनि गलत छ । 

पुस्तक लेखिनु, अझ वैकल्पिक र वैचारिक पुस्तक लेखिनु खराब कुरा हुँदै होइन । आफ्नो पुनर्गठन प्रस्तावमा आलोचना र समीक्षा होस् भन्ने चाहना छ लेखकको । लेखक आफूलाई ‘समकालीन राजनीतिसँग कसै गरी सन्तुष्ट छैन’ मात्र भन्दैनन्, ‘म पुरानो राजनीति भत्काउन चाहन्छु’ पनि भन्छन् । आजका दिनमा बहुसंख्यक नागरिक र स्वयं समकालीन राजनीतिज्ञहरू नै समकालीन राजनीतिबाट सन्तुष्ट छैनौँ भनिरहेछन् । पुरानो राजनीति भत्काउने उनको चाहनालाई शुभकामना !

नेपाली राजनीतिको पुनर्गठन 

लेखक    :    केशव दाहाल

प्रकाशक    :    सांग्रिला बुक्स

पृष्ठ    :    २४५

मूल्य    :    ३७५ रुपियाँ

प्रकाशित: फाल्गुन ५, २०७३