अब यस्तो कहिल्यै नहोस्

- रोहित रञ्जितकार

नेपालमा विसं १८९० मा महाभूकम्प आयो । त्यतिबेला फोटोग्राफी आविष्कार भएकै थिएन, न त स्केच नै उपलब्ध छ, अहिले । यद्यपि, विसं १९१७ तिर प्रकाशित एउटा किताबमा ‘धेरै मठमन्दिर भत्किएको’ भनेर लेखिएको छ । तर, कति मन्दिर थिए, कति पुन:निर्माण भए, तथ्यांक छैन । विसं १९९० मा महाभूकम्प आयो । धेरैले भन्छन्, १९९० मा जति सम्पदा भत्किएका थिए, सबै जस्ताको त्यस्तै पुन:निर्माण भए । सम्पदा हराएनन्, स्वरूप पनि बदलिएन । 

तर, यो सत्य होइन । हामीकहाँ धेरै सम्पदा भएकाले अहिले जति छन्, ती पनि अथाह लागेको मात्र हो । अन्त होइन, उपत्यकाका तीन दरबार स्क्वायर वसन्तपुर, भक्तपुर अनि पाटनकै रूप र बनोट फेरिएको छ, त्यहाँका कति सम्पदा त लोप नै भएका छन् । यी दरबार क्षेत्रका १९९० भन्दा अगाडि र पछाडिका तस्बिरहरू जुधाएर हेर्दा प्रस्टै हुन्छ । 

वसन्तपुर दरबार स्क्वायर

राजधानी भएको नाताले पुन:निर्माणमा पाटन र भक्तपुरभन्दा वसन्तपुरलाई प्राथमिकतामा राखियो । तुलनात्मक रूपमा यहाँ धेरै क्षति भएको पनि थियो । तत्कालीन सरकारले भूकम्पलगत्तै पुन:निर्माणको जिम्मा दिएको थियो, इन्जिनियर डिल्लीजंग थापालाई । उहाँलाई मैले २२ वर्षपहिले भेटेको थिएँ, त्यतिबेला उहाँ ९३ वर्षको हुनुहुन्थ्यो । उहाँका अनुसार दरबारबाट तोकिएकै समयमा काम सक्न निर्देशन आउँथ्यो, त्यसैले मल्लकालजस्तै पुन:निर्माण सम्भव भएन । हतारमा गर्नुपर्‍यो । जस्तो : मन्दिर भत्किएर सामग्री टुटेफुटेको हुन्थ्यो, अहिले जस्तो यातायातको सुविधा थिएन, तराईदेखि ल्याउनु पथ्र्यो । यस्तोमा अलि परका मन्दिरको सामग्री ल्याएर दरबार क्षेत्रभित्रको सामान बनाउने ।

जसले गर्दा ती साना मन्दिर लोप हुने भइहाले । काठमाडौँ उपत्यका संरक्षण ट्रस्टले १० वर्षअगाडि वसन्तपुर क्षेत्रका सातवटा मन्दिर जीर्णोद्धार गरेको थियो । त्यसक्रममा हामीले थाहा पायौँ, कालभैरवको पूर्वपट्टिको नारायणको मन्दिरको टुँडाल त वरिपरिका मन्दिरबाट जम्मा गरिएको पो रहेछ । नारायण मन्दिर भएपछि नारायणको १० अवतार वर्णन हुन्छ, टुँडालमा । मोटाइ, गोलाइ एकै हुनुपर्छ । तर, त्यहाँ फरक–फरक आकारको टुँडाल छ । हनुमानढोका क्षेत्रकै इन्द्रपुर मन्दिरको माथिको तलामा बार्दली थियो तर पुन:निर्माणमा त्यसलाई हटाएर मल्लकालीन शैली भुत्ते बनाइयो ।

सबभन्दा मुख्य परिवर्तन भनेको गद्दी बैठकको दक्षिणतिर खुला क्षेत्र हो, जहाँ अहिले हस्तकलाका सामान बेच्ने गरिन्छ । तर, धेरैलाई हेक्का नहोला, त्यो ’९० अगाडि दरबारकै अंग थियो । त्यहाँ घर थिए । महाभूकम्पले सामान्य क्षति पुर्‍याए पनि ध्वस्त नै भएको थिएन । तर, त्यसलाई मर्मतसम्भार नगरी खुला स्वरूप दिइयो पछि । भनिन्छ, तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरको गाडी मोड्न सजिलो होस् भनेर स्क्यायर क्षेत्र फराकिलो पारिएको हो । दरबार क्षेत्रभित्रका अरू फोटो उपलब्ध नभएकाले अन्य परिवर्तनबारे चाहिँ हामी अनभिज्ञ छौँ । 

अहिले वसन्तपुरको जुन बाटोमा हिँड्छौँ, त्यो त दरबारभित्रको क्षेत्र हो, त्यहाँ बाटै थिएन । दरबार अहिलेको भूगोल पार्क र विशालबजारसम्म फैलिएको थियो । अहिलेको शुक्रपथ, जसलाई अलि पुराना मान्छे नयाँ सडक पनि भन्छन्, ’९० पछि मात्र बनाइएको हो । अहिलेको नेपाल बैंक लिमिटेडको मुख्यालय र भूगोल पार्कको बीचमा घोडा राख्ने तबला र पानी खुवाउने पोखरी थियो । शुक्रपथतिरको यो पूरै क्षेत्र शासकहरूले बेचेका थिए ।

पाटन दरबार स्क्वायर

पाटन दरबार स्क्वायरमा भएको क्षति र पुन:निर्माण पनि उपलब्ध तस्बिरहरूको सहाराले छर्लंगै हुन्छ । अहिले पाटन संग्रहालय भएको केशवनारायण चोक पूरै भत्किएको थिएन, माथिको भाग मात्र थोरै क्षतिग्रस्त थियो । सबभन्दा अग्लो मन्दिर देगु तलेचाहिँ पूरै भत्कियो । मूलचोकका धेरैजसो छाना खसेका थिए । यहीँको सुन्दरी चोकको पूर्वी भाग ध्वस्त भयो, अगाडिको भाग मात्र बच्यो । पछि पुन:निर्माणमा दरबार क्षेत्र भएको हुँदा प्राथमिकतामा पर्‍यो । मुख्य दरबार क्षेत्रको संरचना पहिले जस्तो थियो, करिब त्यस्तै भयो । तर, केशवनारायण चोक र सुन्दरी चोकको पूर्वी भागको पुन:निर्माणचाहिँ महाभूकम्पभन्दा अगाडिको अवस्थामा नभई कामचलाउ शैलीमा गरियो । मल्लकालको आर्किटेक्टमा होइन, त्यही बेला उपलब्ध डिजाइनमा मात्र । दरबारको पछाडि भएकाले कडा निगरानी हुन्थ्यो, त्यसैले भूकम्पअघिको कुनै तस्बिर भेटिएको छैन, स्केच पनि छैन । 

देगु तले मन्दिर तीनै तल्ला छ तर उचाइ पहिलेको भन्दा कम छ । झ्यालका कोणहरू खुम्चिएका छन् । भत्किएर भेटिएका सामान जता मिल्छ, त्यतै प्रयोग गरिएको छ । कति भाँचिए, टुक्रिए वास्तै गरिएन । यहाँको समस्या पनि उही हो, दरबारले भनेकै समयमा सक्नुपर्ने । त्यतिबेला देशभर करिब छ जनाभन्दा बढी इन्जिनियर थिएनन्, त्यो पनि राणा परिवारका मात्र । अनि, कसरी पुन:निर्माणका क्रममा सम्पदाको संरचनागत साख बचोस् त ?

सन् १८९९ मा अस्ट्रियन फोटोग्राफर कुर्ट बोएकले खिचेको तस्बिरमा तीनवटा ढुंगाको शिखर शैलीको मन्दिर देखिन्छ । जुन कृष्ण मन्दिर (ज्यासलिन देग), अर्को शिव मन्दिर र तेस्रो लक्ष्मीनाराण मन्दिर हो । तर, अहिले कृष्ण मन्दिर मात्र छ । शिव मन्दिर एउटा सानो प्याजजस्तो गुम्बजमा सीमित छ भने लक्ष्मीनारायणको तल पसल छ, माथि पर्यटकहरू बसेर तस्बिर खिच्ने कौसी छ । जब कि, पहिले यी तीनै मन्दिर एकै आकारप्रकारका थिए । तर, ’९० मा तीनै मन्दिर भत्किएपछि सामान जम्मा गरेर एउटा मात्र बनाइयो । किनभने, कृष्ण मन्दिरचाहिँ दरबारबाट सबैभन्दा नजिक पर्छ, त्यसैले बढी महत्त्व पायो, पारि परेकालाई वास्तै गरिएन । 

सम्पदाको संरचनामा थोरै परिवर्तन हुनु त सामान्य नै हो, यसरी अस्तित्व नै हराउनुचाहिँ निकै दु:खद हो । कुर्टले खिचेको तस्बिर पनि भियनामा फेला पारेर पाटन म्युजियममा ल्याइएको हो । नत्र, यति जानकारी पनि कसैसँग हुने थिएन ।

भक्तपुर दरबार स्क्वायर

अहिले भक्तपुर दरबार स्क्वायरको क्षेत्र जति फराकिलो छ, विसं ’९० अगाडि त्यसभन्दा सानो थियो । बधशाला मन्दिरअगाडिको माथि रेस्टुराँ भएको लामो सत्तल अहिले पनि छ, पहिले पनि थियो । तर, फरक के छ भने पहिले अगाडि थियो, महाभूकम्पपछि ३० फिट पछाडि धकेलियो । सत्तलपछाडि घर थिए तर त्यतिबेला राणा शासकले चाहेपछि कसले रोक्ने ? यहाँ पनि जुद्धशमशेरकै गाडी घुमाउन सहज होस् भनेर सत्तल पछाडि सारिएको अनुमान छ । अर्को, महाभूकम्पपछि खुला ठाउँ चाहिन्छ भन्ने महसुस भएर पनि दरबार क्षेत्र बढाइएको पनि हुन सक्छ । यद्यपि, त्यहाँ बाहिर खुला ठाउँ थिए, दरबारको स्वरूप नै बढाउनु आवश्यक थिएन । 

पाटनमा पनि राणा शासकले स्क्वायर ठूलो बनाउन खोजेका थिए भन्ने छ तर यहाँ मन्दिरहरू छरपस्ट भएकाले मन्दिर चलाउँदा पाप लाग्छ भन्ने डरले भत्काउन सकेनन् । त्यही कारण पाटन मल्लकालकै सेटिङमा छ तर भक्तपुर र काठमाडौँका दरबार क्षेत्र राणा शासकले आफू अनुकूल बनाएकाले मल्लकालीन आर्किटेक्चर अपभ्रंश हुन गएको छ । 

सामान्य रूपमा हेर्दा दरबार क्षेत्रको आकार ठूलो बनाउनु राम्रै हो । तर, पुरातात्त्विक महत्त्वका दृष्टिले यो उचित होइन । किनभने, सम्पदा भनेको सानो–ठूलोले मतलब राख्दैन, पहिले जस्तो बनावट थियो, त्यस्तै राख्नुपर्छ, मास्नु हुन्न । 

तर, राष्ट्रलाई धेरै फाइदा हुने भयो भने सम्पदा र त्यसको स्वरूपमा परिवर्तन गर्नैहुन्न भन्ने पनि होइन । इजिप्टको अश्वेन नहरको ड्याम (बाँध)को उदाहरण संसारभर चर्चित छ । ड्याम बनाएर पानी छेक्नासाथ त्यस क्षेत्रका हजारौँ वर्ष पुराना मठ–मन्दिर सबै डुब्ने भए । युनेस्कोले पनि आपत्ति जनायो तर इजिप्टको कुल विद्युत् उत्पादनको तीनमध्ये दुई भाग त्यही ड्यामबाट आउँथ्यो । त्यसैले ड्याम बनाएरै छाडियो । पछि त्यहाँका मन्दिर अन्त सारियो, जसलाई प्राविधिक भाषामा ‘रिलोकेसन’ भनिन्छ । त्यहाँ नियत सफा थियो अनि राष्ट्रहित पनि । तर, हामीकहाँ चाहिँ माथि भनिएजस्तै शासकको फाइदा, मर्जी र लहड मात्र थियो । 

गत वर्षको भूकम्पका कारण फेरि हामी पुन:निर्माणको चरणमा छौँ । त्यसैले केमा सचेत हुनैपर्छ भने सम्पदा लोप त हुँदै नहोस्, त्यसको स्वरूपसमेत नबिग्रियोस् । इतिहासकार बाबुराम आचार्यले भनेजस्तो, अब यस्तो कहिल्यै नहोस् । 

(‘एनालाइसिस अफ रेस्टोरेसन वर्क’मा विद्यावारिधि गरेका रञ्जितकार काठमाडौँ उपत्यका संरक्षण ट्रस्टका नेपाल निर्देशक हुन् ।)

प्रस्तुति : गोकर्ण गौतम

प्रकाशित: फाल्गुन ५, २०७३