अलमलमा आँचल

- नेपाल संवाददाता

वर्षा राउत र आँचल शर्माले एकै फिल्मबाट करिअर सुरू गरेका हुन्, नाइँ नभन्नु ल ४ । त्यसयता वर्षाले छक्का–पन्जा र जात्राजस्ता हिट फिल्म दिइन्, उनी चल्तीकी नायिकाको अग्रपंक्तिमा आइसकेकी छन् । तर, आँचलका न कुनै फिल्म रिलिज भएका छन्, न कहिल्यै ‘टक अफ द टाउन’ नै भइन् ।

बल्लबल्ल जोनी जेन्टलम्यान भन्ने फिल्ममा काम गर्ने मौका पाइन् । छायांकन पनि सकियो तर फिल्मको प्रचारप्रसारमा होइन, प्रेमसम्बन्धबारे स्पष्टीकरण दिन बढी समय बित्न थालेको छ उनको । नाई नभन्नु ल ४ मा उनीसँगै देखिएका पल शाह जोनी जेन्टलम्यानमा पनि साथमा छन् । सुरूदेखि नै यो जोडी ‘रिलेसन’मा रहेको खबरले फिल्मवृत्त तातेपछि आँचल हैरान भएकी हुन् ।

उनी पत्रकार भेट्नासाथ आफू ‘सिंगल’ रहेको र पलको सम्बन्ध साथीमा सीमित भएको सुनाइहाल्छिन् । तर, उनलाई के थाहा, यस्तो रवैयाले करिअरमा धक्का पुग्छ भन्ने । जुन उनी स्वयंले भोगिरहेकी पनि छन् । 

प्रकाशित: फाल्गुन ४, २०७३