कोरियामा नेपाली

किमलाई त काम नगरी पनि खान पुग्ला । जे भए नि उनी कोरियाली हुन् । तर, भोलि कथम्कदाचित केही भयो भने यो नेपाली चेलीको कुन दुर्दशा होला !

- प्रदीप नेपाल

वि सं २०७३ । ३ देखि १९ वैशाखसम्मको यात्रा थियो कोरियाको । ०५२ सालमा मैले उत्तर कोरियाको भ्रमण गरेको थिएँ । उत्तर कोरियालीहरूमा दुई कोरियाबीच एकीकरण हुन्छ भन्ने जब्बर विश्वास भेटेको थिएँ मैले उतिबेला । 

‘अमेरिकी साम्राज्यवादले हामी दाजुभाइ–दिदीबहिनीबीच कृत्रिम सीमारेखा कोरिदिएको छ । त्यो मेटिनु अनिवार्य छ । त्यसैले हामी अमेरिकी साम्राज्यवादको विनाश चाहन्छौँ । साम्राज्यवादीहरू हाम्रो विनाश चाहन्छन् । दक्षिणका दाजुभाइ–दिदीबहिनी साम्राज्यवादको जाँतोमा पिसिएका छन् । हामी अमेरिकाको आक्रमण, षड्यन्त्र र दुष्प्रचारको सिकार भएका छौँ । तर, अन्त्यमा अमेरिका यहाँबाट भाग्नेछ र हामी एक हुनेछौँ ।’ 

त्यसको २० वर्षपछि मैले दक्षिण कोरियामा पाइलो टेक्न पाएँ । तर, दक्षिण कोरियामा पनि मैले उत्तर र दक्षिण भेटिनँ । यहाँसम्म कि अमेरिकाले बलात् कोरिदिएको ३८औँ समानान्तर सीमारेखा पनि दुवैतिरको भित्तामा झुन्ड्याइएका कोरियाली मानचित्रसमेत देख्न पाइनँ ।

दक्षिण कोरियामा नेपालीहरू धेरै छन् । यकिन संख्या भन्न किन गाह्रो हुन्छ भने त्यहाँ गैरकानुनी ढंगले बसेकाहरू सरकारी तथ्यांकभन्दा बाहिर हुन्छन् । त्यो ‘इलिगल’ भनिने संख्या पनि सानो छैन भन्ने मलाई लाग्छ  किनभने ‘इलिगल’ आतंक चलेका बेला म कोरिया पुगेको थिएँ ।

कोरियामा विभिन्न कारणले मैले यात्रा डायरी राख्न पनि सकिनँ । अति व्यस्त थियो मेरो यात्रा । यति व्यस्त कि मैले मेरो आफ्नो भानिज र भतिजसँग भेट्ने समय पनि निकाल्न सकिनँ । खुब दौडिइयो एउटा भ्यानमा पश्चिम–दक्षिणको सिमानादेखि राजधानी सोलसम्म । त्यसैले मैले भेटेका दर्जनभन्दा बढी मित्रको नाम अहिले मैले सम्झिन सकिनँ । यति हुँदाहुँदै पनि कोरियामा कसरी बसेका रहेछन् नेपाली भन्ने जानकारी दिन मैले यो संस्मरण लेखेको हुँ ।

कोरियामा उत्रिएको रात हामी चारै जना म, डोलिन्द्रप्रसाद शर्मा, लाला गुरुङ र बीके कलाकार बुद्धि गुरुङको आवासमा पुग्यौँ । नेपाली चेली मञ्जु गुरुङले हामीलाई त्यहाँ लगेकी थिइन् । राजधानी सहर सोल र अन्तर्राष्ट्रिय विमानस्थल इन्चोङको बीचमा पर्ने सउनमा व्यवसाय गरेर बस्नु हुँदो रहेछ बुद्धि गुरुङ ।

मञ्जुले आफ्नो समस्या राख्नेबित्तिकै बुद्धि भाइले भन्नुभयो, ‘बेकारमा किन मोटेलमा बस्ने ? मेरो घरमा एउटा कोठा खाली नै छ । बहिनीहरू नेपाल गएका छन् । उनीहरू १० दिनपछि मात्र आउँछन् । जति मन लाग्छ ढुक्कले बस्नूस् । हामी यही रेस्टुराँमा खान्छौँ । सँगै खाउँला । दिउँसो आ–आफ्नो काममा लागौँला । बेलुका फेरि यहीँ जुटौँला । सरहरूलाई मेरो प्रस्ताव स्वीकार्य हुन्छ भने ।’
ढुंगा खोज्दा देउता भेटेजस्तो भएको थियो हामीलाई । हामी चारै जनालाई । किनभने, किमको व्यवस्थापनमा यसरी ढुक्कले बस्ने योजना थिएन । सायदै कतै दुई रात एउटै मोटेलमा सुतिन्थ्यो होला ।
रहँदा बस्ता मञ्जुको भविष्यबारे धेरै चिन्ता गर्नुहुँदो रहेछ बुद्धि भाइ भन्ने मलाई थाहा भयो । त्यो स्वाभाविक पनि थियो । मञ्जुले कमाइ हुने खालको कुनै काम गरेकी थिइनन् । उनका बूढा किमको पनि स्थायी प्रकृतिको कुनै काम रहेनछ । किम सामाजिक सेवा गर्ने । पत्नीलाई पनि त्यतै लगाउन खोज्ने । बुद्धि भाइको चिन्ता यसैमा रहेछ । 

‘किमलाई त काम नगरी पनि खान पुग्ला । जे भए नि उनी कोरियाली हुन् । तर, भोलि कथम्कदाचित केही भयो भने यो नेपाली चेलीको कुन दुर्दशा होला !’

बुद्धि भाइको चिन्ता जायज लाग्यो मलाई । तर, किमकै सौजन्यमा घुम्न गएका हामीले केही भन्ने कुरो आएन । रुम्जाटारमा जन्मिएकी र आमासँगै दार्जीलिङको नक्सलबारी पुगेकी मञ्जुप्रति मेरो पनि सद्भाव जाग्यो । त्यसैले विमानस्थलमा बिदाइका बेलामा मञ्जुले, ‘दाइ, नराम्रो जति यतै छोडिदिनु होला, राम्रो मात्रै बोकेर जानूस् है’ भन्दै बिदा माग्न खोजेपछि त्यो स्नेह झन् बढ्यो । हामी दुई मात्र सँगै उभिएका थियौँ त्यतिबेला त्यो बिदाइ कक्षमा । त्यसबेला चाहिँ मैले भनेँ, ‘बैनी † आफ्नो भविष्यबारे पनि सोच्नु है † बुद्धिजीले चेलीको चिन्ता गर्दै हुनुहुन्थ्यो ।’

बुद्धि भाइ साउनमा स्थापित नेपाली व्यवसायी हुनुहुँदो रहेछ । उहाँमार्फत मैले अरू पाँच जना नेपाली व्यवसायीसँग भेटेको थिएँ । ती पाँचै नाम, अहिले मेरो संख्यामा मात्र सीमित छन् । मूल व्यवसाय रेस्टुराँ र मोटल रहेछ बुद्धि भाइको । नेपाल फर्किने र देशमै केही उद्यम गर्ने उहाँको सोच रहेछ । मसँग सोधपुछ गर्नुभएको थियो । नेपाल आएपछि एकचोटि बसेरै सल्लाह गरौँ भनी बिदा लिएको थिएँ मैले । यद्यपि, कोरियामा राम्ररी ‘सेटल’ भएका, दु:खसुख दुवै भोगेका बुद्धि गुरुङ नेपाल फर्किएलान् भन्ने विश्वास धेरैमा रहेनछ ।

अर्को व्यवसायी हुनुहुन्थ्यो, लक्ष्मण बोगटी । थालनी त उहाँको पनि रेस्टुराँ व्यवसाय नै रहेछ । तर, पछिल्लो कालमा उहाँले कपडा व्यवसाय पनि थाल्नु भएछ । मैले सोधेँ, ‘यता व्यवसाय त फस्टाएको होला । नेपालमा यस्तै व्यवसाय थाल्ने सोच पाल्नुभएको छैन भाइ ?’

‘नेपालमा भर्खर आरम्भ गरेका छौँ बिक्री पसलका रूपमा । यहाँको आफ्नो उत्पादन सीधै नेपाल पुर्‍याउने उद्देश्यले उता पसल खोलिएको हो ।’उहाँले नेपालको नयाँ सडकको पसलको ठेगाना पनि दिनुभएको थियो । पसलमा पुग्नुपर्ने काम आइनपरेको हुनाले अहिलेसम्म म त्यता लागेको छैन ।

तर, मैले धन्यवाद दिएँ लक्ष्मण भाइलाई । ‘कोरियाली ब्ल्याङ्केट’ भनी हाम्रोतिर नामांकित सिरकमा नेपाली उद्यमीको उत्पादनको पनि हिस्सा रहेछ भन्ने थाहा पाएपछि ।

यी नेपालीका सफलताका कुरा भए । सफलता यत्तिमै सीमित छैन । ख्वाङ्जु यात्राका क्रममा एक जना रेस्टुराँ व्यवसायी भाइको आतिथ्य ग्रहण गरेका थियौँ हामीले । उहाँहरूको पनि रेस्टुराँको चेन नै रहेछ । पछिल्ला दुई दिन पनि हामीले आनचानमा व्यवसाय गरी बस्ने डोलिन्द्र भाइका भानिज, गणेश रिजालको रेस्टुराँमा खाना खाएका थियौँ । गणेशका पनि दुइटा रेस्टुराँ रहेछन् । त्यहीँ डोलिन्द्रको भतिज बुद्धि पौडेलसँग पनि भेट भएको थियो हाम्रो । दिक्क मान्नुभएको थियो डोलिन्द्र भाइ, आफ्नो भतिजाले प्रगति नगरेको देखेर । भतिज झन्डैझन्डै अल्कोहलिक पनि भइसकेका रहेछन् । काका बाउको धर्म निर्वाह गर्दै डोलिन्द्र भाइले अर्ति–बुद्धि त दिनुभयो नै । मैले पनि त्यो बुद्धि लागोस् भनेर शुभेच्छा जाहेर गरेँ । मेरै भतिज काजी नेपाल पनि आइपुगेको थियो अन्तिम साँझको खाना सँगै खान । ऊ पनि आफ्नो कामसँग सन्तुष्ट थियो ।

यी भए सुख र दु:ख मिसिएका कुरा । युरोप, अमेरिका, अस्ट्रेलिया र जापानपछिको मन पर्ने मुलुक हो कोरिया, वैदेशिक रोजगारीमा । नेपालमा पनि ईपीएस बुझेको थिइनँ, शाब्दिक अर्थको रूपमा मैले । कोरियामा पनि त्यसलाई बुझ्न सकिनँ र बुझ्ने इच्छा पनि गरिनँ । ईपीएसको नाम जति सम्मानका साथ लिइन्छ नेपालमा, त्यत्ति नै कष्टकर हुँदो रहेछ त्यो कोरियामा । ईपीएसमा जाने भनेको मूलत: कृषि मजदुरको काम रहेछ । ईपीएसमार्फत कारखानाको काम भने यदाकदा मात्र रहेछ । कोरियाली भाषा परीक्षा पास गर्नैपर्ने विशेष कारण यही कृषि क्षेत्रको काम रहेछ । ईपीएसमा जानेहरूको कर्मक्षेत्र कृषि हुने हुनाले, कृषिक्षेत्र भन्नेबित्तिकै त्यो गाउँ हुनाले, स्थानीयहरूसँग सम्बन्ध राख्न उनीहरूको भाषा नबोली नहुँदो रहेछ । ठूला सहरहरूमा अंग्रेजी भाषा बोलचालको भाषा बन्दै गएको भए पनि गाउँमा अंग्रेजी भाषा ‘जिरो’को स्थितिमा रहेछ । भाषाको समस्या, गाउँको बसोवास, टनेलको जागिर, तुलनात्मक रूपमा थोरै तलब । ईपीएसको तस्बिर यस्तै देखेँ मैले ।

‘ईपीएसको काममा टिक्न नसकेर रेस्टुराँतिर काम पाइन्छ कि भनेर सोधखोज गर्दै छु दाइ’ भनेर गुनासो गरेका थिए डोलिन्द्र र म बसेको टेबलमा आइपुगेका ती भाइले । कृषि मजदुरको फारम भरेर गएका ती भाइ मसँग भेट्दा ‘ इलिगल’ भइसकेका थिए ।

वैदेशिक रोजगारीको व्यवसायका नाममा मानव तस्करी गर्नेको एउटा ठूलै हुद्दा रहेछ भन्ने लागेको थियो त्यतिबेला मलाई । अहिले पनि मलाई त्यस्तै लागिरहेछ । ईपीएसमा पठाउन मान्छे भेला गर्नेले सत्य कुरा भनिदिए सायद आधा नेपाली कोरिया होइन, नेपालमै कृषि कर्म गरेर चार दाम कमाउने थिए होलान् ।

अर्को बिजोग देखियो, काम नपाएर या कामबाट निकालिएर अलपत्रिएका नेपाली भाइबहिनीहरूको । तिनको अस्थायी बासको बन्दोबस्तलाई सेल्टर भनिँदो रहेछ । मञ्जु गुरुङले पनि एउटा सेल्टर सञ्चालन गरेकी रहिछन् । 

‘शुद्ध सामाजिक सेवा हो दाइ,’ उनले भनिन्, ‘हामीचाहिँ केटी मान्छे मात्र राख्छौँ । कसैलाई काम खोजिदिन्छौँ । उनीहरूको कागजपत्र मिलाइदिन्छौँ । घर फर्किन चाहनेलाई हामी आफैँ त सहयोग गर्न सक्दैनौँ । नेपालमा खबर गरिदिन्छौँ । यताको सहयोग त गर्नैपर्‍यो ।’

कोरियामा बौद्ध धर्मको बाहुल्य भए पनि इसाई धर्मावलम्बीहरू यस्तो सामाजिक क्रियाकलापमा बढी लागेको धेरै ठाउँमा भेटियो । यस्ता धेरै सेल्टर उनीहरूले नै सञ्चालन गरेको पनि सुनियो । 

प्रकाशित: फाल्गुन ४, २०७३