देखिएको थियो उडनतस्तरी

- नेपाल संवाददाता

अमेरिकी गुप्तचर एजेन्सी सीआईए (सेन्ट्रल इन्टिलिजे न्स एजेन्सी)सँग यूएफओ अर्थात् उडनतस्तरी जोडेर थुप्रैले अनेकथरी अड्कलबाजी गर्छन् । तर, यतिचाहिँ सत्य हो कि सीआईएको आँखा उडनतस्तरीमा राम्रैसँग गडेको छ । हालै सार्वजनिक गरिएको सन् १९६८ को गोप्य प्रतिवेदनमा त्यतिखेर लद्दाख, सिक्किम, भुटान र नेपालमा गरेर ६ पटक उडनतस्तरी देखिएको उल्लेख छ । 

२५ मार्च १९६८ को रात कास्कीको आकाशमा चम्किलो वस्तु देखिँदै, हराउँदै अन्तत: हराएको बताइएको छ । ६ फुट आधारसहित ४ फुट उचाइसहितको गोलाकार धातु भएको पोखराभन्दा पाँच किलोमिटर उत्तरपूर्वको बाल्टीचौरमा परेको खाल्डोबाट पत्ता लागेको उक्त रिपोर्टमा उल्लेख छ । सोही वर्ष फेबु्रअरी १९ मा रातको ९ बजे उत्तरपूर्वी नेपाल र सिक्किममा पनि उडनतस्तरी देखियो । हिन्दुस्तान टाइम्समा प्रकाशित रिपोर्टमा भनिएको छ, ‘त्यो यति चम्किलो थियो कि त्यस आसपासमा उज्यालो नै बनायो । एक ठाउँमा त चट्याङ परेजस्तो आवाज नै आयो ।’ भुटानमा देखिँदा भने आवाज ननिकालीकनै उडनतस्तरी तीव्र गतिमा उडेको थियो । लद्दाखमा देखिँदा त्यसबाट धूवाँ उडेको थियो । त्यस समय धेरै उडनतस्तरी देखिँदा मंगल ग्रहका मानिस, अन्तरिक्ष यानजस्ता अनेकथरी लख काटिएको थियो, जसको अहिलेसम्म पनि कुनै पुष्टि हुन सकेको छैन । 

प्रकाशित: फाल्गुन ४, २०७३