रगतपच्छे कुरीतिको चिरफार

  • हामी आफैँले, हाम्रै लागि तर हामीलाई डस्ने संस्कृति किन बनायौँ ?

- सिपी अर्याल

र, अन्त्यमा कलाले विद्रोह गर्छे ।

देवपितृको नामबाट कसम खाँदै आइन्दा छाउगोठ नपठाए मात्रै निधारमा राता अक्षता लगाउन मान्ने आफ्ना बाजेलाई बताउँछे कलाले । बाजेले किन मानून् र ? मान्दैनन् । थितिमाथि कसैले धावा बोल्न खोजे उसैमाथि जाइलाग्ने जातका उनी । कलाले थितिमाथि धावा बोल्न खोज्दा उनी पनि रिसले दाह्रा किट्छन् । तर, कला अझ बलियो भएर विद्रोह गर्छे । र, घर छाडेर हिँड्न पाइला अघि बढाउँछे । कथा त यत्तिमै सकिन्छ । तर, कलाको जीवन त्यसपछि बल्ल सुरु हुन्छ । उपन्यासको अन्त्य भन्नु कलाको जीवनको सुरुआत हो यस अर्थमा ।

उन्नाइसौँ शताब्दीमा इब्सेनले अ डल्स हाउसकी नोरामार्फत तत्कालीन पितृसत्ताविरुद्ध विद्रोह गरेका थिए । काल्पनिक कथाकी नोराले त्यतिबेला नारीवादी चिन्तनमा उथलपुथल ल्याएकी थिइन् । २२ दिने छाउघर बसाइका क्रममा कलाको मनमा गुम्सिएका चट्टानहरूको पत्र फुट्छन् राज सरगमको उपन्यास छाउघरमा । मासिक रक्तस्रावजस्तो प्राकृतिक कुरामा समाजको रूढिवादका कारण नारीहरूलाई बित्थामा दु:खको सिकार बनाइएको यथार्थ कलाले थाहा पाउँछे । र, आफ्नो पहिलो मासिक रक्तस्रावको २२औँ दिनका दिन ऊ आफूलाई छाउगोठको बास गराउने बाजे र उनका देउताप्रति क्रूर हुन रोज्छे । विद्रोहका खातिर घर छाडेर हिँड्न पनि पछि पर्दिन । उपन्यास छाउघरको कथा यत्ति हो । यसबाहेक बाँकी कुरा फुटनोट हुन् । फुटनोटमा अटाएका छन्, छाउगोठ बस्नुपर्दा महिलाको जीवन कसरी कष्टकर हुन्छ, किन जोखिमपूर्ण हुन्छ र कसरी ज्यानसमेत जान सक्छ भन्ने उपक्रमहरू ।

छाउगोठ बसाइका २२ दिनलाई २२ अध्याय मानेर लेखिएको छ पुस्तक । पुस्तकमा एउटा यस्तो नेपाली समाज अटेको छ, जसअघि कुरीतिको पर्खाल गजधम्म उभिएको छ । पर्खालभित्रका मानिस निर्धा छन् संस्कृति मान्न । त्यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै पनि उनीहरूलाई केही कुराले बेरेको छ र पर्खाल भत्काउन सक्दैनन् । कला, भागरथी दिदी, फुपू, रूपा बउजूको बेजोड कष्टको फेहरिस्त छ किताबैभरि । यो पढिसिध्याउँदा थाहा हुन्छ– यो एउटा यस्तो नेपाली नियतिको कथा हो, जो पढ्दा आँत थर्थराउँछ, हृदय भारी हुन्छ, आँखा रसिला हुन्छन् र पीडाको शूल मुटुमा घ्वाप्पै रोपिन्छ ।

हामी आफैँले, हाम्रै लागि तर हामीलाई डस्ने संस्कृति किन बनायौँ ? हरपलको प्रश्न यही छ कलाको । विद्यालयबाट घर फर्किंदै गर्दा आफ्नो जाँघवरिपरि चिसो भएको थाहा पाउँछे, लुगा खोली हेर्दा जुका लागेको जस्तो ठान्छे । उसलाई जुकाले अँठ्याएजस्तो लाग्छ किनभने त्यसअघि कला कहिल्यै छाउ भएकी थिइन । आफू डरले इत्रिएका बेला बाजेले आएर अँगाल्ने अपेक्षा हुन्छ उसको तर नातिनी छाउ भएको थाहा पाएपछि बाजे घरभित्र पस्छन् । र, त्यहीँ हराउँछन् । कला निन्याउरिन्छे ।

कथाले तब गति लिन्छ, जब उसलाई इजाले छाउगोठमा लगेर राखिदिन्छिन् र २२ दिन त्यहीँ लुकेर बस्नुपर्ने बताउँछिन् । राम्रो पढिरहेकी कलाले अब विद्यालय जान पाउँदिन । आफ्ना साथीहरूसँग खेल्न पाउँदिन । प्यारो भाइबाट समेत टाढा हुनुपर्छ । यी सबै दर्दनाक अवस्थाबाट गुज्रिइरहँदा कलाको मस्तिष्कमा अनेक कुरा खेल्न थाल्छन् । छाउ भएका अन्य महिला पनि नजिकैको गोठमा आएर बस्छन् । ती पाका महिलाबाट कलाले धेरै कथा सुन्छे, व्यथा सुन्छे । घर र साथीहरूलाई खुब मिस गर्छे । त्यहाँ त्यसरी बसिरहँदा उसले विद्यालयबारे, घरमा हुने पूजाआजाबारे, भाइको बदमासीबारे मीठो कल्पना गर्छे । उसले गरेका तिनै कल्पनातित कुराहरू पढिरहँदा पाठकको हृदय बेस्कन रसाउन थाल्छ ।

यद्यपि, कतिपय ठाउँमा भोगाइका थुप्रै कुरा रिपिटेड छन् । उसका कल्पनाका बान्कीहरू उस्तैउस्तै लाग्दा केही पेज स्किप गर्न मन लाग्छ । बालखकाल भर्खरै पार गरेकी कलालाई नसुहाउने गरी बडेबडे दर्शनको माला पहिर्‍याउनबाट लेखक निकै जोगिन खोजेका देखिन्छन् । तर, बेलाबेला त्यो 
छरपस्ट भइहाल्छ ।

कथाक्रममा भागरथी दिदीको प्रेम र छाउगोठमै उनको मृत्युको दर्दनाक यथार्थ, मंगली दिदीलाई भएको बलात्कारको प्रयास र रूपा जोशीलाई सुत्केरी गराउन ल्याउँदाको पीडाका शृंखला साँच्चै मर्मभेदी छन् । त्यसकारण, छाउगोठ एउटा जबर्जस्त विम्ब भएर पनि आएको छ उपन्यासमा । त्यो एउटा शक्तिशाली पात्र पनि हो, जसले कलालाई विशेष शिक्षा दिएको छ, नेपाली नारीहरूको जीवन, हामीले चलाएको थिति, त्यो मान्नुपर्ने बाध्यता आदिबारे ।

उपन्यासको पूरै सार बोक्ने एउटा अनुच्छेद यस्तो छ, ‘हातको रगत । नाकको रगत । पिलोको रगत । यो छाउको रगत । सबै मेरै शरीरबाट आएका हुन् । तर, तिनमा के फरक छ त ?’ कलाको प्रश्न नै यत्ति हो । र, कथामार्फत लेखकले बुझाउन खोजेको कुरा पनि यही । अझ, विद्यालयमा मिल्ने शिक्षा र व्यावहारिक जीवनमा झेल्नुपर्ने यथार्थबीचको खाडललाई पनि कलाले मर्मभेदी प्रश्न गर्छे, ‘६ कक्षामा नछुने भएर छाउगोठ बस्नुपर्ने । १० कक्षामा पुगेर नछुने हुने विषयको पाठ पढ्नुपर्ने ? जीवनले सिकाएको पाठको अघि र पछि पाउने किताबी ज्ञान मन नपरेको उपहारजस्तै भएन र ?’

सुदूरपश्चिममा बोलिने आञ्चलिक भाषा बोल्छन् पात्रहरू । तिनलाई बुझ्न कठिन नहोस् भनेर लेखकले संवादअघिपछिका वाक्यमा बठ्याइँपूर्वक अनुवाद पनि गरिदिएका छन् हरेकजसो ठाउँमा । तर, ती सार मात्रै भएका हुनाले अर्थ पत्ता लगाउन कतिपय ठाउँमा खुब मुस्किल त हुन्छ नै । यद्यपि, वास्तविक अर्थ बुझ्न किताबको पुछारमा दिइएका शब्दार्थले धेरै मद्दत गर्छन् । 

छाउघर
स्रष्टा    :    राज सरगम
प्रकाशक    :    फाइनप्रिन्ट बुक्स
पृष्ठ    :    २२०
मूल्य    :    ३०० रुपियाँ

प्रकाशित: फाल्गुन ३, २०७३