सेल्फी अनुभव कस्तो रह्यो ?

- मनबहादुर बस्नेत

ल्यान्डस्केप फोटोग्राफीमा स्थापित नाम हो, जगदीश तिवारी, ५२ । हिमाली फोटोग्राफर भनेर समेत चिनिने तिवारीलाई २१ माघमा राष्ट्रिय फोटो पत्रकार समूहले ‘सेल्फी अनुभव’ नामक आफ्नो १५ दिने शृंखलामा बो लाएर अनुभव बाँड्न लगायो । तीन दशकदेखि फोटोग्राफीमा सक्रिय तिवारीसँग यही सन्दर्भमा गरिएको कुराकानी :

सेल्फी अनुभव कस्तो रह्यो ? 
खालि फोटो खिच्दै हिँड्ने मलाई थुप्रै अडियन्सबीच आफ्ना कुरा सुनाउन पाउँदा रमाइलो लाग्दो रहेछ । गज्जब रमाइलो भयो । 

तपाईंका लागि चाहिँ केही सिक्ने वातावरण बन्यो कि बनेन ?  
धेरै त मैले आफ्नो विगतकै कुरा गरेँ । 

सिक्ने कुरा केही भएन त ? 
कहाँ नहुनू ! म ५० कटेको मानिस । उक्त कार्यक्रममा २२ देखि २५ वर्षका भाइबहिनी धेरै थिए । मेरो तन्नेरी वयमा गरिने फोटोग्राफीको प्रविधि र अहिलेकामा आकाश–जमिनको फरक छ । त्यसबेला अहिलेको प्रविधि भएको भए म कस्तो फोटो खिच्थेँ होला भन्ने लाग्यो मलाई ।

अहिलेसम्म तपाईंलाई कसले खिचेको कुन फोटो अत्यधिक मन परेको छ ? 
त्यसरी मूल्यांकन गर्न म सक्षम भएको छैन होला, सायद । तर, आफ्नो पेसामा जापानी फोटोग्राफर सिरो सिराहाताको प्रभाव म कहिल्यै भुल्न सक्दिनँ । नेपालको हिमाली दृश्यलाई लोभलाग्दो फ्रेममा खिचेर उनले नेपाल हिमालय भन्ने फोटो–पुस्तक निकालेकी थिइन् । त्यही पुस्तकले म फोटोग्राफीमा प्रेरित भएँ । 

तर, तपाईं त्यसअघि नै फोटोग्राफीमा हुनुहुन्थ्यो होइन र ? 
हो । फोटोग्राफीमा लागेको आठ–दस वर्ष भइसकेको थियो । तर, म त्यतिबेलासम्म लहडिएर फोटोग्राफीमा हिँडेको केटो मात्र थिएँ । यदि सिराहाताको फोटो नदेखेको भए सायद मेरो यो चिनारी हुने थिएन । फोटो स्टुडियोको फोटोग्राफरमा सीमित हुने थिएँ होला । 

‘न्युज’ फोटो शक्तिशाली हुन्छ कि ल्यान्डस्केप ? 
यो ज्यादै कठिन प्रश्न हो । सबै फोटो आफैँमा समाचार हो । फोटो पत्रकारले खिचेको फोटोले मात्र समाचारको ‘सेन्स’ दिन्छ भन्ने छैन । यति भनौँ फोटोग्राफी र पत्रकारिताबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । युद्ध र आन्दोलनमा फोटो खिच्ने अनि प्रकृतिको फोटो खिच्ने दुवैको आ–आफ्नै शक्ति हुन्छ । 

नवप्रवेशी फोटोग्राफर र फोटो पत्रकारले तपाईंबाट के कुरा सिक्ने अपेक्षा गर्न सक्छन् ? 
म आफूले उनीहरूलाई के दिन सक्छु र उनीहरू के चाहन्छन्, मलाई साँच्चै थाहा छैन । तर, म उनीहरूलाई फोटोग्राफीबाट उन्नत जीवन जिउन सकिन्छ भन्ने विश्वासचाहिँ दिलाउन सक्छु । हिम्मत दिलाउन सक्छु । सायद यो नै ठूलो हतियार हो । 

अहिले हातहातै भएका मोबाइलमा क्यामेरा हुन्छ । यसले व्यावसायिक फोटोग्राफीको महत्त्व घटाएको छैन ? 
पोखरीमा दुई–तीनवटा माछा छन् भने माछा देख्न नै मुस्किल हुन्छ । पोखरीभरि माछा छन् भने राम्रो–नराम्रो हेर्न सकिन्छ । फोटोग्राफी पनि त्यस्तै हो । जति धेरै देखियो, उति राम्रो–नराम्रो छानेर हेर्ने अवसर पाइन्छ । यसले फोटो छनोटकर्तालाई झन् बढी अवसर हुन्छ । 

तर, फोटोग्राफरलाई त बेफाइदै भयो नि होइन ? 
फोटोग्राफरका लागि घाटा छैन । बरू, आफू कहाँ छु भनेर उसले स्वमूल्यांकन गर्ने अवसर पाउँछ । आफ्नो क्षमताको मापन गर्ने मौका पाउँछ र काम गर्दा गर्दै के भइरहेको छ भनेर आफूलाई सुधार्न सक्छ । 

नेपालको फोटोग्राफी र फोटो पत्रकारिताको स्थान विश्वमा कहाँनेर छ जस्तो लाग्छ ? 
प्रविधिका हिसाबले हामी पछाडि पक्कै छौँ । किनभने, अन्यत्र सेकेन्ड ह्यान्ड हुने बेलामा नेपालमा प्रविधि भित्रिन्छ । तर, सिर्जनाका हिसाबले हामी कमजोर छैनौँ । अमेरिकाको राम्रो फोटो हामी तुरुन्तै हेर्न सक्छौँ भने हामी पनि राम्रो फोटो विश्वलाई छिनमै देखाउन सक्छौँ । प्रविधियुक्त व्यक्तिले राम्रो फोटो मिस गरेको हुन सक्छ भने कमसल क्यामेरा बोक्नेले गज्जबको फोटो खिचिरहेको हुन सक्छ । हाम्रो स्थान विश्वमा तलमाथि होइन, बराबर छ । 
 

प्रकाशित: फाल्गुन २, २०७३