नोटबुक

- विमल आचार्य

राधा रुपाखेती र आमाहरू

कलंकीबाट वाग्मती यातायात चढेर थापाथली जाँदै थिएँ । सिटमा एक जना महिला पर्नुभो । हँसिली र रसिली राधा रुपाखेती, ५०, एकोहोरो निरन्तर बोलिरहनुभयो । उहाँको बोलीको टेप हैन, सम्झना उतार जस्ताको तस्तै : हेर्नूस् त बाबु ! मैले कार्ड नबनाएर पूरा भाडा तिर्नुपर्ने भयो । मेरो घर धादिङ हो । अहिले आँखा जँचाउन त्रिपुरेश्वर जान लाकी छु । बाहिर जाने काम पर्दैन भनेर मैले कार्ड बनाइनँ । म पाँच कक्षामा पढ्छु बाबु । एक कक्षादेखि पढेकी हुँ । अनि छ नि बाबु, पत्रिकामा मेरो फोटो पनि आएथ्यो ।

कक्षाबाहिर जो मेरो उमेरका साथी हुन्, कक्षाभित्र म तिनीहरुका छोराछोरीकी साथी हुँ । ‘तिमीले गर्दा हाम्रा छोराछोरीको पनि पत्रिकामा फोटो आयो’ भने । सर/मेडमले पनि ‘तिमीले गर्दा हाम्रो स्कुलको नाम आयो’ भन्नुभो । अँ बाबु, मलाई अंग्रेजी धेरै गाह्रो लाग्छ । अहिले त नेपालीबाहेक सबै विषय अंग्रेजीमै पढाउँछन् हेर्नूस् न !

नेपालमा त नेपालीबाटै पढाए भइजान्नथ्यो र ? पढ्न धेरै गाह्रो रहेछ बाबु तर धेरै नम्बर ल्याउन नसके पनि म सबै विषयमा पास त हुन्छु । पहिले मैले छोराछोरीलाई ‘ आज शुक्रबार त हो, नजाओ स्कुल’ भन्थेँ । त्यस्तो भन्नु नहुने रहेछ बाबु, एक दिन पनि छोड्न नहुने रहेछ स्कुल त । बूढी भएँ भनेर पढ्न नथालेकी भए म अहिले एक्लै अस्पताल आउन सक्ने थिएँ त ? नेपालीमा लेखेका सबै साइनबोर्ड पढ्न सक्छु म अहिले ।

बोल्दाबोल्दै राधा दिदीको ओर्लिने ठाउँ आइहाल्यो । पढाइले उहाँमा जगाइदिएको निश्छल उत्साह देखेर मेरो मन साँच्ची फुरफुर भयो । मैले सल्यानमा रहेकी मेरी आमालाई सम्झेँ, एसएलसी दिएको वर्ष मैले जिल्ला शिक्षा कार्यालय सल्यानको कार्यक्रम अन्तर्गत ६ महिना प्रौढ शिक्षा पढाएको थिएँ गाउँमा । र, मेरी पहिली विद्यार्थी हुनुहुन्थ्यो, मेरी आमा र आमाहरु । ‘अब हामीले ल्याप्चे लाउन परेन, सही गर्न सक्ने भयौँ’ भन्दा आमाहरु यति खुसी देखिनुभएको थियो कि राधा रुपाखेती दिदीजस्तै । वाह ! पढाइको हँसाइ !

महिला सिट कि शौचालय !

भक्तपुरको सिद्ध पोखरीतिर डेटिङ जाँदै थिएँ । राजधानीको सबैभन्दा सुन्दर बाटो माइतीघर—बानेश्वर हुँदै ठूलै बस चढेर । बसमा उभिनु कसैलाई परेको थिएन र सिट पनि भरी नै थिए । मीनभवनमा एक जना महिला चढिन् । म महिला सिटमा बसेको थिएँ । उनी बसमा चढ्नेबित्तिकै उठिहालेँ । यात्रामा जोसँग पनि बोलिहाल्नुपर्ने म, उनीतिर फर्केर हाँस्दै भनेँ, ‘महिला सिट खाली भएर बसिहालेको है दिदी म त !’ 

उनले भनी पनि हालिन्, ‘खाली छ भन्दैमा महिला शौचालयचाहिँ नछिर्नूस् है भाइ !’ 

अघि मेरो सिटपार्टनर र अब उनको सिटपार्टनर बनेकी मेरी प्रेमिकाले खित्का थाम्न सकिनन् !

स्मार्ट कन्डक्टर 

कीर्तिपुर जाने माइक्रोबस । ५०/५५ जति उमेरका देखिने एक जनाले कालीमाटी पुगेपछि १० रूपियाँको नोटसँगै स्टुडेन्ट कार्ड झिके । कन्डक्टर भाइले कार्ड र ती अधबैँसेको मुख पालैपालो हेरे र मुसुक्क हाँस्दै भने, ‘ल अंकल, हजुर त म्याथमा एमए पढ्नुहुँदो रहेछ, त्यो पनि सेन्ट्रल डिपार्टमेन्ट अफ म्याथम्याटिक्स टीयूमा, एउटा क्वेसन सोध्छु है, ए प्लस बी को होल स्क्वाएर सिकाइदिनु न मलाई !’ 

कन्डक्टर भाइले यति भन्दा भन्दै ती ‘म्याथम्याटिसियन’को अनुहार लाजले रातो भइहाल्यो । उनले खल्तीबाट पाँच रूपियाँ निकाल्नु र आफू पनि बसबाट निक्लिनु सँगैसँगै भयो । 

१० कक्षा पढ्दै गरेका ती कन्डक्टर भाइ स्कुल बिदा भएकाले बस मालिक/चालक बाबुलाई सघाइरहेका रहेछन् । नक्कली विद्यार्थी चिन्ने उनको काइदा गजब रहेछ । साइन्स कार्ड देखाए एचटूओ, नेपालीको देखाए महाकवि देवकोटाको जन्म, अंग्रेजीको देखाए सेक्सपियरको देश, यस्तैयस्तै सोध्ने रे ! क्या स्मार्ट कन्डक्टर !

‘बच्चा छ’ 

द्वन्द्वकालमा दाङ–सल्यान अर्थात् मामाघर–घर गर्दा झोला बोकेर दसौँ ठाउँ ओर्लिनुपथ्र्याे र कडा चेकिङमा लाइन लाग्नुपथ्र्यो । छुकछुके मलाई यसरी ओर्लिरहन पाउँदा चाहिँ मज्जै आउँथ्यो । मभन्दा अघिल्लो सिटमा दुई महिला थिए, एक जनाको काखमा बच्चा पनि । कपुरकोटको चेकिङमा उनीहरु ओर्लेनन् । बस गुडेपछि उनीहरुले सुनाएको कुरा रोचक/घोचक छ । सेनाले ‘किन नओल्र्या’ भनेर हप्कायो । ‘देख्नुभएन ? काखमा बच्चा छ,’ बच्चा हुनेले भनिन् । सेनाले अर्कीलाई सोध्यो, ‘ए ठीक छ अनि तिमी किन नओल्र्या ?’ बान्ता गर्दागर्दा थकित उनी तपाईं सम्बोधन तिमीमा झरेको सुनेर कडै जवाफ दिइन्, ‘मेरो पनि बच्चा छ ।’ खाउँलाझैँ गरेर हप्कायो सेनाले, ‘खै कहाँ छ तेरो बच्चा ?’ उनले पेट देखाएर भनिन्, ‘ई ह्याँ छ ।’ 

वास्तवमा उनको बिहे भएको थिएन र बच्चा पनि थिएन पेटमा । तर, उनले असंवेदनशील (अ)सुरक्षाकर्मीलाई बोलीले हैन, गोलीले दिएको जवाफ बडो घत पर्‍यो मलाई । 

प्रकाशित: फाल्गुन १, २०७३