'डाइङ क्यान्डल'मा सानो क्यानभास, रैथाने स्वाद

  • एउटै लोकेसन र समय सीमामा जसरी पनि कथा भन्छु भन्ने अहं देखिन्छ निर्देशकमा ।

- गोकर्ण गौतम

आधा शताब्दी पार भइसक्दा पनि नेपाली फिल्मको ‘सिग्नेचर स्टाइल’ निर्माण हुन सकेको छैन । तर मीन भाम र दीपक रौनियारजस्ता प्रतिभाशाली निर्देशकको आगमनसँगै नेपाली फिल्म मौलिकताको बाटोतिर अग्रसर हुन थालेको छ । यही अभियानमा साथ दिन अँइपुगेको छ, नरेशकुमार केसी निर्देशित फिल्म डाइङ क्यान्डल (निभ्न लागेको दियो) । कथा र सेटिङ पूरै भिन्न भए पनि यस फिल्मले आफ्नै कथा आफ्नै शैलीमा भन्ने कालो पोथी र सेतो सूर्यको ‘लिगेसी’लाई पछ्याएको छ । समाजका अन्तर्कथा र पीडालाई जीवन्त ढंगले पर्दामा बुनिएको छ मार्मिक शैलीमा । यद्यपि पटकथा अपेक्षाकृत चुस्त नहुँदा कति दृश्य झेल्न मुस्किल पर्छ । कतिपय संवाद बनावटी छन् । अमेरिकाको प्रतिष्ठित क्वीन्स वल्र्ड फेस्टिभलमा तीन विधामा मनोनयन र उत्कृष्ट छायांकनको अवार्ड जितेसँगै यो फिल्मको चर्चँ चुलिएको थियो । 

ग्रामीण भेगको गरिब परिवारका दिदी–भाइको एकअर्काप्रतिको त्यागको कथा हो, डाइङ क्यान्डल । दुई बहिनीको घरजम भए पनि सानो भाइ टिप्के (लाक्पा सिङी तामाङ) र रोगी आमा (विद्या कार्की)को बिचल्ली होला भन्ने चिन्ताले क्षेमी (सिर्जना सुब्बा) अझै अविवाहित छिन् । आफ्नो हरेक खुसी भाइको आँखामा देख्छिन््, भाइलाई पढाएर ठूलो मान्छे बनाउने सपना छ । भाइ पनि आफ्नो चप्पल बेचेर दिदीलँई काँटा किनिदिन्छ । तर भाइ सानो भएकाले जिम्मेवारीको चाङ त दिदीकै काँधमा छ । यसरी भाइका लागि क्षेमीले गर्ने बलिदानी नै फिल्मको मुख्य विषयवस्तु हो । 

रसुवाको गत्लाङमा खिचिएको डाइङ क्यान्डल दुई दशकअघिको कथा हो । त्यो पनि जम्मा एक दिनको । लोकेसन पनि घरमै सीमित छ, अझ एउटै कोठामा । यसो हुँदा दर्शकलाई ‘इन्गेज’ गराइराख्नु ठूलो चुनौती हुन्छ । यस मामिलामा निर्देशक नरेश धेरै हदसम्म सफल भएका छन् । सुरुको करिब १० मिनेटको मोन्टाजले तत्कालीन समय र समाजको रीतिरिवाज, जीवनशैली र संस्कारलाई स्थापित गरेको छ । दिदीभाइबीचका सुरुवाती संवादले उनीहरूको पृष्ठभूमि र पीडालाई महसुस गराउँछ । त्यसपछिका लामा–लामा दृश्य अनि आमा र क्षेमीका विवादले झिँजो महसुस हुन्छ, तर मन्ध्यान्तरपछि निर्देशकले फेरि ‘ट्रयाक’ समाएका छन् । 

डाइङ क्यान्डलमा ट्वीस्ट र टर्निङ केही छैन । न फाइट छ, न एक्सन । परम्परागत शैलीको रोमान्स देख्न पाइन्न तर पनि लाक्पाको निर्दोषपना, क्षेमीको समर्पण र उनीहरूको प्रेमले दर्शकको आँखा लोभ्याउँछ । फिल्ममा अरु दुई पात्र छन्, जनकलाल (सौगात मल्ल) र मुकुन्द (अर्पण थापा) । पैसा भएपछि सबथोक किन्न सकिन्छ भन्ने सोचको जनकलालले दुई श्रीमती र छोरीहरू हुँदा पनि क्षेमीलाई ताकेको छ । उता, पढेर पनि पैसा कमाउन नसकेको अविवाहित मुकुन्द चाहिँ क्षेमीलाई मनैबाट माया गर्छ तर भन्न सक्दैन । यसरी जनकलाललाई सामन्ती र मुकुन्दलाई निमुखाको प्रतिनिधिका रूपमा उभ्याइएको छ ।

लाक्पाको माछा मोह, ओथारैमै बसेकी कुखुरी अनि बाहिर निस्केका चल्ला, आमा र छोरीको झगडा हुँदा दूध उम्लेर पोखिएको, झरना, कागजको डुंगा र चुइगम विम्बात्मक लाग्छ । तथापि कमीकमजोरीको पनि लस्कर नै छ फिल्ममा । दिदी र भाइको लवजको अन्तर अस्वाभाविक छ । आमा र छोरीका अधिकांश दृश्य निर्देशकले जबर्जस्ती थोपरेको आभास हुन्छ । मध्यान्तरअघिका केही दृश्य त नाटक हो कि फिल्म ? अलमलमा परिन्छ । पात्रहरू लगातार बोलिरहँदा पट्यार लाग्छ । त्यसमाथि कति संवाद त अति कृत्रिम र पुरातन शैलीको छ । एउटै लोकेसन र समय सीमामा जसरी पनि कथा भन्छु भन्ने अहं देखिन्छ निर्देशकमा । 

गत्लाङकै ११ वर्षीय फुच्चे लाक्पाको अभिनयले जोकोहीको मन जित्छ । आफ्नै परिवेशको भूमिका भएर पनि होला सुरुआतका केही दृश्यमा बाहेक उनी जीवन्त लाग्छन् । चरित्रको पीडालाई सिर्जनाको अनुहारमा झल्को पाइन्छ तर संवाद बोल्ने शैलीमा चुकेकी छन् । सौगातको आगमनसँगै फिल्ममा ‘चार्म’ थपिन्छ । उनी र लाक्पाको रसायनले दर्शकलाई हँसाइरहन्छ । अर्पणले चरित्रको साख गुम्न दिएका छैनन् । आमा बनेकी विद्या ‘मिस कास्टिङ’ हुन् । उनी यति खोक्छिन् कि दर्शकमा संवेदना होइन, झर्को पैदा हुन्छ । पशुपतिनाथप्रतिको उनको मोह नाटकीय लाग्छ । दीपांकर सिग्देर र रविन आचार्यको खिचाइ कलात्मक छ । विदेशीलाई लक्षित नगरी आफ्नै स्वतन्त्र शैलीमा कथा भनिनु यसको सकारात्मक पक्ष हो । अमेरिकामा फिल्म पढेर फर्किएका निर्देशक नरेशबाट आगामी दिनमा अझ सशक्त फिल्मको अपेक्षा गर्न सकिन्छ । 

बलिउडको सूत्रबाट मुक्त मौलिक नेपाली फिल्म हेर्न चाहनेका लागि डाइङ क्यान्डल उपयुक्त रोजाइ बन्न सक्छ । तर कोरा मनोरञ्जन र सस्तो मसला खोज्नेका लागि भने यो फिल्म भारी पर्छ ।

प्रकाशित: माघ २८, २०७३