[स्मरण] विद्यालयमार्फत विद्रोह

  • देशव्यापी रूपमा समुदाय स्तरमा स्कुलहरू खुल्न थालेपछि राणा शासकहरू आत्तिन थाले ।

- गोरक्षबहादुर न्हुछें प्रधान

कलिला बालबालिका र विद्यार्थी पनि राणा शासकको हैकम र थिचोमिचोमा पिल्सिनुपरेको थियो । समवयी राणा परिवारका केटाकेटीसमेत हामीसँग फरक व्यवहार गर्थे । हामीसँग घुलमिल भए जातै जान्छजस्तो गर्थे । राणाका छोराछोरीलाई आठपहरियाले सुरक्षा दिएर स्कुल पुर्‍याउँथे । विद्यालयले उनीहरू र हामी सर्वसाधारणका छोराछोरीलाई गर्ने व्यवहार नै फरक हुन्थ्यो ।

सँगसँगै पढ्ने राणा परिवारका केटाकेटी गृहकार्यबारे छलफल गर्नुपर्‍यो भने घरअगाडिको चोकबाटै हाम्रो नाम लिएर चिच्याउँथे । तर, घरभित्र प्रवेशै गर्दैनथे । हाम्रा घर–कोठामा प्रवेश गर्न उनीहरूका अभिभावकले बन्देज लगाएका थिए । यस्ता कुराले पनि हाम्रो मनमा विभेद महसुस गराउँथ्यो तर उनीहरूलाई हामी आफ्ना कुरा भनेर सहमत गराउन सक्दैनथ्यौँ । 

विसं २००१ मा एसएलसी दिएपछि टोलका हामी केही युवाले राणा शासनविरुद्ध सडकमै उत्रिने निर्णय गर्‍यौँ । त्रिचन्द्र कलेजमा आईएस्सीमा भर्ना भएपछि हडताल–जुलुसमा सहभागी भयौँ र पर्चा आदि छरेर विरोध गर्‍यौँ । तर, राणा शासन अन्त्य नभएसम्म शान्ति, अमनचैन र नागरिक हक प्राप्त नहुने अवस्था थियो । केही युवा मिलेर टोलटोलमा जनतालाई जागरुक गराउन स–साना पाठशाला खोल्ने र राणा शासनको विरुद्धमा चेतनाको विस्तार गर्ने काम थाल्यौँ । स–साना भाइबहिनी, जो भोलिका कर्णधार पनि हुन्, तिनलाई शिक्षाका माध्यमबाट जागरुक गराउनेतर्फ लाग्यौँ ।

भेडासिं, काठमाडौँका नन्दलाल जोशी, भुवनलाल जोशी, विष्णुलाल श्रेष्ठजस्ता युवाहरूको सक्रियतामा त्यस टोलको एउटा घरमा स्कुल खोली पढाउन सुरु गरियो । त्यसपछि अमीरबहादुर राजभण्डारी, अष्टमंगल बज्राचार्य, दिवाकर राजभण्डारी, आनन्दप्रसाद राजभण्डारीजस्ता युवाको सक्रियतामा दिवाकर राजभण्डारीको घर–आँगनमा नेपाल पद्मज्योति पाठशाला खोलियो । मखन टोलका लवबहादुर प्रधान, ऐश्वर्यलाल प्रधानांग, तीर्थमान जोशी, भुवनलाल प्रधान र मसहितका युवाहरूको सक्रियतामा अर्को स्कुल खोलेर शिक्षाका माध्यमबाट जनचेतना जगाउन सुरु गर्‍यौँ ।

टोलटोल र घरघरमा गएर स–साना नानीहरूलाई हामीले खोलेका ती पाठशालामा पढ्न पठाउन सम्झाइबुझाइ गथ्र्यौं । जनताका तत्कालीन समस्याबारे व्याख्या गथ्र्यौं । जस्तो कि, दुई छाक खान पनि नपाउने स्थिति त्यत्तिकै आएको होइन, यो सबै राणा शासनका कारण सिर्जना भएको हो भनेर बुझाउँथ्यौँ । स्थिति कस्तोसम्म आयो भने हामीले आह्वान गर्दा मानिसहरू सजिलै सडकमा उत्रिन थाले र राणा शासनका विरुद्ध हडताल, नारा–जुलुसमा सहभागी हुन थाले । खास गरी हाम्रो आन्दोलनले युवा–विद्यार्थीका बीचमा निकै राम्रो छाप पार्‍यो । केही समय टोलटोलमा यसरी छुट्टाछुट्टै पाठशाला खोलेर पढायौँ । 

००२ सालको श्रीपञ्चमीका दिन वसन्तपुरस्थित महादेव–पार्वती मन्दिरको देब्रेतिर रहेको प्याफलतर्फको एउटा घरमा बैठक बसेर जनस्तरमा खोलिएका त्यस्ता तीनवटा पाठशालालाई एउटैमा गाभेर माविस्तरको विद्यालय सञ्चालन गर्ने सल्लाह भयो । तर, विद्यालयको नाममा भने सहमति जुटेन । विभिन्न टोलका व्यक्तिले फरक–फरक नाम सुझाए । अन्त्यमा भुवनलाल प्रधानले सुझाएको शान्ति निकुञ्ज नामलाई मान्यता दिँदै उहाँलाई नै प्रधानाध्यापकका रूपमा नियुक्त गरियो । नेपालको राणाकालीन इतिहासमा जनस्तरबाट खोलिएको काठमाडौँको यो पहिलो माध्यमिक विद्यालय थियो । 
यो विद्यालयले राणाविरोधी अभियानमा जनता जगाउने काम गर्‍यो । सायद त्यसै कारण प्रहरीका तत्कालीन हाकिम चन्द्रबहादुर थापाले यस विद्यालयको नाम ‘क्रान्ति निकुञ्ज’ राखेका थिए ।

त्यतिबेला उनको यो भनाइ ज्यादै चर्चामा आएको थियो । यस्ता कुराले हामीलाई जनताका पक्षमा काम गर्न थप हौसला प्रदान गथ्र्यो । यही स्कुलले शिक्षक/शिक्षिकालाई ‘सर–म्याडम’को सट्टा दाइ/दिदीजस्ता आत्मीय शब्द प्रयोग गर्न सुरु गरेको थियो । यो कुरालाई काठमाडौँका अन्य विद्यालयले पनि अनुसरण गरेका थिए ।

देशव्यापी रूपमा यसरी समुदाय स्तरमा स्कुलहरू खुल्न थालेपछि राणा शासकहरू आत्तिन थाले । अब कसरी यी विद्यालयलाई आफ्नो नियन्त्रणमा लिने र आफू मातहत सञ्चालन गर्ने भन्ने कुराले उनीहरूलाई पोल्न थाल्यो । त्यसपछि यस्ता विद्यालयमा पनि एक जना प्रधानाध्यापक सरकारले तोकेको व्यक्ति नै रहनुपर्ने बाध्यात्मक व्यवस्था लागू गरे, जसका विरुद्ध हामीले ठूलो संघर्ष गर्नुपरेको थियो ।

सरकारी प्रधानाध्यापक राखेर हस्तक्षेप गर्ने उद्देश्यले नै ००४ सालमा शिक्षा विभागले त्यसरी खोलिएका विद्यालयहरूलाई सरकारी इजाजत लिन बाध्य बनायो । त्यसका विरुद्ध उपत्यकाका तीनै सहरका झन्डै १७ वटा सामुदायिक विद्यालयले सरकारी दबाब नमान्ने निर्णय गर्दै भुवनलाल प्रधानको नेतृत्वमा संघर्ष समिति गठन गरे । समितिले तत्कालीन शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेर राणासँग आफ्ना कुरा राख्यो । तर, उनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको कुरा भएकाले यो निर्णय आफूबाट उल्टिन नसक्ने बताए । त्यसपछि तत्कालीन श्री ३ पद्मशमशेर जबरालाई नै भेटेर यो समस्या समाधान गरियो । पद्मशमशेरले समुदायका स्कुलमा युनियन खोल्ने अनुमतिबाहेक सबै माग पूरा गरे । 

यसअघि काठमाडौँमा दरबार स्कुलबाहेक अर्को एउटा मात्र स्कुल थियो, जुद्धोदय पब्लिक स्कुल । जुद्धोदय नाममा पब्लिक भए पनि पूर्णत: सरकारले सञ्चालन गरेको थियो । तसर्थ, काठमाडौँमा जनस्तरमा खोलिएको पहिलो पब्लिक हाई स्कुल शान्ति निकुञ्ज भयो, जो अद्यापि भौकेव, मरुटोलमा सञ्चालनमै छ ।

प्रकाशित: माघ २७, २०७३