खेत–खेतमा घरबस्ती

  • जग्गा प्लटिङले खाद्यान्न उत्पादनमा भारी गिरावट

- पर्वत पोर्तेल

काँकडभिट्टा ।। झापाको कनकाई–१ स्थित जामुनबारी पर्यटकीय क्षेत्र जोड्ने पक्की सडक वरपर यसपटक धान उत्पादन राम्रै भएको थियो । वर्षमा दुई बाली धान फल्ने यो उर्वरभूमिमा अर्को वर्ष धान फल्ने छैन । किनभने, यसै पटकदेखि यहाँ जग्गा टुक्रा गरी बिक्री गरिँदै छ । 

यो एउटा उदाहरण हो । कनकाई नगर क्षेत्रमा मात्रै होइन, अहिले जिल्लाभरि नै खेतीयोग्य जमिन मास्दै धमाधम जग्गा प्लटिङ गर्ने बेथिति मौलाएको छ । “बालुवा रोपेर घर फलाउने व्यवसाय फस्टाएको छ झापामा,” जिल्ला कृषि विकास कार्यालयका सहायक प्राविधिक शालिग्राम भट्टराई भन्छन्, “प्लटिङका नाममा बर्सेनि खेतीयोग्य जग्गा सकिँदै छ ।” 

झापा, बुधवारे–९, हात्तीसुढे क्षेत्र जिल्लामै सबैभन्दा बढी धान फल्ने क्षेत्र थियो । वर्षमा तीन बाली फल्थ्यो । अहिले प्लटिङले ध्वस्त पार्‍यो । 

एक समय झापा अन्न उत्पादनमा देशकै पहिलो थियो । धान उत्पादनमा झापाको ख्याति देशभर थियो । विसं ०२०/२५ ताका झापामा उत्पादित धान, चामल नेपालमा खपत भएर बाँकी रहेको भारत निर्यात हुन्थ्यो । तर, अहिले समय बदलियो । खेतीयोग्य जमिन प्लटिङका कारण धमाधम सकिँदै गएपछि ‘ अन्नको भण्डार’मा अन्नबालीको उत्पादन नराम्ररी घटेको छ । अहिलेको जमिनबाट उत्पादित धानले जिल्लामै पनि चार–पाँच महिना पुग्दैन । “पहिला यताबाट भारत जान्थ्यो, अहिले भारतबाट आएको आयै छ,” प्राविधिक सहायक भट्टराई भन्छन् । 

कृषि विकास कार्यालय झापाले कुल खेतीयोग्य जमिनमध्ये तीन हजार हेक्टरभन्दा बढी उर्वर जमिन प्लटिङमा परिणत भइसकेको जनाएको छ । झापाको मूल खेतीयोग्य जमिन ९९ हजार हेक्टर थियो । एक हजार हेक्टर जमिन उत्पादन नै नहुने गरी बाँझिएको छ । बाँकी ९८ हेक्टर जमिनमध्ये ९० हजार हेक्टरमा धान उत्पादन हुन्छ । “तीन हजार हेक्टर त अनुमान मात्रै हो, अझ बढी जमिनमा प्लटिङ भएको हुनुपर्छ,” भट्टराईको कथन छ, “प्लटिङका कारण बर्सेनि उत्पादनसमेत घटिरहेको छ ।” एक बिघा जमिन प्लटिङ गर्दा आसपासका करिब १५ देखि २० बिघा जमिनलाई प्रत्यक्ष असर हुने गरेको छ । 

झापाका मुख्य सहर बिर्तामोड, दमक, मेचीनगर, भद्रपुर, सुरुंगा, बुधबारे, चारआलीलगायत दक्षिण क्षेत्रका गाउँमा पनि प्लटिङ फस्टाएको छ । 

दक्षिणको हुलाकी राजमार्ग निर्माण हुने भएपछि यो क्षेत्रमा पनि प्लटिङ बढेको छ । ‘यो क्षेत्रको भविष्य राम्रो छ’ भन्दै सामान्य भाउका जमिन महँगो मूल्यमा बिक्री भइरहेका छन् । उत्तरी गाउँहरू शनि अर्जुन, बाहुनडाँगी, ज्यामिरगढी, शान्तिनगर, खुदुनाबारीमा पनि प्लटिङ फस्टाएको छ । मेचीनगरको काँकडभिट्टा, इटाभट्टा, जोरसिमल र धुलाबारी क्षेत्रमा प्लटिङ तीव्र छ । चिया बगान फाँडेर, बगैँचा मासेर, पोखरी, खोलानाला पुरेर पनि प्लटिङ भइरहेको छ । 

भू–उपयोग नीतिविपरीत हुने प्लटिङ नियन्त्रणका लागि सरकारले स्थानीय निकायलाई कडाइ गर्न निर्देशन दिइसकेको भए पनि अनुमतिबिना जग्गा प्लटिङ गरेर खुलेआम बिक्री–वितरण भइरहँदा सम्बन्धित निकाय मौन छ । 

आयातको ओइरो

बढ्दो जमिन प्लटिङका कारण अव्यवस्थित सहरीकरणसँगै भविष्यमा खाद्य संकट बढ्न सक्ने आर्थिक क्षेत्रका विज्ञहरूको चिन्ता छ । मेची भन्सार कार्यालयका अनुसार गत वर्ष ४६ करोड ३३ लाख ३६ हजार २ सय ७६ रुपियाँ बराबरको १ करोड ९५ लाख १ हजार ३ सय किलो चामल आयात भएको छ । त्यस्तै, सोही वर्ष १० करोड ५७ लाख ७ हजार ३ सय ५१ रुपियाँको ४१ लाख ४५ हजार ५ सय ६३ किलो धान भित्रिएको छ । 

चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँचमहिने अवधिमा १२ लाख ९३ हजार ३ सय ७१ रुपियाँ बराबरको ५४ हजार ६ सय किलो धान र ४६ करोड ३३ लाख २८ हजार १ सय २७ रुपियाँ बराबरको ९९ लाख ३२ हजार ५ सय किलो चामल आयात भएको छ ।
 

 

प्रकाशित: माघ २६, २०७३