आवरण कथा» सिर्जनशील स्व–रोजगार

  • स्वप्नदर्शी स्टार्ट–अप उद्यमीका संघर्ष र सफलता

- गोकर्ण गौतम

धूलो छ, धूवाँ छ, राजनीतिक अस्थितरता छ, बन्द भइरहन्छ । समस्यै समस्या देखिन्छ सबैतिर । यस्तै समस्याबाट आजित भएर दैनिक १ हजार ५ सय युवा कामको खोजीमा परदेश भासिन्छन् । बाँकी जो छन्, धेरैजसो त जागिरको खोजीमै अलमलिइरहेका हुन्छन् । जागिरका लागि अवसर थोरै छ, त्यसैले धेरै बेरोजगार छन् । तर, सत्य यत्तिमै सीमित छैन, यावत् अवरोधलाई चिर्ने र समस्यालाई ‘ क्यापिटल’ (पुँजी)मा बदल्ने ऊर्जाशील उद्यमी पनि छन्, यही देशमा । यस्ता ‘स्टार्ट–अप’ (सिर्जनशील र नवीन उद्यम), जसले ‘पेन’ (दु:ख)लाई ‘गेन’ (फाइदा)मा रुपान्तरण गरे/गरिरहेका छन् । 

तीव्र इच्छाशक्ति र लगनशीलता उनीहरुको खास हतियार हो । जोसँग सपना छ अनि त्यसलाई पूरा गर्ने आत्मविश्वास र धैर्य । जो पैसा वा पढाइ, यो र त्यो बहाना देखाएर पन्छिएनन् । सिर्जनशीलता र मौलिकता खोजे । विरासत होइन, विनिर्माणमा विश्वास राखे । आफ्नो बजार आफैँ विस्तार गरे । जागिर नभई स्व–रोजगार उनीहरुको रोजाइ रह्यो । नेपालले त्यस्तै स्वप्नदर्शी स्टार्ट–अप उद्यमीका संघर्ष र सफलतालाई समेटेको छ । 

चट्ट परेको कफी 

तीन वर्ष अमेरिका बसेर फर्कंदा आशिष अधिकारी, ३५, को हातमा न शैक्षिक प्रमाणपत्र थियो, न ग्रिनकार्ड, न सीप, न त भनेजति पैसा नै । थियो त केवल, नेपालमा के गर्ने भन्ने अन्योल । धेरै मात्र होइन, सात वर्षअगाडिको कुरा हो यो । तर, अहिले तिनै अधिकारीले ५० युवालाई प्रत्यक्ष रोजगारी दिएका छन् । आफैँले खोलेको कफी सप रेडमड कफीबाट । सहरका कफी पारखीका लागि रेडमड छिर्नु अनि भिन्न स्वादमा कफीको चुस्की लिनु नियमितजस्तै भइसकेको छ । रेडमडमा नेपालमै उत्पादित कफी मात्र पाइन्छ । त्यसैले ग्राहकको प्रेम र सान्त्वना पनि उत्तिकै छ । 

अमेरिकाबाट फर्किएको तीन महिना त्यत्तिकै बित्यो । अमेरिकामा १२–१४ घन्टा काम गरिरहेको मान्छे, त्यत्तिकै बस्दा झन् छटछटी हुन थाल्यो । तर, जागिर खाने कि व्यापार गर्ने, टुंगो थिएन । अमेरिका हुँदा उनले रेस्टुराँ, सेल्सदेखि सामान आयात/निर्यात कम्पनीसम्ममा काम गरे । तर, उनको मन बसेको थियो, साना लगानीका उद्यमप्रति । लगानी सानो भए पनि प्रतिफल ठूलो हासिल गरेका कम्पनी उनकै आँखाले देखेको थियो । त्यस्ता केही सफल र सिर्जनशील उद्यमीसँग उनको चिनापर्ची पनि थियो । अधिकारी सम्झन्छन्, “मलाई पनि जागिर खानभन्दा त्यस्तै केही उद्यम गर्न मन थियो तर मेलोमेसो ठम्माउन सकेको थिइनँ । पैसा पनि त थिएन ।” तर, इच्छाशक्तिले भरिएका थिए अधिकारी । दुई जना साथीसँग मिलेर नेपालीपन झल्कने टि–सर्ट डिजाइनको काम थाले । डिग्निटीडटकम भन्ने वेबसाइट खोले । त्यतिबेलाका लागि यस्ता फरक र नेपाली गर्व झल्कने टि–सर्ट नौलो थियो । माग बढिरहेकै बेला एउटा साथी क्यानडा हानिए । आठ महिनापछि सेलायो, त्यो प्रयास ।

एक खालको निराशाकै बीच अधिकारी ट्रेकिङमा निस्किए, नेपाल घुम्ने र ‘फ्रेस’ हुने उद्देश्यले । अन्नपूर्ण, गोरखा र मनास्लु पदमार्ग फेरो मार्ने क्रममा उनले थाहा पाए कि नेपालमा पनि कफी उत्पादन हुन्छ । काठमाडौँ फर्किएपछि नेपाली कफी कसरी उचित मूल्य र स्तरमा विदेशमा बेच्न सकिन्छ भनेर घोत्लिए । विश्वमा तेलपछि सबभन्दा बढी व्यापार हुने कफी हो भन्ने थाहा पाएपछि झन् हौसिए तर लगानीदेखि निर्यातसम्म अवरोध मात्र थियो । त्यतिबेला उनी थापाथलीको कफी प्वाइन्टमा बसेर इन्टरनेटमा कफीबारे नै अध्ययन गर्थे । एक दिन थाहा पाए, त्यही कफी प्वाइन्ट बिक्रीमा छ । अधिकारी भन्छन्, “कफी सप कसरी चलाउने केही आइडिया थिएन तर नेपालीमा कफीप्रेम यत्ति बढेको देखेँ कि कफी प्वाइन्ट किन्ने टुंगोमा पुगेँ ।” 

ऋणपान र सरसापटबाट १५ लाख रुपियाँ जुटाएर कफी प्वाइन्ट किने । नाम परिवर्तन गरेर रेडमड क्याफे राखे । यसका पछाडि पनि कारण छ, उनीसँग । भन्छन्, “गोरखा, लमजुङ, ललितपुर जता पनि रातै माटोमा कफी फल्थ्यो । त्यसैले फलेको ठाउँ स्मृतिमा आओस् भनेर रेडमड नामकरण गरेँ ।” त्यतिबेला उनीसँग अर्का एक सहयोगी थिए, उनी कफी बनाउने, टेबल र भुइँ पुछ्ने, कप पखाल्ने सबै काम आफैँ गर्थे । सुरुमा एक दिनमा ४० कप बेच्दा दंग पर्थे, ६ महिनापछि दिनको ७० कप बिक्न थाल्यो । कर्मचारी पनि थपे । बेलायतबाट फर्किएका मित्र प्रवेश हुमागाईंलाई साझेदार बनाए । 

कफी पसल खोल्नु नौलो थिएन, नौलो के थियो भने एक त उनले स्वदेशी, त्यसमाथि कुन ठाउँको कफी भनेर ग्राहकलाई जानकारी गराउँथे । अमेरिकानोलाई थोरै गुलियो बनाएर नेपालीकानो बनाए । उनको कफीको चिनारी नै बनिसकेको छ, ‘चट्ट परेको कफी’ । बिस्तारै बेकरी र अन्य खानेकुरा राख्न थाले ।

भन्छन्, “हामीले जे गर्‍यौँ, ग्राहकको रोजाइ अनुसार गर्‍यौँ, जे सिक्यौँ, यूट्युबबाट सिक्यौँ । हाम्रो आफ्नोपन त छँदै थियो ।” दुई वर्षपछि ललितपुरको झम्सीखेलमा आउटलेट विस्तार गरे । त्यसपछि गैरीधारा । मनाङ घुम्ने क्रममा एउटा विदेशी ब्रान्डको कफी सप देखेपछि उनको मन कुँडिएछ । “तल लमजुङमा कफी फल्छ तर मनाङमा विदेशी कफी बेचेको देखेँ,” राजधानीमा दुई आउटलेट विस्तार गर्ने क्रममा रहेका अधिकारी सुनाउँछन्, “त्यसैले मनाङमा पनि आउटलेट खोलेका छौँ, जुन वर्षको पाँच महिना मात्र खुल्छ ।”

अधिकारीको मुख्य उद्देश्य हो, नेपाली कफीको नेपालमै र विदेशमा क्रेज बढाउने । त्यसका लागि उनी कफी ब्लेन्ड गरेर बेच्दैनन् मात्र, वर्षमा एकपटक कफी उत्पादन हुने ठाउँमै पुग्छन् पनि । उनको बुझाइमा भीरमा एक बाल्टी कफी टिप्न कति गाह्रो पर्छ भन्ने नभोगी त्यसको महत्त्व थाहा हुन्न । बाँकी विश्वको तुलनामा नेपाली कफी पेयमैत्री र फरक स्वादको छ । त्यसैलाई ‘ क्यास’ गर्ने उनको योजना हो । रेडमडको थप विस्तारका लागि तीन विदेशी लगानीकर्ता भेटिसकेका अधिकारी भन्छन्, “लगनशीलता चाहियो, नेपालमै फल्छ डलर ।”

सजिलो स्कुल म्यानेजर

झापा, दमकका रोशन लिम्बू, २८, विद्यार्थीकालमा ‘बंक’ हान्न माहिर थिए । स्कुल फि खाजा खाएर र रमाइलो गरेर सिध्याउँथे । समयमा स्कुल जाने र गृहकार्य गर्ने चलन नै थिएन । तर, उनका यी हर्कतको नालीबेली घरसम्म कहिल्यै आइपुगेन । कारण, बुबा नेपाल प्रहरीको जागिरे, कहिल्यै घर बस्न नपाउने । आमा गृहिणी, घरबाट कहिल्यै ननिस्कने । स्कुललाई पनि मतलबै भएन । त्यसैले उनलाई सधैँ पास हुनै धौधौ हुन्थ्यो । उनी ती दिन सम्झन्छन्, “धन्न, म कुलतमा चाहिँ फसिनँ । मेरा कति साथीहरूको त जीवन बर्बाद भएको छ ।” 

ठूलो हुँदै गएपछि लिम्बूले बुझे, विद्यालय, अभिभावक र विद्यार्थीबीच समन्वय र उचित सञ्चारको अभाव नै आफ्नो बाल्यकाल डामाडोल हुनुको जड थियो । थोरै स्वरूप फेरिएको होला तर अहिले पनि अधिकांश विद्यार्थी र अभिभावक त्यस्तै हालतबाट गुज्रिएका छन् । त्यही पीडाको प्रतिफल हो, उनले तयार पारेको सफ्टवेयर, ‘सजिलो स्कुल म्यानेजर’ । जसले शिक्षक र विद्यालय प्रशासनसँग अभिभावकको प्रत्यक्ष सम्पर्क गराउँछ, चाहे स्वदेशमा हुन्, विदेशमा । सामान्य रूपमा भन्दा उक्त सफ्टवेयरले चौबीसै घन्टा विद्यार्थीलाई ‘ट्रयाक’ गरिरहेको हुन्छ । 

यो उपयोगी सफ्टवेयरका जन्मदाता लिम्बू, जो आफैँ अभिभावकत्व र विद्यालयको रेखदेख नपुगेर हुर्किए, कै विगत पल्टाऔँ फेरि । एसएलसी गरेपछि उनी काठमाडौँ आए । पढाइ राम्रो थिएन, मानविकी संकायमा भर्ना भए । सफ्टवेयर नेपाल भन्ने वेबसाइट बनाउने कम्पनीमा काम गर्न थाले, कार्यालय सहयोगीका रूपमा । बच्चा हुँदा आक्कलझुक्कल पेन्टिङ गर्ने उनको ध्यान फोटोसपतिर मोडियो । लुकीलुकी फोटोसप चलाउन थाले । बिस्तारै वेबसाइट बनाउन सिक्न थाले, रत्नपार्कमा किनिएका मोटामोटा किताब हेर्दै । त्यहीबीचमा दमक फर्किए, लाहुरे बन्ने लहडमा । तर, छनोट प्रक्रियामा बीचमै फालिएपछि पासपोर्ट बोकेर काठमाडौँ आए । खाडी मुलुक उड्नु, एउटै उद्देश्य थियो त्यतिबेला । तर, स्कुलमा जागिर पाएपछि खाडीको यात्रा रोकियो । 

नौ वर्षअगाडि १४ हजार रुपियाँ थियो तलब तैपनि मन खुसी थिएन । कारण, इच्छा थियो– कप्युटर चलाउने, सफ्टवेयर र बेवसाइट बनाउने । तर, स्कुलमा खत्र्याकखुत्रुक काममै अल्झिरहेका थिए । संयोगले त्यसबेला एनिमेसन गर्ने कम्पनीबाट जागिरको अफर आयो । लिम्बू मुस्कुराए, “तर, तलब जम्मा सात हजार थियो । तैपनि मैले स्कुल छोडिदिएँ ।” एक वर्षपछि आफैँले बागबजारको कम्प्युटर सिकाउने इन्स्टिच्युट इटोन टेक्नोलोजी किने । तर, एकोहोरो पढाइरहँदा दिक्क लाग्न थालेछ । अनि, के गर्ने त ? त्यही बेला ‘क्लिक’ भएको थियो, आफ्नो बाल्यकालको पीडा र त्यसको दीर्घकालीन असर । “काठमाडौँका औँलामा गन्न सकिने केही स्कुलबाहेकले विद्यार्थीको हरेक गतिविधि अभिभावकलाई जानकारी गराउँदैनन् । व्यस्तता र केहीको बेवास्ताले गर्दा अभिभावकलाई पनि सन्तानको खासै ख्याल हुन्न,” उनले सजिलो स्कुल म्यानेजर बनाउनुको कारण यसरी खोतले, “यो समस्यालाई प्रविधिको प्रयोग गरेर कसरी समाधान गर्न सकिन्छ भनेर घोत्लिन थालेँ ।” 

त्यसपछि उनले इटोनको ढोका बन्द गरे । बुलेट बाइक बेचे । उनको सपनालाई मूर्त रूप दिन आइपुगे, मित्रद्वय प्रबल प्रधान र राकेश श्रेष्ठ । आठ महिना बित्यो र निक्लियो, सजिलो स्कुल म्यानेजर सफ्टवेयर, एप्स अनि बेवसाइट । सफ्टवेयर नामजस्तै सजिलो र प्रयोगकर्ता–मैत्री छ । स्कुलमा सफ्टवेयर ‘इन्स्टल’ गरेपछि हरेक विद्यार्थीको छुट्टै एकाउन्ट हुन्छ, परीक्षाको नतिजा, स्कुल गएको र घर फर्किएको समय, अन्य क्रियाकलापमा सक्रियता, मासिक शुल्क बुझाएको जस्ता हरेक विवरण समेटिने उक्त एकाउन्ट अभिभावक र शिक्षकले मात्र लग–इन गर्न सक्छन् । स्कुलका हरेक सूचना एकसाथ सबैलाई म्यासेज जान्छ । भनेकै समयमा बच्चा स्कुल पुगेन वा हाजिर गरेन भने अभिभावकको मोबाइलमा ‘रियल टाइम नोटिफिकेसन’ जान्छ । बाटोमा स्कुल बस कुरेर बस्नु पर्दैन ।

गाडीमा जडित जीपीएसबाट बस कहाँ आइपुगेको छ, मोबाइलमै थाहा हुन्छ । लिम्बू भन्छन्, “भर्चुअल रूपमा भए पनि यो सफ्टवेयरले विद्यार्थीलाई अभिभावक र विद्यालयको आँखाभन्दा बाहिर जान दिँदैन ।” 

रमाइलो त के भने यो सफ्टवेयर बजारमा आएको जम्मा ६ महिना भयो, बजार प्रवद्र्धनमा भने एक रुपियाँ पनि खर्च गर्नुपरेको छैन । ५३ वटा स्कुलले सफ्टवेयर खरिद गरिसके । दमक, विराटनगर र इटहरीबाट पनि उस्तै माग भइरहेको छ । यति बहुआयामिक फाइदा भए पनि सफ्टवेयर, एप्स अनि वेबसाइटको जम्मा ३० हजार रुपियाँ । जबकि, यति रकममा त सामान्य बेवसाइट पनि बन्दैन । अफलाइन सफ्टवेयर बनाउन तल्लीन लिम्बू भन्छन्, “पैसाको कारण कुनै विद्यालय प्रविधिबाट टाढा नहून् र विद्यार्थी गलत बाटोमा नलागून् भन्ने सोचले सस्तोमा बेचिरहेका छौँ ।” 

अब ‘क्लाइमेक्स’मा जाऔँ, यति उपयोगी, आधुनिक र मौलिक सफ्टवेयर विकास गरेका लिम्बूले सूचनाप्रविधि (आईटी)को ‘अ’ पनि पढेका छैनन् । तर, उनकै मातहतमा हाल १५ जना इन्जिनियर काम गरिरहेका छन् । इच्छाशक्ति र लगनशीलता भएपछि पैसा र पढाइ बाधक बन्दोरहेछ त ?

क्लिनिङ कमाइ

समयको खेल न हो, पदम महत, ४३, साउदी अरब भासिनुपर्दा भर्खर १६ वसन्त टेक्दै थिए । ०४६ को जनआन्दोलनका दौरान राज्य पक्षबाट ज्यानै जोखिममा परेपछि तनहुँका महत उमेर बढाएर पासपोर्ट बनाउन बाध्य भए । त्यसपछिका २३ वर्ष अर्थात् आधा उमेरभन्दा धेरै विदेशी भूमिमा पसिना बगाए, साउदी अरबबाट सिंगापुर, कतार अनि दुबईसम्म । तर, अहिले तिनै महत ६० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् स्वदेशमै, क्लिन एन्ड फ्यासिलिटी म्यानेजमेन्ट (सीएफए)मार्फत । जब कि, तीन जना कर्मचारी राखेर यो कम्पनी खोलेको तीन वर्ष बित्दै छ । उनको यो कम्पनीले निजी वा व्यावसायिक भवन तथा कार्यालयहरूको सरसफाइ तथा संरक्षण गर्छ । तर, यहाँसम्म आइपुग्दा उनले स्वदेश र विदेशमा खाएको ठक्कर आफैँमा प्रेरणादायी छ ।

साउदी अरबको तातो हावामा दिनभर पसिना बगाउँदा महिनामा १० हजार बचाउन धौधौ हुन्थ्यो । त्यति फुच्चे केटो, घरको यादले उस्तै सताउँथ्यो । यता, पञ्चायत व्यवस्था पनि ढल्यो । १८ महिनापछि फर्किए । पढाइलाई निरन्तरता दिए । महत भन्छन्, “व्यवस्था बदलिए पनि नेताको सोच उही थियो । हिजो आफैँसँग आन्दोलन गरेका साथीप्रति वितृष्णा जागेपछि फेरि विदेशिनुको विकल्प रहेन ।”

त्यसपछि सिंगापुर गए उनी । तर, श्रम स्वीकृति नपाएपछि आठ महिनामै फर्कनु पर्‍यो । अनि, उडे कतार । त्यहाँ आठ वर्ष काम गरे । परिपक्व हुँदै गएपछि फेरि ‘नेपालमै केही गर्ने’ जबर्जस्त सोच पलायो । तनहुँमा कम्प्युटर इन्स्टिच्युट खोले । अनुभव केही थिएन, के चलोस् ? त्यसपछि काठमाडौँमा बच्चाहरूका लागि ‘डे–केयर’ खोल्न थाले । काम पनि सुरु भइसकेको थियो, ठ्याक्कै त्यही बेला दुबईको ब्रिटिस फ्यासिलिटिज् म्यानेजमेन्ट कम्पनीबाट लोभलाग्दो अफर आयो । अनि, उतै हानिए । दुबईमा भने धेरै सीप सिक्ने मौका पाए । तलब मासिक तीन लाख रुपियाँ हुन्थ्यो । परिवार लैजान मिल्ने अनि गाडी र ड्राइभरको सुविधा पनि । उनी भावुक सुनिए, “देशको माया लागेर त्यति सानो उमेरमा आन्दोलनमा लागेँ तर जवानी जति सबै विदेशमा बितिसकेको थियो । आफैँदेखि दिक्क लाग्न थाल्यो ।” 

अनि, उनी नेपाल फर्किए । तर, गर्नेचाहिँ के ? अन्योल थियो । त्यहीबीचमा वैदेशिक रोजगारमा जानुअघि गरिने स्वास्थ्य परीक्षण केन्द्र खोले । ज्ञान केही थिएन, अरू साझेदारहरू चोर बाटोबाट पैसा कमाउन लागे । उनले सहन सकेनन्, आफैँ निक्लिए । त्यसपछि विदेश जानका लागि तालिम दिइने प्रतिष्ठान खोले । न अनुभव थियो, न आइडिया । त्यो पनि चलेन । निराशाको दलदलमा फस्नै लागेका बेला उनको दिमागमा एउटा कुरा क्लिक भयो । “मैले यहाँ जे गरिरहेको थिएँ, त्यसमा म कत्ति पनि दक्ष थिइनँ । जेमा दक्ष थिएँ, त्यसलाई चाहिँ बेवास्ता गरिरहेको रहेछु,” सीएफएम खोल्नुपछाडिको कारण यसरी खोले उनले, “त्यसैले चारतिर मन डुलाउन छाडेँ ।” उनले जानेको कुरा अर्थात् क्लिन र फ्यासिलिटी नेपालका लागि नयाँ मात्र होइन, आवश्यक बनिसकेको थियो । त्यसैले त १० लाखमा सुरु गरेको यस कम्पनीको बजार मूल्य ६० लाख रुपियाँ पुगेको छ अहिले । 

हामीकहाँ करोडौँ खर्चेर भव्य संरचना बनाइन्छ, सजावट सामग्री त्यस्तै महँगो हुन्छ तर नियमित सफा र संरक्षण गर्ने अभ्यास छैन, जसले गर्दा संरचना र सामग्रीको आयु ह्वात्तै घट्छ, सुन्दरतामा पनि ह्रास आउँछ । यही समस्यालाई समाधान गर्ने र दुबईमा सिकेकै कुरा व्यवहारमा उतार्ने उद्देश्यले उनले सीएफएम सुरु गरेको उनको भनाइ छ । व्यक्तिगत आवास, कार्यालयदेखि व्यापारिक कम्प्लेक्ससम्मका झ्यालढोका मर्मत, सोफा–कार्पेट सफा गर्ने, रंगरोगनजस्ता मर्मत–सम्भारको सबै जिम्मा लिन्छ उनको कम्पनीले । कर्मचारीहरू घरघरमै पुगेर सेवा दिन्छन् । राजधानीका केही दूतावास अनि व्यापारिक भवनले सीएफएमको नियमित सेवा लिइरहेका छन् । चितवन, पोखरा र बुटवलमा शाखा विस्तार गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । महतको कम्पनीमा काम गर्ने कि त खाडी जान सीप सिक्ने हुन्छन् कि फर्किएका त कोही विदेश जाने सपना त्यागेका । उनको अनुभव भन्छ, “लहलहैमा होइन, आफूले जे काम जानेको छ, त्यही काम गर्नुपर्छ, फाइदै–फाइदा छ ।” 

अनलाइन औषधि पसल 

आईटी इन्जिनियर हुन्, सञ्जीव सिंह, ३२ । बहिनी सवि सिंह, २७, ले चाहिँ पूर्वाञ्चल विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातक गरेकी छन् । अर्थात् दाजु–बहिनीको अध्ययन क्षेत्र बिलकुल भिन्न । परम्परागत आँखाबाट हेर्दा यस्तै लाग्छ । तर, यो सोचाइलाई गलत साबित गरिदिएका छन् उनीहरूले । जसको प्रमाण हो, उनीहरूको अध्ययन र अनुभवको ‘मर्जर’पश्चात् जन्माइएको–अनलाइन औषधि । यसको प्राविधिक पाटो सञ्जीव हेर्छन् अनि औषधिको पाटो सवि । सामान्य रूपमा बुझ्दा यो अनलाइन औषधि पसल हो, जसले अनलाइनबाट अर्डर लिएर औषधि बिरामीको घरै पुर्‍याइदिन्छ । तर, यथार्थ यत्तिमै सीमित छैन, खासमा यो बिरामीको स्वास्थ्य उपचार विवरणको डिजिटल ‘अर्काइभ’ पनि हो । 

औषधि पसलप्रति लगाव बढ्नुको आफ्नै कहानी छ– सञ्जीव र सविसँग । कालीमाटीमा उनीहरूका पिताले फार्मेसी चलाएको ३५ वर्ष भएछ । केटाकेटी छँदा उनीहरू त्यही फार्मेसीमा खेलेर हुर्किए । ठूलो हुँदै गएपछि बुबालाई औषधि बेच्न सघाउन थाले । बिस्तारै थाहा पाउँदै गए, औषधिको अभाव भएको, टाढा–टाढाबाट औषधि लिन आउनु परेको । नियमित औषधि खानेहरू सकिएपछि हस्याङफस्याङ गर्दै आइपुग्थे । कुनै औषधि म्याद सकिसक्दा पनि फार्मेसीमै रहन्थ्यो ।

माघ तेस्रो साता झम्सिखेलस्थित अफिसमा सविले पुराना दिन सम्झिइन्, “त्यतिबेलै औषधिजस्तो अत्यावश्यक कुरामा देखिने यी समस्या कसरी समाधान होला जस्तो लाग्थ्यो तर हामीले गर्न सक्ने केही थिएन । त्यसैले चुप बस्थ्यौँ ।” पछि उनी पब्लिक हेल्थ पढ्न थालिन्, दाइचाहिँ इन्जिनियरिङ । प्रोजेक्ट वर्करुममा उनले ‘ फार्मेसी म्यानेजमेन्ट सिस्टम’ बनाए, जसबाट म्याद सकिन लागेका औषधिबारे पहिल्यै जानकारी पाउन सकिन्थ्यो । बुबाको फार्मेसीमा यो सफ्टवेयर प्रयोग गरे, उपयोगी देखियो ।

तर, यसमै चित्त बुझिरहेको थिएन, अर्कातिर दाजुबहिनीलाई सँगै कुनै नवीन उद्यम सुरु गर्न मन थियो, त्यही बेला फुरेको थियो, अनलाइन औषधिको अवधारणा । “औषधि किन्न फार्मेसी नै धाउनुपथ्र्यो, अनलाइनमा किन्न पाइनन्थ्यो,” सञ्जीवले सुनाए, “त्यसैले त्यस्तो सिस्टम बनाउन म घोत्लिएँ, जसले औषधि सहज उपलब्ध होस्, बिरामीको प्रेस्क्रिप्सन पनि सुरक्षित राख्न सकिओस् ।” प्रेस्क्रिप्सन भनेको स्वास्थ्यको बायोडाटा हो तर हामीकहाँ यसलाई औषधि किन्ने सामान्य चिर्कटोजस्तो ठानिन्छ । प्रेस्क्रिप्सनप्रतिको लगाव र व्यवहार परिवर्तन गराउने प्रयास गरेको सविले सुनाइन् । 

अनलाइन औषधिमा औषधि किन्न सबभन्दा पहिले बिरामी वा परिवारले प्रेस्क्रिप्सन उपलब्ध गराउनु पर्छ । त्यसपछि बिरामीसँग प्रत्यक्ष संवाद गरिन्छ अनि मात्र औषधि उपलब्ध गराइन्छ । बिरामीले कुन औषधि कति दिन खायो, कति दिन बाँकी छ, कति पैसाको औषधि किने, सबै विवरण वेबसाइटमा राखिएको हुन्छ, जुन बिरामी वा उनको नजिकका आफन्तले मात्र हेर्न सक्छन्, लगइन गरेर । उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सरजस्ता दीर्घकालीन रोगका बिरामी अनलाइन औषधिका नियमित ग्राहक हुन् । प्रत्येक बिरामीका लागि घटीमा तीन महिनाको औषधि स्टक राखिएको हुन्छ । “नेपालमा भएका आमाबुबालाई औषधि उपलब्ध गराउन र नियमित खाए/नखाएको रेखदेख गर्न विदेशबाट सम्पर्क गर्नेहरू बढ्न थालेका छन्,” नेपालमा पहिलो अनलाइन फार्मेसी चलाएकी सविले खुसी हुँदै सुनाइन्, “हामी औषधिका लागि भर्चुअल प्यारेन्ट्स बन्न खोजिरहेका छौँ ।” त्यसैले विश्वास जित्न र सहज महसुस गराउन उनीहरू बिरामीसँग नियमित सम्पर्कमा बस्छन् । 

अनलाइन औषधिको मुख्य लक्षित क्षेत्र हो, उपत्यकाबाहिर । जहाँ औषधि पाउनै मुस्किल पर्छ, एक पत्ता औषधि किन्न समय र पैसा खर्चेर काठमाडौँ आउनुपर्छ । खुसीको कुराचाहिँ, काठमाडौँबाहिरबाट माग बढ्न थालेको छ । अब उनीहरू विभिन्न सहरका फार्मेसीसँग समन्वय गर्ने औषधि उपलब्ध गराउने गृहकार्य गर्दै छन् । ठूला कम्पनी, घर र घुमफिर गर्नेका लागि छुट्टाछुट्टै ‘फस्ट एड् बक्स’ (प्राथमिक उपचार बाकस) तयार पारेका छन् । ६ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका सञ्जीव दंग छन्, “हामीले बुबाकै कामलाई निरन्तरता दिएका हौँ तर आधुनिकता र समयानुकूल बनाएर । विरासत पनि थामियो, नौलो काम पनि भयो ।” 

धूवाँरहित इँटा 

भक्तपुरको पहिचान हो, इँटा । तर, इँटाभट्टाबाट निस्कने धूलो र धूवाँले भक्तपुर प्रदूषित बनाएको अर्को सत्य हो । सुन्दरता चम्काउन मात्र होइन, धुमिल्याउन पनि इँटाकै भूमिका छ । न इँटा उत्पादन रोक्न सकिने अवस्था छ, न प्रदूषण नै नियन्त्रण भइरहेको छ । बच्चैदेखि भक्तपुरको यही नियतिका साक्षी हुन्, विक्रम प्रजापति, ३३ । उनी हुर्कंदै गर्दा चारैतिर अलिअलि हरियाली थियो, अहिले त इँटाभट्टा मात्र । मेकानिकल इन्जिनियरिङ पढेका यी तन्नेरीले भक्तपुरमा विकराल बनिरहेको यही समस्यालाई उद्यममा बदलेका छन्, बडो सिर्जनात्मक र व्यावहारिक शैलीमा । उनले पनि बनाउने त इँट्टा नै हो तर न धूलो आउँछ, न धूवाँ । वातावरणमैत्री इँटा उत्पादन गर्ने कम्पनी वज्र ब्रिक्सका योजनाकार तथा प्रमुख कार्यकारी अधिकृत प्रजापति भन्छन्, “समस्याबाट भाग्ने होइन, उद्यमीहरूले समस्यामै अवसर खोज्नुपर्छ । एकातिर समस्या समाधान हुन्छ, अर्कातिर पैसा कमाइन्छ ।” 

पुल्चोक इन्जिनियरिङ कलेजको अन्तिम वर्षमा ‘प्रोजेक्ट वर्क’ गर्नुपथ्र्यो । कसैले हवाईजहाज बनाए, कसैले के † तर, प्रजापतिलाई यस्ता ठूलठूला प्रोजेक्टभन्दा व्यावहारिक जीवनमा उपयोगी हुने सामान्य प्रविधि बनाउन मन थियो । त्यसैले दुई जना साथीसँग मिलेर इँटाभट्टाबाट फिल्टर गरेर मात्र धूवाँ फाल्ने मेसिन बनाउन लागिपरे । ६ महिनामा मेसिनको पूरै डिजाइन तयार भयो । तर, रकम अभावमा त्यसले मूर्त रूप पाएन । पढाइ सकिनासाथ एउटा साथी क्यानाडा उडे, अर्का अमेरिका । अटोमोबाइल कम्पनीबाट अफर आएपछि उनी पनि जापान गए । त्यो प्रोजेक्ट तुहियो । जापानमा कमाइ पर्याप्त थियो तर मनमा सन्तुष्टि थिएन । त्यसैले आफ्नो हाकिमसँग नेपालमै काम गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । हाकिमले साथ दिए । इन्जिनियरिङ कम्पनी ईएनटी नेपालसँग काम गर्ने पक्का भएपछि तीन वर्षपछि जापान छाडे, ०६८ मा । 

ईएनटीमै आबद्ध भएर आँखाले देख्न नसकिने (हावा, तापक्रम आदि)लाई देख्न मिल्ने सफ्टवेयर बनाए । जागिर राम्रैसँग चलिरहेको थियो, एक्कासि पुल्चोक पढ्दाको प्रोजेक्ट वर्कको याद आयो । तर, त्यो मेसिनले धूवँै ननिकाल्ने त होइन, फिल्टर गर्ने न हो ! उनलाई जोश चलेछ, धूवाँ र धूलै ननिकाली इँटा बनाउने प्रविधि विकास गर्ने । त्यसैको प्रतिफल हो, वज्र ब्रिक्स । मामासँग मिलेर असार ०७२ मा उत्पादन सुरु गरिहाले । यसमा क्रसरबाट निस्केको ढुंगाको धूलो र सिमेन्ट मिसाएर इँटा तयार पारिन्छ । यसो हुँदा भट्टाबाट मात्र प्रदूषण रोकिएन, उस्तै असर गर्ने क्रसरको धूलो पनि सदुपयोग भयो । प्रजापतिले तयार पारेको इँटाको क्षमता ११ किलो प्रतिमिलिमिटर हुन्छ भने अरू स्थानीय इँटाको ६ किलो प्रतिमिलिमिटर । अनि, पैसा पनि सस्तो, एउटा वज्र ब्रिक्सलाई १३ रुपियाँ पर्छ भने सामान्य इँटालाई १६ रुपियाँ । 

बजारमा माग उच्च छ । त्यसैले उत्पादन बढाउनकै खातिर उनको कम्पनीमा विदेशी लगानीकर्ता पनि जोडिँदै छन् । रमाइलो त उनले पढेको र जापानमा गरेको भन्दा फरक इन्जिनियरिङ हो, वज्र ब्रिक्स । भन्छन्, “त्यसैले स्टार्ट अपका लागि पैसा र पढाइ बाधक हुन्न कहिल्यै ।” 

ब्रान्ड बिटर स्विट्स

नपुग्दो केही थिएन, एसएलसीमा ८८ प्रतिशत आएकै थियो तैपनि ए लेभलमा भर्ना हुनासाथ स्कुल पढाउन थालिन्, असनकी स्मृति तुलाधर, २३, ले । उद्देश्य एउटै थियो, आत्मनिर्भर हुने । हुन त बुबाको ट्राभल कम्पनीमा सघाएको भए पनि हुन्थ्यो । तर, त्यसो गर्न पनि मन मानेनछ । किन त ? उनको जवाफ सीधा छ, “त्यसो गरेको भए अहिले रुचि अनुसार विटर स्विट्स कम्पनी खोल्न सक्दिनथेँ होला ।”

विटर स्विट्स उनको चकलेटको ब्रान्ड हो, जसले एक वर्ष नपुग्दै काठमाडौँका ठूला होटल र व्यापारिक प्रतिष्ठानहरूलाई नियमित ग्राहक बनाउन सफल भएको छ । उनी आत्मविश्वासी सुनिन्छिन्, “स्वदेशी चकलेट भन्नासाथ नेपालीहरू नाक खुम्चाउँछन् । मेरो चाहना त्यही सोचलाई बदल्नु हो ।” विटर स्विट्सको व्यवस्थापनको मात्र होइन, नयाँ स्वादका चकलेट उत्पादन अनि बजार विस्तारको जिम्मेवारी पनि स्मृतिले नै सम्हालिरहेकी छन् । 

ए लेभलको परिणामपछि उनका साथीहरू कोही अमेरिका हानिए, कोही अस्ट्रेलिया । तर, स्मृतिलाई विदेश जाने मनपेटमै आएन । बरू लाजिम्पाटस्थित शंकर होटल अनि नगरकोटको हारती होटलको व्यवस्थापन विभागमा काम गरिन् । त्यही क्रममा मलेसिया र थाइल्यान्डका होटलबाट अफर आयो । हँसिली स्वभावकी उनी सम्झिन्छिन्, “केही सिक्न पाइन्छ कि भन्ने लोभमा गएँ ।” पैसा टन्नै थियो, धेरथोर सिकिन् पनि तर सन्तुष्टि थिएन । बरू त्यही बसाइमा चकलेटप्रति मोह पलायो । चकलेट बनाउने प्रक्रियाका बारेमा बुझिन् । ६ महिनापछि फर्किहालिन् र काठमाडौँ विश्वविद्यालयमा व्यापार प्रशासनको स्नातक तह (बीबीए)मा भर्ना भइन् । 

ए लेभल पढिन्जेल स्मृतिलाई लाग्यो, पढाइ भएर मात्र केही हुन्न, सँगै जागिर खानुपर्छ । बीबीए सुरु गरेपछि लागेछ, जागिरले मात्र उँभो लागिन्न, आफैँ केही गर्नुपर्छ । केही अर्थात् उद्यम । त्यसकै परिणाम थियो, स्विफल्स । यो पनि बीबीए पढिरहँदा उनले साथी इशान पाण्डेसँग मिलेर खोलेको चकलेटको ब्रान्ड नै हो । सानो लगानीमा सुरु भएको स्विफल्सको प्रगति विस्तार हुँदै थियो, इशान चीन उडे । स्मृति सुनाउँछिन्, “त्यतिबेलासम्म मैले चकलेटको बजार बुझिसकेकी थिएँ, भोलि कहाँ पुगिन्छ भन्ने पनि थाहा थियो, त्यसैले विटर स्विट्स सुरु गरेँ ।” 

जब उनले विटर स्विट्स खोल्ने निर्णय गरिन्, छोरीले दु:ख बेसाई भनेर बुबाआमालाई चिन्ता । उनीहरूको चाहना थियो, छोरी पढेलेखेकी छ, पारिवारिक व्यापारलाई नै निरन्तरता देओस् । तर, स्मृतिलाई आफैँ उद्यमी बन्ने जोश जो पलाइसकेको थियो, स्विफल्सभन्दा अझ आधुनिक र मौलिक शैलीमा चकलेट उत्पादनको तयारीमा लागिन् । २०–२५ लाख रुपियाँ घटीमा मेसिन पाइन्न, उपाय के त, हातैले बनाउने । रोजगारी पनि बढ्यो, लगानी पनि कम हुने, ‘ह्यान्ड मेड’ भनेर मार्केटिङ नि गर्न पाइने । फाइदै फाइदा । त्यसैले विटर स्विट्सको सुरुको लगानी डेढ लाख रुपियाँ मात्र थियो । फेरि कोकुवा, जो चकलेट उत्पादनका लागि १० प्रतिशत मात्र चाहिन्छ, बाहेक अन्य कच्चा पदार्थ नेपालमै उपलब्ध हुने मात्र प्रयोग गर्छिन् । 

नेपालको चकलेट बजारको ९९ प्रतिशत हिस्सा आयातित चकलेटले ओगटेको छ । बर्सेनि २ अर्ब ३० करोड रुपियाँको चकलेट नेपाल भित्रिने विभिन्न अध्ययनले देखाएका छन् । यसको माग बर्सेनि ६ प्रतिशतले बढिरहेको छ । भ्यालेन्टाइन्स डेका लागि लक्षित गर्दै नयाँ स्वाद र प्याकेटमा चकलेट बनाउन व्यस्त तुलाधार भन्छिन्, “त्यसैले हामीजस्ता नयाँ उद्यमीका लागि चकलेट उत्पादन ठूलो सम्भावनाको क्षेत्र हो ।” विटर स्विट्स २५ स्वादमा उपलब्ध छ, २ सय देखि २ हजार ५ सय रुपियाँको दरमा । तत्कालका लागि यी चकलेट काठमाडौँ गेस्ट हाउस र हिमालयन जाभामा पाइन्छ । कतार एयरवेज र दरबारमार्गस्थित भिक्ट्री लाउन्जसँग पनि ‘डिल’ भएको छ । माग बढ्दै गएपछि अब छिट्टै आफ्नै ‘आउटलेट’ खोल्दै छिन् । आठ जना महिलालाई मासिक २५ हजार रुपियाँमा काम गराइरहेकी छन् । 

बेलाबेला हात हेराउँदा ज्योतिषीले स्मृतिलाई भन्छन्, विदेश जाने योग छ । उनी मुस्कुराउँछिन् मात्र । अब तत्काल एमबीए गर्ने योजना पनि छैन । पढाइमा खर्च हुने समय र पैसा तत्कालका लागि विटर स्विट्समै लगाउँदा दीर्घकालीन फाइदा देखेकी छन् उनले । भन्छिन्, “विदेश जाँदा खर्च हुने पैसाले स्टार्ट–अपमा लगानी गर्ने हो भने यतै मालामाल भइन्छ । नाम र दाम त छँदै छ, त्यसभन्दा ठूलो कुरा सन्तुष्टि मिल्छ ।” 

बाँसले हराभरा

कम्प्युटर इन्जिनियरिङ पढ्न अमेरिका हानिएका थिए, नृपल अधिकारी, ३६ । सात वर्ष बसेर ०६३ मा देश फर्किए तर उनीसँग इन्जिनियरिङको प्रमाणपत्र त परको कुरा, खल्तीमा दुई लाख रुपियाँ पनि थिएन । खासमा अमेरिका पुगेको एक वर्ष नपुग्दै कम्प्युटर छाडेर माटोबारे पढ्न थालेका थिए । इन्जिनियर बनाउन पठाएको छोरो माटो पढेर, त्यो पनि मनग्ये पैसा नलिई घर फर्कंदा बाबुआमाको मन खिस्रिक्क हुने भइहाल्यो । तर, नयाँ–नयाँ प्रयोगमा रुचि राख्ने यी तन्नेरीलाई अमेरिकामा नबसेको र इन्जिनियरिङ नपढेकामा अहिले कुनै पछुतो छैन, न उनको परिवारलाई नै । होस् पनि कसरी, डेढ लाख रुपियाँबाट सुरु गरेको बाँसको घर र फर्निचर बनाउने उनको उद्यम अवारीको सम्पत्ति दुई करोड पुगेको छ । सात वर्ष पहिले उनीसहित काम गर्ने जम्मा तीन जना थिए, अहिले त्यो संख्या ४० नाघेको छ । अचम्मको कुरा त, अमेरिकाबाट फर्किएपछि नै हो, उनले पहिलोपटक बाँस छोएको ।

अमेरिकाबाटै अधिकारी माटोको भवन निर्माण पढ्न न्यु मेक्सिको पुगे । सात महिना मंगोलियामा काम गरे । न्युयोर्कमै नाटकघरहरू डिजाइन गरे । तर, नेपालचाहिँ बिनायोजना फर्किएका थिए । उनी नढाँटी भन्छन्, “काठमाडौँमै हुर्किएकाले बाँकी नेपाल पुगेकै थिइनँ । त्यसैले केही समय देश घुम्छु अनि जे पर्ला–पर्ला भन्ने थियो ।” आखिरमा त्यही घुमाइपश्चात् उनको जीवनको लय बदलियो । घुम्ने क्रममा बाँसको निकै प्रयोग भएको देखे । तर, सबै डोको, डालो, पिङजस्ता अस्थायी सामग्री मात्र । गुगल सर्च गर्दा बाँसको बहुआयामिक फाइदा थाहा भयो । बाँसबाट स्थायी घरचाहिँ किन नबनाएको होला ? बाँसको आयु कसरी बढ्ला ? उनमा कौतूहल जाग्यो ।

मेसिन किन्न ५०–६० लाख रुपियाँ चाहिन्थ्यो । कहाँबाट ल्याउनू त्यत्रो रकम ? त्यसैले घरेलु प्रविधिबाट बाँसको आयु बढाउने उपाय खोज्न थाले । कहिले सामान्य रसायन हाल्थे, कहिले पानीमा भिजाउँथे । तर, कहिल्यै सफल हुन्थेन । यसरी छटपटाएर हिँडिरहेका बेला कमलपोखरीको बाटोमा मट्टीतेलले प्रेसर दिएर आगोको लप्काले म:म पकाइरहेको देखे । उनी गम्न थाले, त्यो मट्टीतेलको सट्टा रसायन राखेर बाँसमा प्रेसर दिँदा के होला ? भोलिपल्टै सुन्दरीजलबाट बाँस ल्याएर परीक्षण सुरु गरे । बाँसबाट गुलियोपन चुहियो, त्यसको ठाउँ रसायनले लियो । त्यसो हुँदा बाँसमा धमिरा लाग्दैन थियो, आयु पनि स्वत: बढ्थ्यो । तर, कसरी यसलाई उद्यममा बदल्न सकिन्छ ? थाहा थिएन ।

कुरैकुरामा एक दिन कान्तिपुर दैनिकमा आफ्नो सबै अनुभव लेखे । लेख प्रकाशित हुनासाथ जनकपुरबाट फोन आयो । उनले हाँस्दै सुनाए, “केही अनुभव थिएन तर दुई करोडको बाँसको घर बनाउने प्रोजेक्टबाट अफर आयो । म त आत्तिएँ ।” तर, इन्टरनेटमा सिक्दै अनि इन्जिनियर मित्र शिशिर गैरेको साथ लिएर दुई वर्षमा त्यो प्रोजेक्ट फत्ते गरे । लगत्तै तीन वर्ष भारत र दक्षिण अफ्रिकामा बाँसका अब्बल आर्किटेक्टसँग काम गर्ने अवसर पाए ।

नेपाल फर्केर चितवनको माडीमा पाँच लाख रुपियाँ तिरेर पानी बगिरहेको दुई बिघा जमिन किने, बाँस रोप्न । त्यसपछि नै जन्मिएको ब्रान्ड हो, अवारी । फर्निचरका अलावा उनले गोरखाको दुर्गम भेग वालिमटारमा बाँस र माटोको स्कुल बनाए । अनि, धुलिखेलमा आफ्नै लागि साढे तीन तल्लाको बाँसको घर । सबथोक उनले चाहे अनुसार नै चलेको थियो । १२ वैशाख ०७२ मा भूकम्प आयो । कसैले सुनाइदियो, धुलिखेलको घर पनि भत्कियो, वालिमटारको स्कुल पनि । वालिमटार भूकम्पको केन्द्रविन्दु बारपाकदेखि १४ किलोमिटरको दूरीमा छ । “आफ्नो सबै मिहिनेत खेर गएको सुनेपछि निकै निराश भएको थिएँ,” उनले दंग पर्दै सुनाए, “तर, एक सातापछि हेर्दा घर र स्कुल जस्ताको तस्तै थियो ।” भूकम्पपछि शानले ठडिएको घरको फोटो फेसबुकमा हाल्नासाथ ‘भाइरल’ भयो ।

भूकम्पपछि त उनको बाँसको भवन बनाउने अभियानले तीव्रता पायो । पछिल्लो महिना मात्र ६० जनाले उनीसँग माटो र बाँसको घर बनाउने प्रविधिसम्बन्धी प्रशिक्षण लिएका छन् । भन्छन्, “धेरै घर बनाउनभन्दा नयाँ पुस्तालाई सिकाउन मन छ । त्यसो हुँदा एकातिर बाँसको घरले व्यापकता पाउँछ, अर्कातिर उद्यमशीलताको नयाँ अवसर पनि सिर्जना हुन्छ ।”

कपासले मालामाल

जर्मनीमा पब्लिक पोलिसी पढेर स्वदेश फर्किएपछि प्रसन्ना बस्नेत, ३७, ले संयुक्त राष्ट्रसंघमा काम गरिन् । उनकी बहिनी प्रियंका बस्नेत, ३१, ले पनि जर्मनीमै अन्तर्राष्ट्रिय व्यवस्थापन पढिन्, स्वदेश फर्केर बुद्ध एयरमा जागिर खाइन् । दिदी–बहिनी दुवैको तलब–सुविधा आकर्षक थियो तर एउटै खालको काम गर्दागर्दा आजित भइसकेका थिए । त्यसैले सल्लाहमै जागिर छोडे । त्यसपछि के गर्ने ?

प्रसन्नाले सुनाइन्, “हामीलाई व्यापार गर्ने चाह थियो तर मेलोमेसो मिलेको थिएन । परिवारमा कसैले व्यापार नगरेकाले पनि हामीलाई अप्ठ्यारो थियो ।” तर, प्रचूर इच्छाशक्ति र आत्मविश्वासले भरिएका बस्नेत दिदी–बहिनीले त्यही असजिलो बाटो रोजे । 

परिणाम हाम्रासामु छ, ६ वर्षअघि एक जनाबाट सुरु गरेको उनीहरूको कटन मिलमा अहिले २३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । चाहेको अनि नयाँ काम गर्न पाएकाले दिदी–बहिनी पनि दंग । कटन मिलले कपासका तन्ना, पर्दा, कुशल, टेबल कभर, न्यापकिन, एप्रोन, सिरकलगायत उत्पादन गर्छ । जति सामान प्रयोग हुन्छ, नेपालमै उत्पादन भएको मात्र । सफलता यति लोभलाग्दो छ– जब कि, दुवैका लागि यो फिल्ड बिलकुल नौलो थियो । 

जागिर छोडेपछि सुरुमा उनीहरू कफी किसानीतिर तानिए तर गाउँमै बस्नुपर्ने, अरू अनेक झन्झट । सकिएलाजस्तो लागेनछ । त्यसपछि दिदी–बहिनी तन्ना किन्न चीन हानिए । प्रियंकाले सुनाइन्, “तर, यहाँ ल्याएर बेच्दा राम्रो प्रतिक्रिया आएन । पहिलो लटकै बिकाउन हम्मेहम्मे पर्‍यो ।” यद्यपि, उनीहरूमा कपडाप्रेम बढिसकेको थियो । त्यसैले यहीँबाट फेब्रिक किनेर प्रिन्ट मात्र गर्न खोजे, त्यो पनि प्रतिफलमूलक भएन । तर, राजधानीमा घर निर्माण बढिरहेकाले त्यही रूपमा तन्ना, पर्दाको माग दिनानुदिन बढ्छ भन्नेमा दुवै ढुक्क थिए । त्यसैले एक जना सिलाउने मान्छे राखेर आफैँले उत्पादन सुरु गरे । केही समयपछि अरू कामदार पनि थपे । 

पुरुष कामदारले बिस्तारै टेर्न छोडे, भनेको बेला नआउने अनि काममा पनि सजग नहुने । प्रियंकाको अनुभव भन्छ, “फिमेल बोस भएकाले नटेरेको जस्तो लाग्यो । त्यसपछि हामी आफैँले केटाहरूलाई हटाएर केटीहरूलाई मात्र काममा लगाउन थाल्यौँ ।” त्यसपछि भने कटन मिलको उत्पादनले बजारमा पकड जमाउन थाल्यो । अहिले लेखापाल र ड्राइभरबाहेक २१ कर्मचारी महिला नै छन्, कलेज पढ्नेदेखि गृहिणीसम्म । महिलालाई आत्मनिर्भर बनाउने अभियानमा आफूले पनि योगदान गर्न सकेकामा बस्नेत दिदी–बहिनी गर्व गर्छन् । 

कटन मिलको विशेषता के हो भने ग्राहकले चाहेको साइजमा तन्ना र पर्दाहरू पाउँछन् । कलर र डिजाइन बोल्ड हुने भएकाले सबैको आँखामा पर्छ । डिजाइनदेखि प्रिन्टसम्म उनीहरू पहिले यूट्युबबाट सिक्छन् अनि कामदारलाई सिकाउँछन् । जोरपाटीमा फ्याक्ट्री छ । अहिले नागपोखरी र सानेपामा उनीहरूको आफ्नै आउटलेट छ । उपत्यकाबाहिर पनि आउटलेट खोल्दै छन् । 

खासमा कपासको कपडा बेच्नु पुरानै काम हो, शैली र तरिका मात्र नयाँ । त्यो के भने नजानेको कुरा सिक्न र असफल हुनासाथ उनीहरू आत्तिएनन् । किनभने, उनीहरूलाई आफ्नो कर्मप्रति पूर्ण विश्वास थियो । नयाँ पुस्तालाई उनीहरूले आफ्नो उद्यममार्फत यो सन्देश दिएका छन् कि अरूको अनुसरण होइन, बजारमा जे छैन, त्यही उद्यम गर्नुपर्छ । 

 

चियाको कुण्ड

दूध उमाल्नु, चियापत्ती र चिनी हाल्नु अनि उमालेर पिउनु । चिया कल्चर हाम्रा लागि नयाँ होइन तर प्राय: यसरी नै बनाइएको एकै स्वादको चिया पिउने चलन छ । पछिल्लो समय ग्रिन टी र रेड टी पनि पिउन थालिएको छ । तर, तपाईं बालुवाटारस्थित चियापान घरमा पुग्नुभयो भने १ सय ११ स्वादको चियाको चुस्की लिन पाउनु हुनेछ । यी भिन्न स्वादका चिया ‘सर्भ’ गर्छन्, यसका सञ्चालक विमल ढकाल, ३७ । भर्खर ६ महिना भयो, चियापान घर खुलेको तर चियाप्रेमी थपिइरहेका छन् । ढकाल मुस्कुराए, “हामीले चियामा नयाँपन थप्यौँ र नेपाली चियाको कपसम्म आइपुग्दा स्तर घट्न दिएका छैनौँ । हाम्रो प्रगतिको आधार यही हो ।” 

विमल १५ वर्षदेखि व्यापारमा संलग्न छन् । मलेसियामा पढ्न जाँदा सुरु भएको व्यापारको शृंखला अझ रोकिएको छैन । अहिले पनि उनको दुबईमा रेस्टुराँ छ । नेपालमै हाइड्रोपावरमा लगानी गरेका छन् । तर, अब उनी पूरापूरा चियापान घरमा केन्द्रित हुने योजनामा छन् । किन त ? भन्छन्, “मैले गरिरहेको अन्य व्यापारभन्दा यो एकदम सिर्जनशील छ । यसमा सम्भावना पनि अधिक छ अनि त्यस्तै सन्तुष्टि मिलेको छ ।” 

नेपालमा हिमालको हावाले चिया फल्छ, त्यसले गुणस्तर बढाउँछ । सोही कारण विश्व बजारमा नेपाली चियाको पत्ताको लेभल एक नम्बरमा छ । तर, प्रशोधन र प्याकेजिङ गरेर बेच्दा १४ नम्बरमा आइपुग्छ । चियापान घर त्यही खालीपना पूरा गर्ने अभियानमा रहेको विमल सुनाउँछन् । त्यसका लागि चियापान घरले आफ्नै बगान बनाएको छ, इलाममा । ढकाल भन्छन्, “छिट्टै टी म:म, चियापत्तीको अचार अनि चियासँग सम्बन्धित अन्य परिकार चियासँगै खाने व्यवस्था मिलाउँदै छौँ ।”

एक पट (कम्तीमा चार कप) चियाको १ सय ५० देखि ६ सय रुपियाँसम्म पर्छ । चिया पिउँदै सिर्जना गर्नेका लागि उस्तै एकान्त माहोल चाहिन्छ, जो यहाँ उपलब्ध छ । झम्सिखेल र सिंहदरबारभित्र आउटलेट खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अबको तीन वर्षमा एक सय आउटलेट र टी म्युजियम (चिया संग्रहालय) खोल्ने योजना बनाएका ढकाल भन्छन्, “बिलकुलै नयाँ उद्यम नै गर्नुपर्छ भन्ने पनि होइन रहेछ, चलिरहेको व्यापारमा नयाँपन र मौलिकता मिसाए यथेष्ट हुन्छ ।” 

 

[आवरण टिप्पणी] जागिर नखोजौँ, उद्यम गरौँ

 

 

प्रकाशित: माघ २५, २०७३