भारतमा तयारी, नेपाल बेखबर

  • सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनका लागि भारतीय टोली आउने भए पनि नेपाली पक्ष सूचनाविहीन

- बाबुराम विश्वकर्मा

भारतको हैदरावादस्थित सर्भे अफ इन्डियाका प्रमुख स्वर्ण सुब्बारावले सात महिनाअघि नेपाल आउँदा नापी विभागका महानिर्देशक कृष्णराज बीसी र सीमाविज्ञ तथा विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठलाई सर्भे अफ इन्डियाको स्थापना दिवसमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा निम्ता गर्ने जानकारी दिए । तर, सर्भे अफ इन्डिया स्थापनाको २ सय ५० वर्ष पुगेको सन्दर्भमा १२–१४ माघ ०७३ मा हैदरावादमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा बीसी र श्रेष्ठ सहभागी भएनन् । कारण, श्रेष्ठलाई निम्ता नै आएन भने बीसीलाई आतेजाते खर्च स्वयं बेहोर्ने सर्तमा निम्तो थियो । 

तर, नेपाली प्रतिनिधि उपस्थित नभएको त्यस सम्मेलनमा भारतीय सुब्बारावले नेपालको पहिचान र सानसँग जोडिएको सगरमाथाको उचाइ नाप्ने आफ्नो तयारीको फेहरिस्त खोले । उनले भूकम्पका कारण विश्वको सर्वोच्च शिखरको उचाइ घटेको भन्दै नेपालका नापी विभागका महानिर्देशक हैदरावाद आएको भए विस्तृत कुराकानी गरेर तुरुन्त काम थाल्ने समेत बताएका थिए । सगरमाथाको उचाइ नाप्न भारतीय विदेश मन्त्रालयले नेपाल सरकारको स्वीकृति लिइसकेको समेत रावले त्यस सम्मेलनमा बताएको बीबीसी हिन्दी सेवा, पीटीआई र द हिन्दुलगायतका सञ्चार माध्यमले सार्वजनिक गरिसकेका छन् । रावले सुनाएको योजना अनुसार आउँदो दुई महिनाभित्र सर्भे अफ इन्डियाको एउटा टोली सगरमाथा चढेर भूउपग्रहमा आधारित प्रणाली जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम)बाट उचाइ नाप्ने र त्यसको १५ दिनमा सफ्टवेयरबाट अन्तिम नतिजा निकाल्ने बताएका थिए । 

विश्वभरका वैज्ञानिकहरू सहभागी भएको सम्मेलनमा भारतीय अधिकारीले यसरी सगरमाथाको उचाइ नाप्ने तयारी तीव्र भएको जनाउ दिए पनि नेपाली अधिकारीहरू भने यसबारे बेखबर छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र र गृह मन्त्रालयका प्रवक्ताहरू क्रमश: घनश्याम उपाध्याय, भरतराज पौडेल र बालकृष्ण पन्थीले सगरमाथाको उचाइ मापन गर्न भारतको कुनै पनि तहले आफूहरूसँग अहिलेसम्म सम्पर्क नगरेको नेपाललाई बताएका छन् । स्वयं नापी विभागका महानिर्देशक बीसीलाई पनि यसबारे कुनै जानकारी छैन । भन्छन्, “सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ नाप्ने तयारी गरेको सार्वजनिक भएको छ । तर, यसका लागि हाम्रो स्वीकृति लिएको छैन । नेपालको स्वीकृतिबिना भारतले सगरमाथाको उचाइ मापन गर्न सक्दैन ।”

उचाइ घटेको होइन, बढेको अनुमान
१२ वैशाख ०७२ को गोरखा भूकम्पका कारण सगरमाथाको उचाइ घटेको आशंकामा भारतले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने तयारी गरेको छ । तर, नेपाली नापी अधिकारीहरू भारतले आशंका गरेजस्तो गत सालको भूकम्पबाट सगरमाथाको उचाइ नघटेको बताउँछन् । बरू, भूकम्पले काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानको उचाइ बढेका कारण सगरमाथाको पनि उचाइ बढेको हुनसक्ने उनीहरूको अनुमान छ । 

हुन पनि नापी विभागले भूकम्पपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरेको सर्भेले यहाँको जमिनको उचाइ बढेको तथ्य पत्ता लगाएको छ । जस्तै: भूकम्पपछि काठमाडौँ उपत्यका औसत १.१५ मिटर अग्लो भएको छ भने १.१८ मिटर दक्षिणतिर सरेको छ । भूकम्पपछि नगरकोट १.१५ मिटर अग्लिएको छ भने फूलचोकी ०.६३ मिटर, नुवाकोटको कुमारी डाँडा १.०९ र स्वयम्भू .९८ मिटरले अग्लो भएका छन् । विभागको खगोल तथा भूमापन महाशाखा प्रमुख निरज मानन्धर भन्छन्, “भूकम्पपछि सबैतिरको जमिन पहिलाभन्दा अग्लो भएको छ । त्यसैले सगरमाथा पनि होचो होइन बरू एक–दुई मिटर अग्लै भएको हुनसक्छ ।”

भारतले सगरमाथाको उचाइ मापन गर्न लागेको यो पहिलोपटक भने होइन । यो सर्वोच्च शिखरको अहिलेको उचाइ पनि भारतीय सर्वेक्षकहरूले नै किटान गरेका हुन् । सर्भे अफ इन्डियाले अहिलेसम्म चारपटक सगरमाथाको उचाइ नापिसकेको छ । तर, चारैपटकको नतिजा भने फरकफरक छन् । सुरुमा १८५२ मा सर्भे अफ इन्डियाका जर्ज एभरेस्ट, राधानाथ सिकन्दर र तेजवीर बुढाथोकीले उचाइ मापन गरेका थिए । त्यतिबेला सगरमाथाको उचाइ ८,८४०.०७ मिटर थियो । सन् १९५४ मा उसैले नै नयाँ नापपछि ८,८४८ मिटर भनेपछि नेपाल र संसारले त्यसैलाई नै मान्यता दिएका हुन् । 

यसअघि भारतले जतिपटक सगरमाथाको मापन गर्‍यो, कुनैमा पनि आरोहण दललाई चचुरोमा पठाउनुपरेको थिएन । किनभने, पुरानो प्रविधि भएकाले त्यसमा शिखर आरोहण नगरेरै उचाइ नापिन्थ्यो । पछिल्लोपटक सन् १९५४ मा दार्जीलिङबाट भर्टिकल एंगल प्रविधिमार्फत उचाइ नापिएको थियो । तर, अहिले जीपीएस प्रविधिबाट उचाइ नाप्नका लागि वैज्ञानिक तथा सर्वेक्षकलाई चुचुरोमा पठाउनैपर्छ । नेपाल र चीनबाट मात्र चुचुरोमा जान सकिने हुनाले भारतले या नेपाल वा चीनको स्वीकृति नलिई सगरमाथा नाप्न सक्दैन । 

सन् १८५२ देखि २०११ सम्म नेपालबाहेक विभिन्न देशका सर्वेक्षक तथा वैज्ञानिकहरूले १० पटक सगरमाथाको उचाइ नापेका छन् । सन् २०११ पछि भने मापन गरिएको छैन । रोचक त के भने अहिलेसम्मका सबैका नतिजा फरक छन् । जस्तो : पहिलो मापनबाट सगरमाथाको उचाइ ८,८४०.०७ मिटर पाइएकामा सन् १९८७ मा इटालीको मिलान युनिभर्सिटीका प्रोफेसर ए देसिओको मापनबाट ८,८७२ मिटर आएको थियो । 

चीनको चासो
दक्षिणी छिमेकी भारतले मात्र होइन, सगरमाथाको उचाइबारे उत्तरी छिमेकी चीनको पनि उतिकै चासो रहने गरेको छ । चीनले सगरमाथाको उचाइ अहिलेसम्म दुईपटक नापेको छ र दुवै मापनका नतिजा फरक–फरक छन् । बाङ वाङचुकले सन् १९७५ मा ८,८४८.१३ मिटर निकालेका थिए भने सन् २००५ मा सर्भेइङ एन्ड म्यापिङका बाइचेन र छेनबाङ झुले गरेको मापनले सगरमाथाको उचाइ ८,८४४.४३ मिटर देखियो । 

आफैँले गरेको हुँदा चीनले त्यही पछिल्लो नतिजालाई मान्यता दियो । दुई वर्षअघिसम्म चीनबाट सगरमाथा आरोहण गर्नेको प्रमाणपत्रमा ८,८४४.४३ मिटर उल्लेख हुन्थ्यो । तर, नेपालबाट आरोहण गर्नेको प्रमाणपत्रमा ८,८४८ मिटर लेखिने भएपछि चीनबाट आरोहण गर्नेको संख्या कम भयो । त्यसपछि भने चीनले उताबाट आरोहण गर्नेहरूको प्रमाणपत्रमा पनि आफ्नो पहिलो मापनको नतिजा (८,८४८.१३ मिटर) नै लेख्ने गरेको छ । अहिले चीनले कायम गरेको सगरमाथाको उचाइ र नेपालले मानेको उचाइबीच १३ सेन्टिमिटरको अन्तर छ । तर, संसारका सबै देशले नेपालले मानेकै उचाइलाई मान्यता दिएका छन् ।

नेपालको पहिचानसँग जोडिएको सगरमाथाको उचाइ वस्तुनिष्ठ र विश्वसनीय नहुँदा संसारमा कतिसम्म सनसनी फैलिन्छ भन्ने बुझ्न विगतको अर्को एउटा घटना काफी छ । अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टनका प्रोफेसर जर्ज वालेस्टाइनले एकपटक सगरमाथाको उचाइ नापेर यो पाकिस्तानको के टु हिमालभन्दा होचो रहेको भनिदिए । त्यसको सर्वत्र आलोचना भएपछि उनले ६ महिनापछि गल्ती स्वीकार गर्दै सगरमाथा नाप्न आफूले प्रयोग गरेको उपकरणको ब्याट्री डाउन भएकाले गलत नतिजा आएको स्पष्टीकरण दिए । स्मरण रहोस्, सगरमाथापछि विश्वको दोस्रो अग्लो हिमाल के टू पाकिस्तानमा छ, जसको उचाइ ८,६११ मिटर छ ।

नेपाल किन नाप्दैन ?
भारत, चीन, इटाली र अमेरिकाका वैज्ञानिकहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ पटक–पटक मापन गर्ने जाँगर देखाए पनि नेपाल स्वयंले भने अहिलेसम्म यसतर्फ तत्परता देखाएको छैन । दुई वर्षअघि भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नाप्ने योजनासहित अर्थ मन्त्रालयसँग एक करोड रुपियाँ माग्दा ‘अनुत्पादक क्षेत्रमा खर्च गर्न नसकिने’ भन्दै बजेट दिएन । र, यो प्रयास त्यत्तिकै तुहियो । 

अर्थ मन्त्रालयले अनुत्पादक क्षेत्र किटान गरे पनि सगरमाथा न अनुत्पादक क्षेत्र हो, न त कम प्राथमिकताको विषय नै । किनभने, यो संसारको सर्वोच्च शिखर त हुँदै हो, संसारलाई नेपाल चिनाउने नेपाल र नेपालीको सान र पहिचान पनि हो । प्रकृतिको वरदानका रूपमा स्वत: प्राप्त सगरमाथाले नेपाल र नेपालीलाई इज्जत मात्र दिएको छैन, दुहुनो गाईका रुपमा वर्षेनि राष्ट्रको ढुकुटीमा डलर पनि भरिदिएको छ । पर्यटन विभाग निर्देशक इन्दिरेश दाहालका अनुसार, सगरमाथाले विदेशी आरोहीबाट मात्र वार्षिक करिब ३० करोड रुपियाँ कमाउने गरेको छ, त्यो पनि बिनालगानी । तर, त्यही सगरमाथाको उचाइ नाप्न लाग्ने सामान्य बजेट व्यवस्था गर्न सरकार उदासीन छ । 

नापी विभागका पूर्वमहानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ नेपालको जनशक्ति सगरमाथा मापन गर्न सक्षम रहेको बताउँछन् । प्रविधि, जनशक्ति र नतिजा प्रशोधनका लागि करिब सात करोड रुपियाँ भएमा नेपाली विशेषज्ञहरूले सगरमाथाको उचाइ आफैँ नाप्न सक्ने उनको भनाइ छ । भन्छन्, “नेपालले अब चीन र भारतका वैज्ञानिकलाई समेत सहभागी गराएर सगरमाथाको उचाइ आफैँ नाप्नुपर्छ ।”

प्रकाशित: माघ २४, २०७३