[झटारो] दाहाल सरका १३ प्रश्न

  • उत्तर दिँदा आफूखुसी अलगअलग, मोर्चामा छलफल गरेर, चिट चोरेर वा अभिभावकलाई सोधेर जसरी पनि दिन सकिनेछ ।

- लक्ष्मण गाम्नागे

सरकारका हेडसर प्रधानमन्त्री पुष्पकमल दाहालले अस्तिको बैठकमा मधेसी मोर्चालाई गृहकार्यको भारी बोकाएर पठाएको समाचार प्राप्त भएको छ । उनले तलका सबै प्रश्नका उत्तर तयार गरी लिखित वा मौखिक रूपमा आगामी बैठकमा पेस गर्न मोर्चालाई कडा निर्देशन दिएका छन् । निर्देशन जतिसुकै कडा भए पनि प्रश्नका गलत उत्तर दिएमा वा उत्तरै नदिएमा पनि नम्बर काट्ने वा कारबाही गर्ने ह्याउ भने हेडसरसँग हुने छैन । उत्तर दिँदा आफूखुसी अलगअलग, मोर्चामा छलफल गरेर, चिट चोरेर वा अभिभावकलाई सोधेर जसरी पनि दिन सकिनेछ ।

प्रश्न १. संसद्मा पेस भएको संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनको मिति घोषणा गर्‍यो भने खुरुक्क मान्नुहुन्छ कि उसै गरी बुरुक्क उफ्रिनु हुन्छ ?  

२. विधेयक पारित भएन भने परिणाम सहर्ष स्वीकार गरेर चुनावमा भाग लिनुहुन्छ कि आन्दोलनको धम्की दिनुहुन्छ ? 

३. तपाईं मधेसी मोर्चाका नेताहरूलाई यसो गर्दा पनि नहुने, उसो गर्दा पनि नहुने, जसो गर्दा पनि नहुने, कसो गर्दाचाहिँ हुने हो, स्पष्ट पार्ने गरी बुँदागत रूपमा जवाफ लेख्नुहोस् । 

४. तपाईंहरूलाई महत्त्वपूर्ण पद दिएर यसै मन्त्रिपरिषद्मा समावेश गराएर चुनावमा जाँदा के हुन्छ ? हुन्छ भने क–कसलाई उपप्रधानमन्त्री र मन्त्रीहरू चाहिने हो, नामावलीसहित मन्त्रालय छनोट गरेर आगामी बैठकमा पेस गर्नुहोस् । 

५. कहिले संविधान संशोधन अघि बढाएजस्तो, कहिले चुनावको मिति घोषणा गर्न खोजेजस्तो गर्दै आलटालमै नौ महिना कटाएर शेरबहादुर देउवाजीलाई सत्ता हस्तान्तरण गर्दा कसो होला ? अथवा पूर्वसहमति तोडेर बीचैमा एमालेसँग गठबन्धन गरे मेरो भविष्य के होला ? अनुमान पेस गर्नुहोस् । 

६. ‘तपाईंहरूले स्थानीय चुनाव हुन नदिने नै हो त ?’ भनेर शेरबहादुरजीले सोधेको ठाडो प्रश्नको ठाडै जवाफ फर्काउनुहोस् ।

७. म प्रधानमन्त्री पुष्पकमल दाहालको दिनदशासँग जोड्दै तलका उखान टुक्काहरूको सप्रसंग व्याख्या गर्नुहोस् :  
क) जेठी माग्छे पानी कान्छी माग्छे घाम, म एक्लो बूढो कतातिर जाम ? 
ख) खुकुरीको धार  
ग) दक्षिणपन्थी हावा 

८. एमालेलाई मनाएर जानुपर्छ भन्ने महन्थ ठाकुरजी र ‘एमालेमुक्त मधेस’ बनाउने घोषणा गर्ने राजेन्द्र महतोजीको दुईथरी भनाइमध्ये मोर्चाको आधिकारिक धारणा के हो ? स्पष्ट पार्नुहोस् । 

९. गाउँपालिका वा नगरपालिकाको प्रमुखलाई राष्ट्रियसभा सदस्यका लागि हुने मतदानमा भाग लिन नदिने गरी संविधान संशोधन गर्दा तपाईंहरूलाई पुग्ने लाभबारे स्पष्ट पार्नुहोस् ।

१०. चुनावको कुरा सुन्नासाथ तपाईंहरू भड्किनुको रहस्य के हो ? कुरा खोल्नुहोस् । 

११. ‘कांग्रेस, एमाले र माओवादी केन्द्र एउटै हो, खाने बेलामा बाँडीचुँडी खान्छन्, संविधान संशोधनको कुरा आयो कि बाझाबाझ गर्छन्’ भन्ने उपेन्द्र यादवको भनाइ पुष्टि गर्नुहोस् । यस्तो भित्री कुरा यादवजीले कसरी थाहा पाउनुभएको हो, स्पष्टीकरण पेस गर्नुहोस् ।  

१२. विगतमा तराई मधेसबाट सरकारमा पुगेर राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्रीलगायत ठूलठूला पदमा बसेका सयौँ मधेसी नेता तथा उच्च प्रशासकहरूले तराई–मधेसको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै तिनीहरूको प्रशंसा गर्नुहोस् ।

१३. प्रधानमन्त्री पदमा पुगेका दिनदेखि पदावधि सकिन लाग्दासम्म निरन्तर प्रतिपक्षी एमाले र तपाईंहरूले रिँगाएर हत्तु पारिएको म प्रधानमन्त्रीमा परेको मानसिक आघातको लेखाजोखा गर्दै एक निबन्ध लेख्नुहोस् ।

प्रकाशित: माघ २३, २०७३