'काबिल'मा नेत्रहीनको बदला

  • दिमाग हैन, मनले हेर्ने फिल्म हो काबिल ।

- गोकर्ण गौतम

प्रेम हुन एकअर्कँलाई देख्नैपर्छ भन्ने छैन । प्रेम त महसुस हुने कुरा हो । आत्मा–आत्माबीचको मिलन हो । जसले एकअर्कँको खुसी र सहारा खोजिरहन्छ, हरपल । संसारमा यस्ता चोखा र जबर्जस्त प्रेमलाई सुन्दर शैलीमा बुनिएका फिल्म बनिरहन्छन् । पछिल्लो उदाहरण हो, सञ्जय गुप्ता निर्देशित काबिल । फिल्ममा दृष्टिविहीन जोडीको अन्तर–संवेदना र समर्पण महसुस गर्न पाइन्छ । मोहेन्जो दारोबाट दर्शकलाई निराश तुल्याएका ऋतिक रोशन यस पटक जीवन्त ढंगले पर्दामा पोखिएका छन् । प्रेमकथाको नाममा बजारु मसला घुसाउने लहड चलिरहेका बेला प्रदर्शित काबिल अलग र अब्बल लाग्छ ।

डबिङ आर्टिस्ट रोहन भटनागर (ऋतिक) र पियानो बादक सुप्रिया शर्मँ (यामी गौतम) ले एकअर्कालाई अपनाएपछि उनीहरूको जीवनमा उज्यालो छाउँछ, भलै उनीहरू दृष्टिविहीन हुन् । उनीहरू आफ्ना हरेक काम आफैँ गर्न सक्षम छन्  । खुसीसाथ दिन बितिरहेका बेला सुप्रिया बलात्कृत हुन्छन् । एकपछि अर्को गर्दै यो जोडी अथाहा पीडाको सिकार हुन्छ । अर्थात् वास्तविक अन्धकारमा पर्छन् उनीहरू । आफ्नी पत्नीमाथिको अन्यायलाई रोहनले लिने बदलाको शृंखला नै काबिलको केन्द्रीय विषयवस्तु हो । 

फिल्मका सवालमा एउटा मान्यता छ, कथालाई जीवन्त बनाउन पात्रको पृष्ठभूमि आवश्यक हुन्छ । नत्र दर्शकले आत्मसात् गर्दैनन् । तर काबिलले यो सोचलाई तोडेको छ । रोहनको पेसाबाहेक उसको विगत, पारिवारिक संरचना केही देखाइएको छैन, सुप्रियाको सवालमा पनि यही हो । तैपनि उनीहरू भेट भएपछिको दृश्य यति सशक्त र मार्मिक शैलीमा बुनिएको छ कि पृष्ठभूमिको कहीँ महसुस हुन्न । कथा भन्ने शैली पनि एकदम सरल छ, फ्ल्यासब्याक र ट्वीस्ट केही हुन्न । तर पनि सुरुआतबाटै दर्शकको मन जित्न सफल भएका छन्, निर्देशक गुप्ता । 

दृष्टिविहीनभित्र हुने क्षमता, उनीहरूको मनोविज्ञान, समाज र प्रशासनको दृष्टिलाई  सूक्ष्म रूपमा केलाइएको छ । दृष्टिविहीन युवती बलात्कृत भएकी छन्, उनका दृष्टिविहीन पति रिपोर्ट लेखाउन आएको छ । तर प्रहरी अधिकारीहरू नरम हुनु त परको कुरा, निर्मम भइदिन्छन् । अपराधी चिन्दाचिन्दै पनि आँखा चिम्लन्छन् । जसले रोहनभित्र अथाहा आक्रोश पलाउँछ । गुप्ताले त्यही आवेगलाई ज्यादै विश्वसनीय ढंगले बुनेका छन् । जसले फिल्मको वजन बढाएको छ । 

फिल्ममा बकवास केही छ भने मध्यान्तर लगत्तै आउने आइटम डान्स हो । गीत र कोरियोग्राफी आफैँमा आकर्षक छ तर यसले कथाप्रतिको दर्शकको मोहलाई बिथोल्छ । रोहनले बलिउडका विभिन्न चर्चित कलाकारको आवाज फोनमा सुप्रियालाई सुनाउने दृश्य पनि कृत्रिम लाग्छ । क्लाइमेक्सको एक्सन दृश्य बडो आकर्षक शैलीमा खिचिएको छ । शीर्ष गीतले फिल्मको मूल भावलाई संकेत गर्छ । सुप्रियाले दुई घडी बाँध्ने दृश्य प्रतीकात्मक छ । यो फिल्मको अर्को सकारात्मक पक्ष के हो भने शारीरिक रूपमा अशक्त भएका हरेकलाई यसले आत्मविश्वास जगाउन प्रेरित गर्छ ।  

ऋतिक र यामीको अभिनयको सबभन्दा सशक्त पक्ष हो यो । ऋतिक दृष्टिविहीनको चरित्रमा पूरापूर भिजेका छन् । नृत्य र द्वन्द्वमा पनि उनले आफ्नो पात्रलाई पूर्णयता आत्मसात् गरेका छन् । धेरै समयपछि ऋतिकले प्रचुर अभिनय कौशल पर्दामा पस्किएका हुन् । यामीको सुन्दरताले मात्र होइन, चरित्र र अभिनयले दर्शकको आँखा तानिरहन्छ । ऋतिकसँग उनको रसायन खुब सुहाएको छ । नकारात्मक भूमिकामा देखिएका रोनित रोय र रोहित रोय पनि प्रशंसाका हकदार हुन् ।

दिमाग हैन, मनले हेर्ने फिल्म हो काबिल । ऋतिक–यामीका फ्यान मात्र होइन, मानवीय संवेदनाले छुने जोकोहीलाई काबिल हेर्दा समय र पैसा खेर गएको महसुस हुन्न । 

प्रकाशित: माघ २१, २०७३