"यसरी जित्यौ फकल्याण्ड"

  • खासमा फकल्याण्ड युद्ध बेलायतले खडा गरेको ‘गोर्खाली त्रास’का भरमा जितेको थियो । बिबिसीले गोर्खालीको सैन्य परिचय दिन के मात्र बढाइचढाई गरी देखाएनन !

एउटा सिपाहीका लागि युद्धमा जानु कुनै असाधारण कुरा होइन । तर फकल्याण्डको युद्ध भने साधारण तरिकाले जितिने युद्ध थिएन । इङल्याण्डबाट ८०६४ माइल पर थियो उक्त टापु अर्जेन्टिनाबाट भने ३१० माइल मात्र ।

- बुद्धिराज राई

७ महिना बेलिजमा बिताएर फर्कंदा मेरो बिस्तारामा फकल्याण्ड जानका लागि हतियार, बन्दोबस्ती र खानपानको लागि सामान तयारी अवस्थामा थिए । र, बेलायत टेकेको ३ दिनमै म त्यता जानुपरेको थियो । हुन त मध्य अमेरिकाको उत्तरपुर्वी तटमा रहेको सानो राष्ट्र बेलिजमा छंदै फकल्याण्डमा बढेको तनावबारे थाहा पाइसकेको थिएँ । बेलिज भने सन् १९८१ को सेप्टेम्बरमा बेलायतबाट स्वतन्त्र भइसकेको थियो । त्यसै त अति सानो देश, त्यसमाथि उसको आफ्नै सेना थिएन । त्यसकै फाइदा उठाउँदै दक्षिणी छिमेकी ग्वाटेमालाले उसलाई हडप्न पूरा तयारी गरिरहेको थियो । 

ब्रिट्रीस आर्मीको ७ गोर्खा रेजिमेन्टको तर्फबाट समेत हाम्रो एउटा कम्पनी बेलिज डिफेन्स फोर्स तयार पार्न र प्रारम्भिक अवस्थामा ग्वाटेमालाबाट जोगाउनका लागि त्यहाँ गएका थियौं । त्यहाँ युद्ध चाहीं भएन तर कतिखेर युद्ध छेडिएला भन्ने भयले कुनैबेला छाडेन । ग्वाटेमालालाई त्यसैबेला चिलीले आक्रमण गर्ने भय नभएको भए सायद युद्ध हुन्थ्यो होला पनि । आजभोलि लाग्छ, बेलिजमा युद्धमय बनेको मेरो दिमाग सायद फकल्याण्ड युद्धको लागि भएको रहेछ । 

एउटा सिपाहीका लागि युद्धमा जानु कुनै असाधारण कुरा होइन । तर फकल्याण्डको युद्ध भने साधारण तरिकाले जितिने युद्ध थिएन । इङल्याण्डबाट ८०६४ माइल पर थियो उक्त टापु अर्जेन्टिनाबाट भने ३१० माइल मात्र । सन् १८३३ यता बेलायतको अधिनमा रहेता पनि सायद दूरी र निकै सानो भूभाग भएकाले बेलायतको प्राथमिकतामा त्यो कहिल्यै परेन । बेलायती सेनाको स्थायी क्याम्प समेत थिएन त्यहाँ । त्यही फाइदा उठाएको थियो अर्जेन्टिनाले । र, त्यहाँ आफ्ना सैनिक पठाएर युद्धका सबै व्यवस्थित पूर्वाधार तयार पारेपछि मात्र आफ्नो कब्जा घोषणा गरेको थियो । जसबाट ब्रिट्रीसहरु निकै चिडिएका थिए र युद्ध जित्ने निकै बलियो आड खोजिरहेका थिए ।

गोर्खालीहरु त्यही रणनीति अनुसार प्रयोग भएका हुन् । खासमा फकल्याण्ड युद्ध बेलायतले खडा गरेको त्यही ‘गोर्खाली त्रास’का भरमा जितेको थियो । बिबिसीले गोर्खालीको सैन्य परिचय दिन के मात्र बढाइचढाई गरी देखाएनन । उसले प्रचार गरेको थियो–– गोर्खाली मान्छेकै रगत खाने स्वभावका हुन्छन्, एउटै खुकुरीको भरमा कम्तिमा एक सय मिटर व्यासमा त उनीहरुलाई छुन पनि सकिंदैन । एउटै कसैलाई केही भए पनि कोही विपक्षीलाई छाड्दैनन्, जस्ता केके हो केके । दुश्मनमा त्रास भर्न उसले प्रचार गरेको सबैभन्दा ठूलो झुट भने गोर्खालीको सङ्ख्याको थियो । ६ सय जना जति गएकामा उनीहरुले ६ हजार गोर्खाले फकल्याण्डतर्फ रवाना भए भनेका थिए । खास, त्यसबेला ब्रिटीस आर्मीमै जम्माजम्मी ६ हजार गोर्खा सैनिकहरु थिए । तर जाने भने हाम्रो सेभेन गोर्खा रेजिमेन्ट मात्र थियो ।

त्यसअघि नै बेलायतको तर्फबाट वायु तथा जल सैन्यहरु भिडिरहेका थिए । तर अर्जेन्टिनीहरु यति राम्रो तयारीसाथ बसेका थिए भने बेलायतीहरु जमिनमा टेक्न सकेका थिएनन् । जसकै कारण गोर्खा राइफल्स, स्कट गार्ड र वेल्स गार्ड गरी झण्डै ३ हजारको सङ्ख्यामा हामी विशेष तयारीसाथ हिंडेका थियौं । क्याम्पदेखि बन्दरगाहा सम्मको झण्डै ३ घण्टे दूरीमा हजारौंले हामीलाई शुभकामना दिन प्लेकार्ड, बाईबाई र गुडलक भनिरहेका थिए । हामीलाई लैजान त्यसबेलाको विश्वकै लग्जरीयुक्त विशाल पानीजहाज ‘क्विन एलिजावेत २’ बन्दरगाहामा तयारी अवस्थामा थियो । त्यसबेला सबैका आफन्तले भावपूर्ण विदाई गर्न आएका थिए । हाम्रा लागि भने त्यहाँ जम्मा भएको बेलायतीको भिडको विदाई साथ थियो । युद्धकै लागि भनेर उक्त पानीजहाजलाई विशेष रुपमा मोडिफाइड पनि गरिएको थियो । ३ वटा त हेलिप्याड मात्र थिए । उक्त विशाल जहाजमा के मात्र थिएन–– अलिसान सपिङ मल, रेष्टुराँ, फिल्महल । तर हामी यात्रामा पनि युद्धकै तयारी गरिराखेका थियौं ।

युद्धमा मरिने हो वा बाँचिने केही थाहा थिएन । त्यसैले अफ्रिकामा १२ घण्टा रोकिंदा देखेका गरिब अफ्रिकीलाई भएजति पैसा बाँड्यौं । समुद्री यात्रा यति लामो थियो कि १२ घण्टाका लागि एलिजावेत २ जस्तो अत्याधुनिक पानीजहाज समेत हराएको रहेछ, जसको पत्तो हामीले पछि मात्र पाएका थियौं । हामीलाई उक्त जहाजले साउथ जर्जिया टापुमा छाडेर फर्कियो । खासमा साउथ जर्जिया समेत अर्जेन्टिनीहरुले कब्जा गरेका थिए जसलाई भने बेलायती सेनाले आफ्नो नियन्त्रणमा लिइसकेको थियो । त्यहाँबाट फकल्याण्ड टापु अझै ९६३ माइल पर थियो ।

साउथ जर्जियाबाट स–साना पानी जहाजमा हामी विभाजित भएर फकल्याण्डतर्फ लाग्यौं । त्यहाँसम्म लग्जरी जहाजमा आएका हामी एक्कासी सानोमा यात्रा गर्दा अग्ला छालका कारण हल्लने समस्याले निकै सास्ती खेप्यौं । तर हामी युद्ध क्षेत्रमा छिरिसकेका थियौं । जहाजमा राखिएको राडारले खतराका संकेत दिइरहेका थिए । हामीलाई बढि खतरायुक्त क्षेत्रबाट पठाइएको थियो भने ब्रिटीसहरु तुलनात्मक रुपमा केही सुरक्षित बाटोबाट लागे । तर हाम्रोतर्फ पहिलो निशाना नै ब्रिटीसहरु यात्रा गरिरहेको जहाज क्यान्बेरामाथि पर्‍यो । ५५ जनाको त त्यही मृत्यु भएको खबर आयो । बेलायतबाट हिंडेको २२ दिनमा बल्ल हामी फकल्याण्ड पुग्यौं । निकै मिहिनेत र तयारीपछि हामी उत्तरी तटको पोर्ट साङ्कार्लोसमा ल्यान्ड भयौं । उता पूर्वी तटमा पनि २२५ जना गोराहरु ल्याण्ड भए । ल्याण्ड भएको १५ मिनेटभित्रै हामीले उचाईको दुईतिहाई अट्ने खाल्टो खनिहाल्यौं । नत्र त आक्रमणमा परिहालिन्थ्यो । फकल्याण्ड अत्यन्तै चिसो ठाउँ हो । युद्धमा सामान्यत: हरियो पातपतिंगरसँग रंग मिलाएर लगाइन्छ ताकि जंगलमा लुक्न सजिलो होस् । तर हामीले त्यहाँको हिउँसँग मिल्ने गरी सेतो च्यादरका थुप्रै टुक्रा बनाएका थियौं ।

हामीसँग त्यहाँको भूबनोट र अन्य जानकारी निकै कमजोर थियो । त्यसैले त्यहाँ सबै आफ्नै आइडियाको भरमा चल्नुपथ्र्यो । कतिसम्म भने अगाडि बढ्नलाई हाम्रा हेलिकप्टर पनि धेरै माथि उडेर भन्दा निकै तलबाट भ्यागुँताजसरी उफ्रन्थे । फकल्याण्डमा गोर्खालीहरुले पाएको जिम्मेवारी सबैभन्दा कठिन थियो, अर्थात् हेडक्वटार पोर्ट स्टेन्लिी हान्ने । म भएको कम्पनीको अगाडिपट्टि गोराहरु थिए । उनीहरुले क्लियर गर्दै गएपछि हामी अगाडि बढ्नुपथ्र्यो । एक त नयाँ ठाउँ, त्यसमाथि गोराहरु युद्धमा पनि सामान्य अवस्थाजस्तो लापरवाही हुन्थे ।

कतिसम्म भने लडाईं उत्कर्समा हुँदा समेत चिया वा सुप बनाएर बस्न सक्थे, जगिङ गर्थे, हतियार परै छाडेर कतै गएर आराम गर्थे । खास त्यहाँ हाम्रा धेरै गोराहरु त्यस्तै लापरवाहीले मरेका थिए । हामी भने आँखा झिमिक्क पार्न समेत सक्दैनथ्यौं । कतिपटक त खाना सकिसकेको थियो र पछाडिबाट थप्ने टोली समेत आउन सकिराखेको थिएन । कति दिन त एक जनाले तयार पारेको सुपको भरमा दुईजनासम्म थामिन्थ्यौं । रातमा कतिपटक जहाँको पानी उमालेर खाइन्थ्यो, विहान हेर्दा त्यहाँ कुनै मानिसको लास चिसोले फुलेको देखिन्थ्यो । हाँस्नु न रुनु भइन्थ्यो, त्यस्तो देख्दा । चुरोट नखाने मैले समेत केही नपाएपछि एउटा चुरोटलाई दुइ टुक्रा पारेर खाएको छु । सेतो गिद्ध पनि मारेर खाइयो ।

दुवैतर्फबाट अत्यन्तै अत्याधुनिक हतियार प्रयोग भएका थिए । सर्टरेन्जदेखि लङरेन्जका थुप्रै हतियार दुवैले प्रयोग गरेका थिए । अझ रसियन हतियार प्रयोग गर्ने अर्जेटिनीहरु कतिपय पक्षमा हामीभन्दा बलिया थिए । चिसो मध्यरातमा दुवैतिरबाट प्रहार भएका तोपहरु जुध्दा त उज्यालो नै हुन्थ्यो । त्यही उज्यालोको साहारा लिएर दुश्मनलाई भुट्थ्यौं हामी । त्यसबेला अज्रेन्टिनामा हरेक नागरिकले सैन्य तालिम अनिवार्य लिनुपर्ने व्यावस्था थियो । त्यसकै भरमा आएका थिए धेरै । त्यस्तो हुनु कतिपय अवस्थामा झन् प्रत्युत्पादक हुन्छ किनकि उनीहरु भित्रैबाट युद्धको लागि तयारी भएर भन्दा पनि करले आइरहेका हुन्छन् । युद्धको उत्कर्सको माहोल सम्झंदा त मर्नलाई पनि केही डर नलाग्ने । ससाना गोलिले लागेर त मरिन्छ जस्तो पनि नलाग्ने ।

पोर्ट स्टेन्लिी नजिकै पुगेपछि भने अगाडि रहेको गोरा कम्पनीले क्लियर गर्न नसक्दा हामी अलिकति चुक्यौं । त्यहाँको डाँडामा राती नै पुग्नुपर्नेमा दिउसो भयो । स्न्यापरले हामीलाई रोकिरहेको थियो । जुन कुनै युद्धमा स्यापरलाई नमारीकन अगाडि बढ्न औधी मुस्किल हुन्छ । दूरविनसहितको विशेष हरियार लिएर कतै अति सुरक्षित ठाउँबाट स्न्यापरले आक्रमण गरेको हुन्छ । यति सुरक्षित ठाउँ हुन्छ कि त्यस्ता ठाउँमा बस्ने व्यक्तिलाई समेत पछि कसरी निस्किएला भने थाहा हुँदैन । त्यस्तै अवस्था आए कहिलेकाहीं एक–दुई जना मर्छु भनेरै त्यस्ता स्न्यापरलाई मार्नुपर्छ । त्यसैबेला पूर्वी फकल्याण्डमा रहेको टोलीले त्यहाँ अर्जेटिनीले हात उठायो भन्ने सन्देसहरु पठाए । त्यसले त्यत्तिकै हाम्रो मनोवल उच्च बनायो भने उनीहरुको कमजोर । त्यसैको मौका छोपेर हामी डाँडामा पुग्यौं । त्यहाँ एकैचोटी थुप्रै गोर्खार्लीले ‘आयो गोर्खाली’ भनेर खुकुरी तेस्र्याउँदा तलपट्टि पोर्टमा बसेकाहरु आत्मसमर्पण गर्न र भाग्न थाले । त्यहाँ सुरुङ बनाएर बसेकाले भने ढिलो पत्तो पाएछन् जसलाई हामीले पछि छोपेर युद्धबन्दी बनायौं । त्यहाँ उनीहरु यति तयारीसाथ बसेका रहेछन् कि गुफामा प्रसस्त अन्नभण्डार समेत थियो ।

म बेजिजमा बस्दा नै अलिअलि स्पेनिस बोल्न जानेको थिएँ । अर्जेन्टिनीको औपचारिक भाषा नै स्पेनिस भएका कारण कम्तिमा मेरा लागि उनीहरुसँग संवाद गर्न समस्या भएन । मैले उनीहरुलाई हामी को हौं थाहा छ भनेर सोधें । त्यसबेला उनीहरुले त्यसबेला ब्रिटीसले प्रचार गरेका गोर्खालीका गुणहरु फरर बताउँदै नमार्न आग्रह गरे । त्यहाँका स्थानिय भने को हुन् भनेर भन्नै गारो छ । पानीजहाजमा यात्रा गर्दा कताकताबाट आएर बसेका मिश्रित मानिसको जमघट छ यहाँ । उनीहरुलाई निशस्त्रिकरण गरेर वरपर माइन चेक गरेपछि कति दिनदेखिका भोका हामीले त्यसदिन मज्जासँग खायौं । अन्यत्र रहेका आफ्ना साथीहरुलाई पनि हेलिकप्टर मगाएर खाना पठायौं ।

त्यसपछिको केही समय स्थानियका घरमा समेत बस्यौं हामी । माइन हटाउनका लागि भने पछि अर्को टोली गयो । बेलायतमा हाम्रो भव्य स्वागत भयो । त्यहाँका पत्रपत्रिकाले गोर्खालीलाई ‘हिरोज अफ् दि वल्र्ड’ लेखे भने अर्जेन्टिनाले समेत गोर्खाली नभएको भने हामी जित्थ्यौं भनेर हार स्विकार्‍यो । बेलायतमा थुप्रै रेष्टुराँ तथा होटलले हामीलाई सम्मान स्वरुप आफ्नोमा आएर नि:शुल्क खानबस्न आग्रह गरे । सरकारले भने शुरुमा हामीलाई युद्धमा गएबापत दिनको ५ पाउन्ड भत्ता दिइने भनिएको थियो । फर्केपछि भने गोराहरुले ५ नै पाए हामीले भने १ पाउन्ड मात्र । उनीहरुले काम लिन मात्र जाने । त्यसको उचित सम्मान कहिल्यै गरेनन् । बेलायतलाई गार्खाहरुले थुप्रै गुन लगाएका छन् । तर अहिलेको पुस्तामा त त्यसको बोध पनि कम हुँदै गइरहेको छ ।
===
इन्द्रेणी पोखरी, खोटाङका बुद्धिराज राई, ५४, सन् १९८० मा धरान क्याम्पबाट ब्रिटीस आर्मीमा प्रवेश गरेका भूपु सैनिक हुन् । गोर्खा सैनिकको भरमा बेलायतले अर्जेन्टिनाको कब्जाबाट फुत्काएको फकल्याण्डको युद्धका साक्षी हुन् उनी ।) 

प्रस्तुति: प्रदीप बस्याल

प्रकाशित: माघ २१, २०७३