उहिले हात्ती, अहिले फुस्सा

  • कुनै बेला हात्ती पाल्ने पूर्वी नेपालका राजवंशीहरूलाई अहिले गाई पाल्न पनि धौधौ

- पर्वत पोर्तेल

बिर्तामोड ।। झापा, गरामनी–६, का भीमप्रसाद राजवंशीलाई आफ्नो विलासी बाल्यकाल सम्झिँदा अचेल सपनाजस्तो लाग्छ । कहिलेकाहीँ उनी विगत सम्झिएर चकित बन्छन् । “हाम्रो घरमा हात्ती पनि पालेका थियौँ भनेर सम्झँदा होइन कि जस्तो लाग्छ,” भीमप्रसादले सुनाए, “कहाँ गए ती दिनहरू ?” 

पहिले–पहिले झापामा राजवंशी समुदायका सीमित मान्छेको जीवन साह्रै विलासी थियो । हात्ती र घोडा पाल्ने हैसियतमा थिए उनीहरू । तिनैमध्ये एक थिए, विष्णुका बुबा सताल सिंह पनि । 

सताल सिंह त्यसबेलाका चर्चित ‘देउनिया’ थिए । राजवंशी भाषामा धेरै जग्गा–जमिन र सम्पत्ति भएका पुँजीपति महाजनलाई देउनिया भनिन्छ । “हात्ती पाल्नु चार जना मान्छे पाल्नु बराबर थियो,” विष्णु भन्छन्, “हाम्रामा दुइटा हात्ती थिए ।”  

सताल सिंहले पहिलोपटक ल्याएको हात्ती त्यसबेलाका मन्त्री भूपालमानसिंह कार्कीलाई बेचेका थिए । दोस्रो हात्तीचाहिँ सताल सिंह आफैँले पाले, विसं ०४६ मा प्रजातन्त्र पुन:स्थापना हुनुअघिसम्म । पछि बहुलाएर मर्‍यो त्यो हात्ती । सताल सिंहले भारत, बिहारको किसनगन्जमा लाग्ने खगडा बजारबाट चार हजार भारुमा किनेर ल्याएका थिए । खगडामा हात्ती, घोडाको बजार नै लाग्थ्यो । “हात्ती किनेर चढ्नु त्यसबेला ठूलो इज्जत थियो,” विष्णु भन्छन्, “जसरी अहिले गाडी किनेर चढ्ने चलन छ ।” जो पायो त्यसले हात्ती किन्न सक्ने ल्याकत राख्दैनथ्यो । सयौँ बिघा जमिनका महाजन राजवंशीहरू हात्ती मात्र किन्न सक्थे ।  

त्यो समय हात्ती पाल्ने, हजारौँ बिघा जमिनमा मालिक राजवंशीहरूको अवस्था अहिले उस्तै छैन । हात्ती पाल्ने उनीहरूलाई अहिले गाई पाल्न पनि हम्मे छ । “पहिला आँखाले हेर्न भ्याएसम्मको जमिन थियो हाम्रो,” विजयकुमार राजवंशी भन्छन्, “अहिले त्यत्रो जमिन कहाँ गयो होलाजस्तो लाग्छ ।” धान राख्ने भकारी मात्रै बडेमानको थियो । त्यो भकारी सताल सिंहका कान्छा छोरा प्रदीपकुमारको अंशमा परेको छ ।  

राजगढका देउनियाहरू रपतलाल राजवंशी, छविलाल राजवंशी, डाँगीबारीका सामा राजवंशी, घेराबारीका विष्णुपथ राजवंशी, भद्रपुरका सुन्दरलाल राजवंशी, कुमरखोदका चतुरसिंह राजवंशी, महेशपुरका गोपाल चन्द्रसिंह राजवंशीहरूले हात्ती पालेका थिए । पहिले हात्ती पाल्ने डाँगीबारी–१, का तारानाथ राजवंशीको परिवारिक स्थिति अहिले सुकुमबासीको जस्तै छ । सयौँ बिघा जमिन बिरिङ नदीले कटान गरेपछि त यो परिवार सुकुमबासी नै बन्यो । अहिले सानो झुप्रो र केही जमिन छ । 

सामाले विसं ०१८ देखि हात्ती पालेका थिए । पर्याप्त जमिन भएकाले धान पनि मनग्य फल्थ्यो । पाटा र सुर्तीको उत्पादन पनि मनग्य थियो । “हात्तीका लागि मात्रै पाँच बिघा जमिनमा केरा खेती लगाइएको थियो,” तारानाथले सुनाए, “हजारौँ मन धान फल्थ्यो ।” धान बेच्न सामा राजवंशी शनिश्चरेदेखि भद्रपुरसम्म पुग्थे हात्ती चढेरै । “धान फल्ने खेत बाढीले बगाएपछि छाक टार्नै समस्या हुन थाल्यो,” तारानाथ सुनाउँछन्, “हात्ती पाल्न त सकिने अवस्थै भएन ।” अन्तत: जनकपुरका एक व्यक्तिलाई २ लाख ३५ हजारमा हात्ती बेच्नुपर्‍यो । 

राजगढका देउनिया छविलाल राजवंशी घोडा किन्न भनेर किसनगन्जको खगडा बजार पुगेका थिए । तर, कसैको उक्साहटमा लागेर हात्ती किनेर ल्याएछन् । “हात्ती हुनु त राम्रै हो तर पाल्नै गाह्रो थियो,” छविलालकी पत्नी केशववती सुनाउँछिन्, “पाँच–सात वर्ष पाल्यौँ, थेग्न नसकेर पछि बिक्री गर्‍यौँ ।” केशववतीको घरमा हात्ती बाँध्न बनाइएको फलामको साङ्लो अझै छ । 

प्रकाशित: माघ २१, २०७३