खुकुरीको बेथा

  • माग भए पनि कामदार र कच्चा पदार्थको अभावमा भोजपुरे खुकुरीको घट्दो सान

- विद्या राई

भोजपुर ।। भोजपुरे खुकुरीको ख्याति र माग अझै उस्तै छ । तर, हाल यसको उत्पादनका लागि कामदार र कच्चा पदार्थ पाउनै गाह्रो हुन थालेको छ । भोजपुर सदरमुकाममा उर्मिला, रञ्जिता र न्यु भोजपुरे खुकुरी गरी तीन उद्योग सञ्चालनमा छन् । यसबीच भोजपुर सदरमुकाम, टक्सार, रानीबास, खैराङ, कोट, गोगने र खावा गाविसमा रहेका ६ दर्जन खुकुरी उद्योग बन्द भएका छन् । 

न्यु भोजपुरे खुकुरी उद्योगका सञ्चालक सफल सेन्चुरीका अनुसार माग धान्न हम्मेहम्मे छ तर कामदार नभएकाले उत्पादन गर्न सकिएको छैन । रञ्जिता खुकुरी उद्योगका सुनिल गजमेरको अनुभव पनि सेन्चुरीको भन्दा फरक छैन । भन्छन्, “हरेक महिना पाँच सयदेखि एक हजार थान खुकुरीको माग आउँछ । माग पूरा गर्न सके मासिक पाँचदेखि सात लाख आम्दानी गर्न सकिन्थ्यो । तर, कामदार पाउन मुस्किल छ । जान्ने बूढापाकाले बलको काम गर्न सक्दैनन् । बलियाबांगा ठिटा धूलो, फोहोर काम भनेर पन्छिन्छन् । बरू, जोखिमपूर्ण काममा विदेश जान्छन् ।” 

उद्योगले कामदार अभाव मात्र झेलेका छैनन् । साल, सिसौ र ओखरका बोट काट्न नपाउने वन ऐन लागू भएपछि टिकाउ बिडका लागि काठ र फलाम गाल्ने कोइलाको पनि अभाव छ । विसं १९६५ देखि भोजपुरमा विभिन्न डिजाइनका खुकुरी बनाउने प्रचलन सुरु भएको बताउने स्थानीय ५० वर्षीय उद्यमी गणेश गजमेरका अनुसार उहिले उत्पादित खुकुरी घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुन्थ्यो । अहिले सजावट र उपहारका लागि पनि प्रयोग हुन्छ । गजमेर भन्छन्, “जिल्लाबाहिरबाट सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्न आएका कर्मचारीले गृहजिल्ला फर्कंदा चिनारीस्वरूप खुकुरी नै किन्ने गर्छन् ।” जिल्लामा उच्च ओहोदाका व्यक्तिको आगमन र बिदाइका क्रममा खुकुरी नै उपहारस्वरूप दिने चलन छ । 

गजमेरका अनुभवमा दशक लामो द्वन्द्वमा जिल्लाबाट धेरै विस्थापित भए । केहीले स्थायी रूपमै बसाइँसराइ पनि गरेपछि दक्ष जनशक्तिको अभाव हुन थाल्यो । उनको अनुभवमा द्वन्द्वले गर्दा स्थानीय लघु र घरेलु उद्योग त नष्ट भए नै, उद्यम गरेर स्वावलम्बी बन्नेभन्दा ठालू पल्टिने चलन बढ्यो ।  

भोजपुरे खुकुरी आकर्षक, बुट्टादार र कलात्मक शैलीका हुने भएकाले धेरै मानिसको रोजाइमा पर्छ । बुदुना, सिरुपाते र बाँसपाते खुकुरी अत्यधिक किनबेच हुन्छ । बुदुना मोटो र फराकिलो हुन्छ । सिरुपाते खुकुरी सिरुको पात आकारको पातलो हुन्छ । बाँसपाते बाँसको पातजस्तै हुन्छ र यो सिरुपातेभन्दा केही मात्रामा बाक्लो हुन्छ । 

प्रकाशित: माघ २०, २०७३