अक्करमा ट्रयाक्टर

  • अहिले यो ट्रयाक्टर बालबालिकादेखि वृद्धवृद्धासम्मको रमाउने साधन बनेको छ ।

- विमल खतिवडा

चितवनलाई जति सुगम जिल्ला मानिन्छ, भौगोलिक विकटताले त्यति नै यसलाई दुर्गम बनाएको छ । यहाँ पहाडी गाविस आठवटा छन् । अधिकांश गाउँमा मोटरबाटो निर्माण गरिएको छ । तर, ती सबै मोटरबाटोमा सहज रुपमा यातायातका साधन चल्दैनन् । ट्रयाक खोलिएका मोटरबाटोमा समेत अहिले ओहोरदोहोर गर्न समस्या छ । 

फिस्लिङदेखि शक्तिखोर जोड्ने ४७ किलोमिटर सडकको ट्रयाक खुलेको तीन वर्षभन्दा बढी भयो । तर, यो सडकमा अहिले कतै/कतै मात्र गाडी चल्छन् । जिल्ला प्राविधिक कार्यालयको ग्रामीण पुन:निर्माण तथा पुन:स्थापना कार्यक्रम अन्तर्गत १५ करोड ४५ लाख २१ हजार १ सय ५५ रुपियाँ खर्च भएको छ । यही मोटरबाटो निर्माणका क्रममा ढुंगा बोक्न पुर्‍याइएको ना३त ६९६९ नम्बरको ट्रयाक्टर बाटैमा अड् किएको छ । मोटरबाटो बन्दै गर्दा पुगेको ट्रयाक्टर त्यही बाटो बन्द भएपछि फर्कन सकेन र फिस्लिङ–शक्तिखोर ग्रामीण सडक अन्तर्गत चण्डीभञ्ज्याङ–१, बयरडाँडामा अड्किएको छ । 

अहिले त यो ट्रयाक्टर बालबालिकादेखि वृद्धवृद्धासम्मको रमाउने साधन बनेको छ । “घरछेउमा यो मोटर रोकिएको बर्षौं भयो,” ट्रयाक्टरमा चढेर रमाउँदै गरेका हर्कबहादुर चेपाङ, ७३, भन्छन्, “सडक भत्किएर फिर्ता जान सकेन, हाम्रो मोटर चढ्ने धोको यसले पूरा गरिदिएको छ ।” 

प्रकाशित: माघ २०, २०७३