[सम्झना] कदी : साले नम्बर ८६

  • नेपाली भाषालाई संकलन गरेर हुन्छ कि, सम्पादन/प्रकाशन गरेर हुन्छ कि, लेखकहरूलाई पुरस्कार दिएर हुन्छ कि, यस्ता अनेक तरहले नेपाली भाषाको संवद्र्धन र प्रवद्र्धनमा अहोरात्र सक्रिय सिपाही ।

- विमल आचार्य

कमल दीक्षित । महिना दिनअघि दिवंगत उनीबारे धेरैले धेरै कुरा लेखिसके । तैपनि, यो अनुच्छेद औपचारिक भूमिका नै भयो । केही न केही ऐतिहासिक तथ्य उद्घाटन गरेका अनुसन्धात्मक ६२ निबन्ध/प्रबन्ध पुस्तकका लेखक । सूक्तिसिन्धु, जंगबहादुरको बेलाइत यात्रा, बुइँगल, वीरचरित्रलगायत दुई दर्जन उस्तै पुस्तकका सम्पादक/भूमिका लेखक । नेपाली भाषाका दुर्लभ लेखोट तथा ३७ हजार पुस्तकका संग्रहक । ५७ वर्षदेखि निरन्तर नेपाली त्रैमासिकका संस्थापक/सम्पादक । धेरैओटा सर्वेक्षणले ‘टप फाइभ’ भनेका आमाको सपना, घामका पाइलाहरू, माधवी, शिरीषको फूल, एब्स्ट्रयाक्ट चिन्तन प्याजजस्ता पुस्तकलाई जन्मँदै चिनेर मदन पुरस्कारले प्रेरणा दिने निष्पक्ष ‘न्यायाधीश’ ।

समग्रमा भन्दा नेपाली भाषालाई संकलन गरेर हुन्छ कि, सम्पादन/प्रकाशन गरेर हुन्छ कि, लेखकहरूलाई पुरस्कार दिएर हुन्छ कि, यस्ता अनेक तरहले नेपाली भाषाको संवद्र्धन र प्रवद्र्धनमा अहोरात्र सक्रिय सिपाही । यहाँ नेपाली भाषा भन्नाले नेपालमा बोलिने सबै भाषा भनिएको होइन, केवल यो लेख लेखिएको भाषाका संरक्षक ।

दीक्षितले विसं ०१६ देखि एउटा पत्रिका निकाल्न सुरु गरे, नेपाली त्रैमासिक । अहिलेसम्म यसका २ सय २५ अंक छापिइसकेका छन् । सुरुमा तीन अंकसम्म कदीले यसमा कविता पनि छापे । बालकृष्ण समका कविता । तर, पछि उनलाई के लाग्यो भने त्यतिबेलाका सबैजसो पत्रिकामा कि कविता कि त कथा मात्रै छापिएका हुने । उनलाई अनुसन्धानमूलक लेख/निबन्ध लेखिनु/छापिनुपर्छ भन्ने लाग्यो । र, सूचनै निकाले, ‘नेपालीमा कथा र कविता छापिँदैन ।’ 

सूचना छापिएपछि काल्पनिक कहानी लेखनी गर्ने केही साहित्यकारहरू तर्सिए र तिनले कथा–कविता पनि छाप्न आग्रह गरे । तर, कदीको जोड के रह्यो भने, कथा–कविता छाप्ने पत्रिका धेरै छन्, नेपालीले यथार्थ सूचना र ज्ञान पस्किनुपर्छ । अनुसन्धान, अभिलेख, सम्भाषण, पर्चा–पम्प्लेट, चिट्ठी, निमन्त्रणा (पारिवारिक नै पनि) जस्ता ताथ्यिक महत्त्वका ‘जे पायो त्यही’ (जेपीटी) छाप्नुपर्छ । यसरी नेपाली साहित्यिक पत्रिकाबाट जेपीटी जर्नलमा रूपान्तरित भयो । जेपीटी किन भने यसमा कथा–कविता छापिएन मात्र होइन, कथा–कविताबाहेक जे पनि छापियो । समीक्षा, निबन्ध, यात्रा, जीवनी, संस्मरणदेखि कानुन, दर्शन, कृषि, विज्ञान जे पनि छापियो र यो भयो– इन्टरडिसिप्लिनरी जर्नल । कदीका शब्दमा हातहातै नबिक्ने छाप्नलाई मात्र छापिने नपढिने रुखो नेपालीलाई कसले विज्ञापन दिने ? विज्ञापन माग्दा पनि नपाएपछि ठूलो कुरा किन नगर्ने भनेर उनलाई जङ चल्यो । र, उनले फेरि सूचनै छापे, ‘नेपालीमा विज्ञापन लिइनेछैन ।’  

कथा र कविता नछाप्ने भनेपछि उनलाई तीन महिनामा पनि ४० पृष्ठ भर्न गाह्रो भयो । तर, अहिले हेर्दा उनको निर्णय ठीक थियो । काल्पनिकीको सट्टा त्यसमा यथार्थिक–ताथ्यिक सामग्री छापिए । पेज भर्नकै लागि छापिएका हावादारी चिट्ठी र भाषणहरू त्यतिबेला कम महत्त्वका भए पनि अहिले ती पढेर हामी तत्कालीन समाज, शासन, सम्बन्ध, चिन्ता र चिन्तन पहिचान्न सक्छौँ । दाइ जंगबहादुर राणाले आफ्ना भाइ कायममुकायम प्रधानमन्त्री बमबहादुरलाई बेलायतबाट लेखेको चिट्ठी नेपालीमै छापिएको छ । राजा त्रिभुवनका पिता पृथ्वीले चन्द्रशमशेरलाई ‘माइ डियरेस्ट महाराजा मामा’ सम्बोधन गरी नेपालीमा लेखेको चिट्ठी पनि नेपालीमै छ । १९९७ सालमा जेलमा सँगै बसेका पुष्करनाथ पन्त (डोटी)लाई जिउँदो सहिद रामहरि शर्माले लेखेको पारिवारिक चिट्ठी पनि कम महत्वको छैन । सत्ताबाट हट्दा जुद्धशमशेरले ००२ मा दिएको अन्तिम शासकीय भाषण पनि नेपालीमै पढ्न पाइन्छ । कथा र कविताभन्दा यस्ता अभिलेखीय सामग्री छाप्ने नेपालीको योगदान नेपालीमा शारदा र रूपरेखाभन्दा कम छैन । 

कदीले भनेथे, ‘मेरा किताब कसैले पढ्दैन किनकि ती कुनै कथा, उपन्यास होइनन् । किताब नै लेख्छु भनेर मैले एकैचोटि लेखेको पनि हैन । फुटकर रूपमा लेख्तै–छाप्तै गरेर पछि संकलन गरिएका हुन् ।’ कदीको यो भनाइले धेरै संकेत गर्छ । साहित्यकार परिचय कोश पुस्तक निकाल्दा पाँच हजार पृष्ठले पनि नपुग्ने देशमा साहित्यिक/ऐतिहासिक अनुसन्धानात्मक लेखनीले पाँच जना पाठक पाउन पनि मुस्किल हुनुले हाम्रो जग कति गहिरो र त्यसमाथि उठेको घर कति दरिलो छ भन्ने बोल्छ । 

हामी कदीलाई उनले लेखेका भन्दा सम्पादन गरेका र भूमिका लेखेका पुस्तकबाट बढी चिन्छौँ । घुम्ने मेचमाथि अन्धो मान्छेमा भूपी शैलीमै उनले लेखेको भूमिका होओस् या सेतो बाघमा । सेतो बाघको भूमिकाका कारण त दरबारमा टिप्पणी नै उठेछ, साझा प्रकाशन सरकारी अनि त्यहीँबाट सरकारविरोधी पुस्तक छापियो भनेर । कदीले बडो चलाखीसाथ लेखेको भूमिकाका कारण उनी जोगिए । गोर्खा भाषा प्रकाशिनी समितिको उत्तराधिकारी साझाका पहिलो अध्यक्ष उनले भूमिका लेख्दै पुस्तक छाप्दै गरे त्यहाँबाट । ‘लाइब्रेरी भ्यालु’का पुस्तक आफ्नो जगदम्बाबाट र ‘मार्केट भ्यालु’ भएका पुस्तक साझा प्रकाशनबाट छापे । निजी संस्थाभन्दा सार्वजनिक संस्थालाई बढी दरिलो र भरिलो बनाउनुपर्छ भन्ने ठानेको देखिन्छ उनले । चिन्दै नचिनेका, भेट्दै नभेटेका लेखक रणशूर लिम्बूको बर्माको सम्झना (०१८), लीलबहादुर क्षत्रीको बसाइँ (०१४) उनैले साझा नजन्मिँदै छापिदिए जगदम्बाबाट ।     

गोरखापत्रको पहिलो अंक ‘नेपाल सम्वत् १९५८ मिति ज्येष्टवदी ३ सोमबार’ (१९५८ वैशाख २४) निस्केको भनेर कदीले नै पत्ता लगाएका हुन् । त्यसभन्दा अघि वैशाख १ गते वर्ष फेथ्र्याे गोरखापत्र । गोरखापत्रबारे उनका कागतीको सिरप (०२६), चार कन्था (०५३), शाखासन्तान (०६१) पुस्तक विशेष 

पठनीय छन् । 

अहिलेको विशाल पुस्तकालय र सम्मोहनकारी पुरस्कारको रचनागर्भ पनि कम्ती रोचक छैन । दरबार स्कुलमा पढ्दा कदी दिनको आठ पैसा खाजा खर्च पाउँथे । त्यही पैसा जम्मा गरेर उनले पुस्तक किन्न थाले । ‘ कमलको नेपाली संग्रह’ भनेर रबर स्ट्याम्प नै बनाए । असनमा रहेको मानदास (चित्तधर) मानन्धरको पुस्तक पसलबाट उनले बढी किताब बटुले । भनेका छन्, ‘पुस्तकालयमा ल्याएर राख्नलाई मैले धेरै लेखोट चोरेको, मागेको, पैँचो लिएको र नफर्काएको पनि छु ।’ 

च्वाँचे/चण्डालमणि (जर्नेलले उनलाई दिएको नाउँ)ले पुरस्कारका लागि गरेको चलाखी पनि कम्ती रमाइलो छैन । केटौले जोसका उनले आफ्नो १० हजार रुपियाँ हालेर आफ्नी आमाका नाममा ‘विद्यादेवी नेपाली निबन्ध प्रतियोगिता’ आयोजना गरे । जित्नेलाई १ सय २० रुपियाँ दिइने भयो तर एकैपटक होइन, प्रत्येक महिनामा १०/१० रुपियाँ गरेर १२ महिनामा दिइसक्ने । कदीकै शब्दमा ‘सम्पादक बाजे’ प्रेमलाल पौडेलले गोरखापत्रमा पहिलो पृष्ठमा समाचार मात्र छापिदिएनन्, सम्पादकीयसमेत लेखेर प्रशंसा गरिदिए । कदीका बाबुले जगदम्बालाई गोरखापत्र देखाएर, ‘नजर होओस् त, यस्तो फुच्चेको यत्रो तारिफ ! रानीसाहेबले नै केही गरिबक्से झन् कत्रो तारिफ होला !’ भनेर उक्साएको परिणाम नै आज हाम्रा धेरै लेखकको ८ हजार ८ सय ४८ मिटरको गन्तव्य–उचाइ अर्थात् अन्तिम इच्छा भइदिएको छ, मदन पुरस्कार ।  

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान स्थापना र कमलमणि संस्थाकरण भएको लगभग सँगसँगैजस्तो हो । अलिकताले मदन पुरस्कार/पुस्तकालय जुम्ल्याहा जेठो/जेठी हो । दुवै संस्थाको क्षेत्र उही भाषा–साहित्य । आज कमलादी कहाँ छ र कमल–दी कहाँ ? प्राज्ञिकता र विश्वसनीयतामा कमलादीको ओरालो यात्रा र कमल–दीको विस्तारित, व्यवस्थित, संगठित र उल्लेखनीय उकालो यात्राबारे बिनापूर्वाग्रह विवेचना किन गर्दैनौँ हामी ? हाम्रो तिरोबाट बाँडिने/चल्ने कमलादीका भागबन्डे पद, पुरस्कार, पुस्तकालय, प्रकाशन, प्राज्ञको गरिमा कस्तो छ ? पाँच लाखको पृथ्वी प्रज्ञा पुरस्कार र दुई लाखको मदन पुरस्कार दुवै पाएका क्रान्तिकारीदेखि मण्डले लेखकसम्मले पनि ‘तपाईंले पाउनुभएको ठूलो पुरस्कार ?’ भनेर सोध्दा मदन पुरस्कार नै भन्छन्, पृथ्वी प्रज्ञा पुरस्कारको नाम लिँदैनन् । किन ? 

मैले कदीलाई सोधेथेँ, ‘मदन पुरस्कार पुस्तकालयमा पहिले ज–जसले आफ्ना किताब दिए, अहिले उनीहरूले नै हेर्नसमेत पाउँदैनन् रे ! जो–कोहीलाई सहज पहुँच छैन, किन ?’ उनले भनेका थिए, ‘मदन हाम्रो पुस्तकालयभन्दा बढी अभिलेखालय हो । राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, राष्ट्रिय अभिलेखालय, प्रज्ञा पुस्तकालय, त्रिवि पुस्तकालय व्यवस्थित नभएरै हामीलाई बढी व्यवस्थित हुनुपरेको हो । कत्रो महत्त्वका, संसारभरि नै एक प्रति मात्रै भएका लेखोटलाई पीपलबोटमा बसेर पत्रिका पढेजस्तो सजिलो बनाइदियो भने कति दिन जोगिन्छ ?’ 

हुन पनि हो, हाम्रा धेरै पुस्तकालय बोरामा छन् अझै । हामीलाई थाहै छ, केशर पुस्तकालयबाटै कति पुस्तक हराए ? त्रिवि पुस्तकालयका कति किताब प्राध्यापकले पचाए ? संसद् पुस्तकालयका कति पुस्तक सांसद–कर्मचारीले झ्याप पारे ? यहाँ कतै नपाइने अभिलेख अमेरिका र युरोपका पुस्तकालयमा कसरी पुगे ? हाम्रा सन्धि, अभिलेख र पत्रको सक्कल कपी खोज्न अमेरिका–युरोपका पुस्तकालय धाउनुपर्ने कति लाजमर्दाे बेवास्ता/व्यवस्था छ हामीसँग !

अब अलिकति आफ्नो कुरा । त्रिचन्द्र कलेजमा पढ्दा विभागबाट वार्षिक रूपमा प्रकाशन हुने आकुञ्चनको सम्पादन गर्ने मौका जुरेको थियो मलाई । खै, मेरो खप्परमा के–के अन्टसन्ट फुर्छ बेलाबेला । मैले पाँच जना ज्येष्ठ–श्रेष्ठ विधानायक छानेँ र घरघरै पुगेर अन्तर्वार्ता गरेँ । आवरणमा छापियो– उपन्यासशमशेर राणा, कविताप्रसाद घिमिरे, नाटकबहादुर मल्ल ‘गोठाले’, निबन्धचन्द्रसिंह प्रधान र साहित्यिकसंस्थामणि दीक्षितसितका निवार्ता । अब यीमध्येका एक मात्र जीवित छन् र सबैभन्दा कान्छा पात्र थिए, कदी । 

कदीको हास्यचेत पनि तीक्ष्ण थियो । अनुसन्धानजस्तो रुखो विषयलाई कसरी पढूँपढूँ बनाउने भन्ने प्रश्नको जवाफ पनि कदी नै हुन् । उनी ०१५ मा धनकुटा गएका थिए । त्यहाँ उनलाई सोधियो, ‘कुन साले पर्नुभो तपाईं ?’ कदी अकमक्क परे । अनुहार हेर्दा र सोधाइको लबज सुन्दा बडो विनम्रता झल्किन्छ तर पहिलो भेटमै ‘कुन साले’ भन्छ यार ! कदीलाई हुनुसम्म तनाव भो !

कुरो बुझेपछि उनले भने, ‘म ८६ साले, साले नम्बर ८६ । अनि, हजुरचाहिँ फेरि कुन साले पर्नुभो नि ?’

प्रकाशित: माघ २०, २०७३