खेलाडीजति चीनतिर

  • विश्व चर्चित खेलाडीहरू चिनियाँ लिगमा जान थालेपछि फुटबल क्लबहरू समस्यामा

- ज्ञानेन्द्र आचार्य

प्रिमियर लिगको गेमविक २१ । अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीलाई अघिल्लो सिजनको विजेता लेस्टर सिटीसँग खेल्नु थियो, लेस्टरकै घरेलु मैदान किङ पावर स्टेडियममा । लेस्टरसँगको खेलका लागि जब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले टिम सार्वजनिक गरे, त्यसपछि चर्चा सुरु भयो डियगो कोस्टाको । किनभने, कोस्टाको नाम अचानक टिममा थिएन । टिम सार्वजनिक गर्नुअघि कोस्टा घाइते भएको पनि कसैलाई थाहा थिएन । यस विषयमा प्रशिक्षक कोन्टेले नै मुख खोले, “कोस्टाको ढाडमा समस्या देखिएकाले उनी टिममा छैनन् ।” कोन्टेले कोस्टा घाइते भएकाले लेस्टरसँगको खेल नखेल्ने बताउँदा उता अर्कै हल्ला फैलिएछ । कोस्ट पनि चीन जाँदै छन् भनेर । 

म्याच खेल्नुअघि र पछि यसैसँग सम्बन्धित प्रश्नहरूको वर्षात् हुने गर्छ चेल्सीका प्रशिक्षक कोन्टेमाथि । गेमविक २२ मा चेल्सीले हल सिटीसँग खेल्दा कोस्टा टिममा फर्किए र एक गोल पनि गरे । तर, उनी चीन जाने हल्ला अझै सेलाएको छैन । फुटबलको ट्रान्सफर मार्केटमा डियगो कोस्टा अहिलेको सिजन सकिएपछि आउने समर ट्रान्सफर विन्डोमा चीन जाने अफवाह फैलिएको छ । 

अचेल युरोपका ठूला लिगमा खेल्ने स्टार खेलाडीबारे यस्ता हल्ला फैलिनु सामान्य भइसक्यो । किनभने, चिनियाँ सुपरलिगका क्लबहरूले अथाह पैसा खर्च गरेर स्टार खेलाडीलाई भित्र्याउन लागिपरेका छन् । अंग्रेजी नयाँ वर्ष लागेपछि युरोपेली लिगको विन्टर ट्रान्सफर सुरु हुन्छ । जुन एक महिनासम्म चल्छ । यो सिजनको विन्टर ट्रान्सफर विन्डो सुरु नहुँदै सनसनीपूर्ण खबर आयो । चेल्सीकै मिडफिल्डर ओस्कार चिनियाँ लिग खेल्न गए भनेर । सन् २०१२ मा चेल्सी आउँदा ओस्कारले राम्रै सम्भावना देखाएका थिए । तर, यसै सिजनबाट कोन्टे चेल्सीको प्रशिक्षक नियुक्त भएपछि उनले टिममा कमै मात्र मौका पाए । 

पहिलो टिममा कम मौका पाउन थालेपछि खेलाडीले अर्कै क्लब रोज्नु सामान्य मानिए पनि जुन हिसाबमा सांघाई इन्टरनेसनल पोर्ट ग्रुपले उनलाई भित्र्यायो, त्यसले युरोपका ठूला र धनी क्लबलाई झस्काएको छ । चेल्सीबाट ओस्कारलाई किन्न उनको क्लबले अनुमानित ६ करोड पाउन्ड खर्च गरेको छ । त्यहाँ ओस्कारले तलबबापत वार्षिक दुई करोड पाउन्ड पाउने बुझिएको छ । यो उनले चेल्सीमा हुँदा पाउने भन्दा झन्डै चार गुणा बढी हो । 

हाइप्रोफाइल खेलाडीलाई भित्र्याउन चिनियाँ क्लबहरूले युरोपका धनी क्लबले भन्दा फरक रणनीति अपनाउँदै छन् । युरोपमा ठूला क्लबले राम्रा खेलाडी ल्याउन ट्रान्सफरमा मोटो रकम खर्चिन्छन् । चिनियाँ क्लबहरूले खेलाडीको तलबमा । यसको प्रत्यक्ष उदाहरण बनेका छन्, ओस्कारसँगै अहिले चिनियाँ लिगमा खेल्ने हाइप्रोफाइल खेलाडी कार्लोस टेभेज, इजिकेल लाभेजी, हल्क, रामिरेस, पाउलिन्हो, डेम्बा बा, जर्भिन्हो, ग्राजियानो पेले आदि । यसअघि चेल्सीबाटै खेलेका निकोलस एनेल्का र डिडियर ड्रोग्बाले पनि चिनियाँ सुपर लिग खेलेका थिए । टेभेज अहिलेकै विन्टर ट्रान्सफर विन्डोमा चीन गएका हुन् । भनिन्छ, सांघाई सिन्ह्वाबाट खेलेबापत उनले साताको ६ लाख १५ हजार पाउन्ड बुझ्छन् । यसलाई हिसाब गर्ने हो भने एक सेकेन्डको एक पाउन्ड बराबर हुन आउँछ । 

उनीहरूको पारिश्रमिकबारे मिडियामा आएका कुरा सत्य हुन् भने ओस्कारकै तलब रोनाल्डो वा मेसीको भन्दा पनि बढी हुन्छ । यस्तो ठूलो पारिश्रमिकबारे कुनै खेलाडीले मुख खोलेका छैनन्, न त उनीहरूका क्लबले कुनै आधिकारिक कुरा नै सार्वजनिक गरेका छन् । तर, मोटो पारिश्रमिक नपाई कोही खेलाडी चिनियाँ लिग खेल्न जानु असम्भव छ । 

खेलाडी मात्रै होइन, नाम चलेका प्रशिक्षक पनि चिनियाँ क्लबमा छन् । सन् २००२ मा ब्राजिललाई विश्वकप जिताएका लुइस फिलिपे स्कोलारी अहिले ग्वान्झाओ एभरग्रान्डेका प्रशिक्षक छन् । उनी २०१४ को विश्वकपमा पनि ब्राजिलकै प्रशिक्षक थिए । त्यस्तै, चेल्सी र टोटेन्हामका पूर्वप्रशिक्षक आन्द्रेस भियास बोअस र म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक म्यानुअल पेलेग्रिनी पनि चीनमै छन् । इटालीले २००६ मा विश्वकप जित्दाका कप्तान फाबियो कानाभारो अहिले ती आन्जिन क्वानजिआनमा प्रशिक्षक छन् । २००६ मै इटालीका प्रशिक्षक रहेका मार्सेलो लिप्पी एक समय ग्वानझाओका प्रशिक्षक थिए । अहिले उनले चीनको राष्ट्रिय टिम सम्हालिरहेका छन् ।

गुणस्तर र प्रतिस्पर्धात्मक हिसाबमा चिनियाँ लिग निकै पछि छ । यस्तो लिग खेल्न जाने खेलाडीले आफ्नो देशको राष्ट्रिय टिममा पनि मौका पाउन गाह्रो पर्छ । ब्राजिलका हल्क र पाउलिन्हो यसको प्रत्यक्ष मारमा परेका छन् । यी दुवैले २०१४ को विश्वकप खेलेका थिए । ग्वानझाओ एभरग्रान्डेका प्रशिक्षक स्कोलारी भने यसमा सहमत छैनन् । उनले चिनियाँ सुपर लिग विश्व फुटबलमा उदाउँदो लिग भएका कारण यहाँ खेल्ने खेलाडीले राष्ट्रिय टिममा पनि मौका पाउनुपर्छ भन्ने तर्क राख्छन् । अर्जेन्टिनाका लाभेजीले हिबेई चाइना फोर्चुनसँग आबद्घ भएपछि पनि राष्ट्रिय टिममा मौका पाए । उनले अर्जेन्टिनाबाट गत वर्ष भएको कोपा अमेरिका सेनटेनारियो खेलेका थिए । 

टेभेज वा एनेल्काले जस्तै उमेर ढल्केपछि चीनमा गएर खेल्नु ठीकै हो । तर, ओस्कार, पाउलिन्होजस्ता युवा खेलाडीले राष्ट्रिय टिममा नपरिने डरका बाबजुद चिनियाँ क्लब रोज्नुले युरोपलगायत फुटबलका सबै महाशक्ति राष्ट्रलाई झस्काएको छ । खेलाडीको पारिश्रमिकमा चिनियाँ क्लबले अन्धाधुन्द खर्च गर्दा राम्रा खेलाडी लालायित भएर उतै गए फुटबलको पावर हाउस युरोप नभएर चीन हुन सक्ने सम्भावना बढी थियो । धन्न त्यहाँको फुटबल संघले एउटा टिममा तीन जनाभन्दा बढी विदेशी खेलाडी खेलाउन नपाउने नियम बनायो । यसअघि बढीमा चार विदेशी खेलाडी खेलाउन पाउने नियम थियो । 

चिनियाँ लिगका क्लबले महँगो पारिश्रमिक दिएर नाम चलेका खेलाडी भित्र्याउँदैमा चीनको फुटबलले ठूलो फड्को मार्न सक्दैन । यो कुरा त्यहाँको फुटबल संघले बेलैमा बुझेको छ । त्यसैले हरेक क्लबले बढीमा तीन विदेशी र कम्तीमा २३ वर्ष मुनिका दुई चिनियाँ खेलाडी खेलाउनुपर्ने नियम ल्यायो । चिनियाँहरूको लक्ष्य भनेको २०५० को विश्वकप फुटबल जित्नु हो । यो धेरै चर्चामा आइसकेको कुरा हो । सायद अबको नियमले चीनलाई यो लक्ष्य भेट्टाउन सहयोग गर्ला कि ?

विदेशी खेलाडीको संख्या घटाउने नियम ल्याए पनि त्यहाँका क्लबले युरोपमा खेलिरहेका स्टार खेलाडीलाई ताक्न भने छाडेका छैनन् । त्यसैले कहिले कोस्टा त कहिले रुनी चीन जाने हल्ला बाहिर आउँछ । हुँदाहुँदा रियल म्याड्रिडका डिफेन्डर पेपे पनि यो सिजनपछि चिनियाँ क्लबमा आबद्घ हुन सक्ने कुरा बाहिर आएको छ । चिनिया क्लबसँग बेलाबेलामा रोनाल्डो र मेसीको नाम पनि नजोडिएको होइन ।

प्रकाशित: माघ २०, २०७३