गुरु पत्रकार

  • पत्रकारिताको सैद्धान्तिक पाठशालाका अनवरत साधक रामकृष्ण रेग्मी कठोर समयपालक लाग्छन् ।

- राजकुमार बानियाँ

दुईघन्टे तालिम या दुईवर्षे डिग्रीको कक्षा लिएका विद्यार्थीले बिर्सनै सक्दैनन्, प्राध्यापक रामकृष्ण रेग्मी, ७०, लाई । भलै बुढ्यौलीका कारण उनी आफैँले बिर्सेका हुन सक्छन् । जादूमय प्रस्तुति उनको कक्षाको खास विशेषता हो । 

पत्रकारिताको सैद्धान्तिक पाठशालाका यी अनवरत साधक कठोर समयपालक लाग्छन् । न पाँच मिनेट ढिलो, न पाँच मिनेट छिटो । उनको जिन्दगी अनुशासित छ, काम नियमित । नौनीजस्तो नरम लबज र शैलीका कारण रेग्मी सरलाई नरुचाउने कमै भेटिन्छन् । यसो किन हुन्छ भने उनी एक घन्टा पढाउनु छ भने त्यसको दोब्बर तयारी गर्छन् । 

तीन पुस्ता पहिले धादिङको मान्खुबाट नरदेवी, काठमाडौँ आएको हो रेग्मी परिवार । बाजे बनारसमै संस्कृतका कहलिएका विद्वान् थिए भने बाबु बुद्धिप्रसाद शर्माले रामायण नै लेखे । अभ्यास हाई स्कुल ताहाचल (पछि दरबार हाइस्कुलमा गाभिएको)मा लेखपढ थालेका नाति रेग्मी कति पढैया भने हरक्षण पुस्तकसँगै । पुस्तक र पत्रपत्रिकाको त्यही असामान्य लतले त पत्रकारितामा ल्याइदियो उनलाई । 

त्यतिबेला बागी विचारका युवाहरूका निम्ति सिमानाजस्तै थियो, राजनीतिक दलसम्बद्ध भएर भूमिगत हुने या भारत भासिने । रामकृष्णले दुवै गर्न सकेनन् । त्यसैले निरन्तर पढिरहन्थे, अलिअलि लेखिरहन्थे । त्यस्तो खुलेर लेख्न नसक्ने तर लेखिरहने । 

उनको जमानाको अनौठो जक्सन थियो, बांगेमुढा । नयाँ सडकको पीपलबोटमा जस्तै उभिएर पत्रपत्रिका पढिने अड्डा । त्यहीँ भेटिन्थे काठमाडौँका अक्सर बुद्धिजीवी । उनी पनि भारतीय अखबार स्टेट्सम्यान, टाइम्स अफ इन्डिया, हिन्दुस्तान पढ्न त्यहीँ पुग्थे । 

विद्यार्थी जीवनमै रामकृष्णले तिनै अखबारी शैली हेरेर सिकेका हुन् पत्रकारिता । त्यतिबेला न पत्रकारिताको औपचारिक पढाइ हुन्थ्यो, न पुस्तक नै लेखिएका थिए । “कति किताब भारतको नयाँदिल्लीबाट ल्याएर पढेँ,” उनी सम्झन्छन्, “कति किताब त रत्न पुस्तक भण्डारमार्फत पनि झिकाएँ ।” 

गोपालदास श्रेष्ठको अंग्रेजी दैनिक द कमनरमा कहिलेकाहीँ लेख्थे रामकृष्ण । पछि चन्द्रलाल झाको नेपाल टाइम्स दैनिक र अंग्रेजी साप्ताहिक द नेपाल क्रोनिकलमा लेख्न थाले । त्यतिखेरको छापा पत्रकारितामा ‘ बाइलाइन’ दिने चलनै थिएन । पत्रकारिता ‘एडिटर–ओरिएन्टेड’ थियो । समाचारदाताको नाम कतै उल्लेख हुँदैनथ्यो । ०३२ मा सरकारी न्युज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) छिर्दा पनि त्यही स्थिति दोहोरियो । बल्लतल्ल रासस बुलेटिनमा बाइलाइन घुसाए पनि पत्रपत्रिकाले काटिदिने ।

राससमा बागी क्लब थियो, जयशमशेर राणा, विदुर बस्नेत र उनको । उनीहरूकै सक्रियतामा फिचर सेवा सुरु भयो । ०३६ को जनमतसंग्रहका बेला मिडिया अलिक स्वतन्त्र भयो । पत्रकारिताको सक्रिय अभ्यास त्यसैलाई मानेका छन् उनले । “दलीय प्रतिबन्ध हट्नासाथ कांग्रेस–कम्युनिस्ट नेताका कोट लिन पाइने भयो,” उनी खुसी मान्छन्, “एकै दिन बीपी कोइराला, मनमोहन अधिकारी र तुलसी गिरीजस्ता तीन धारका नेताका भाषणमाथि रिपोर्टिङ हुन सक्यो ।”

त्यो समय रामकृष्णलाई पत्रकार–जीवनकै अभूतपूर्व र चुनौतीपूर्ण कालखण्ड लाग्छ । त्यसको कारण के हुन सक्छ भने उनी कहिल्यै कसैको छातामुनि बसेनन् । राजनीतिक, धार्मिक या वादको जामा पनि पहिरेनन् । उनको सदिच्छा– सबैमाथि न्याय होस् । उनको सिद्धान्त– पत्रकारिता जिन्दावाद !

अंग्रेजी ‘रेडियो कमेन्ट्री’ पनि लेखे धेरै वर्ष रेग्मीले । गौरी केसी, मणि राणाहरूले पढ्थे राती अंग्रेजी समाचारपछि । त्यसमा तीन कुरा बर्जित थिए– राजामाथि प्रश्न उठाउन नपाउने, पञ्चायत (पछि गाउँफर्क पनि)लाई प्रश्न गर्न नपाइने अनि ‘संसदीय’जस्ता शब्द प्रयोग गर्न नपाउने । 

राससको पत्रकार सरकारी कर्मचारी नै भए पनि उनले व्यावसायिक संघर्ष छाडेनन् । समाचार अनुवाद हुनुहुँदैन भन्ने उनको एकलव्य–मान्यता अद्यापि छँदैछ, त्यसमाथि राससलाई पब्लिक ब्रोडकास्टिङ कम्पनी बनाउनुपर्छ भन्ने आवाज पनि उठाए ।

समाचारदातालाई ‘क्यामरा पर्सन’समेत बनाउन खोजिएकामा पनि विमति रह्यो उनको । उनको तर्क के भने एउटै व्यक्तिले दुइटा काम गर्दा दृष्टिकोण पुग्दैन । रेकर्डर नभएकाले र्‍यापिड सर्टह्यान्डमा रिपोर्टिङ गर्नुपथ्र्यो । गैरसरकारी रासस बनाउने प्रयास असफल भएको झोक उनले धेरैचोटि झिके । तर, राजीनामा भने मनमोहन अधिकारीको भारत भ्रमणपछि ‘प्रशासनिक अप्ठ्यारो’ देखाएर दिए, ०५२ मा ।

राससका प्रमुख समाचारदाता रहिसकेका रामकृष्णले जागिर छाड्दा कुनै स्पष्ट गोरेटो थिएन । अरू कतै जोडिन छाड्थे, उनले चाहिँ खालि छाड्नका लागि छाडिदिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि उनले केही समय शंकरदेव क्याम्पसमा पढाए पनि त्यो क्रम भंग भइसकेको थियो ।

“पत्रकारिता गरेर नियमित तलब आउँछ भन्ने थिएन । त्यसको विकल्पमा केही न केही पेसा गर्नैपथ्र्यो,” उनी सुनाउँछन्, “राससमा नाइट ड्युटी थियो, साँझ ६ बजेदेखि राती ११ बजेसम्म । कहिले त राती ३ बज्थ्यो । फेरि बिहान ६ बजे नै शंकरदेव क्लास लिन जानुपर्ने ।” उनी पत्रकारिताबाट अलग हुन सकेनन् ।

अहिले उनका साथीभाइ ‘पेन्सन होल्डर’ छन् । रामकृष्णले कतै पढाएनन् भने आम्दानीको स्रोत सुक्छ । “यो आर्थिक विवशताको एउटा पाटो हो तर मलाई पश्चात्ताप छैन,” उनी भन्छन्, “समाचारदाता जागिर मात्र नभएर एक किसिमको सेवा हो । पारिश्रमिक लिए पनि, नलिए पनि ।”

जनमतसंग्रहताका के अनुभूति भयो भने विदेशी आमसञ्चारका सामग्री एक किसिमका देखिने, नेपालका सामग्री अर्कै किसिमका । त्यसका लागि मिडिया शिक्षाको तालिम दिने अठोट गरेर गोपालदास श्रेष्ठसँग उनी विराटनगर पुगे । त्यो पनि अञ्चलाधीशले रोकिदिए । 

न्युजरुमका व्यक्ति प्रशिक्षित, विवेकशील र सीप सम्पन्न नभईकन स्वतन्त्र प्रेसको मिसन पूरा हुन्न भन्ने मान्यता थियो उनको । “न्युजरुमबाटै राष्ट्र चल्छ । राष्ट्रिय मुद्दा न्युजरुम हुँदै अघि बढ्छन्,” उनी भन्छन्, “त्यो कति संवेदनशील ठाउँ हो भने अलिकति तलमाथि पर्दा राष्ट्रकै लक्ष्य तलमाथि पर्न जान्छ ।” 

त्यसै कारण नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)को दोस्रो वर्षदेखि नै रिसोर्स पर्सनका रूपमा सघाए उनले । राससमै छँदा इन्टरनेसनल इन्स्टिच्युट अफ जर्नालिजम (बर्लिन जर्मनी) र एक्सेटर युनिभर्सिटी (बेलायत)बाट पोस्ट ग्य्राजुएट डिप्लोमा गरेका उनले लामो समय रिपोर्टिङ कला सिकाए । “त्यहाँ अन्य विषयमा धेरै पढेका पनि थिए, मिडियाको सोख पूरा गर्न आएका पनि थिए,” उनी भन्छन्, “अहिले हरेक न्युजरुममा उनीहरूलाई नै देख्छु ।”

एनजीओका रूपमा चलेको एनपीआईले दिने तालिमभन्दा पनि उच्च शिक्षाको प्याकेज चाहिरहेका थिए, आमसञ्चार विज्ञ रामकृष्ण । त्यही बेला पूर्वाञ्चल विश्वविद्यालयले अन्तरसंकाय स्नातकोत्तर थाल्यो । त्यसपछि कान्तिपुर सिटी कलेजमा पत्रकारिता तथा आमसञ्चारका प्राध्यापकका रूपमा १६ वर्षदेखि उनी पढाइरहेका छन् । 

तिनै डिग्रीधारी र तालिमेले पत्रकारितामा केही गुणात्मक परिवर्तन ल्याएजस्तो लाग्छ उनलाई । “पत्रकारिता आत्मनिर्भर नभएकाले विज्ञापन, सशस्त्र समूह र राजनीतिमा भर पर्नुपर्ने हुन्छ,” उनी सचेत छन्, “त्यस्ता ननस्टेट एक्टरको प्रभावमा प्रेस स्वतन्त्रता कुण्ठित हुन सक्छ ।”

आचारसंहिताजस्तो न्यूनतम पक्ष पनि परिपालना नभएकामा उनलाई उदेक लाग्छ । थाहा नभएको हो या पालना नगरेको ? “पत्रकारिताले संघीयता भनेको व्यवस्थापकीय पक्ष हो भन्ने बुझाउन सकेको छैन,” उनको प्रश्न छ, “चार–पाँचवटा दैनिक पत्रिका पढ्दा म कन्फ्युज हुन्छु, मुलुकमा दलहरूले निर्वाचन गर्ने वातावरण बनाइरहेका छन् या निर्वाचन नगर्ने वातावरण ?” 

आफ्नै जीवनमा हातले लेख्ने, टाइप गरेर फ्याक्समा पठाउने र इलेक्ट्रोनिक कलमले लेखेर इमेल गर्ने तीन चरण पार गरेका छन् उनले । उनको बुझाइमा नेपाली पत्रकारितामा विविधता आयो तर पुन:आविष्कार भएन । “कुनै बेला दाङबाट डेस्क सम्पादकलाई आकाशवाणीबाट दंगाली शब्द टिपाउँदा बंगाली छापिएको थियो,” उनी भन्छन्, “अहिलेको सूचना सम्पर्क चमत्कारी छ ।”

नेपाली पत्रकारितामा रामकृष्णले मान्ने तीन सम्पादक छन्, गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय र चन्द्रलाल झा । प्रेसमै पुलिस बस्ने जमानाका पत्रकार । आफ्नो अडानमा टसमस नहुने सम्पादक । दु:ख केमा लाग्छ भने पछिल्लो पुस्ताले उनीहरूलाई चिन्नै सकेन । त्यसैले अबिच्युअरीसमेत राम्ररी लेखिएनन् । 

प्रत्यक्ष वा परोक्ष रूपमा ४५ वर्ष सूचनाकै चौतारीमुनि बिताएका रामकृष्णका चाखलाग्दा र कामलाग्दा आठ पुस्तक छन् । एकल लेखनमा विश्व समाचार प्रणालीमा नयाँ आयाम, फायरिङ करप्सन र समाचारकर्मी अनि सहलेखनमा नेपाल टाइगर आदि । ‘बंगाल टाइगर’लाई ‘नेपाल टाइगर’का रूपमा न्वारन गरेका यी लेखक चिन्तित छन्, पर्यावरणीय सन्तुलन राख्ने श्रेष्ठ प्राणी बाघ सकिए माछापुच्छ्रेको टुप्पोलाई नै त्यसको प्रतीक मान्नुपर्ने हुन्छ ।

रामकृष्ण नामको भोकमा कहिल्यै परेनन् । कामको विश्वासमा उनले थुप्रै छद्मनाम प्रयोग गरे । कहिले नेपाल समाचारपत्रमा ‘द्वारपाल’का नाममा, द मदरल्यान्डमा ‘पेमा’का नाममा । अरू छद्मनाम उनी सम्झन पनि चाहँदैनन् । रामकृष्णलाई नाम नचाहिने, सम्पादकहरू सम्पादकीय उनैलाई लेखाउन चाहने । उनले धेरै पत्रिकाका लागि सम्पादकीय लेखेका छन् । अहिले ती काममा दाबी गर्नुपर्‍यो भने तिनै सम्पादकबाट पुष्टि गराउनुपर्ने बाध्यता छ ।

नेपाल समाचारपत्रमा १६ महिना परामर्श सम्पादक रहेका यी पाका पत्रकारले नेपालन्युजडटकममा डिजिटल पत्रकारिताको अनुभव पनि लिए, स्टक एक्सचेन्ज विश्लेषकका रूपमा । अहिले पनि उनलाई कार्यपत्र र वैचारिकपत्रको टन्टाले छाडेको छैन । 

जनआन्दोलनपछिको पहिलो संसद् बडो रोमाञ्चक लागेको थियो, रामकृष्णलाई । अराष्ट्रिय तत्त्वका रूपमा बन्दी रहेका दुब्लापातला मान्छे कोट, दौरा, सुरुवाल र टोपीमा ठाँटिएर संसद् भवन पस्दा नयाँ युग नै पसेजस्तो लागेको थियो उनलाई । कुनै बेला त्यही भवनमा राष्ट्रिय पञ्चायत थियो । ‘संसदीय’ शब्द उच्चारण गरिँदा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

“इतिहास देख्ने पहिलो मान्छे पत्रकार हो, उसले देखेपछि नै अरूले देख्छन्,” उनी भन्छन्, “औपचारिक शिक्षाका लागि मानिस एकपटक विश्वविद्यालय जान्छ तर मिडियामा हरेक दिन ज्ञान लिइरहेको हुन्छ । प्रेस कहिल्यै नरोकिने विश्वविद्यालय हो ।”

उनको भनाइमा व्यापारीले पैसा हुने व्यक्तिलाई मात्र वस्तु र सेवा बिक्री गर्छ तर पत्रकारले पैसा नहुनेलाई पनि सूचना दिनुपर्छ, यही नै सामाजिक उत्तरदायित्व हो । पछिल्लो समय सोसल मिडिया र अनलाइन ‘लाइकप्रिय’ भइसकेका छन् । राससलाई ‘चिफ रिपोर्टर’ बनाएर भए पनि अनगन्ती अनलाइन आएका छन् । पत्रिका, रेडियो र टेलिभिजनको ‘डेडलाइन’ भत्किएर बनेको छ, ‘एनी टाइम इज डेडलाइन ।’ “अब एकै ठाउँ बसेर रेडियो सुन्ने र एकै ठाउँ बसेर टीभी हेर्ने दिन रहेनन्,” उनी भन्छन्, “तपाईं जहाँ, मिडिया त्यहाँ । हरेकका हातहातमा मिडिया ।” 

वैज्ञानिक दुर्गा मानन्धरसित रामकृष्ण सरले अन्तर्जातीय विवाह गरे ४० वर्ष पहिले । शिक्षा मन्त्रालयबाट अवकाशप्राप्त दुर्गा र रामकृष्णकी एक्ली छोरी छन्, अस्ट्रेलियामा । तत्कालीन समाजमा अन्तर्जातीय विवाह भनेकै प्रेम सम्बन्ध हो । यद्यपि, उनी व्यक्तिगत जिन्दगीका अन्तरकुन्तर खोतल्न चाहन्नन् । 

दुई वर्षअघि प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पाएका रामकृष्णको वैयक्तिक विवरण (सीभी)मा मोबाइल नम्बर छ तर त्यसमा लेखिएको छ, ‘वन्ली फर एसएमएस ।’ उनी मोबाइल उठाउँदैनन् । उनलाई लाग्छ, फोन नउठाए गर्नेलाई अपमान, फोन उठाए कुरा गरिरहेकाको अपमान । 

फुर्सदमा उनको हातमा किताब नै हुन्छ । नारायण गोपालको गायकीका प्रशंसक रेग्मी सर निकै सरल छन् । “म सीधासादा मान्छे हुँ, अशिष्ट पनि छैन तर कसैलाई रिझाउन सक्दिनँ,” उनी भन्छन्, “आत्मशुद्धिको बाटो खुलापन मात्र हो ।” 

प्रकाशित: माघ २०, २०७३