आवरण कथा» ‘जनयुद्ध’को पारिवारिकीकरण

  • प्रधानमन्त्रीको पार्टी केन्द्रीय समिति नेताका आफन्त र नातागोताले भरिभराउ

- माधव बस्नेत

सिन्धुपाल्चोकका नेकपा माओवादी केन्द्रका ७० नेता–कार्यकर्ताले १२ माघमा केन्द्रीय समिति र पोलिटब्युरो सदस्यबाट सामूहिक राजीनामाको घोषणा गरे । पार्टी एकता घोषणाको नौ महिनापछि सदरमुकाम चौतारामा प्रथम एकता भेला गरी जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका थिए । 

यस्तो घोषणा गर्नेमा पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङ, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार श्रेष्ठ, अमृता नेपाललगायत थिए । राजीनामाको घोषणा गर्ने सापकोटाद्वय काका–भतिजा हुन् । माओवादी केन्द्रको केन्द्रीय समितिमा सापकोटाका पारिवारिक आफन्तहरूको उपस्थिति मात्रै कम्तीमा १६ जनाको छ । 

२ हजार ४ सय ८३ सदस्यीय केन्द्रीय समिति हुँदाको संख्या हो यो । पुस पहिलो साताको पार्टी सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरी ३ हजार ९ सय ९९ पुर्‍याउने निर्णय गरेपछि त यो संख्या अझ बढेको छ । 

त्यति बेलासम्म नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आफन्तजन १४ जना केन्द्रीय समितिमा थिए । पत्नी सीता दाहालदेखि माइली छोरी रेणु, कान्छी छोरी गंगा, छोरा प्रकाश, कान्छी बुहारी विना, माइला ज्वाइँ अर्जुन पाठकसम्म । पछिल्लोपटक केन्द्रीय समितिको आकार बढाएर ३ हजार ९ सय ९९ पुर्‍याउने निर्णय गरेपछि प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यलाई समेत केन्द्रीय सदस्य बनाइएको स्रोत बताउँछ । 

सशस्त्र संघर्ष सुरु हुँदा प्रचण्डका दुई छोरी रेणु, गंगा र छोरा साकार काठमाडौँमै अध्ययनरत थिए । उनीहरूमाथि राज्यका तर्फबाट असुरक्षा बढ्दै गएपछि असोज ०५३ मा भारत लगियो । त्यसको चार महिनापछि प्रचण्डले पार्टीकै पहलमा दुवै छोरीको एकै लगनमा विवाह गरिदिए । माइली रेणुको हरियाणा निवासी नेपाली मूलका अर्जुन पाठक र कान्छी गंगालाई सिलिगुडीका नारायणविक्रम प्रधानसँग विवाह गरिएको थियो । विवाहपछि रेणु पार्टी गतिविधिमा सामान्य रूपमा सक्रिय भए पनि गंगा पूरै गृहस्थीमा केन्द्रित थिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएर प्रचण्ड परिवार काठमाडौँमा भित्रिएसँगै दुवै छोरी–ज्वाइँलाई काठमाडौँ बोलाइयो, जसमध्ये रेणुसँगै ज्वाइँ अर्जुन पाठक यहीँ बस्न राजी भए । तर, कान्छा ज्वाइँ नारायणविक्रम प्रधान तयार भएनन् । गंगा भने यहीँ बसिन् । नारायणसँग छुट्टिएको केही समयमै प्रचण्ड दम्पतीले विराटनगरका जीवन आचार्यसँग उनको विवाह गरिदिए । उनीहरू राजनीतिक मञ्चमा खासै नझुल्किए पनि पदले भने केन्द्रीय समिति सदस्य छन् । 

कुरा गंगाको मात्र किन ? बाबुको सुरक्षामा खटिनुबाहेक प्रकाशको पनि माओवादी आन्दोलनमा उल्लेख्य भूमिका होइन । प्रचण्ड जहाँजहाँ पुग्छन्, सँगै गएर उनको दैनिकी व्यवस्थापन गरिदिनुबाहेक श्रीमती सीता दाहाल पनि संगठन निर्माणमा खटेकी होइनन् । उनीहरूले न त पार्टीको नीति र योजना तर्जुमामा उल्लेख्य भूमिका खेलेका छन्, न संगठन परिचालन, नेता–कार्यकर्तालाई प्रशिक्षण कतै दिएका छन् । तर, उनीहरू पार्टी केन्द्रीय समिति सदस्य छन् । “प्रचण्डसँगै हिँड्नुबाहेक माओवादी आन्दोलनमा प्रकाश दाहालको योगदान के छ ?” राजनीतिक विश्लेषक एवं सांसद श्याम श्रेष्ठ भन्छन्, “सँगै हिँडेका आधारमा पद दिने हो भने त बडीगार्ड, अर्दली पनि सँगै हिँडिरहेको हुन्छ । उसलाई कस्तो जिम्मेवारी दिने ?”

पोलिटब्युरो सदस्यबाट राजीनामा दिएको घोषणा गरेका कृष्णप्रसाद सापकोटाका अनुसार पार्टी भद्दा भयो र नेताका परिवार मात्रै जम्मा हुने ठाउँजस्तो पनि देखियो, त्यसैले पार्टीलाई सुदृढ बनाउन उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । उनी पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाका कान्छा भाइ हुन् । केन्द्रीय समितिमा प्रतिनिधित्व मात्र होइन, ‘ जनयुद्ध’मा एउटै परिवार र आफन्तबाट सबैभन्दा बढी ‘ बलिदान’ गर्ने परिवार पनि सापकोटाकै हो । त्यस क्रममा उनका १० जना आफन्तले ज्यान गुमाएका थिए ।

परिवारलाई नै केन्द्रीय सदस्य बनाउनेमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, बहालवाला ऊर्जामन्त्री जनार्दन शर्मा पनि कम छैनन् । उनीहरूले परिवारका थुप्रै सदस्यलाई केन्द्रीय समितिमा पुर्‍याएका छन् । माओवादीमा यस्ता नेता विरलै भेटिन्छन्, जसले आफूबाहेक परिवारका अन्य सदस्यलाई केन्द्रीय समितिमा सिफारिस नगरेका होऊन् । 

पछिल्लोपटक माओवादी केन्द्रले जम्बो केन्द्रीय समिति बनाएर चकित त बनाएको छ नै, त्यो केन्द्रीय समितिमा पारिवारिक सदस्य, नातेदार र विश्वासपात्रहरूको हुल जम्मा गरेर अर्को चर्तिकला देखाएको छ । केन्द्रीय समितिमा पारिवारिक सदस्यहरूको बथान देख्दा लाग्छ, माओवादी केन्द्र कतै पारिवारिक पार्टी त बनिरहेको छैन ? अवस्था कतिसम्म छ भने पार्टी नेताको पारिवारिक सदस्य तथा नेताहरूसँग प्रत्यक्ष पहुँच भएकाहरू सामान्य योगदान, क्षमता वा समर्थनकै आधारमा केन्द्रीय समितिमा पुग्न सफल भएका छन् । तर, नेताहरूसँग प्रत्यक्ष पहुँच वा नाता सम्बन्ध नभएकाहरू जम्बो हुलमा समेत तलै खुम्चिन बाध्य छन् ।

परिवारवादको प्रविष्टि
भदौ ०६१ सम्म तत्कालीन माओवादीको केन्द्रीय समिति छरितो त थियो नै, केन्द्रीय समितिमा भारी भरकम नातेदारहरू पनि थिएनन् । साउन–भदौ ०६१ मा रोल्पाको फुन्टीबाङमा बसेको केन्द्रीय समिति बैठकले ५७ सदस्यीय केन्द्रीय समितिलाई ९५ सदस्यीय बनायो । त्यसपछि ठूलो संख्यामा परिवारका सदस्यहरू केन्द्रीय समितिमा पुग्ने क्रम चल्यो । त्यतिन्जेल पार्टी राजनीतिसँग कुनै साइनो–सम्बन्ध नभएका तर नेताको नातेदार भएकै आधारमा पद दिने परम्परा बसिसकेको थिएन, योगदानकै आधारमा प्रतिनिधित्व गराइन्थ्यो ।

माओवादीमा एउटै परिवारका सदस्यहरू सँगै केन्द्रीय समितिमा पुगेका चाहिँ बाबुराम भट्टराई र हिसिला यमी दम्पती हुन् । ०६१ को विस्तारबाट देव गुरुङ, वर्षमान पुन, हितमान शाक्य र गणेशमान पुनका पत्नीहरू केन्द्रीय समितिमा उक्लिए भने प्रचण्डका भाइ नारायण दाहाल, अग्नि सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा पनि केन्द्रीय समितिमा पुगे । भलै, उनीहरू ०५२ अघिदेखि नै माओवादीको पार्टी गतिविधिमा सक्रिय थिए ।

त्यसो त शक्ति बस्नेत–सत्य पहाडी, देव गुरुङ–यशोदा सुवेदी, हितमान शाक्य–अमृता थापा मगर, गणेशमान पुन–कमला रोकालगायतका जोडी नै सशस्त्र संघर्षमै सक्रिय हुन् । माओवादी आन्दोलनमा शक्तिको जति योगदान छ, उनकी श्रीमती सत्य मात्र होइन, ज्वाइँ सूर्यप्रकाश सुवेदीको पनि उत्तिकै रहेको मानिन्छ । “तर, त्यसैका आडमा परिवारका अरू पनि भएभरका सदस्यहरू जसरी केन्द्रीय समितिमा पुर्‍याइएको छ, त्यो भने नातावादबाहेक केही होइन,” माओवादी केन्द्रकै एक स्थायी समिति सदस्य भन्छन्, “यो नातावादले नै हाम्रो पार्टीलाई सिध्याउने खतरा छ ।”

माओवादीमा नातेदारहरूलाई च्याप्ने क्रम ०६३ मा अन्तरिम संसद् हुँदै सरकारमा प्रवेश र २९ पुस ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँगको एकतापछि विकृतिकै रूपमा देखिएको हो । यसले आफू बलियो बन्ने र आफ्ना पक्षमा बहुमत पुर्‍याउनकै लागि नातेदार च्याप्ने गरेको प्रस्टै बुझ्न सकिन्छ । मानवशास्त्री सुरेश ढकाल सत्तासुखकै लागि नजिकका मान्छेको घेरा तयार पारिने बताउँछन् । भन्छन्, “एनजीओ/आईएनजीओमा त एउटै परिवारभित्रका सदस्य राख्न पाइँदैन भने एउटै परिवारबाट केन्द्रीय समितिमा हुलका हुल मान्छे पुर्‍याउनु दार्शनिक र व्यावहारिक दुवै दृष्टिमा गलत हो । हेर्दा माथि पुर्‍याएँ भन्ने त लाग्ला तर यस्तो प्रवृत्तिले स्वतन्त्र व्यक्तित्व निर्माण गर्न दिँदैन ।”

उपलब्धि नै निजीकरण !
खुम्चँदो सांगठनिक आधार, कमजोर जनमत र सत्तामा केन्द्रित हुने मानसिकताका कारण माओवादी नेतृत्वमा आफ्नो सीमित पारिवारिक घेरा बनाउने प्रवृत्ति हुर्किएको छ । सांसद एवं राजनीतिक विश्लेषक श्याम श्रेष्ठका शब्दमा माओवादी केन्द्रमा नातावाद हाबी हुनुका दुइटा कारण छन् । एक, आफ्नो कुर्सी खतरामा पर्छ कि भन्ने भयको मानसिकता । दुई, भ्रष्ट चरित्र । “नेतृत्वमा क्षमतावान मान्छे आए आफ्नो कुर्सी ढल्ला भनेर बहुमत पुर्‍याउन परिवारकै सदस्यहरूलाई च्यापेका छन्,” श्रेष्ठ भन्छन्, “जो भ्रष्ट चरित्रको हुन्छ, उसले मात्र नाता र आफन्त खोज्छ । स्वच्छ चरित्रले गल्ती खुट्याइदिने आलोचनात्मक चेत नै खोज्छ ।”

आफन्तहरूलाई केन्द्रीय समितिमा लैजाने क्रममा कतिसम्म चलाखी गरिएको छ भने एउटै परिवारबाट ठूलो संख्यामा केन्द्रीय समितिमा पुर्‍याइएको विषय हतपत कसैको ध्यानमा नपुगोस् भनेर प्राय: फरक–फरक स्थानमा नाम उल्लेख गरिएको छ । जस्तो कि, प्रचण्डको नाम त एक नम्बरमा हुने नै भयो, छोरी रेणुको २ सय ७४ र आमा सीताको २ सय ९४, बुहारी विनाको ४ सय ८, प्रकाशको ४ सय २६, गंगाको १ हजार २ सय ६८ नम्बरमा उल्लेख छ । र, अरू नेताले पनि यही तरिका अपनाएका छन् ।
माओवादी केन्द्रका हेडक्वाटर सदस्य मणि थापाका भनाइमा परिवारका कम सदस्य उपल्लो जिम्मेवारीमा हुनेहरूले जति रचनात्मक क्षमता देखाउन सकेका छन्, श्रीमान्–श्रीमती नै राजनीतिको माथिल्लो जिम्मेवारीमा हुनेहरूले देखाउन सकेका छैनन् । साथै, परिवारका धेरै सदस्य राजनीतिमा हुनेहरूमा बेमेलको मात्रा पनि धेरै छ । केन्द्रीय समितिमा परिवारकै सदस्यको ठूलो उपस्थितिले पार्टी, व्यक्ति कसैलाई पनि फाइदा नभएको उनको भनाइ छ । थापा भन्छन्, “केन्द्रीय समितिमा एउटै परिवारबाट ठूलो संख्या सहभागी गराउनेमा दक्षिण एसियामा रोगकै विकास भएको छ । यो रोगबाट हामी माओवादीहरू पनि मुक्त हुन सकेनाैँ । तर, यसले क्षतिबाहेक केही दिएको छैन पार्टीलाई ।”

दक्षिण एसियामा व्यक्तित्व निर्माण, सामाजिक र आर्थिक हैसियतको विकास पारिवारिक विरासतमै जोडिने भएकाले माओवादी पनि यसबाट अपवाद हुन नसकेको मानवशास्त्री ढकाल बताउँछन् । भन्छन्, “पश्चिममा वैयक्तिक स्वतन्त्रतालाई पहिलो प्राथमिकतामा राखिने भएकाले परिवारका सदस्यहरू आफूखुसी निर्णय गर्न स्वतन्त्र हुन्छन् । तर, यहाँ भने परिवार सँगोलमै बस्ने भएकाले मूलीले जे गर्‍यो, परिवारका अन्य सदस्यले पनि प्राय: त्यही बाटो अपनाउँछन् ।”

माओवादी भूमिगत पृष्ठभूमिबाट आएकाले परिवारका प्राय: सदस्य पूर्णकालीन राजनीतिमा होमिए । असुरक्षाका कारण उनीहरूसँग धेरै विकल्प पनि थिएनन् । यसले गर्दा पनि उनीहरू आफ्नो लामो योगदान भएको तर्क अघि सार्दै केन्द्रीय समितिमा पुग्नु अधिकार ठान्छन् । कतिसम्म भने प्रचण्ड–पुत्र प्रकाश नै ०५४ देखि माओवादी आन्दोलनमै भएकाले केन्द्रीय सदस्य बन्नु आफ्नो हक नै भएको ठान्छन् । भन्छन्, “व्यक्तिगत भूमिकालाई बाबु प्रचण्डको सम्बन्धसँग जोडेर हेर्नै हुँदैन ।”

समावेशिता र बहुलताको वकालत गर्ने दलले एउटै परिवार र नातागोतालाई उच्च पदमा पुर्‍याउनु आफैँमा विरोधाभासपूर्ण छ । तर, पार्टी, संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ भने जिम्मेवारीमा पुग्दा–पुर्‍याउँदा त्यसलाई एक हदसम्म औचित्यपूर्ण मान्न सकिने सांसद श्रेष्ठ बताउँछन् । क्युबामा फिडेल क्यास्त्रोपछि उनका भाइ राउल क्यास्त्रो, नेपालमा मातृका कोइराला र बीपी कोइराला, पुष्पलाल र सहाना प्रधानजस्तालाई नातावादको फ्रेमभित्र राख्न नसकिने उनको भनाइ छ । पार्टीको केन्द्रीय सदस्य हुन कुनै योग्यता र मापदण्ड नै नखोजी केवल बलशाली नेताको आड र उनीहरूको परिक्रमा गरेकै भरमा नेतृत्वमा पुग्नुचाहिँ लोकतान्त्रिक आदर्श र सिद्धान्तबाट विचलनको हद मान्छन्, माओवादी नेताहरू नै । माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, “माओवादीभित्रको परिवारवादले त सिंगो जनयुद्धको उपलब्धि नै निजीकरण गरिएजस्तो पो देखियो ।” 
परिवारवाद माओवादी केन्द्रमा मात्रै छैन । नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादीलगायतका पार्टीहरूसमेत यो प्रवृत्तिबाट हिजो पनि ग्रस्त थिए, आज पनि छन् । तर, यही परिवारवाद र विकृतिविरुद्ध हतियार उठाएर आन्दोलन गरेको माओवादी केन्द्र आफैँ यसरी परिवारवाद/नातावादको जन्जालमा फस्नु विडम्बनापूर्ण छ । 

पति–पत्नी केन्द्रीय सदस्य

चक्रपाणि खनाल, यमा बन्जाडे
लीलामणि पोखरेल, शशी श्रेष्ठ
विश्वभक्त दुलाल, बुद्धलक्ष्मी महर्जन
विश्वनाथ साह, सीता पोखरेल
गणेशमान पुन, कमला रोका
महेश्वर दाहाल, सीता अधिकारी
तेजबहादुर ओली, जूनकुमारी रोका
कृष्णध्वज खड्का, रेखा शर्मा
देव गुरुङ, यशोदा सुवेदी
हितमान शाक्य, अमृता थापा मगर
कुलबहादुर केसी, तारा घर्ती
कुमारी मोक्तान, दावा तामाङ
खगराज भट्ट, मञ्जु बम
गोविन्द आचार्य, सावित्री शर्मा
डीआर पौडेल, गंगा बेल्वासे
चन्द्रमान श्रेष्ठ, पार्वती थापा
शैलेन्द्र घिमिरे, संगीता खड्का 
शिव डाँगी, सरस्वती पोखरेल
सरल सहयात्री, समिता कार्की
देवी खड्का, राजकुमार श्रेष्ठ
दीपक देवकोटा, लीला शर्मा
मातृका भट्टराई, भेषकुमारी राउत
वसन्त शर्मा, चेतना
जगप्रसाद शर्मा, सुनीता रोका
हरि दाहाल, गंगा पराजुली
पूर्ण घर्ती, सीता आचार्य
नेपबहादुर चौधरी, रुपा चौधरी
राजकाजी महर्जन, मञ्जली शाक्य
नारायणी शर्मा, लुमाकान्त न्यौपाने
भीमप्रकाश शर्मा, विमला केसी
राजकुमार शर्मा, प्रतिमा केसी
प्रगति महरा, रञ्जित बुढा
अनिल योगी, चम्पा कार्की
मणिकुमार साङपाङ, सुशीला कङदववा
सन्तोष थारु, रामकुमारी चौधरी
पुन्य लामिछाने, विमला सुवेदी

प्रकाशित: माघ १८, २०७३