रेल उडाउने योजनाको पर्दाफास

  • नयाँ स्वरूपमा आतंकवाद

- मनबहादुर बस्नेत

गत १३ पुसमा हरैया गाउँ, बाराको जंगलमा दुइटा शव भेटिए । एउटा रूखमा बाँधिएर र अर्कोको हातखुट्टा बाँधेर घाँटी रेटिएको अवस्थामा । प्रहरी अनुसन्धानबाट दुवै जना भारतीय नागरिक भएको खुल्यो । हत्या गरिएका व्यक्ति थिए, चम्पारन लक्ष्मीपुर, बिहारका दीपक राम र अरूण राम । रामद्वयको हत्या अभियोगमा कलैया, बरेवाका मोजाहिर अन्सारी र उमेशकुमार पटेल समातिए । दुवैले आर्थिक लेनदेनमा कुरा नमिलेपछि हत्या गरेको बयान दिए । त्यही बीचमा कलैयाकै आशिष सिंहसमेत समातिए ।

लेनदेनका कारण मात्रै यति क्रूर हत्या हुन नसक्ने ठानेर यो घटनाको अनुसन्धानमा प्रहरीको विशेष ब्युरोसमेत सामेल भयो । लगत्तै आरोपितहरूले आफूलाई गिरी बाबाका नामले चिनिने कलैयाकै बृजकिशोर गिरीले हत्या गर्न लगाएको बयान दिए । त्यसपछि प्रहरीले २४ पुसमा गिरीलाई नियन्त्रणमा लियो । गिरी पक्रिएपछि भयानक योजनाको पर्दाफास भयो । हत्याको जालो आतंकवादसँग जोडिएको भेटियो । र, यस्तो जालो युनाइटेड अरब इमिरेट्स (यूएई), नेपाल र भारतसम्म फैलिएको प्रहरीको निष्कर्ष छ ।

दुबई (यूएई)बाट सञ्चालित गिरोहले नेपाल–भारत सीमा क्षेत्रका बासिन्दालाई उपयोग गरेर यस्तो आपराधिक सञ्जाल खडा गरेको थियो, जसले भारतीय रेल लाइनमा विस्फोट गर्ने योजना बनाएको प्रहरीको भनाइ छ । “यो योजना प्रहरीले बेलैमा थाहा नपाएको भए ठूलो क्षति हुने थियो,” ब्युरो प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारी भन्छन्, “किनभने, उनीहरूले थुप्रै मानिसको चहलपलह हुने र यात्रारत रेलमा विस्फोटको योजना बनाएका थिए ।” 

यही योजनाको पोल खुल्ने डरले समूहभित्रबाटै उनीहरूको हत्या भएको प्रहरीको दाबी छ । उनीहरूले सीमा नजिकै भारतको घोडासन रेल ट्रयाकमा विस्फोट गर्ने योजना बनाएका थिए । सोही अनुसार रामद्वयलाई गिरीले खटाएका थिए । तर, १६ कात्तिक ०७३ मा रेल ट्रयाकमा राखिएको प्रेसर कुकर बम प्राविधिक गडबडीका कारण पड्किएन । तर, त्यस क्रममा भएको क्षतिले रेल ट्रयाकबाट बाहिरिएर दुर्घटनामा परेको थियो, जसमा दुई जनाको ज्यान पनि गयो । यो सूचना चुहिने डरले रामद्वयलाई नेपाल बोलाएर गिरीको समूहबाट हत्या भएको अनुसन्धानबाट पुष्टि भएको भण्डारी बताउँछन् । भन्छन्, “योजना असफल भएपछि गिरीले पैसा लिन नेपाल बोलायो दुवै जनालाई । त्यसपछि हत्या गराउन लगाएको देखिन्छ ।”

१६ कात्तिकको विस्फोट सफल भए भारतमा त्यस प्रकारको आतंकवादी घटना अहिलेसम्मकै नयाँ खतरनाक हुन सक्थ्यो । पछि, कानपुर नजिकै पुखराया भन्ने ठाउँमा ६ मंसिरमा ठूलो रेल दुर्घटना भयो, जसमा १ सय ४३ जनाले ज्यान गुमाए । त्यहाँ रेलवे ट्रयाक उडाएर रेल दुर्घटना गराइएकोतिर अनुसन्धानको सुई घुमेको छ । र, प्रेसर कुकर बमबाट घोडासनमा रेल ट्रयाक उडाउने योजना र पुखरायाको दुर्घटना गराउने समूह एउटै भएको सूचना भारतीय प्रहरीले नेपाली पक्षलाई दिइसकेको छ । बिहारमा पक्राउ परेका तीन जनामध्ये एक जनाले यस्तो बयान दिएको प्रहरी स्रोतको भनाइ छ । 
प्रहरीका अनुसार गिरीले नेपालमा बसेर भारत र दुबईमा दोहोरो सम्पर्क गरी योजना बनाएका थिए ।

अनुसन्धानबाट विस्फोट गराउन पाँच जना भारतीय ‘फिल्ड’मा गएका थिए । यही सूचना भारतीय सुरक्षा संयन्त्रलाई ब्युरोले दिएपछि बिहार प्रहरीले मोती पासवान, उमाशंकर पटेल र मुकेश यादवलाई पक्राउ गरेको थियो । बाँकी दुई जना भने अझै फरार छन् । भारतमा पक्राउ परेकाहरूले समेत तीन लाख भारतीय रुपियाँ लिएर काम गरेको बयान प्रहरीसामु दिएका छन् । पहिलो योजना असफल भएपछि आफूले फेरि अर्को काम गर्न अह्राएको तर नमानेपछि रामद्वयको हत्या गर्नुपरेको प्रहरी बयानमा गिरीले खुलाएका छन् ।

गिरीका नाममा दुबईबाट चार लाख नेपाली रुपियाँ हिमाल रेमिट्सबाट आएको प्रमाण प्रहरीले फेला पारेको छ । कलैयास्थित हिमालयन बैंकले यति धेरै रकम खाता नखोली भुक्तानी दिन नमानेपछि गिरीले त्यहीँ खाता खोलेका थिए, जुन प्रहरीका लागि अनुसन्धानको थप आधार बन्यो । पक्राउ परेका अन्यले विस्फोटका लागि १५ लाख रुपियाँ आएको बयान दिएका छन्, जसको प्रमाण भने फेला परेको छैन । तर, यसभन्दा बढी रकम आएको हुन सक्ने अनुमान प्रहरीको छ ।

गिरीलाई दुबईबाट रकम पठाउने व्यक्ति हुन्, कलैयाका समसुल होदा । होदाको पृष्ठभूमि र वर्तमान हैसियतले समेत प्रहरीलाई अचम्मित तुल्याएको छ । प्रहरीका अनुसार होदा सन् २००१ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । करिब एक दशक मलेसियामा बसेका उनी त्यहाँबाट फर्किएपछि बारा–पर्सा क्षेत्रमा बस्न थाले । त्यसपछि एकाएक उनी राजनीतिमा झुल्किए र ०७० को संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट उम्मेदवार नै बने, बारा–२ बाट । चुनावमा पराजित भएको चार महिनापछि उनी दुबईतिर हानिए । त्यसको डेढ महिनापछि होदा पुन: नेपाल फर्किए र २० दिन बसेर दुबई गए ।

प्रहरीका अनुसार होदाले दुबईमा बसेर कुनै आपराधिक समूहका लागि काम गरेको देखिन्छ । तर, कुन समूहसँग आबद्ध छन् भन्ने खुलिसकेको छैन । भारतीय पक्षले भने पाकिस्तानी खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स एजेन्सी (आईएसआई)का लागि काम गरेको दाबी गरेको छ । यद्यपि, होदाले आर्थिक संकलन गर्ने र नेपाल–भारत सीमा क्षेत्रमा आफ्नो सञ्जाल निर्माण र परिचालन गरेको पाइएको छ । 

होदा आबद्ध समूह नखुले पनि प्रहरीले नक्कली भारतीय मुद्राको कारोबारीसँगको सम्पर्क भने केलाइसकेको छ । होदाको सम्पर्क पाकिस्तानी नागरिक सफी भन्ने व्यक्तिसँग देखिएको छ । नेपालमा रहेका गिरीसँग होदाकै टेलिफोनमार्फत सफीसँग कुराकानी हुँदै आएको र ती व्यक्ति ब्युरोले नै यसअघि अनुसन्धान गरेका नक्कली मुद्रा कारोबारमा पनि संलग्न थिए । ठोस सूचना र प्रमाणका अभावमा यो नाम प्रहरीले मिसिलमा राख्न सकेको थिएन । यद्यपि, यो नाम नक्कली भारतीय रुपियाँको कारोबारमा संलग्न भएकाहरूको सूचीमा भने टिपोट गरिएको छ । उनले सेख सफी, चाचा उर्फ सफी नाममा आफ्नो परिचय दिने गरेको प्रहरी विवरणमा छ । “यसअघिका केही घटनामा उसको नाम जोडिएको थियो,” डीआईजी भण्डारी भन्छन्, “उनी नक्कली भारुमा मात्रै केन्द्रित होलान् भन्ने थियो । तर, आतंकवादी गतिविधिमा समेत संलग्न भएको देखियो ।” 

प्रकाशित: माघ १७, २०७३