एल्डर ब्रदर सिन्ड्रम

  • हाम्रा बुद्धिजीवी, राजनीतिकर्मी, अधिकारकर्मी र नागरिकहरूको मन–मस्तिष्कमा ‘एल्डर ब्रदर इज वाचिङ यू’ भन्ने त्रास छ । त्यही भएर आफूले चाहेको काम गर्न र मनमा लागेका बोली बोल्न नेपालीले हिम्मत देखाउन सकेका छैनन् ।

- हस्त गुरुङ

विश्वविख्यात साहित्यकार जर्ज अरवेलले सन् ’५० को दशकमा लेखेको उपन्यास ज्ञढडद्ध मा दासतालाई नै स्वतन्त्रता मानिने राजनीतिक खेलमा मानिसहरू पर्नेछन् भन्ने सन्देश दिएका थिए । विश्वमा ‘बिग ब्रदर’को त्रास फैलाएर मानव स्वतन्त्रताको हरण हुने र दासताको साम्राज्य कायम हुने उनको आकलन थियो । ‘बिगब्रदरले निगरानी राखिरहेको छ’ भन्ने त्रास फैलाएर मानिसलाई मानसिक रूपमै नियन्त्रण गरिने उपक्रम चल्ने संकेत पनि दिएका थिए । 

उनका उपन्यासका पात्र विन्सटन स्मिथ, बेलायतको शान्ति मन्त्री, त्यस्तै त्रासबाट पूर्णत: ग्रस्त थिए । सहरभरि टाँगिएका ‘ बिगब्रदर इज वाचिङ यू’ भन्ने पोस्टर देखेर उनी यति त्रस्त हुन्थे कि घरको रेडियो र टेलिभिजन तथा टेबलका पत्रपत्रिका देखेर पीठ फर्काउँथे । किनभने, मिडियामार्फत बिगब्रदरका विचार र शब्दले उनको मस्तिष्कलाई आक्रमण गरिरहेका थिए ।     

त्यसैले अरवेलले विन्सटनमार्फत चेतावनी दिँदै लेखे–एकान्त र बन्द कोठामा पनि तपाईंले शान्ति पाउनुहुने छैन । तपाईंले सुस्तरी मधुरो आवाज निकाले पनि उसले सुन्नेछ । तपाईंका प्रत्येक गतिविधिमा उसका दृष्टि पर्नेेछन् । तपाईंलाई बिगब्रदरले पछ्याइरहनेछ, तपाईं उम्कन पाउनुहुने छैन ।  

ठीक यही स्थिति हामी भोगिरहेका छौँ । विश्व राजनीतिमा बिगब्रदर सिन्ड्रमको जुन त्रास थियो/छ, त्यसै गरी ‘एल्डर ब्रदर सिन्ड्रम’ले नेपालीलाई त्रस्त पारेको छ । हाम्रा बुद्धिजीवी, राजनीतिकर्मी, अधिकारकर्मी र नागरिकहरूको मन–मस्तिष्कमा ‘एल्डर ब्रदर इज वाचिङ यू’ भन्ने त्रास छ । त्यही भएर आफूले चाहेको काम गर्न र मनमा लागेका बोली बोल्न नेपालीले हिम्मत देखाउन सकेका छैनन् । 

पूर्वसभामुख सुवास नेम्वाङले कतै भनेछन्, ‘दलहरूकै सहमतिले आएको संविधान अहिले संकटमा परेको छ । यहाँ दलहरूबीचको सहमति पनि टिक्न सक्ने अवस्थामा छैन ।’ नेम्वाङले त्यसको कारण खुलस्त गरेनन् तर नागरिक तहमा त्यसको खास कारण खोज्ने गलफत्ती चलिरहन्छ । मिडियाले भने ‘संक्रमणकालीन राजनीति यस्तै हो’ भन्ने वकालत गरिरहन्छ । देशका प्रमुख राजनीतिक दलहरू आज सहमतिमा पुग्नु र भोलि नै ‘त्यस्तो सहमतिको औचित्य छैन’ भनेर उड्कन्छन् भने मिडियाले त्यसलाई गम्भीरतापूर्वक लिएर खोजबिन गरी वास्तविकता बताउनुको साटो हल्का रूपमा लिनु विडम्बना हो । त्यसैले कोठामा झुन्ड्याइएका टेलिभिजन र रेडियो सेट तथा टेबलमा सजाइएका पत्रपत्रिकाबाट, विन्स्टन स्मिथले जसरी नै, हामीले पनि पीठ फर्काउनुपर्ने अवस्था आएको छ ।  

युद्ध र शान्तिको खेल

अरवेलको बिगब्रदरले तीनवटा नारा फैलाएको थियो । पहिलो, युद्ध नै शान्ति हो । दोस्रो, स्वतन्त्रता भनेको दासता हो र तेस्रो, थिचोमिचोलाई बेवास्ता गरेर बस्नु नै शक्ति सञ्चय गर्नु हो । यिनै तीन नाराले नेपालमा पनि प्रभाव देखाइरहेको छ । 

हामी पनि युद्ध नै शान्ति हो भन्ने भ्रममा छौँ । नेताहरू युद्धकै रणनीति लिएर शान्तिका लागि युद्धरत छन् । यिनले आयोजना गरेका युद्धले ठूलठूला संहार गरिसके । तर, अझै पनि विद्रोह गर्ने धम्की आइरहेकै छन् । युद्धमोर्चाका शक्तिहरूलाई शान्ति स्थापना गर्ने जिम्मा लगाएर हामी गृहकलहमा फसेका छौँ ।

नागरिक तहका असमझदारी र विवादलाई सुल्झाउने काम शान्ति मन्त्रालयको हो । हाम्रो शान्ति मन्त्रालयले शान्ति स्थापनाका लागि नागरिक तहमा आवश्यक पर्ने रणनीतिको रेखांकनसमेत गरेको छैन । शान्ति मन्त्रालय, देशमा शान्ति स्थापना गर्ने काम राजनीतिको हो भनेर पन्छिएको छ । राजनीतिक मोर्चाहरूचाहिँ एकपछि अर्को बहाना खोज्दै सडकदेखि सदनसम्म योद्धा परिचालन गरिरहेका छन् । फलत: जातीय र क्षेत्रीय कलहले उग्र रूप लिएका छन् ।   

संक्रमणकाल लम्बिएर देश अराजकताको भूमरीमा छ । ४ माघ ०७४ भित्र गरिसक्नुपर्ने संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन संकटमा पर्न लागेको छ । 

क्षेत्रीय राजनीतिमा एल्डर ब्रदरले लगातार भनिरहेकै छ– ‘नेपालको राजनीतिक प्रक्रियालाई नजिकैबाट नियालिरहेका छौँ ।’ एल्डर ब्रदरको त्रासद निगरानीले यहाँको राजनीति किंकर्तव्यविमूढको अवस्थामा पुगेको छ । सरकारले संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्ताव न झुन्ड्याइराख्न मिलेको छ, न झिक्न मिल्ने अवस्थामा छ । उसको निगरानी परेर, त्यो प्रस्ताव पनि भीरको चिन्डो भएको छ । यहाँ दलहरूले जे सल्लाह गरे पनि, त्यो उसले सुनिहाल्छ । जे गर्न खोजे पनि, उसले देखिहाल्छ । नेपाल पिँजडाको सुगाजस्तो भएको छ । पिँजडाभित्र छटपटाउनु यसको नियति बनेको छ । यसरी यहाँ युद्ध नै शान्ति हो भन्ने खेल चलिरहेको छ । 

दासता नै स्वतन्त्रता हो भन्ने अरवेलियन बिगब्रदरको दोस्रो सिद्धान्तले पनि यहाँ स्थान पाएको छ । नेपालीहरू स्वतन्त्रता खोज्दाखोज्दै दासताको भूमरीमा परेका छन् । देशको स्वतन्त्रता संकटमा छ । राजनीतिका अगुवाहरू, एल्डर ब्रदरको दासताको भारी बोक्न होडबाजी गरिरहेका छन् । देशभित्र सूक्ष्म व्यवस्थापनको प्रक्रिया चलेको राजनीतिक अगुवाहरू निर्धक्क स्वीकार्छन् । प्रधानसेनापतिको संरक्षण, प्रधानमन्त्रीको चयन र पदस्थापन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो उच्च प्रतिष्ठाको संवैधानिक संस्थाको प्रमुखको नियुक्ति र बर्खास्तगीजस्ता कार्यमा पनि उसैको हात रहेको सार्वजनिक चर्चा हुन्छ । यी सबै कुरा दासताको स्वीकारोक्ति होइन र ? हो, यो निख्खर दासता हो । तर, तिनै स्वीकारोक्तिहरू नै हाम्रो स्वतन्त्रताको लक्षण हो कि भन्ने भ्रम पर्न थालेको छ । 

अरवेलले लेखेका छन्, ‘बिगब्रदरले कुनै समस्यालाई बेवास्ता गर्ने रैथाने प्रवृत्तिलाई शक्ति सञ्चयको रणनीति मानिने भ्रम फैलाउनेछन् ।’ हामीले पनि टाउकामा थुपारिएका अराजकता र दासताका घटना, परिघटनाहरूलाई पूर्णत: बेवास्ता गर्न थालेका छौँ र त्यसो गरेर शक्ति सञ्चय गरेको भ्रम पाल्न थालेका छौँ । 

घुसपैठिया विचारको बाहुल्य 

कुन कारणले यस्तो रणनीति लिन बाध्य पार्छ त ? अरवेलले त्यसको संकेत गर्दै ‘थट पुलिस’ (घुसपैठिया विचार लाद्ने जमात)लाई जिम्मेवार ठहर्‍याएका छन् । रैथानेहरूले जे उपयुक्त हो भनी सोच्छन् वा बोल्छन्, ती सब कुराको खण्डन गर्ने काम घुसपैठिया थट पुलिसले गर्छन् । उनीहरूका खण्डन, विचार र तर्क सुनेपछि कतै हामी आफैँ गलत त छैनौँ भन्ने द्विविधा पर्छ । 

थट पुलिसका वाक् अतिक्रमणका कारण अहिले राष्ट्रवाद र राष्ट्रियताका विषय यस्तै द्विविधामा परेका छन् । नेपालीहरूले जे कुरा उचित हो भन्छन्, ती सबै कुरा उल्टा हुन् भन्ने प्रमाणित गर्न घुसपैठिया थट पुलिसहरू आउँछन् । तिनका आवाज र पहुँच विस्तृत छन् । 

पहाड वा मधेसका कुनै नेपालीले गैरनेपालीलाई नागरिकता दिनु हुँदैन भनेर बोल्नेबित्तिकै उसमाथि घुसपैठिया थट पुलिसले सहस्र आक्रमण गर्छ । गैरनेपालीलाई नेपाली नागरिकता दिनु हुँदैन भन्नासाथ, घुसपैठिया थट पुलिसहरूको जमातले त्यो विचार र भावना मधेसविरोधी छ भन्ने आरोप लगाएर उछितो काढ्छन् । मधेसीहरूको राष्ट्रियतामाथि शंका गरिँदै छ भनेर होहल्ला मच्चाउँछन् । वास्तवमा रैथाने मधिसेहरूलाई कसैले पनि गैरनेपाली भनेका छैनन् तैपनि गैरनेपालीहरूको कुरा उठाउनेबित्तिकै मधेसीहरूलाई उपेक्षा गर्ने मानसिकताले पहाडिया समाजलाई ग्रस्त पारेको आरोप लागिहाल्छ । 

नेपालीहरू यति कुरामा प्रस्ट छन् कि नेपालबाहिर मधेस छैन । र, गैरनेपाली मधेसी पनि होइनन् । तर, मधेसीको आवरणमा गैरनेपालीले नागरिकताको अधिकार खोज्नु मधेसीकै लागि हानिकारक छ । तथापि, घुसपैठिया थट पुलिसहरू रोटीबेटीको सम्बन्धको दुहाई दिएर मधेसीसँग नाता पर्नेहरूको अधिकार खोज्न जमजमाएर लागिपरेका छन् । उनीहरूले नश्लवादी विभेद शब्दलाई उछालेका छन् । यस नाराले सत्यको छवि दिन खोजेको छ । यहीँनेर राष्ट्रवाद र राष्ट्रियताका विषयले मधेसी र पहाडी समुदायबीच मतभेद बढाएको छ । तर, यी सब काम, त्रासको मात्रा बढाउन थट पुलिसले गरेका हुन् । 

न्युस्पिक वाक्धाराको प्रभाव

यस्ता कामहरू कसरी गरिन्छ ? अरवेलले त्यसको माध्यम बताएका छन्, ‘न्युस्पिक’  (नयाँबोली) । ओसिनिया क्षेत्रमा औपचारिक रूपमा प्रचलित यो शब्दको परिभाषा बृहत् छ । यो शब्द वामशक्तिलाई (यहाँ वामशक्ति भन्नाले कम्युनिस्ट मात्र हुन् भन्ने भ्रम नपरोस्) वैचारिक खुराक दिन सिर्जना गरिएको थियो । 

न्युस्पिकको प्रयोग तथ्यगत सूचना दिन होइन, जटिल शब्दमार्फत विचार लाद्नका लागि गरिन्छ । सञ्चार संयन्त्रमा त्यस्ता नयाँ शब्दहरू घुसाइन्छ, जसले ‘ओल्डस्पिक’ (पुराना बोली/शब्द)लाई विस्थापित गरिदिन्छ । न्युस्पिक सिर्जना गर्नुको प्रमुख उद्देश्यचाहिँ नयाँ र जटिल शब्दहरूमार्फत वाम वाक्धारालाई  विकसित गरेर प्रचलित वाक्धारालाई निमोठ्नु थियो । नयाँ शब्द र बोलीमा लटपट्याएर राजनीतिक विषयलाई उठाउने समुदाय विकास गर्नु थियो । 

हामीकहाँ पनि न्युस्पिक वाक्धारा चलेको छ । मधेसकेन्द्रित थट पुलिसहरूले अहिले ‘महेन्द्रीय राष्ट्रवाद’, ‘खस–नश्लवाद’ र ‘नश्लवादी विभेद’ भन्ने नयाँ शब्द चलाएका छन् । जो यहाँका बुद्धिजीवी, राजनीतिकर्मी, अधिकारकर्मी र सञ्चारकर्मीहरूको जिब्रामा झुन्डिएका छन् । वाम राजनीतिकर्मीहरूले ‘निशस्त्र र शान्तिपूर्ण प्रदर्शन’लाई निरर्थक शब्द बनाइदिएर, ‘आन्दोलनको आँधीबेहरी’ भन्ने नयाँ शब्द चलाएका छन् । हातहतियारसहित तोडफोड गर्ने प्रदर्शनीलाई आन्दोलनका आँधीबेहरी  भन्ने गरिएको छ । त्यसै गरी ‘नयाँ उचाइमा पुग्ने, छलाङ लगाउने, फ्युजन गर्ने, आलोचनात्मक समर्थन गर्ने, तार्किक निष्कर्ष निकाल्ने, उधारो सहमति गर्ने’जस्ता अनेकन् नयाँ शब्दहरू राजनीति र मिडियाका शब्दकोशमा छन् । 

आ–आफ्नो स्वार्थमा जसरी पनि व्याख्या गर्न सकिने जटिल शब्दहरूको प्रयोगलाई न्युस्पिक भनिएको छ । यसरी नयाँ र जटिल शब्द चलाउँदा वक्ताहरू बुद्धिजीवी ठहरिन पुग्छन् भने श्रोताहरूचाहिँ अवाक् हुन्छन् । यस्तो क्रमले स्वतन्त्रता र ‘सार्वभौमसत्ता’ जस्ता सरल शब्दलाई पनि जटिल बनाइदिएको छ । स्वतन्त्रता भन्ने शब्दको अर्थ अब लुतोको औषधि कुनचाहिँ  किन्ने भन्ने खालको स्वतन्त्रतामा संकुचित हुन पुगेको छ । 

वैयक्तिक, बौद्धिक र राजनीतिक स्वतन्त्रता ओझेलमा परेका छन् । एल्डर ब्रदरले एयर मार्सल छिराउने प्रबन्ध मिलाएपछि, मिडियाले स्वतन्त्रता हरण भएको देखेनन्, त्यसविपरीत अन्य देशले पनि एयरमार्सल राख्न पाउने मार्ग प्रशस्त भएको समाचार लेखे । नेपालले आफ्नो अडान राख्न नसकेको वा सार्वभौमसत्तामा क्षति पुगेकामा मिडिया दु:खी भएनन् । बरू, ‘एयरमार्सल राख्न पाउने मार्ग प्रशस्त भएको’ नयाँ शब्दावली प्रयोग गरेर खुसीको सञ्चार गरे । हो, यसरी नै न्युस्पिकले भ्रमित पार्ने काम गर्छ ।    

प्रकारान्तरले सार्वभौमसत्ता भन्ने शब्द पनि सत्ताको धुरीमा टाँसिन थाल्यो । सत्ता पाउनेले कुर्सीमै सार्वभौमसत्ता देख्छन् । तर, भूमिको लालपुर्जा (भौमस्वामित्व) हातमा भएको जमिनचाहिँ अर्को देशमा परेर जोत्न नपाएको किसानले सार्वभौमसत्ता गुमाउँदा त्यसको कुनै अर्थ लाग्दैन । सार्वभौम सोचबिना सार्वभौमसत्ता टिकाउन सकिँदैन । जब सार्वभौम निर्णय भन्ने कुरा नै आत्मनिर्णय (नेता, दल वा दलालहरूले जे बोले पनि, जे गरे पनि हुने) अर्थमा खुम्चिन पुग्छ, त्यसबेला सार्वभौमसत्ता खोजेर कहाँ पाउनु ? 

अब हामीसँग के बाँकी रह्यो त ? त्रस्त मानसिकता, जटिल वाक्धारा र न्युस्पिक । तर, यो पनि टिक्ने छैन । हामी एकदिन पुन: स्वतन्त्र र सरल वाक्धारामा फर्कनैपर्ने हुन्छ । त्यस दिनको व्यग्र प्रतीक्षा छ । 

प्रकाशित: माघ १७, २०७३