‘ज्ञानेन्द्रजस्ता लोभी राजा सायदै संसारमा होलान्’

- राधाकृष्ण मैनाली

रहस्यमै दासढुंगा घटना

३ जेठ ०५० मा चितवनको दासढुंगामा भएको जिप दुर्घटना नेपाली राजनीतिक इतिहासमा पहेलीकै रूपमा छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मारिएको उक्त घटना छानबिनका लागि सरकारदेखि आफ्नै पार्टी एमालेसम्मले आयोग बनाए । तर, कुनै पनि आयोगले सुनियोजित हत्या वा दुर्घटना के हो भन्ने किटान गर्न सकेनन् । 

नेकपा एमालेले केपी ओलीको अध्यक्षतामा गठन गरेको छानबिन आयोगले दासढुंगा काण्डबारे एक पेजको रिपोर्ट तयार गरेको थियो । अहिले त्यो रिपोर्ट कहाँ छ ? कसैलाई थाहा छैन । रिपोर्ट पार्टीलाई बुझाए/नबुझाएको पत्तोसमेत छैन । ०५१ को एमाले सरकारमा केपी गृहमन्त्री छँदा पनि दासढुंगा काण्डबारे केही भरपर्दा सूचना हात परेका थिए । सूचनाको एउटा दृश्य यस्तो थियो, ‘मदन–आश्रित सवार गाडीको पछिपछि एउटा ट्रक आइरहेको थियो । त्यस ट्रकको चालकले मदनहरू सवार गाडी त्रिशूलीमा खसेको देख्यो । खसिरहेको गाडीबाट सुरुमै एक जना व्यक्ति बाहिरियो । त्यसपछि ऊ नदी किनारमा पुगेर आफ्नो जीउमा पानी छर्कंदै सडकतिर उक्लियो ।’ मोरङका पार्टी कार्यकर्ताले केपीलाई यस्तो रिपोर्ट गरे पनि उनले ठाडो कान लगाएनन् । 

भारत, नक्सलबाडीमा डेरा गरी बस्ने एक जना व्यक्तिले भनेको कुरा उद्धृत गर्दै अर्का झापावासीले केपीलाई यस्तो रिपोर्ट दिएका थिए, ‘हामीले नेपालमा ठूलो दुर्घटना गरायौँ । तर, त्यसबापत पाउनुपर्ने जति रकम पाएनौँ ।’ केही समयपछि त्यो मानिस नक्सलबाडीबाट अन्यत्रै गयो रे ! सो व्यक्तिको थर, ठेगानै दिएका थिए, झापाका साथीहरूले । तर, कतैबाट चासो देखाइएन । 

***

०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा एमाले नेता वामदेव गौतम गृहमन्त्री थिए । दासढुंगा घटनाको खोजबिन गर्न सहयोग गर्ने व्यक्ति कोही छन् भनेर वामदेवले कुरा उठाए । अनि, मैले गुप्तचरी स्वभावका अवकाशप्राप्त प्रहरी इन्स्पेक्टर नरहरि संग्रौलाको नाम दिएँ । उनी केपीका सहपाठीसमेत हुन् । म, केपी र वामदेवकै सल्लाहमा नरहरिलाई प्रथम श्रेणीको सुविधा पाउने गरी राष्ट्रिय अनुसन्धान विभागको सल्लाहकारमा नियुक्त गरियो ।

खासमा नरहरि दासढुंगा घटनाको अनुसन्धान गर्ने गुप्त योजनासहित नियुक्त भएका थिए । दासढुंगा काण्ड अपराध हो वा दुर्घटना निक्र्योल गर्न उनलाई ल्याएका थियौँ, हामीले । तर, यो नियुक्तिको उग्र विरोध भयो । नेपाली कांग्रेसले संसद् ठप्प पारिदियो । नरहरि प्रहरीमा छँदा उनीमाथि लागेका भ्रष्टाचारलगायतका जम्मै मुद्दा र आरोपहरू उछालियो । भलै ती आरोपबाट उनले पहिल्यै सफाइ पाइसकेका थिए । त्यसपछि २५ दिनमै उनको नियुक्ति रद्द गर्नुपर्‍यो । 

***

अर्को कुरा दासढुंगा काण्डका एक मात्र जीवित साक्षी अमर लामाको पाँच वर्ष जेल बसेर निस्किएपछि हत्या गरियो, ०६२ असारमा । अमरलाई तत्कालीन माओवादीले मारेको भनिए पनि त्यो कुरा माओवादीले आजसम्म स्वीकारेको छैन । सत्यतथ्य थाहा हुने अमरलाई लखेटी लखेटी गोली हानेर मार्ने शक्तिको थियो ? हत्या किन गरियो ? यी सबै घटनाक्रमले दासढुंगा योजनाबद्ध रूपमा भएको घटना हो भन्ने अनुमान लगाउन कठिन छैन । त्यो काण्ड राष्ट्रिय स्तरमा क्षति पुर्‍याउने गम्भीर षड्यन्त्र थियो ।

राजतन्त्र हटाउन माधवको प्रस्ताव

२०/२१ फागुन ०४६ मा जनआन्दोलन निरन्तर बढिरहेकै बखत पाटनको च्यासलमा नेकपा मालेको केन्द्रीय समिति बैठक बस्यो । महासचिवले बैठकमा एजेन्डा राखेपछि केन्द्रीय सदस्यहरूले थप एजेन्डाबारे आ–आफ्ना धारणा राख्ने चलन थियो । महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि माधव नेपालले सुरूमै प्रस्ताव राखे, “यो आन्दोलनलाई उचाइमा पुर्‍याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।” 

“के सहयोग ?” मदनले सोधे ।

“हतियारको सहयोग,” माधवले सगर्व भने । 

“हतियार चलाउन तालिम लिनुपर्‍यो । हामीसँग अनुभवी कार्यकर्ता छन् र ?” मदनले फेरि सोधे ।

“हतियार चलाउने मानिस पनि आउँछन्,” माधवले फरर्र उत्तर दिए । आन्दोलनलाई गणतन्त्रमा पुर्‍याउन सहयोग स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए, माधवले । 

म र सीपीले बोल्न समय मागेका थियौँ । मदनले चुप लाग्न इसारा गरे । र, आफैं बोले, “होइन विवेक (माधवको भूमिगत कालको नाम) कमरेड यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रीय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौँ । इतिहासको विकासक्रममा राजतन्त्र स्थापित भयो । आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्राण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नोस् ।” माधवको प्रस्ताव माइन्युट त हुन पाएन नै, बोली नै फिर्ता लिन लगाए, मदनले । 

त्यसपछि चैत २ मा च्यासलमै मालेको केन्द्रीय कमिटीको अर्को बैठक बस्यो । अघिल्लो बैठकमा अस्वीकृत प्रस्ताव फेरि माधवले दोहोर्‍याए, “एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ । हतियार नेपालीहरूले नै प्रयोग गर्ने गरी ।”

“कसरी ?” मदनले सोधे ।

“भारतीय सेनामा कार्यरत नेपाली जवानहरूलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरूले ती हतियार चलाउनेछन् । अब जसरी पनि गणतन्त्र ल्याउनुपर्छ,” माधवले निर्धक्क भने ।

यसपटक मदनले अघिल्लो पटकभन्दा बेस्सरी झाँटेपछि माधवले फेरि त्यस्तो प्रस्ताव ल्याएनन् । मदनकै अडानले राष्ट्रघाती कदम रोकियो, त्यसबेला ।

खुलामञ्चमा चिर्कटो त्रास

त्यसबेला मबाहेक मालेका सबै नेता भूमिगत थिए । म टुँडिखेलको मञ्चमा बसिरहेको थिएँ । विजय जुलुस चारैतिरबार टुँडिखेलतिर सोहोरिरहेको थियो । मानव सागर उर्लेको देखेर एकतमासले रोमाञ्चित बनिरहेको थिएँ । झल्यास्स प्रदीप नेपालसँग मेरो आँखा जुध्यो । प्रदीप मञ्चबाट केही पर बसिरहेका थिए । उनी फिसिक्क हाँसे र केही लेखेजस्तो गरे । एकैछिनमा उनले लेखेको कागजको चिर्कटो मेरो हातमा आइपुग्यो । ‘तपाईंले स्टेज छोड्नुहोला ।’ चिर्कटोमा लेखिएको थियो । मलाई अचम्म लाग्यो । एकैछिनमा ईश्वर पोखरेलबाट त्यस्तै अर्को चिट आयो । छिनमै माधव नेपालले त्यही बेहोराको चिर्कटो पठाए । तीन जना नेताले छिनछिनमै उही कुरा दोहोर्‍याएर त्रस्त बनाए । 

यो सब के भइरहेछ ? मनमनै आफैँलाई सोधेँ । 

के थाहा ? आफैँ उत्तर फर्काएँ र असमञ्जसमा अल्झिएँ । 

***

वाममोर्चाको बहुमतले मलाई मालेका तर्फबाट वार्तामा राजदरबार पठाउने निर्णय गरेको खबर मैले नै भूमिगत साथीहरूलाई दिइसकेको थिएँ । कहिले मोदनाथ, कहिले सुशील प्याकुरेल त कहिले माधवले छिनछिनमा फोन गरेर सूचना माग्थे । मैले सुशील प्याकुरेलमार्फत सबै निर्णय नेताहरूलाई बताएको थिएँ । वाम घटककै प्रतिनिधि लीलामणि पोखरेलले भने आरके जबरजस्ती राजदरबार गयो भन्ने सूचना दिएका रहेछन् । सहाना सुरुदेखि नै मप्रति सकारात्मक थिइन् । यसर्थ पनि सहानासँगै म राजदरबार जाँदा आफूलाई सहयोग हुनेमा उनी ढुक्क थिइन् । सहानाकै चाहनाका कारणसमेत म राजदरबार जाने प्रतिनिधि बन्न सकेको थिएँ । तर, यही कुरालाई लिएर मेरै पार्टीभित्र गडबड भइसकेको रहेछ । 

२६ चैतमा राजासँग सहमति गरेर फर्किन नपाउँदै मालेका एकथरी नेताहरू मसँग रिसले चूर भइसकेका रहेछन् । आन्दोलनमा जनता थपिने क्रम बढिरहेकै थियो । २६ गते दिउँसोसम्म आइपुग्दा आन्दोलनकारीको संख्या ठूलै भइसकेकाले केही दिन यसरी नै अघि बढ्दा जनताले राजदरबार घेर्ने र गणतन्त्र आउने उनीहरूको विश्लेषण रहेछ । कांग्रेससँग आधिकारिक रूपमा निरंकुश राजतन्त्र समाप्त पार्ने सहमति भए पनि जनता सडकमा उर्लिएमा गणतन्त्र घोषणा गर्ने कुरामा पार्टीभित्र एकमत थियो । तर, मेरो मूल्यांकन फरक थियो । कांग्रेसको समेत सहमतिमा आन्दोलनले उचाइ छोएकाले उसले खुट्टा झिकिदिएमा आन्दोलन अघि नबढ्ने मेरो बुझाइ थियो । करिब ५० दिनको आन्दोलनको समीक्षाले यही देखाउँथ्यो । चैत २६ सम्म आइपुग्दा आन्दोलनकारीको संख्या बढ्नुमा कांग्रेसको भूमिका पनि ठूलो थियो । 

देशभित्र कांग्रेसको प्रभाव वामपन्थीहरूको भन्दा कम भए पनि कमजोर भने थिएन । यही वस्तुगत यथार्थका कारण मैले कांग्रेस पछि हट्दा आन्दोलन चोटिलो ढंगले अघि नबढ्ने निष्कर्ष निकालेको थिएँ । मेरो निष्कर्षलाई ठूलो कमजोरी ठाने सहयोद्धाहरूले । 

मालेभित्र मदन भण्डारीलगायत केही कमरेडहरूको बुझाइ आरके मैनाली खुला मोर्चाबाट नहोमिएको भए आन्दोलन यहाँसम्म आइपुग्न मुस्किल थियो भन्ने पनि थियो । हुन पनि त्यसबेला मानिसहरू माले भन्नासाथ आरके, सीपीलाई नै बुझ्थे । त्यसैले भूमिगत नेताहरूलाई दरबारसँगको वार्तामा माले सहभागी छैन भन्न अप्ठ्यारो थियो । म पार्टीकै निर्णयानुसार वाम मोर्चाको सदस्य र त्यसपछि कार्यवाहक अध्यक्ष भएको थिएँ । यही हैसियतले राजदरबारमा वार्ता गर्न गएको थिएँ । 

***

पार्टीभित्रका केही नेताहरूले आरकेले आन्दोलनलाई गणतन्त्रमा जान दिएन भन्ने अवस्तुवादी मूल्यांकन गर्न भ्याइसकेका रहेछन् । आन्दोलन वामपन्थीहरूको मात्र थिएन । साथै, गणतन्त्रका लागि लक्षित पनि थिएन । निरंकुशताविरोधी मात्र थियो भन्ने उनीहरूले भुलेछन् । तर, जति उपलब्धि प्राप्त हुँदै थियो, त्यो पनि म र सहानाजीको जोडबलबाट थियो । हामी दुई जना राजदरबार नगएको भए राजा वीरेन्द्रले पञ्चायत पूरै विघटन नगरी बहुदलीय पञ्चायत मात्र दिन लागेका थिए । कांग्रेस सभापति र महामन्त्रीले त्यसमा समर्थन जनाइसकेका थिए । गणेशमान सिंह, सहाना प्रधान र मेरो प्रयत्नका कारण मात्र राजा क्रमश: पञ्चायत विघटन गर्न राजी भएका थिए । तर, यथार्थ नबुझी सहयोद्धाहरूले मलाई स्टेजबाट हट् भनिरहेका थिए । पार्टीका पक्षमा इमानदार पहल गरेकाले यस्तो विरोध होला भन्ने मैले कल्पनै गरेको थिइनँ । 

...तर, सहकर्मीहरूले आरकेको एकसूत्रीय मिसन निरंकुश राजतन्त्रको अन्त्य नै हो भन्ने बुझिदिएनन् । कतिसम्म दबाब आयो भने मञ्चबाट हट्नुभएन भने जनताले प्रतिकार गर्नेछन् भनेर चिट पठाउन थाले । सायद मलाई मञ्चबाट हटाउन मदन भण्डारीको पनि सहमति थियो । मदन र मेरो लामो समयदेखि भेट हुन सकिरहेको थिएन । अन्य सहकर्मीहरूले मेराविरुद्ध कुरा लगाएर उहाँलाई विरोधी बनाइसकेका थिए । तर, मदनको सबभन्दा सबल पक्ष के थियो भने उनी एकोहोरो कुरा कमै सुन्थे । 

***

आमसभाको त्यो दिन ममाथि कोही जाइलागे त्यो जनलहरमा एक वचन ‘यो मण्डले हो’ मात्रै भन्दिएमा उनीहरू कोही पनि बच्दैनथे । किनभने, उनीहरूलाई मालेका नेता भनेर सार्वजनिक रूपमा कसैले चिनेका थिएनन् । म आन्दोलनकारी रापताप भएको नेताका रूपमा स्थापित भइसकेको थिएँ । मेरा कुरा जनसमुदायले सजिलै पत्याउँथे । त्यही सभामा गिरिजाप्रसादले ‘यो कांग्रेसको पनि जित, पञ्चायतको पनि जित’ भनेर भाषण गर्दा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए भने मजत्तिको क्रान्तिकारीले मण्डले भनिदिँदा हुने परिणाम जोकोहीले आकलन गर्न सकिन्छ । मालेका केही भूमिगत नेताहरूले मञ्चबाट बाहिर निकाल्नेसम्मको अपमान गरे पनि मैले संयम गुमाइनँ । टुँडिखेलमै पार्टीको विवाद गाईजात्रे शैलीमा देखाउनु जेल/नेल भोगेर निस्किएको मजस्तो व्यक्तिका लागि शोभनीय विषय थिएन । 

पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएको १८ घन्टा नबित्दै मारामार हुँदा अपाच्य सरम हुन्थ्यो । यथार्थ नबुझेरै मलाई पार्टीले कारबाही गर्न सक्थ्यो । यसले राष्ट्रिय राजनीतिक मोडमा नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषणपछि व्यक्तिगत प्रतिष्ठाभन्दा पार्टीगत प्रतिष्ठा बचाउनु कर्तव्य ठानेँ र मञ्चबाट बाहिरिने निधो गरेँ । 

...बेलुकी थाहा भयो, सभामा मालेका तर्फबाट झलनाथ खनालले बोल्न खोज्दा जनताले हुटिङ गरेर विरोध गरेछन् । सहानाले ‘ झलनाथजी मालेकै नेता हुन्, आरके बिरामी परेर आउन नसकेकाले उनी आएका हुन्’ भनेपछि मात्र झलनाथलाई बोल्न दिइएछ । मालेका साथीहरूले तेस्रो पर्चामा जे–जे लेखेका थिए, झलनाथले तिनै बुँदा पढेर भाषण गरेछन् । 

म मञ्चबाट अचानक हिँडेको बारे विभिन्न अड्कलबाजी भए । बेलुकासम्ममा प्रस्ट भयो, साथीहरूले मलाई वार्ताको जस नदिन मात्र चाहेका रहेछन् । म मञ्चबाट बाहिरिएपछि मालेका प्रतिनिधिका रूपमा सभामा सम्बोधनका लागि झलनाथलाई पठाउनुले यही संकेत गथ्र्याे ।

जालझेलको सिकार 

मलाई मञ्चबाट हटाएको तीन दिनपछि अर्थात् ३१ चैतमा काठमाडौँको टोखामा केन्द्रीय कमिटीको बैठक बस्यो । पहिलो दिनको बैठकमा मलाई बोलाएनन् । त्यहाँ मलाई निलम्बन गर्नेदेखि जिम्मेवारीबाट हटाउनेसम्मका कुरा उठेछन् । बैठक सुरु भएको भोलिपल्ट महासचिव मदनले फोनमा भने, “तपाईंलाई लिन गाडी आउँदै छ, तुरुन्तै आउनु होला ।” “कहाँ आउनू ?” मैले सोधेँ । उनले गाडीले जहाँ ल्याउँछ, त्यहीँ आउनू भन्ने जवाफ फर्काए । केही बेरपछि केपी ओलीले फोन गरे । “गाडी लिन आउँदै छ भन्ने खबर पायौ होला । यहाँ आएपछि नम्र भएर सविस्तार प्रस्तुत हुनु । अररा कुरा नगर है,” केपीले भने, “यहाँ तिम्राविरुद्ध षड्यन्त्र भइरहेको छ । साथीहरू साह्रै कठोर भएका छन् । हात छोड्न सक्छन् ।” “हातै छाडे भने त म पनि कहाँ कम हुँला र !” मैले फुर्ती जोड्दै भनेँ । आफूले आन्दोलनमा जे गरेँ, इमानदारीसाथ गरेकाले प्रतिरक्षा गर्न सक्छु भन्दै मैले केपीलाई चिन्ता नलिन सुझाएँ । त्यसपछि कैयन् कुरामा केपीसँग मतभेद भए पनि त्यस बेलासम्म उनी आत्मीय नै थिए । 

निर्धारित स्थानमा पुगेर बैठकमा सहभागी भएपछि मैले डेढ घन्टा आन्दोलनकालको यथार्थ भट्याएँ । सबालजवाफ कसैले गरेनन् । कांग्रेसलाई छाडेर आन्दोलन नउठ्ने, विदेशी हतियार ल्याएर पञ्चायत नढल्नेजस्ता मनमा लागेका तर्क प्रस्तुत गरेँ । आन्दोलन गणतन्त्रका लागि अघि बढोस् भन्ने साथीहरूको नियत असल भए पनि त्यो मनोगत भएको भन्दै यथार्थ व्याख्या गरिदिएँ । मेरो कुरा सुनेपछि मदनलाई सकस र अप्ठ्यारो भएछ । किनभने, मलाई निष्कासित गर्ने मोटामोटी सहमति अघिल्लो दिनको बैठकमै बनिसकेको रहेछ । मलाई कारबाही गर्दा देशव्यापी रूपमा गलत सन्देश जाने चिन्ता मदनमा उम्रिएछ । पार्टी खुला हुनेबित्तिकै नाम चलेको नेतालाई कारबाही गर्दा कार्यकर्तामा निराशा आउने, कांग्रेसमा पनि आफूप्रति नराम्रो छाप पर्ने यथार्थ मदनले बुझेका रहेछन् । 

थप आन्दोलनमा कांग्रेससँगै गएर बहुदलीय व्यवस्था सुदृढ गर्न, संयुक्त सरकार बनाउन र संविधान जारी गर्दै निर्वाचनमा सहभागी हुने बाटो बाँकी थियो । मैले बैठकमा यही कुरा राखेँ । तत्काल गणतन्त्र स्थापना गर्ने नारालाई कार्यनीति बनाउँदा निस्कने अवस्तुवादी प्रभावबारे मदन सचेत रहेछन् । उनको बुझाइ र मैले राखेका तथ्यबीच मेल खायो । मेरो प्रस्तुतिले उनलाई घोचेछ । त्यसैले मदनले मलाई निलम्बन हुन दिएनन् । संयुक्त वाममोर्चामा मालेका तर्फबाट मेरो स्थानमा झलनाथलाई ल्याएर यसलाई नै मप्रतिको राजनीतिक कारबाही ठानियो । मलाई वाममोर्चाको दोस्रो प्रतिनिधि मात्र बनाइयो । 

वास्तवमा झलनाथको ध्येय संयुक्त वाममोर्चामा प्रतिनिधित्व गर्ने थियो । किनभने, उनलाई त्यसपछिको मन्त्रिपरिषद्मा सामेल हुनु थियो । मलाई लडाएपछि मात्र उनी त्यहाँ पुग्न सक्थे । मन्त्रिपरिषद्मा सहभागी हुने वातावरण बनाउनकै लागि उनले यस्तो जाल रचेका रहेछन् । यो दाउपेचको स्ट्राइकर प्रदीप नेपाल, ईश्वर पोखरेल र माधव नेपाल थिए । मदनलाई यसबारेमा धेरै जानकारी रहेनछ । त्यस बेलासम्म उनीहरूका भित्री योजना मदनले बुझेका रहेनछन् । यसर्थ, यस समूहले गरेको डिजाइनमा मदन सहमत भएछन् । मलाई पछाडि पार्दा सीपीलाई समेत साइजमा ल्याउन सक्ने उनीहरूको निचोड रहेछ । उनीहरू सीपीसँग पनि रूष्ट थिए । सीपीको दाजु भएकाले पनि मलाई उनीहरूले तारो बनाएछन् । दाजुभाइ मिल्छन् भन्ने भय उनीहरूलाई रहेछ । 

चार नेताले बनाएको ‘डिजाइन’ अन्तर्गत नै झलनाथ ६ वैशाख ०४७ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषद्मा सहभागी भए । संविधान सुझाव आयोगको सदस्य बन्ने माधवको दाउ पनि सफल भयो । 

प्रधानमन्त्री बन्न मानेनन्, गणेशमान

लोकेन्द्रबहादुर चन्दले ४ वैशाख राती पदबाट राजीनामा दिएपछि रिक्त पदमा दरबारबाट गणेशमान सिंहलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो । गणेशमानले राजदरबारको प्रस्ताव स्वीकारेनन् । त्यो खबर संयुक्त वाममोर्चाको अध्यक्ष सहाना प्रधान हुँदै वाममोर्चा बैठकभित्र प्रवेश गर्‍यो । यसपछि सहाना र म गणेशमानलाई प्रधानमन्त्रीको जिम्मेवारीमा मनाउन उनको निवास चाक्सीबारी गयौँ । गणेशमानलाई मनाउन गएका हामी उनको तर्कसामु आफैँ नतमस्तक बन्यौँ । उनले मीठो तर्क गर्दै हामीलाई भनेको म अहिले पनि सम्झन्छु, “सहाना तिमीहरू कांग्रेसलाई चिन्दैनौ । कांग्रेस गज्जबको पार्टी हो ।” सहानाले सोधिन्, “किन ?” गणेशमान भन्दै गए, “म काठमाडौँको नेवार । यहाँ अरू दुई जना वरिष्ठ बाहुन छन्, कृष्णप्रसाद र गिरिजाप्रसाद । यदि म प्रधानमन्त्री बनेँ भने यी दुई जना बाहुन मिल्छन् र प्रधानमन्त्री भएको दुई–चार दिनमै मलाई घिक्लिक्क लडाउँछन् । यसपछि कांग्रेसभित्र विवाद हुन्छ । राजदरबारले त्यही चाहिरहेको छ । संविधान पनि बन्दैन । संविधान बनाउनकै लागि म प्रधानमन्त्री बन्दिनँ ।” 

 राजाको खाजा

...म मधुमेहको रोगी भएकाले खान्कीमा विशेष ध्यान दिनुपथ्र्यो । मन्त्रिपरिषद्को बैठकमा पानीसमेत नहुनु चरम दरिद्रताको उपज थियो । सानै कुरा सही, आफू बिरामी भएकाले यो कुरा राजा ज्ञानेन्द्रसँगै राख्नु उचित ठानेँ । मैले राजासँग मुख खोलेँ, “सरकार मन्त्रालयमा सेवाग्राहीले घेर्ने हुनाले म अरूजस्तो दिउँसै घर गएर खाजा खाएर आउन सक्दिनँ । फेरि मन्त्रालयको सचिवालयमा खाजा खाने रकम थोरै छ । आफू डाइबेटिज रोगी परेँ । बैठकमा खाजा, पानीको समेत व्यवस्था नहुने हो भने कसरी बैठकमा बस्ने सरकार ?” मेरो कुरा सुनेर टाउको हल्लाउँदै राजाले भने, “मन्त्री ! त्यस्तो हो भने केही पाकेट बिस्कुट किन्ने र गोजीमा राख्ने । बैठक कक्षको यसो छेउमा सानो पर्दा लगाइएको छ । त्यहाँ पानी राखिएको हुन्छ । त्यहीँ छिरेर स्वाट्ट पानी र बिस्कुट खाने ।” 

राजाको जवाफले म तीनछक परेँ । खासमा राजासँग मैले खाजा मागेको थिइनँ । मन्त्रिपरिषद्को बैठकको गरिमा र मर्यादा कुल्चिएको अवस्थाप्रति घुमाउरो ढंगले असहमति दर्ज गर्न खोजेको थिएँ । तर, यो तहको जवाफ आउला भन्ने सायदै कसैले कल्पना गर्ला । राजाको चिन्तनको तह र स्तर प्रस्ट भयो । आज सम्झँदा लाग्छ, त्यो सायद मन्त्रीहरूको अपमानभन्दा पनि राजदरबारकै हैसियतको अपमान हो । त्यसपछिका बैठकमा टेबलमा पानीका बोतल भने राख्न थालियो । राजाले भनेजस्तै अर्को बैठकदेखि एक छेउमा घेरेर बारेको ठाउँमा टेबल र कुर्सी राखेर दुई–तीन बोतल पानी पनि राखिएछ । यस्तो देखेभोगेपछि राजा ज्ञानेन्द्रको व्यवहारप्रति सरम लाग्यो । भोकले मरे पनि मरियोस् । तर, त्यहाँ गएर बिस्कुट नखानेमा आफूलाई प्रतिबद्ध बनाएँ । 

आफ्नो पद र हैसियत कायम गर्न नजान्ने ज्ञानेन्द्रजस्ता लोभी राजा सायदै यो संसारमा होलान् ! उनी कतिसम्म लोभी रहेछन् भन्ने उनको व्यवहार भोगेपछि उनीप्रतिको भरोसामा पनि पहिरो गयो । तर, गर्ने के ? नहुनु गल्ती भइसकेको थियो । राजा ज्ञानेन्द्रले गम्भीर र सरमलाग्दो धक्का दिइसकेका थिए । म उनको कुरा पत्याएर खुरुखुरु पछि लागिसकेको थिएँ । घरमा आएका पाहुनालाई मीठो–मसिनो जे छ, त्यही खुवाउनु नेपाली समाजको सांस्कृतिक विशेषता हो । तर, राजाले मन्त्रिपरिषद्मा सामान्य संस्कार पालना गर्न नसकेको देखेर बल्ड्याङ खाँँदै आफैँ लज्जित भएँ ।

 

पारस र दरबार हत्याकाण्ड

खानपिन र रसरंगमा मस्त हुने दरबारको ‘संस्कार’ रहेछ । किनभने, उनीहरू कानुनभन्दा माथि थिए । जसलाई जे भने पनि, जे गरे पनि हुने उनीहरूको संस्कार थियो । आफ्नै ज्ञानले, मनले जानेर स्वनियन्त्रण गरे रोकिन सम्भव थियो । नत्र, उनीहरूको उच्छृंखल क्रियाकलाप कसैले रोक्न सक्तैनथे । तसर्थ, रक्सी र युवती आकर्षणमा पारस बदनाम भए । संस्कारले नै उनलाई बदनाम बन्न प्रेरित गर्‍यो । श्री ५ लेखिने दरबारियाहरू प्राय: सबै यस मामिलामा मुछिएका छन् । दीपेन्द्रका बारेमा पनि अनेक किस्सा नसुनिएका होइनन् । तर, पारस अलि बढी खुला स्वभावका भएकाले सार्वजनिक भयो । बुबाको कदमबाट दिक्क भएर कहिलेकाहीँ पारस मसँगको भेटघाटमा भन्थे, “बुबा सरकारलाई सम्झाइदिनोस् न, यसरी कहीँ पुगिँदैन ।” 

कहिलेकाहीँ मण्डले तथा स्वार्थी पृष्ठभूमिका मानिसहरू आएर मलाई युवराज पारस सरकारबाट हुकुम भएको छ, मेडिकल कलेजको अनुमति दिनुपर्‍यो, नर्सिङ र एमबीबीएसका कोटा मिलाइदिनुपर्‍यो भनेर हैरान बनाउँथे । पारसले नै भनेको हो भने त सोच्नुपर्ने भयो भन्दै ‘युवराजबाट नै मलाई फोन गराउनुहोस् !’ भन्थेँ । उनको नाम बेचेर खान पल्किएकाहरूलाई यसै भन्नुपथ्र्यो । तर, पारसले कहिल्यै फोन गरेनन् । फेरि केही दिनपछि आएर उनीहरू उस्तै दबाब दिन्थे । आजित भएपछि एक दिनको भेटमा मैले पारससँग कुरा उठाएँ, “तपार्इंको नाम लिएर मेडिकल र नर्सिङ कलेजको सम्बन्धनका लागि आएका थिए, कुरा के हो ?” यस्तो सुन्नासाथै पारस राँकिए, “यिनले डुबाउने भए । मैले तपाईंलाई केही भन्नु छ भने आफैँ भन्न सक्तिनँ र ! फेरि भन्न आए भने कोठाबाट घोक्रेठ्याक लगाएर निकालिदिनू ।” 

प्रजातान्त्रिक सोच राख्ने, जनाधार भएका लोकप्रिय अनुहार, विकास निर्माणमा चासो राख्ने व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा समेट्नुपर्छ भन्ने पारसको बुझाइ थियो । भलै, मनमा जे भए पनि बुबाको कुरा काट्न सक्तैनथे । बुबाप्रतिको उनको असन्तुष्टि सांकेतिक भाषाबाट बुझ्नुपथ्र्यो । 

***

दीपेन्द्रको विवाहका सवालमा पारसको पूर्ण समर्थन थियो । पूरा दरबार दीपेन्द्रको विपक्षमा उभिँदा समेत पारस एकलव्य शैलीमा दाजु दीपेन्द्रको साथमा थिए । आफूले मन पराएकी केटी विवाह गर्न पाउनुपर्छ भन्ने सोचका कारण पारसले दीपेन्द्रलाई साथ दिएका हुन सक्छन् । सँगसँगै जस्तो हुर्किएकाले समेत पारसले दीपेन्द्रलाई धाप दिएका होलान् । १९ जेठ ०५८ रातीको त्रासद दरबार हत्याकाण्डमा सबैलाई गोली दाग्दासमेत पारसलाई नछुनुमा सायद दीपेन्द्रले आफूप्रतिको त्यही गुण सम्झिएर हो कि ? दीपेन्द्रले पारसलाई गोली नहान्नुमा यो ‘फ्याक्टर’ले पनि काम गरेको हुन सक्छ । मैले जानकारी पाए अनुसार दरबार हत्याकाण्डमा गोली चलाउनेचाहिँ दीपेन्द्र नै हुन् । भलै, उनलाई उकास्ने दरबारिया, देशी/विदेशी तत्त्व को–को थिए, त्यो अर्को पाटो हो । 

(पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासबाट ।)

प्रकाशित: माघ १७, २०७३