नोटबुक

- रामबहादुर रावल

यी सुधीर बस्नेतहरू

सहकारीमार्फत सर्वसाधारणको रकम ठगी गरेको अभियोगमा ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेल गए । कारण, उनले ठूलाबडाको रकम डुबाए । तर, यहाँ सर्वसाधारण, गृहिणी, स–साना कुटिर उद्योग र नाङ्लो पसलेलाई हाकाहाकी ठग्ने सुधीर बस्नेत प्रवृत्तिहरु सडकमा डुक्रेर हिँडेका छन् । 

नयाँ पसल वा सानोतिनो उद्यम खुल्न पाएको छैन, एजेन्टहरु आइपुग्छन् । एक दिन होइन, दुई दिन होइन । एक जना होइन, दुई जना होइन । न मान्छे चिनेको छ, न उनीहरुको संस्थासँग 

कुनै साइनो छ । भन्छन्, ‘लौ शुभकार्यमा किन ढिला ? एउटा खाता खोलिहालौँ ।’

कोही भन्छन्, हामी पाँच प्रतिशत ब्याज दिन्छौँ । ६–६ महिनामा हातैमा ब्याज । दसैँमा बोनस । लगत्तै अर्को आउँछ, हामी त तीन–तीन महिनामै ब्याजमा स्याज जोड्छौँ । ब्याज पनि चार–पाँच होइन, सात प्रतिशत । फेरि अर्को आएर भन्छ, ‘हामी दस प्रतिशत ब्याज दिन्छौँ ।’ झन् अर्को भन्छ, ‘पाँच वर्षमा तपाईंको पैसा दोब्बर ।’

आफ्नो पैसाको पैसा, त्यसमाथि ब्याज, स्याज र बोनस । ससानो रकम बचत हुँदै जाने, परी आउँदा गर्जो टर्ने । मक्ख परेर बचत गर्न थाल्छन् सर्वसाधारण । भोक लाग्यो भन्दै कराउने बालबच्चाको मुखमा मुड्की बजारेर भए पनि सहकारीको खातामा पैसा भर्छन् । 

वर्ष–दुई वर्ष दुहिसकेपछि सहकारीवाला बटारिन थाल्छन् । खोइ ब्याज ? ‘अहिले किन चाहियो ? समस्या परे ऋण लिनूस् न !’ खोइ बोनस ? ‘आउँछ भनेपछि आउँछ । तपाईंको पैसा खाएर भाग्छौँ ?’ बचतकर्ताको अन्तिम आग्रह हुन्छ, त्यसो भए मेरो पैसा फिर्ता लेऊ । 

अन्तत: उनीहरुले खोजेकै यही हुने रै’छ । भाका पूरा नगरी बीचैमा खाता बन्द गर्न बचतकर्ता तम्सिन्छ, त्यसपछि क्यालकुलेटर थिच्न थालिहाल्छन् । र, जम्मा भएको रकम घटाउन थाल्छन्, एकएक गरी । खाता खोलेबापत दुई सय रुपियाँ । बीचैमा खाता बन्द गरेबापत हर्जाना पाँच प्रतिशत । ब्याज, बोनस पाएको छ भने त्यो पनि फिर्ता ।

वर्षभरि बचतकर्ताबाट रकम उठायो, २३–२४ प्रतिशतसम्म ब्याजमा लगायो । बचतकर्तालाई भने दिन्छु भनेको ब्याज पनि नदिई बीचैमा आफैँ निहुँ खोजेर उल्टै हर्जाना कटाएर पठायो । यस्तो काइदाको धन्दा हो, सहकारी ।

सहकारी एक संगठित ठगी

यस्तै एक सहकारीको कारोबार बुझ्ने मौका पाइयो । दैनिक १ सय ७० रूपियाँका दरले बचत उठाउने । तीन वर्षमा दुई लाख रुपियाँ डल्लै फिर्ता दिने । यस अवधिभर हरेक दसैँमा चार हजार बोनस, ६–६ महिनामा ब्याज हातैमा दिने । यस्तैयस्तै प्रलोभनका पोका बाँड्दै रकम उठाउँदो रहेछ, बानेश्वरस्थित वाराही बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ।

दसैँमा दिन्छु भनेको कथित बोनस तिहार र छठ बितेपछि पनि दिन आनाकानी गर्‍यो । ६–६ महिनामा दिने भनेको ब्याज एक वर्ष बित्दा पनि दिने सुरसार गरेन । पासबुकमा हेर्‍यो, तीन–तीन महिनामा ब्याज दिने लेखिएको छ । सोधियो, ‘लेखेको त यस्तो छ नि ?’ जवाफ रेडिमेड थियो, ‘यो त सरकारलाई देखाउन पो लेखेको । नियम पूरा गर्नुपरेन ?’

नियम पुर्‍याउने यो काइदाले झनै शंका उब्जायो । बचत फिर्ता माग्नुपर्ने भयो । सहकारीका कर्मचारी–व्यवस्थापक सुरुमा त कहाँ बीचैमा पैसा झिक्न पाइन्छ भन्दै बटारिए । केही दिनको गलफत्तीपछि ‘ब्याज–स्याज केही नपाउने, मूल धनबाट पाँच प्रतिशत हर्जाना कटाउने’ कागजमा सही गर्न दबाब दिन थाले ।

सहकारी विभागका एक पूर्वरजिस्ट्रारलाई फोन गरियो । उनले भने, ‘यी सहकारीवाला कतिखेर भाग्छन्, ठेगान छैन । पहिला जति पैसा दिन्छन्, लिइहाल्नोस् । बाँकी रकमका लागि पछि कानुनी लडाइँ लड्नुहोला ।’ नेपाल सरकारका सहसचिवको यो भनाइ खोजेको समाधान थिएन । त्यसले झन् बेचैन बनायो ।

प्रहरी गुहारियो । प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलायो । छलफलमा कर्मचार ी–सञ्चालक मात्र थिएनन् । कानुन व्यवसायी र आफूलाई पत्रकार भन्नेसम्म सहकारीको पक्षमा वकालत गर्न पुगेका थिए । म भन्छु, ‘यो त सरासर ठगी हो । ठगीमा मुद्दा चलाइयोस् ।’

प्रहरीको प्रश्न, ‘कसरी ठगी भयो ?’

एक, सहकारीले आफ्नो इलाकाभन्दा बाहिर गएर रकम उठाउन पाउँदैन । यसका एजेन्ट मोटरसाइकलमा उपत्यकाभरि डुल्छन् र घरघरै गएर रकम असुल्छन् । दुई, सहकारीले बचत उठाउन होस् वा ऋण लगानी गर्न, आफ्ना सेयर सदस्यसँग मात्र कारोबार गर्नुपर्छ । यस संस्थाले अहिलेसम्म हामीलाई सेयर सदस्यता दिएको छैन । एउटा पनि साधारण सभामा बोलाएको छैन र वित्तीय अवस्थाबारे जानकारी गराएको छैन । सेयर सदस्यता नै नभएपछि लाभांश दिने कुरै भएन । तीन, सहकारीले ठूलो ब्याज वा बोनसको प्रलोभन दिएर रकम जम्मा गर्ने योजना सञ्चालन गर्न पाउँदैन । चार, यसले दिन्छु भनेको ब्याज, बोनस त दिएन नै, उल्टै बचत रकममा हर्जाना कटाउँछु भन्नु सरासर सहकारी सिद्धान्तविरूद्ध छ । यो जालसाजी हो, सरासर मुद्दा चलाइपाऊँ ।

प्रहरी भने आफैँ न्यायाधीशजस्तो भएर मेलमिलाप गराउन तम्सिन्छ । पीडकतिर फर्केर भन्छ, तपाईंले यतिसारो गर्न कहाँ पाउनुहुन्छ ? पीडितलाई सम्झाउँछ, तपाईंले भनेजस्तै पनि हुँदैन ।

सांसदको ध्यान कता ?

बुझ्दै जाँदा थाहा भो, प्राय: सहकारीको त धन्दा नै यस्तै रहेछ । तिनका सिकार बजारभरि रहेछन् । मीठामीठा प्रलोभन दिएर बचत उठाउने, लामो अवधिका खाता खोल्न लगाउने अनि अवधि पूरा नहुँदै कुनै न कुनै निहुँ पारेर बचतकर्तालाई बीचैमा रकम झिक्न लगाउने । ब्याज, बोनस दिनु नपर्ने । उल्टै साँवा रकममा पाँच प्रतिशत हर्जाना कटाउने । बचतकर्ताको बाध्यता र अज्ञानता अनि नियमनकारी निकायको नालायकीलाई मजैले कमाउने धन्दा बनाएका रहेछन् सहकारीहरुले । सहकारीलाई सरकारले छुन नपाउने कानुनका पैरवीकर्ता माननीयहरुले यतातिर पनि ध्यान दिने कि ! 

प्रकाशित: माघ १६, २०७३